कांग्रेस तेलको कि पानीको ? | Khabarhub Khabarhub

विचार

कांग्रेस तेलको कि पानीको ?

प्रधानमन्त्री बन्ने लोभले गर्दा देउवाले कथित 'असाधारण स्थिति' को बाटो खोज्ने सम्भावना छ



नेपाली कांग्रेसमा यतिखेर भावी नेतृत्वको चर्चा चलिरहेछ । वर्तमान सभापति शेरबहादुर देउवाको कार्यावधि २०८२ सालको मंसिरमा सकिँदैछ । त्यसैले यो चर्चा चलेको हो । नेतृत्वमा अब को आउँछ कांग्रेसका देशभरका कार्यकर्ताले कसलाई छान्छन्, त्यो केही समयपछिको बिषय हो । नेतृत्वाकांक्षी व्यक्तिको गुण दोषको पारख पनि कांग्रेस कार्यकर्ताहरुले यथा समयमा गर्ने नै छन्, गर्नैपर्छ ।

यथासमय भनेको महाधिवेशनको समय हो । त्यो समय भनेको २०८२ मंसिर हो । तर त्यो अधिवेशन कहिले गरिन्छ टुंगो छैन भन्ने प्रकारको अनावश्यक हल्ला बढ्दो छ ।  । विधानतः कांग्रेसका सभापति देउवाको कार्यकाल चार बर्षको हो । हरेक चार बर्षमा पार्टीले आफ्नो महाधिवेशन गरेर नेतृत्व छान्नु पर्छ । “असाधारण स्थिति भएमा“ कुरा वेग्लै हो ।

आन्तरिक किचलो एवं ढिलासुस्तीले महाधिवेशन अगावै गरिसक्नु पर्ने कार्य नहुनु “असाधारण स्थिति“ हैन । त्यस्तो स्थिति रहनु भनेको वर्तमान कार्य समितिका सबै पदाधिकारीहरूको अक्षमता हो । यत् यत् जिम्मेवारी लिएर बसेकाहरूलाई चलायमान गराउन नसक्नु सभापतिको कमजोरी हो । नचाहनु चाहिँ लोभ हो ।

महाधिवेशन विधानले तोकेको समयमा नगरेर आफ्नो सभापतीय काल लम्ब्याउने,  पुनः प्रधानमन्त्री बन्ने लोभले गर्दा देउवाले कथित “असाधारण स्थिति“ को बाटो खोज्न सक्नुहुन्छ

महाधिवेशन विधानले तोकेको समयमा नगरेर आफ्नो सभापतीय काल लम्ब्याउने,  पुनः प्रधानमन्त्री बन्ने लोभले गर्दा देउवाले कथित “असाधारण स्थिति“ को बाटो खोज्न सक्नुहुन्छ । यो उहाँको एक सूत्रे अभियान नै हुन्छ कि भन्नेहरु थुप्रै छन् । उहाँलाई राम्ररी थाहा र डर दुबै छ पार्टीको नेतृत्व परिवर्तन भएपछि त्यसनिम्ति सहज स्थिति बन्दैन ।

त्यसैले देउवाले चार बर्षे कार्यकाल सकिनासाथ सभापतिको पद कुनै दोस्रोलाई हस्तान्तरण गर्ने समय खुसीराजी आमन्त्रण गर्नुहुन्न । अतः विधानमा तोकिए वमोजिम २०८२ मंसिरभित्र कांग्रेसको चुनावी महाधिवेशन हुँदैन भन्नेहरुलाई बल पुगिरहेको देखिन्छ । यो सर्वथा अनुपयुक्त र अप्राकृतिक बिषय हो । 

यसको खास र बलियो आधार हो कि नेपाली कांग्रेसमा पहिले जस्तो इमान र आदर्शका पात्र पर्याप्त छैनन् । तिनलाई पाउन सिलो खोज्नु पर्छ, मुस्किलले भेटिन्छन् । नेता भनाउँदाको सबैतिर वेइमान र आदर्शच्युत चरणदासहरूको बाहुल्य छ भन्ने व्यापक चर्चा छ, जसलाई मालिकको अंश पाए हुन्छ, वंश बचाउनु पर्दैन ।

 विधानतः देउवा सभापति पुनः हुन नपाउने निश्चित अवस्था रहेकोले त्यस्ता कार्यकर्ताहरूले बैकल्पिक बाटो स्वाभाविक रुपमा खोज्छन् । खोज्न थालिसकेका छन् । कहावत नै छ– आयु सिद्धिएको शरीरलाई जुम्राले पनि छोड्छ । मिति सिद्धिएको औषधि विष नै हुन्छ ।

अहिले नेपाली कांग्रेसमा देखिएको यथार्थ अवस्था हो यो । यसमा सभापति देउवा अनभिज्ञ हुनुहुन्न । त्यसैले उहाँले सक्दासम्म महाधिवेशन मंसिर भित्र गराउनुहुन्छ भन्ने बिश्वास गर्नेहरुको संख्या न्यून छ । तथापि उहाँसँग अन्य विकल्प छैन । 

नेपाली कांग्रेसको महाधिवेशन विधानले तोकेको समयभित्रै हुन्छ, सभापति को बन्छ वा त्यो समयसीमामा महाधिवेशन नै हुँदैन र सभापतिमा देउवा नै “असाधारण स्थिति“ मा थप दुई बर्ष नै निरन्तर रहनुहुन्छ, त्यसको चासो सामान्य जनतामा देखिएको छैन । कांग्रेसका शुभेच्छुक र सच्चा समर्थक कार्यकर्ता बाहेक यस्ता कुरामा समय खेर फाल्न चाहँदैनन् भन्नेहरुको पंक्ति पनि लामै छ ।

अहिले जनताको मनस्थिति “कागलाई बेल पाक्यो, हर्ष न विष्मात” जस्तै छ ।  राजनीति सेवा नभएर पेशा व्यवसाय भएपछि जनता यो मनस्थितिमा पुगेका छन, पुग्छन् । कांग्रेस, एमाले, माओवादी दलको सभापति जो सुकै होस् “छु मतलब” भन्नेहरू धेरै देखिन थालेका छन् । के यो अवस्थालाई नजर अन्दाज गर्न मिल्छ ?

दलीय व्यवस्थामा दलहरूप्रति यस्तो वितृष्णा इतिहासमा यस अघि सायदै यसरी बढेको थियो । तर पनि वर्तमान अवस्थाको राजनीति र सत्तामा यिनै दलहरूको एकाधिकार रहेको सत्य पन्छाउन सकिन्न । आशाको दियो त्यहीबाट बल्छ कि त भन्ने सोच त्यसैले अन्यथा हैन । यसकारण कि सिद्धान्त स्वयंमा जति राम्रो भए पनि त्यसको सफलता त्यो सिद्धान्तमा लाग्ने व्यक्तिको व्यवहारले निर्धारण गर्ने हो । अन्यथा सिद्धान्त कागजमै हराउँछ ।

राजनीति मुलुकको मियो हो भने त्यसका नेताहरू दियो हुन् । दल र मुलुकको राजनीतिमा प्रकाश छर्न दियो बाल्नै पर्छ । तर पानीले भिजेको दियो जति कोशिश गरे पनि बल्दैन । दुर्भाग्य, हाम्रो मुलुकको राजनीतिमा केही दशक यतादेखि हरेक दलका कार्यकर्ता बारम्बार त्यही पानीले भिजेको दियो बाल्ने बृथा प्रयास गरिरहेका छन्, गरिरहेका छौँ ।

कुनैबेला ज्ञानेन्द्रले तुलसी गिरी र त्यसपछि दलका कार्यकर्ताले देउवा, ओली, नेपाल, प्रचण्ड, बाबुरामलाई तेलले भिजेको भर्भराउँदो बत्ति देख्नु सबै उस्तै हो । बालेन झिल्का हुन्, झिल्काले दियोको दिगोरूप लिन्छ कि लिँदैन भन्न सकिदैन । रवि आफैं पानीमै परेर निभेको हो वा निभाइएको हो थाहा लाग्दैछ । बिस्तारै सत्य उद्घाटित हुँदैछ ।

यो हो, देशको राजनीतिको संक्षिप्त सत्य । विषयको उठान कांग्रेसको भावी नेतृत्वको चासोसित सम्बन्धित छ । यसको आगामी नेतृत्व पानीले भिजेको दियो नहोस् भन्ने कामना मात्र गर्ने होइन कि बरु यसका निमित्त पार्टीका दश लाख क्रियाशील सदस्य, यसका शुभेच्छुक र मौन मतदाताले समेत सजगताका साथ नेतृत्वलाई दबाब दिनैपर्ने भएको छ । 

महाधिवेशन समयमै गराउने वा नगराउने अनि नेता छान्ने त दलभित्रका कार्यकर्ताहरुले नै हो ।

त्यसैले बाहिरबाट महाधिवेशन समयमै गर र यो व्यक्ति, यो पार्टिको नेता बन्न लायक छ जनताको विश्वास यसले जित्न सक्छ भन्नेमा पक्ष वा विपक्षको गीत गाउनुको अर्थ खासै रहन्न । देउवालाई सम्मानित पूर्वसभापति बनाउने वा “असाधारण“ सभापतिमा निरन्तरता दिने नेपाली कांग्रेसकै कार्यकर्ताहरुले निर्णय गर्ने हो ।

यो चै पक्का हो, कांग्रेसको विधानमा “पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरूको पदावधि चार वर्षको हुनेछ“ भनेर यति स्पष्ट रुपमा लेखिएपछि “असाधारण स्थिति भएमा भन्ने कारण अहिलेदेखि तयार गरेर पछि भ्रम फैलाउनु कांग्रेस आफैंमा ठगिनु हो । यो ठगिने कार्यमा नेतृत्व तहकै व्यक्तिहर लाग्नु कति उपयुक्त हो ?

राज्य सञ्चालनका लागि हुने देशको आवधिक निर्वाचन र त्यस अघिपछिको समय आफैंमा असाधारण हुँदैन, हैन । यो नियमित संवैधानिक प्रक्रिया हो । दलहरूले आफ्नो सदस्यको अध्यावधिकरण, स्थानीय भेला, नेतृत्व र प्रतिनिधि चयन विधानवमोजिम समयमा नगर्नुलाई असाधारण स्थिति भनिँदैन । त्यो आफ्‌नै कमजोरी हो,  कांग्रेसका नेताहरुकै कमजोरी हो ।

कोभिड वा त्यस्तै महामारी फैलियो, भुईंचालो नै आयो वा अन्य कुनै सोच्दै नसोचेको राष्ट्रिय विपत्ति त्यो समयमा आयो भने कांग्रेस त्यसबाट अछुतो रहन सक्दैन । हो, त्यस्तो अवस्था आइलाग्यो भने त्यो “असाधारण स्थिति“ हो । त्यतिबेला महाधिवेशन सर्छ । सार्नै पर्छ ।

त्यस्तो स्थितिको कल्पना गरेर कांग्रेसका पदाधिकारीले अहिलेको सामान्य स्थितिमा आफ्नो जिम्मेवारी पूरा नगरी आलेटाले गरी बस्नुले कांग्रेसलाई कामचोरहरूको ठगी दल भन्ने जनाउन सक्छ । कार्यकर्तालाई भ्रममा भुलाएर जनतालाई ठग्ने दलको भविष्य सधैं ओरालो मात्र लाग्छ । र, हामी सबै मिली ओरालो लाग्न दिनुहुँदैन बरु उकालो चढ्ने उर्जा सञ्चय गरी पार्टी बलियो बनाएर देशमा देखिएको व्याप्त निराशा, चरम भ्रष्टाचार, कुशासन, अर्थतन्त्र खस्केको अर्थात चौतर्फी विकृतिका बिरुद्ध समयमा नै संगठित भई बिगुल फुक्न ढिला गर्नुहुन्न । नेताहरुले समयमा नै सोचुन् ।

(संविधानसभाका पूर्वसभासद पराजुली नेपाली कांग्रेसका नेता हुन्)

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  ३ : ०६ बजे

बुद्धजन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन गरिने

लुम्बिनी – बुद्धको जन्मस्थल लुम्बिनीमा चार हजार दीप प्रज्वलन गरिने

प्रविधिक समस्या देखिएको जहाज मर्मतपछि नियमित उडान सुचारु : वायुसेवा निगम

काठमाडौं – नेपाल वायुसेवा निगमले आफ्ना विमानहरूको उडानसम्बन्धी विभिन्न सञ्चारमाध्यममा

शहीद मार्गको बजेट काटेर सरकारले प्रतिशोध साँध्योः वर्षमान पुन

रोल्पा– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’

पदबाट किन नहटाउने भन्दै सरकारले कुलमानलाई सोध्यो चार बुँदे स्पष्टीकरण

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले

फिल्म ‘११ : ५५’को ट्रेलर सार्वजनिक, निर्देशक भन्छन्- फिल्ममा हरेक १५ मिनेटमा सस्पेन्स छ

काठमाडौं – केशव पाण्डेको डेब्यू निर्देशन रहेकाे फिल्म ‘११ :