स्ववियु निर्वाचनमा रास्वपा समर्थकको भोट कसलाई ? | Khabarhub Khabarhub

स्ववियु निर्वाचनमा रास्वपा समर्थकको भोट कसलाई ?

नेताहरूबीच मतभेद, महाधिवेशनले भ्रातृसंगठनबारे निर्णय लिने



काठमाडौं– प्रतिनिधि सभामा २१ सिटसहित देशको चौथो ठूलो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विद्यार्थीको निर्वाचनमा सहभागी नहुने भएको छ।

रास्वपाले आफ्ना संगठनिक संरचना बनाइनसकेकाले चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनमा सहभागी नहुने निर्णय भएको जनाएको छ । पार्टी केन्द्रीय कमिटी र सचिवालय बैठकमा रास्वपाले पटक–पटक स्ववियु निर्वाचनबारे छलफल गरेको थियो । तर, नेताहरूमा मतभेद देखियो । अर्कातिर संगठनिक संरचना बनाउने काम बाँकी भएकाले यो पटक स्ववियु निर्वाचनमा रास्वपाले प्रतिस्पर्धा गरेन ।

रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार तत्काल सांगठनिक संरचना निर्माण नगरेको तथा विद्यार्थी र शिक्षक राजनीतिबाट अलग हुनुपर्छ भन्ने मतसहित स्ववियु निर्वाचनमा नजाने निर्णय भएको हो ।

उनका अनुसार आगामी वैशाखमा हुने महाधिवेशनबाट पार्टीको संगठनिक संरचना निर्माण हुँदा यसबारे छलफल हुने छ । अहिले विद्यार्थी नेता उत्पादन गर्ने कुरा रास्वपाले ‘ग्रे जोन’ मा राखेको छ । झाले भने, ‘अहिले ग्रे जोनमा छ । महाधिवेशनबाट ब्ल्याक एण्ड ह्वाइट बन्छ ।’

विद्यालयका शैक्षिक समस्या समाधानका लागि विद्यार्थीहरूले आफ्नो नेता चुन्न स्ववियु निर्वाचन यही चैत ५ गते हुँदैछ । त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण परिषद्ले समयमै निर्वाचन गराउने गरी तयारी गरिरहेको छ । यसबीचमा ८२ भन्दा बढी क्याम्पसमा सर्वसम्मत पदाधिकारी निर्वाचित भइसकेका छन् ।

यो पनि

नजिकियो स्ववियु निर्वाचन : के गर्दै छन् विद्यार्थी संगठन ?

रास्वपाको भोट कसलाई ?

उपत्यका र जिल्लाका विभिन्न क्यापसहरूमा रास्वपा समर्थक विद्यार्थीहरूको उपस्थिति छ। प्रवक्ता झा र नेता विराजभक्त श्रेष्ठका अनुसार समर्थक विद्यार्थीले संगठन बनाइदिन आग्रह गरेका थिए । तर, पार्टीको विधानमा विद्यार्थीको संगठनिक संरचना निमार्ण नभएकाले यो पटक हात उठाउनुपरेको हो ।

‘भ्रातृसंगठनको निर्माण भइसकेका छैनन् । छोटो समय भएकाले छलफल गर्न भ्याएनौँ । तत्काल विधान संशोधन गर्ने कुरा पनि भएन’, श्रेष्ठले खबरहबलाई भने, ‘पार्टीको महाधिवेशनबाट केही परिमार्जन भएर आउला । मसँग धेरै विद्यार्थीले निर्वाचनमा चासो राख्नुभएको थियो । मैले उहाँहरूलाई धैर्य गर्नुस् भनेको छु । फोन आइरहेका छन् । संगठन बनाउने, नबनाउने छलफल बाँकी छ ।’

श्रेष्ठले अहिले रास्वपा समर्थक विद्यार्थीको भोटबारे पनि जवाफ दिएका छन् । ‘अहिले जुनसुकै पार्टीको योग्य व्यक्तिलाई इच्छाले जिताउनुस् । हामी यो वा त्यो भन्दैनौँ । स्वतन्त्र या पार्टीबाट उठेका भए पनि योग्य र क्षमतावानलाई भोट हाल्न भन्छु । तर स्वतन्त्र पनि योग्य नहुन सक्ने भएकाले विवेक प्रयोग गर्न सुझाउँछु ।’

उनी रास्वपाले थुप्रै कुरामा तयारी गर्नुपर्ने भएकाले विद्यार्थीहरूले रास्वपाको कुरा बुझ्ने बताउँछन् । उनले भने, ‘अहिले हामी पार्टी बनेपनि थुप्रै काम गर्न बाकी छ । त्यसैले हाम्रा समर्थक विद्यार्थीहरूले यो कुरा बुझ्नुहुन्छ । संस्थाहरूमा दलीय हस्तक्षेपको विरोधमा रास्वपा छ । तर माग पनि उतिकै छ । यो छलफलको विषय हो ।’

रास्वपा प्रवक्ता झा पनि तत्काल शैक्षिक संस्थामा दलीय हस्तक्षेप गर्न नहुने कुरामा रास्वपा अडिग रहेको बताउँछन् । रास्वपा समर्थक विद्यार्थीले निर्वाचनमा जुनसुकै व्यक्तिलाई भोट दिने पाउने अधिकार रहेको उनी बताउँछन् ।

‘हामी शिक्षक र विद्यार्थी राजनीतिबाट टाढा रहनुपर्छ भन्ने मान्यतामा अडिग छौँ । शैक्षिक क्षेत्र भनेको दलीयकरण नगर्ने हाम्रो अडान छ,’ झाले भने, ‘विद्यार्थी दलीय झन्डामुनि बस्नुभन्दा पनि अब्बल बनुन् भन्ने चाहन्छौँ । अहिले हामी सैद्धान्तिक रूपमा शिक्षकले राजनीति गर्नु हुँदैन भनिरहेका छौँ । विद्यार्थीको निर्वाचनमा सहभागी हुँदैनौँ ।’

रास्वपा समर्थक विद्यार्थीले कसलाई भोट दिन्छन् त ? झाले भने, ‘यो कुरा महत्त्वपूर्ण छ । उहाँहरूको विवेक अनुसार भएकामध्ये राम्रो नेतालाई दिनुस् भन्छौँ । म यसैलाई मत दिनुस् भन्दिनँ, जुन दल भए पनि सक्षमलाई दिनस् । निर्वाचनमा सहभागी हुनुस् । राम्रो दलको झन्डामुनि उम्मेदवार हुँदै गर्दा अन्य दलका उम्मेदवार पनि राम्रा हुन सक्छन् । तिनलाई छान्नुहोस् ।’

यो पनि

स्ववियु निर्वाचन : छैन केन्द्रको हस्तक्षेप, क्याम्पसले पाए गठबन्धनको अधिकार

रास्वापामा दुई धार

स्ववियु निर्वाचनलाई लिएर रास्वपामा विवाद देखिएको छ । केही नेता स्ववियु निर्वाचनमा सहभागी नै नभएर शिक्षा क्षेत्रलाई दलीयकरणबाट टाढा राख्नुपर्ने बताइरहेका छन् । रास्वपा कार्यवाहक सभापति डीपी अर्याल शिक्षा क्षेत्र दलीयकरण बाहिर हुनुपर्ने मान्यता पहिलाबाटै रास्वपाले राख्दै आएकाले भविष्यमा पनि निरन्तरता पाउने दाबी गर्छन् । उनी सरकारी कर्मचारी, शिक्षक, विद्यार्थी र पत्रकार दलीय छायाबाट टाढा भए मात्रै देशमा सुशासन र विकास हुने बताउँछन् ।

रास्वपाका अन्य नेताहरूले भने संगठनिक संरचना बनाउँदा विद्यार्थी पनि समेट्नुपर्ने बताइरहेका छन् । उनी स्थानीय तह र राष्ट्रिय निर्वाचनमा पनि विद्यार्थी संगठनको महत्त्व भएकाले भविष्यमा आवश्यकता हुनेसक्ने बताउँछन् ।

‘हामीलाई विद्यार्थी संयन्त्र चाहिन्छ भन्ने भएको छ । यो कुरा बैठकमा पनि उठेको छ । संयन्त्र भनेर परै राजनीति गर्ने खालको युनियन खोल्ने होइन । हामीले संसदीय प्रणालीभन्दा बाहिर संयन्त्र गठन गर्ने तयारीमा छौँ,’ ती नेताले भने, ‘हामीलाई पत्रकार, विद्यार्थी र युवामा पनि संयन्त्रको अभ्यास गर्ने भनेका छौँ । त्यो भन्दैमा सबै ठाउँमा युनियन र संगठन बनाएर बस्ने भन्ने होइन ।’

रास्वपामा सभापति रवि लामिछाने र उनीनिकट नेताहरू विद्यार्थी संगठन नबनाउने पक्ष्मा छन् । रास्वपा ०७९ को निर्वाचनमा प्रदेशमा सहभागी भएन । गत असोज पहिलो साता भएको राष्ट्रिय परिषद् भेलापछि प्रदेशमा मुख्यमन्त्री र केही मन्त्रालय चाहिने लिखित दस्ताबेज रास्वपाले ल्याएको छ ।

कस्तो हो रास्वपाको संयन्त्र ?

रास्वपाले विद्यार्थी र अन्य क्षेत्रमा सामान्य सयन्यत्र बनाउने योजना बनाउन खोजेको छ । यो योजना आगामी वैशाखमा हुने महाधिवेशनबाट विधानमा आउने रास्वपा नेताहरूको तर्क छ । कस्तो संयन्त्र बनाउने प्रश्नमा नेताहरू प्रस्ट छैनन् । पार्टी स्थापनाको दुई वर्ष पूरा भएको दिन असार ७ गते पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले साङ्गठनिक स्वरूप बनाउने विषयमा बहस चलेको बताएका थिए ।

यो पनि

पुराना दलले रास्वपालाई खतराका रूपमा लिए : डा. स्वर्णिम वाग्ले

‘साङ्गठनिक स्वरूप कस्तो बनाउने अलमल छ । पुराना पार्टीको जस्तै बनाउन हामीलाई मन छैन । भद्दा संरचना बनाउँदा गुट जन्माउँछ । जति ठूलो संरचना बनायो, त्यति समस्या हुने रहेछ । बिचौलियाको अखडा जस्तो हुने रहेछ’, उनले भनेका थिए, ‘हामीलाई सानो र चुस्त संरचना चाहिएको छ । पातलो र चुस्त संरचना बनाउन लागेका छौँ । हामी गुट–उपगुटको खेतीमा लाग्दैनौँ ।’

रास्वपा प्रवक्ता झा पनि संयन्त्रबारे पार्टीमा छलफल भइरहेको बताउँछन् । यसको विस्तृत ढाँचा महाधिवेशनमा मात्रै प्रस्तुत हुने उनले बताए । ‘हाम्रो कुरा बुझ्ने, मिसन बुझ्ने संयन्त्र बनाउने हो । अन्धभक्त चाहिएन । क्रिटिकल कुरा र तार्किक बहस गर्ने सानो संयन्त्र बन्ला’, झाले भने, ‘यसबारे छलफलमा छौँ । संयन्त्रको आकार पनि महाधिवेशनले तय गर्छ ।’

संगठन नहुँदा नतिजा कमजोर

रास्वपा साङ्गठनिक स्वरूप नहुँदा स्थानीय तहको उपनिर्वाचनमा कमजोर देखियो । सांगठनिक संरचना नबनेपछि मंसिर १६ को उपनिर्वाचनमा सम्मानजनक मत नआएकोबारे सचिवालय बैठकमै नेताहरूले उठाएका थिए । केन्द्रीय कमिटी बैठकले पनि संरचना बनाउनुपर्ने सुझाव दिएपछि अब रास्वपाले ०८४ को निर्वाचनसम्ममा साङ्गठनिक स्वरूपको खाका कोर्ने भएको छ ।

मंसिर १६ गते देशका ४२ स्थानमा भएको उपनिर्वाचनमा रास्वपाले काठमाडौं वडा नम्बर १६ मा मात्र जितेको थियो । २६ स्थानमा उम्मेदवार उठाएको रास्वपाले कतिपय स्थानमा ४, ५ मात्रै भोट ल्यायो । उपत्यकाकै क्षेत्र कीर्तिपुर नगरपालिका तथा २ र ४ वडामा पनि रास्वपाले उम्मेदवार उठाएन । यसको पछाडि सभापति रवि लामिछानेसँग जोडिएको सहकारी काण्ड रहेको बताइन्छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  २ : २५ बजे

भारतको पक्षमा उभिने सरकारको निर्णयलाई रास्वपाको समर्थन

काठमाडौं– भारत-पाकिस्तान तनावका बीच नेपाल सरकारले भारतको पक्षमा उभिने निर्णय

भन्सार छलिको सामानसँगै ३ मोटरसाइकल बरामद

रौतहट– जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले भन्सार छलीको विभिन्न

विश्वकप एसिया छनोट : नेपाल र हंकङबीचको खेल रद्द

काठमाडौं– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज हुने भनिएको

यस्तो बन्यो संसद् भवन (फोटो फिचर)

काठमाडौं– सिंहदरबारभित्र साढे पाँच वर्ष अघिदेखि निर्माण भइरहेको संसद् भवनको

वैशाखको चौँथो साता शेयर बजारमा ‘डेड क्याट बाउन्स’

काठमाडौं– वैशाखको चौँथो साता वैशाख २१ गतेदेखि २५ गतेसम्म शेयर