तीन दलको गल्तीले निम्तियो फागुन २५ | Khabarhub Khabarhub

तीन दलको गल्तीले निम्तियो फागुन २५

नेताहरू ‘बिग्रिँदा’ हौसिए पूर्वराजा ज्ञानेन्द्र


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 6 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा दुई सय ४० वर्षे राजतन्त्र अन्त्य भएको १७ वर्ष पुग्नै लाग्दा राजावादीहरूले संघीय राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गरेका छन् । शाह वंशीय अन्तिम राजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किने दिनको साइत पारेर राजावादीहरूले फागुन २५ (आइतबार) गते गरेको शक्ति प्रदर्शनले देशभित्र र बाहिर सर्वाधिक चर्चा कमाएको छ ।

ज्ञानेन्द्रलाई तेस्रो पटक राजा बनाउन भन्दै भएको शक्ति प्रदर्शनलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्राथमिकतासहित समाचार प्रकाशन र प्रशारण गरेका छन् । सीएनएन, बीबीसी, अलजजिरा, द इन्डिपेन्डेन्टसहितका सञ्चारमाध्यमको हेडलाइन बन्यो राजावादी समूहहरूको प्रदर्शन । यही प्रदर्शनका कारण अहिले गणतन्त्रवादीको मनमा चिसो पसेको छ ।

२०६५ जेठ १५ मा बसेको संविधान सभाको बैठकले नारायणहिटी दरबारबाट नागार्जुन सार्ने निर्णय गरेपछि तत्कालीन राजा ज्ञानेन्द्र जेठ २९ गते देशभित्रै बसेर सक्रिय रहने घोषणासहित पुर्खाले शासन सत्ता चलाएको विरासत त्यागेर हिँडेका थिए ।

नारायणहिटी छोड्नुअघि आयोजित पत्रकार सम्मेलनमा ज्ञानेन्द्रले दुवैपल्ट बाध्यतावश श्रीपेच पहिरिनु परेको बताएका थिए । झण्डै सात वर्षसम्म राजकाज सम्हालेका ज्ञानेन्द्र ०५८ जेठ १९ मा तत्कालीन राजा वीरेन्द्र (सहोदर दाइ)को वंश नाश भएपछि दोस्रो पटक राजा बनेका थिए । त्यसअघि २००७ सालमा पनि तत्कालीन राजा त्रिभुवन सपरिवार भारत हिँडेपछि ज्ञानेन्द्रको शिरमा बाल्यकालमै श्रीपेच परेको थियो ।

आमनागरिकसरहको ‘पोर्टफोलियो’मा रहेका पूर्वराजा ज्ञानेन्द्र यसअघि पनि विभिन्न चाडपर्व र दिवसहरूमा लिखित र भिडियो सन्देश दिइरहन्थे । ती सन्देशमार्फत् उनी राजनीतिक टिप्पणी र असन्तुष्टि पोखिरहन्थे । धार्मिक भ्रमणका नाममा मुलुकभित्र र बाहिर आउँदा जाँदा पनि उनका अभिव्यक्ति प्रकट भइरहन्थे ।

बेलाबखत आइरहने पूर्वराजाका अभिव्यक्तिप्रति विशेष गरी कम्युनिस्ट विचारधाराका नेताहरू असहिष्णु देखिन्थे । उनीहरू पूर्वराजा ज्ञानेन्द्रलाई आमनागरिकसरह ‘थान्को’मा बस्न सुझाव र चेतावनी पनि दिने गर्थे ।

तर, यस पटक फागुन ७ मा प्रजातन्त्र दिवसको अवसर पारेर पूर्वराजा ज्ञानेन्द्रले जारी गरेको भिडियो सन्देशमा दलहरूका लागि कडा चुनौती थियो । फागुन ७ को सन्देशपछि हौसिएका आफ्ना समर्थक दलहरू र सर्वसाधारणलाई ‘अब समय’ आएको भन्दै फागुन २५ मा काठमाडौंमा बोलाएर उनैले शक्ति प्रदर्शन गरे । यसबाट देशभरका राजावादीमा उत्साहको लहर देखियो ।

बिदा गरेको १७ वर्षपछि राजतन्त्रको पक्षमा किन यति ठूलो भिडसहितको वातावरण सिर्जना भयो त ? पोखरामा करिब एक महिना बसेपछि आइतबार त्रिभुवन विमानस्थलमा अवतरण गरेका पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा पुगेका सबै राजतन्त्र समर्थक हुन् ?

‘२४० वर्षको राजशाहीसँग साझेदारीमा काम गरेका धेरै मान्छे गणतन्त्रमा सबै अवसरहरूबाट बेदखल हुन पुगे । त्यसको रोष पनि थियो । तर, निस्किने परिस्थिति बनेको थिएन,’ राजनीतिक विश्लेषक इन्द्र अधिकारी भन्छिन्, ‘ज्ञानेन्द्र आफैँले हिम्मत गरेका थिएनन् । राप्रपामा कुनै अपेक्षा थिएन । तर, अहिले माहोल के भयो भन्दा जब मान्छेहरू गणतन्त्रवादी दलका गतिविधिबाट असन्तुष्ट बने, त्यसपछि विभिन्न रुपमा मान्छे सडकमा निस्किए । त्यसमा राजा चाहने मात्रै थिएनन्, विभिन्न स्वार्थ समूह पनि मिसिए ।’

समाजशास्त्री डा. दिपेश घिमिरेका नजरमा पालैपालो शासन सत्ता चलाइरहेका दलका शीर्ष नेताप्रतिको वितृष्णा पूर्वराजाको पक्षमा माहोल बनाउन सहयोगी बनेको हो । सीमित नेताहरूको वरिपरी शासन सत्ता घुमिरहँदा पनि उनीहरूले नागरिक अपेक्षा पूरा गर्न काम नगरेकाले वितृष्णा बढेको उनको भनाइ छ ।

‘३०–३२ वर्षदेखि हामीलाई शासन गरिरहेका पात्रहरू नयाँ राजा जस्तै देखिए । राजनीति एउटा तप्काबाट तरल हुन सकेन, अड्किरह्यो । यसले आक्रोश बढायो । पार्टीहरूको नेतृत्वमा जो–जो हुनुहुन्छ उहाँहरूप्रति जनतामा एकदमै वितृष्ण बढेको छ,’ समाजशास्त्री घिमिरेले भने, ‘दलले राम्रो गरेनन्, त्यही भएर विकल्प चाहियो भन्दै अस्ति राजा (पूर्व)को पक्षमा मान्छेहरू सडकमा आए । ०७९ को चुनावमा पुराना दलका नेतृत्वप्रतिको वितृष्णा जनताले नयाँ भनिएकालाई भोट दिएर पोखे । अहिले चुनाव नभएको अवस्थामा बरु यही ठीक छ कि भनेर राजाको पक्षमा पोखिए ।’

राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले

राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले आइतबार पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा पुगेका राजावादीको बाक्लो उपस्थितिले दिएको सन्देश अर्थपूर्ण रहेको तर्क गर्छन् । ‘संख्यामा बहस नगरौँ । तर, हिजोको उपस्थिति र सन्देश अर्थपूर्ण छ,’ उनले भने, ‘सरकार, मूलधारका पार्टी र नेतृत्वप्रति कुन स्तरको असन्तुष्टि र आक्रोश रहेछ भन्ने वास्तविक तस्बिर हो फागुन २५ को प्रदर्शन ।’

उता पूर्वाधारविज्ञ डा. सूर्यराज आचार्य संविधान र राज्य प्रणालीमा सुधार आवश्यक भए पनि दलहरू सत्ताको भागबण्डा र राज्यदोहनमै लागिरहेपछि अहिलेको अवस्था सिर्जना भएको तर्क गर्छन् । परिणामहीन र भ्रष्ट राज्य व्यवस्थाका कारण फागुन २५ मा जनआक्रोश पूर्वराजाको पक्षमा सडकमा पोखिएको उनको तर्क छ ।

‘यो संविधान ठीक ढंगले लेखिएन । राज्यप्रणाली परिणाममुखी बन्न सकेन । संविधान र राज्यप्रणालीमा उल्लेख्य सुधार आवश्यक थियो । तर, राजनीतिक संस्थापन सत्ताको भागबण्डा र राज्यदोहनमै लागिरह्यो,’ डा. आचार्यले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘समय घर्किंदै गयो । तर, परिणामहीन र भ्रष्ट राज्यव्यवस्थाका कारण जनआक्रोश चुलिँदै गयो । यो कुनै न कुनै रुपमा प्रकट हुनु नै थियो । अहिले राजाको समर्थनका रूपमा जनआक्रोश सडकमा पोखिँदै छ ।’

सेवानिवृत्त उपसचिव तीर्थराज ओझा पनि सत्ता सञ्चालन गर्दै आएका दलहरूले अपेक्षाअनुसार काम गर्न नसकेपछि आमनागरिकमा गणतन्त्रप्रति वितृष्णा बढेको बताउँछन् ।

‘अख्तियारमा, अदालतमा शीर्ष नेतृत्वलाई चुनौती दिन नसकिने भएपछि, राजाकै शैलीमा अगाडि–पछाडि गाडी र सुरक्षाकर्मीको लस्कर लगाएपछि । सरकारी कर्मचारी र कार्यालयको सेवा प्रवाहमा कुनै परिवर्तन नदेखिएपछि, आमजनताको कुरा छोडौँ कार्यकर्ता पनि पूरै स्क्यानिङ भएरमात्रै शीर्ष नेतासँग भेट पाउने भएपछि, स्वास्थ उपचार, उच्च शिक्षा र रोजगारीका लागि विदेशै जान पर्ने अवस्था दिन प्रतिदिन बढ्दै गएपछि गणतन्त्रप्रति वितृष्णा जाग्ने नै भयो,’ उनले खबरहबसँग भने ।

सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा पनि पूर्वराजा ज्ञानेन्द्रको ‘शक्ति प्रदर्शन’लाई दलहरूप्रतिको नागरिकको असन्तुष्टिका रुपमा राजावादीले उपयोग गरेको बताइरहेका छन् । उनले सोमबार कैलालीको धनगढीमा विगतदेखि कांग्रेसलाई साथ दिएका नागरिकमा देखिएको असन्तुष्टिलाई राजावादीले उपयोग गर्न खोजेको जिकिर गरे ।

सशस्त्र संघर्षका क्रममा माओवादीबाट लखेटिँदा, तत्कालीन राजा ज्ञानेन्द्रले दुई–दुई पटक अधिकार खोस्दा र संविधान सभा विघटन हुँदा कांग्रेसलाई साथ दिएका जनतामा देखिएको असन्तुष्टिलाई राजावादीले उपयोग गर्न खोजेको महामन्त्री थापाको भनाइ थियो ।

‘नागरिकहरूको यो असन्तुष्टि र यसबाट सिर्जित आक्रोशको आगोलाई प्रयोग गरेर एकथरी जसले यो व्यवस्था आओस् भनेर कहिले चाहेकै थिएन, उनीहरू आगोमा रोटी सेक्न चाहन्छन्,’ महामन्त्री थापाले भने, ‘यसमा हामीले अचम्म मान्नुपर्ने कुरा केही छैन । यो व्यवस्थाको नेता नेपाली कांग्रेस, आजका दिनमा त्यो रोटी सेक्नेको पछाडि लाग्ने कि आक्रोशको आगो निभाउने ? हामीसामु तेर्सिएको प्रश्न यो हो । हामीले आक्रोशको यो आगो निभाउनुपर्छ ।’

थापाको दावीअनुसार आमनागरिकको असन्तुष्टि र असन्तुष्टिबाट सिर्जित आक्रोशको आगोमा राजावादीको ‘रोटी सेक्न’ चाहना पूरा होला त ? राजनीतिक विश्लेषक वाग्लेले लोकतन्त्रको विकल्प थप उदार, प्रभावकारी र जनमुखी लोकतन्त्रमात्रै भएको बताउँदै लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्ने तर्क गरे ।

‘धर्म वा कुनै पनि मायावी आवरणमा राजा ज्ञानेन्द्र र पुनरुत्थानवादीले प्रतिगमनको इन्द्रजाल फ्याँके पनि जनता भ्रममा पर्ने सम्भावना छैन,’ उनले भने, ‘जुनसुकै तान्त्रिक, योगी, महन्थ र प्रभुसँग आत्मसमर्पण गरे पनि राजतन्त्र पुनस्र्थापना हुने सम्भावना छैन ।’

राजनीतिक विश्लेषक इन्द्र अधिकारी

राजनीतिक विश्लेषक अधिकारी पूर्वराजा ज्ञानेन्द्र आफैँ सडकमा उत्रिएर पछिल्लो माहोल सिर्जना भए पनि संघीय लोकतान्त्रिक–गणतान्त्रिक शासन व्यवस्थालाई चुनौती दिने हैसियत नबनाएको दावी गर्छिन् ।

‘यो अहिलेमात्रै बढेको होइन, पहिला पनि प्रजातन्त्र दिवसका दिन ज्ञानेन्द्रले अन्टसन्ट बोल्दै आएका हुन् । अहिले उनी आफैँ सडकमा उत्रिएपछि राजावादी संगठित हुने परिस्थिति बनेको हो,’ उनले भनिन्, ‘तर, यो शक्ति अहिलेको संरचनालाई चुनौती दिने हैसियतमा पुगेको छैन । सक्दैन पनि । किनभने राजतन्त्र ‘आउट डेटेट सिस्टम’ हो ।’

नेपालमा राजसंस्था पुनर्स्थापनाको सम्भावना नभएको भन्दै अधिकारीले पूर्वराजालाई गणतन्त्रको उपभोगका लागि दलहरूले उदारता देखाएको पनि विश्लेषण गरिन् ।

‘जसरी राजसंस्था फालिएको थियो, त्योभन्दा बढी शक्तिको जोहो नगरी राजसंस्था फर्किन सक्दैन । नेपालमा राजसंस्था फर्किने सम्भावना पनि छैन,’ उनले भनिन्, ‘किनभने अहिले गणतन्त्रवादी चुपचाप छन् । संगठनको शक्तिलाई बाहिर ल्याएका छैनन् । कार्यकर्ता उतारेका छैनन् । उर्दी जारी गरेका छैनन् । टसलमा नजाऔँ, हामीले ल्याइदिएको गणतन्त्रको ज्ञानेन्द्रले उपभोग गरुन् भनेर बसिरहेका छन् ।’

पूर्वाधारविज्ञ डा. सूर्यराज आचार्य

उता, पूर्वाधारविज्ञ डा. आचार्य बेलैमा राजनीतिक अभ्यास, संविधान र राज्यप्रणालीमा सुधार गरेर नागरिक अपेक्षाअनुसार परिणाम दिन दलहरू नचुकेको भए गणतन्त्रको स्वीकार्यता बढ्ने र राजसंस्था इतिहासमै सीमित रहने बताउँछन् ।

‘तर, त्यसो भएन । अब संविधान र राज्य प्रणालीमा गरिनुपर्ने हेरफेरमा राजसंस्थालाई पनि स्थान दिनुपर्ने अवस्था सिर्जना भएको छ,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘र, यो परिस्थिति सिर्जना गर्ने जिम्मेवार भनेकै वर्तमान राजनीतिक संस्थापन÷नेतृत्व हो । अब पनि चुनाव जितेर कसरी सत्ता हत्याउने र सत्ताभोग गर्ने भन्ने घातक सोचको निरन्तरता नहोस् ।’

समाजशास्त्री डा. घिमिरे फागुन २५ गतेको ज्ञानेन्द्रको ‘शक्ति प्रदर्शन’लाई कम आँक्न नमिले पनि गणतन्त्र कमजोर भएको भन्न नमिल्ने तर्क गर्छन् ।

समाजशास्त्री डा. दिपेश घिमिरे

‘अस्तिको संख्या त ठूलो हो । २४० वर्ष शासन गरेर बाहिरिएको एउटा शक्तिको थर (जात)का नाममा त्यति मान्छे आउनुलाई कम आँक्न मिल्दैन,’ उनको भनाइ छ, ‘त्यतिले मात्रै गणतन्त्र कमजोर भएको ठान्न मिल्दैन । तर, यसले एउटा घण्टी भने राम्रैसँग बजाएको छ ।’

समाजशास्त्री डा. घिमिरेले अहिलेको राजनीतिलाई जमेको पोखरीको संज्ञा दिँदै अवस्था सुधारका लागि कलकल पानी बग्ने बनाउनुपर्ने सुझाव पनि दिए । ‘पोखरीमा बिग्रिसकेको पानी जस्तो भयो हाम्रो राजनीति,’ उनको सुझाव छ, ‘त्यसलाई कलकल बग्ने, एउटा पुस्ताबाट अर्को पुस्तामा जाने बनाउनुपर्छ । यो गणतन्त्रप्रतिको वितृष्णा होइन, नेताहरूको अनुहारप्रतिको आक्रोश हो ।’

राजनीतिक विश्लेषक वाग्ले लोकतान्त्रिक प्रणालीको अभ्यास र विकासका क्रममा सिर्जित कमी–कमजोरी तथा समस्याहरू लोकतान्त्रिक प्रक्रियाबाटै समाधान हुने बताउँछन् । ‘यही लोकतान्त्रिक प्रणाली र संविधानको विकास, सुधार र सुदृढीकरण गर्दै जनताप्रति उत्तरदायी भएर राज्य सञ्चालन गरी सुशासन र डेलिभरीको प्रत्याभूति गर्ने सरकार, पार्टी र नेतृत्व चाहिएकोे छ,’ उनले भने, ‘नेपाली जनताको चाहना पनि यही नै हो ।’

अर्का राजनीतिक विश्लेषक अधिकारी आमनागरिकमा बढेको असन्तुष्टि र आक्रोशलाई मनन् गरेर दलहरूले आफूलाई सुधार्नुपर्नेमा जोड दिन्छिन् । शीर्ष दलका शीर्ष नेतृत्वले राजनीतिक सिन्डिकेट सिर्जना गरेर नागरिकमा निराशा बढाएको उनको भनाइ छ ।

‘राजा चाहेरभन्दा असन्तुष्टहरू वैकल्पिक हिसाबले सरकारको विरोध गर्न सडकमा जो आउँदा पनि सहभागी हुने अवस्था जुन बनेको छ, त्यसबाट मुख्य तीन दलले अब ‘रिफर्म’ गर्न ढिलो गर्न हुँदैन,’ अधिकारीले खबरहबसँग भनिन्, ‘ठूला नेताहरूप्रति जनताको असन्तुष्टि छ । उनीहरू राजाजस्तै भए भनेर असन्तुष्टि बढेको हो । यसलाई बुझेर पार्टीलाई ‘रिफर्म’ गर्ने, नयाँ ‘भिजन’ र ‘मिसन’सहित नयाँ नेतृत्व आउन दिने र नयाँ उपाय पहिचान गर्नेतिर लाग्नुपर्छ ।’

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ७ : १४ बजे

युक्रेन युद्धविराम प्रस्तावबारे अमेरिकी सूचना पर्खिरहेको क्रेमलिनको भनाइ

एजेन्सी– रूसले साउदी अरबमा भएको वार्तापछि किएभ सहमत भएको युक्रेनमा

‘राजागंज’मा सेन्सर बोर्डको कैँची- प्रधानमन्त्री ओलीसम्बन्धी सबै संवाद हटाइयो, कालोगोरो भन्न पनि निषेध

काठमाडौं- नेपाल बाहिर प्रदर्शनमा आइसके फिल्म ‘राजागंज’ मा सेन्सर बोर्डले

प्रतिगामी र प्रतिक्रियावादी शक्तिविरुद्ध लाखौँ जनता सडकमा उतार्छौँ : प्रचण्ड 

बुटवल– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी र

मिटरब्याजसम्बन्धि जाँचबुझ आयोग गठन

 काठमाडौं– सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग गठन गर्ने

पाँच अध्यादेश प्रतिस्थापन गर्ने विधेयक प्रतिनिधिसभामा पेश

काठमाडौं– सरकारले जारी गरेको अध्यादेशलाई प्रतिस्थापन गर्न बनेका विभिन्न पाँच