नजिकियो स्ववियु निर्वाचन : के गर्दै छन् विद्यार्थी संगठन ? | Khabarhub Khabarhub

नजिकियो स्ववियु निर्वाचन : के गर्दै छन् विद्यार्थी संगठन ?

फागुन १५ गते स्ववियु निर्वाचन गर्ने त्रिविको तालिका



काठमाडौं– विश्वविद्यालयले तोकेको तालिका अनुसार काम हुने हो भने दलहरूले मिनी निर्वाचनका रूपमा लिने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव आउन २ महिना ११ दिन बाँकी छ ।

देश हाँक्ने नेता जन्माउने थलोका रूपमा लिइएको स्ववियु निर्वाचनलाई दलहरूले प्रतिष्ठा बनाइरहेका हुन्छन् । त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको तालिकाअनुसार स्ववियु निर्वाचन फागुन १५ गते हुने छ ।

त्रिवि प्राज्ञिक परिषद् स्थायी समिति बैठकले २०८१ सालको शैक्षिक क्यालेन्डर स्वीकृत गर्दै गत असार २९ मै स्ववियु निर्वाचनको मिति फागुन १५ का लागि तोकेको हो ।

शैक्षिक क्यालेन्डरमै तोकेकाले त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार समयमै निर्वाचन गर्न त्रिवि तयार छ । त्रिवि उपकुलपतिको कार्यालयका गणेश आचार्यले समयमै निर्वाचन गर्न आफूहरू तयार भएको खबरहबलाई बताए ।

‘क्यालेन्डरअनुसार काम गर्न योजना बनाइएको हो । समयमै निर्वाचन गर्न तयार छौँ’, आचार्यले खबरहबलाई भने, ‘विद्यार्थी संगठनले पनि क्यालेन्डर पालना गर्ने भनिरहनु भएको छ । फागुन १५ गते निर्वाचन हुन्छ । यसमा विद्यार्थी संगठनले पनि साथ दिनुपर्छ ।’

२०७९ को स्ववियु निर्वाचनको आँकडा अनुसार देशभ। त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन् । ती सबैमा एकसाथ निर्वाचन गर्ने तयारी छ ।

इतिहास हेर्दा त्रिविमा स्ववियु निर्वाचन वि।सं। २०१८–१९ देखि प्रत्यक्ष प्रणालीमा हुँदै आएको छ । २०३०सम्म प्रत्येक वर्ष हुने गरेको थियो । तर वर्षैपिछे हुँदा काम गर्न समस्या भएपछि वि।सं। २०३६ देखि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुने गरेको छ ।

त्रिविमा वि.सं. २०७३ देखि मिश्रित प्रणालीअनुसार उपत्यकाका नौ र बाहिरका १७ क्याम्पसमा निर्वाचन भएको थियो । अन्य क्याम्पस विवादका कारण निर्वाचन हुन पाएन ।

प्रत्येक दुई–दुई वर्षमा हुने भनिए पनि २०६५ यता नियमित हुन सकेको थिएन । २०६५ चैत ६ गतेपछि एकैचोटी आठ वर्षमा २०७३ चैत १५ गते स्ववियु निर्वाचन भयो । पछिल्लो पटक २०७९ चैत ५ गते स्ववियु निर्वाचन भएको थियो । अब फागुन १५ मा हुँदैछ ।

गठबन्धन कि एक्लै ?

ठूला विद्यार्थी संगठन नेपाली कांग्रेसनिकट नेविसंघ र एमालेनिकट अनेरास्ववियुका नेताहरू निर्वाचनका लागि तयारी भइरहेको बताउँछन् । हाल कांग्रेस, एमाले र साना पार्टी मिलेर गठबन्धन सरकार चलिरहेको छ ।

त्यसैअनुसार दुई ठूला दल मिलेर नेपाल पत्रकार महासंघको निर्वाचन भइसकेको छ । पत्रकार महासंघमा जस्तै स्ववियु निर्वाचनमा यी दुई दलले गठबन्धन गरेर अघि बढ्ने सम्भावना बलियो छ । तर यसबारे अहिलेसम्म छलफल नभएकाले एक्ला एक्लै लड्ने दुवै संगठनका अध्यक्ष बताउँछन् ।

कांग्रेसनिकट नेपाल विद्यार्थी संगठनका अध्यक्ष दुजाङ शेर्पाका अनुसार नेविसंघ एक्लै निर्वाचन लड्न तयार छ । उनी समयमै निर्वाचन गर्न आफ्नो संगठन तयार भएको दाबी गर्छन् ।

‘हाम्रो योजना त देशभरका क्याम्पसमा एकल निर्वाचन लड्ने हो । निर्वाचनमा सहकार्य नगरौँ भनिराखिएको छ’, शेर्पाले खबरहबलाई भने, ‘नेताहरूले गठबन्धन गरेर जानुपर्छ भन्दा एकल लड्न तयार रहने बताउँछौँ । केन्द्रबाटै गठबन्धन गर्ने समझदारी हुँदैन ।’

यस्तै, एमालेनिकट अनेरास्ववियुका अध्यक्ष समिक बडाल पनि विद्यार्थी संगठनको निर्वाचनमा गठबन्धन गर्न आफूहरू तयार नहुने बताउँछन् । ‘विद्यार्थी संगठनको निर्वाचन राजनीतिमा पुस्तान्तरण गराउने अब्बल निकाय हो । यसलाई सुरुबाटै बलियो बनाउन एकल–एकल चुनाव लड्ने संस्कार बनाइदिनुपर्छ’, बडालले खबरहबलाई भने, ‘हाम्रो पदाधिकारी बैठक बसेको छ । स्ववियु निर्वाचनमा जान तयार छौँ । अब माघ ६, ७ र ८ गते बस्ने केन्द्रीय समिति बैठकमा पनि गठबन्धन नगर्ने विषयमा छलफल गर्छौं ।’

बडाल स्थानीय गठबन्धन भए पनि केन्द्रबाटै कुनै सहमति नहुने दाबी गर्छन् । भने, ‘केन्द्रबाट गठबन्धन हुँदैन । जिल्लामा साथीहरूले आवश्यकताअनुसार गरे त हस्तक्षेप गर्ने कुरा भएन । अर्को कुरा, निर्वाचन निर्धारित समयमै हुनुपर्छ ।’

अनेरास्ववियु तयार

अनेरास्ववियुले ६० वटा जिल्लामा सम्मेलन गरिसकेको अध्यक्ष बडालले बताए । अन्यमा पनि जिल्ला अध्यक्ष टुंग्याएर नामवाली आइरहेको उनी बताउँछन् । बाँकी जिल्लालाई पुस २० गतेसम्म अध्यक्ष चुनिसक्न सर्कुलर जारी गरेको छ ।

‘खासमा स्ववियु निर्वाचन सकेर चैत मसान्तभित्र संगठनको महाधिवेशन गर्छौँ । स्ववियु निर्वाचन गर्ने जिम्मेवारी हाम्रो कार्यकाललाई भएकाले समयमै निर्वाचन गर्न लागिरहेका छौँ । त्रिविसँग यही कुरा उठाउँछौँ’, उनले भने ।

अनेरास्ववियुले ०७९ को स्ववियु निर्वाचनमा १ सय ३४ क्याम्पसमा सभापति र १ सय ५२ क्याम्पसमा सचिव जितेको थियो । अध्यक्ष बडाल बुधबार बसेको पदाधिकारी बैठकले स्ववियु निर्वाचनबारे अन्य संगठनसँग पनि छलफल चलाउने निर्णय भएको बताउँछन् । यस्तै, २५ र २६ गते स्ववियु निर्वाचनबारे देशैभरका विद्यार्थीसँग कार्यशाला गर्ने निर्णय भएको छ ।

नेविसंघ तयार, तर संगठन अलपत्र

नेविसंघले हाल ६० भन्दा बढी जिल्ला सभापति टुंग्याइसकेको दाबी गरेको छ । बुधवार र बिहीबार पनि केही जिल्ला सभापति टुंग्याएको अध्यक्ष शेर्पा बताउँछन् ।

‘हाम्रा केही जिल्लामा मात्रै सभापति टुंग्याउन बाँकी छ । यो महिना सक्छौँ’, उनले खबरहबलाई भने, ‘केन्द्रको महाधिवेशन स्ववियु निर्वाचनपछि गर्नुपर्ने भएकाले त्यसपछि कार्यसमिति तय गर्नुपर्ने छ । हामी तालिकाअनुसार स्ववियु निर्वाचन गर्न जिल्ला सम्मेलनलाई प्राथमिकता दिइरहेका छौँ ।’

उनले केही जिल्लाहरूमा आंकेक्षी धेरै भएका कारण जिल्ला सभापतिहरू टुंग्याउन नसकेको बताए । नेविसंघले ७५२ सदस्यीय कार्यसमिति बनाएका केही समस्या भने छ । अध्यक्षबाहेकका पदाधिकारी यो संगठनले टुंग्याउन सकेको छैन । तर समयमै निर्वाचन गर्न आफूहरू तयार भएको नेविसंघ प्रवक्ता सुरज सेजुवाल बताउँछन् । उनका अनुसार सम्मेलन बाँकी रहेका जिल्लामा टिम पठाइएको छ । नेविसंघले ०७९ को स्ववियु निर्वाचनमा १ सय ३२ क्याम्पस जितेको थियो ।

क्रान्तिकारीमा उल्झन्

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा विवादै विवाद छ । गत असोज १० गतेदेखि १२ गतेसम्मको सम्मेलनमा विवाद भएपछि केन्द्रीय अध्यक्ष लगायत पदाधिकारी चुनिएका छैनन् । दुई वर्ष अध्यक्षको सम्हालेकी पञ्चा सिंहको कार्यकाल ३ वर्ष नाघिसकेको छ । अहिलेसम्म सम्मेलन सक्ने तीनचारवटा विकल्पमा छलफल भए पनि निष्कर्ष आएको छैन ।

पार्टीका नेतापिच्छेका उम्मेदवार हुँदा उमेर हदको विषय झिकेर भाँडिएको सम्मेलन २ महिनासम्म पनि नहुँदा स्ववियु निर्वाचनमा पनि अलमल छ । केही जिल्ला र प्रदेशको सम्मेलन गर्न नपाएको क्रान्तिकारीले केन्द्रको सम्मेलन नगरी स्ववियु निर्वाचन फेस गर्न सक्ने अवस्था नरहेको नेताहरू बताउँछन् ।

त्रिवि क्यालेन्डरअनुसार जाने भनिरहेको छ । हाम्रो राष्ट्रिय सम्मेलन हुन सकेको छैन’, उपाध्यक्ष नरेश रेग्मीले खबरहबसँग भने, ‘हाम्रा कारण स्ववियु निर्वाचन र क्यालेन्डर प्रभावित हुनु हुँदैन । यसै त विद्यार्थी नेता बुढा भइसके । समयमै निर्वाचन गर्न हामीले सम्मेलन गर्नुपर्छ ।’

रेग्मी २–२ वर्षमा हुने स्ववियु निर्वाचनलाई विद्यार्थी संगठनले सहयोग गर्नुपर्ने बताउँछन् । ०७९ को स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीले उपत्यकाका ४ क्याम्पस सहित ८४ स्थानमा जितेको थियो ।

उपत्यकाको नेपाल ल क्याम्पस, सानोठिमी क्याम्पस, अस्कल क्याम्पस र हिमालय इन्जिनियरिङ क्याम्पस क्रान्तिकारीले जितेको छ ।

एकीकृत समाजवादीमा पनि समस्या

माधवकुमार नेपाल नेतृत्वको पार्टी नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूमा पनि समस्या छ । यो संगठनले पनि ४० जिल्लामा सम्मेलन गरेको छैन । अध्यक्ष आरती लामाका अनुसार केही प्रदेश सम्मेलन पनि बाँकी छ ।

खासमा विद्यार्थी इन्चार्जको अलमल र पार्टीका आन्तरिक कुराले पनि संगठनमा समस्या भएको अध्यक्ष लामाको भनाइ छ । लामालाई पार्टीले आयोजक कमिटी बनाएर केन्द्र जिल्ला र प्रदेश सम्मेलन गर्ने जिम्मेवारी दिएको थियो ।

तर पार्टीमा निरन्तर विवाद र संगठनमा एकरूपता नहुँदा सम्मेलन गर्न सकेको छैन । संगठनमा कुनै विवाद नभए पनि प्राविधिक कारणले सम्मेलन गर्न नपाएको उनी दाबी गर्छिन् ।

‘अन्य संगठन समयमै निर्वाचन गर्न तयार भए हामीले पनि त्यही गर्नुपर्छ । संगठनको सम्मेलन स्ववियु निर्वाचनअगाडि गर्ने या पछाडि गर्ने छलफल बाँकी छ’, लामाले खबरहबलाई भनिन, ‘हाम्रा संगठनका कारण स्ववियु निर्वाचन प्रभावित नहोस् भनेर लागिरहेका छौँ । यो कुरा पार्टी नेताहरूलाई पनि राख्छु ।’

अनेरास्ववियूले देशभर स्ववियु सभापति ८ ठाउँ जितेको छ । नेविसंघसँग गठबन्धन गरेको सो संगठनले देशर सचिव र कोषाध्यक्ष बढी जितेको अध्यक्ष लामाको दाबी छ । स्ववियु निर्वाचन नजिकिएको बेला यो संगठनले पार्टीबाट विद्यार्थी फाटको इन्चार्ज बनाएर पूर्व स्ववियु सभापति तथा विद्यार्थी आन्दोलकी लिडर रामकुमारी झाक्रीलाई पठाएको छ ।

प्रजातान्त्रिक विद्यार्थी संगठन पनि तयार

राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन पनि त्रिविको क्यालेन्डर अनुसार निर्वाचनमा जान तयार भएको जनाएको छ ।

संगठनका केन्द्रीय संयोजक कमल बम प्रदेशगत संरचना नभए पनि सबै जिल्लामा संगठन भएकाले निर्वाचनमा जान समस्या नभएको दाबी गर्छन् । उनी निर्वाचनमा एकल प्रतिस्पर्धा गर्ने बताउँछन् ।

प्रजातान्त्रिक विद्यार्थी संगठनले ०७९ को स्ववियु निर्वाचनमा १ सभापति, ४ सचिव र २० जनाभन्दा बढी सदस्य जितेको बम बताउँछन् ।

साना संगठनको तयारी

यस्तै, जनता समाजवादी पार्टीनिकट समाजवादी विद्यार्थी युनियनले पनि तयारी गर्दैछ । अशोक राईले पार्टी विभाजन गरेपछि विद्यार्थी संगठनमा भद्रगोल छ । ०७९ को निर्वाचनमा केही स्थान जितेको यो संगठनका नेताहरू अहिले तितरबितर छन् । जनमत पार्टीनिकट विद्यार्थी संगठन जनमत संघ पनि मधेसका केही जिल्लामा प्रतिस्पर्धा गर्ने तयारीमा छ ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  ७ : ३१ बजे

प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्दै मधेस सरकार

महोत्तरी– मधेस प्रदेश सरकारले विद्यालय शिक्षकको अभाव सम्बोधन गर्न प्रदेश

अब अबुधाबीबाट पनि श्रम स्वीकृति

काठमाडौं– सरकारले संयुक्त अरब इमिरेट्स (युएई)बाट पनि श्रम स्वीकृति प्रदान

एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आह्वान

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले यही फागुन ६ र

भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व संकलन

भद्रपुर– यहाँस्थित भूमिसुधार तथा मालपोत कार्यालयले चालु आर्थिक वर्षको सात

अन्तरिक्षको सम्भावनाको कुरा गर्दै मोदीले गरे ट्रम्पलाई भारतमा स्वागत

न्युयोर्क – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको