कमल थापा र राजेन्द्र लिङदेनको ‘कन्ट्रोभर्सी’ | Khabarhub Khabarhub

टिप्पणी

कमल थापा र राजेन्द्र लिङदेनको ‘कन्ट्रोभर्सी’

राजतन्त्र मात्रै किन ? राणा शासन नै किन नमागेको ?


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 8 मिनेट


720
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राजनीतिमा राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको बेग्लै पहिचान छ । धर्म निरपेक्षता र समावेशितासहितको संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक व्यवस्थाको विरुद्धमा रहेका थापा र लिङदेन वैकल्पिक राजनीतिका अभियन्ता हुन्, जसलाई कांग्रेस, एमाले र माओवादीका नेताहरुले घोर दक्षिणपन्थी, पश्चगामी एवं पुनरुत्थानवादी शक्तिको संज्ञा दिन्छन् ।

पञ्चायती व्यवस्थाको उत्तरार्धमा ३५ वर्ष नपुग्दै मन्त्री बनेका मकवानपुरे नेता कमल थापा काठमाडौंको सम्भ्रान्त खस समुदायको प्रतिनिधित्व गर्दछन् । झापामा हुर्केका राजेन्द्र लिङदेनचाहिँ भुइँ तहबाट उठेका ‘जनजातिका हिन्दु छोरा’ का रुपमा परिचित छन् । लिङदेनको छवि भ्रष्टाचारविरोधी एवं सादगी नेताका रुपमा स्थापित छ । उनी राजनीतिका निकै चतुर खेलाडी मानिन्छन्, जसले गत महाधिवेशनमा कमल थापालाई हराएर राप्रपाको नेतृत्व सम्हालिरहेका छन् ।

पछिल्लो समय देशमा कांग्रेस, एमाले, माओवादी र रास्वपा लगायतका गणतन्त्रवादी दलहरुप्रति जनतामा वितृष्णा बढ्दै गइरहेको पृष्ठभूमिमा फेरि एकचोटि राजावादी शक्तिले आफूलाई पुनर्जाग्रित गर्ने कसरत थालेको छ । तर, थापा र लिङदेनको पार्टी फुटेको अवस्था एकातिर छ भने अर्कोतिर दुर्गा प्रसाईँको बेग्लै अभियानका कारण राजावादीहरुलाई अगाडि बढ्न कर परिरहेको छैन ।

राप्रपा, राप्रपा नेपाल र अन्य राजावादी समूहले यो हिउँदमा निर्णायक सडक आन्दोलन गर्ने र गणतन्त्रवादीलाई गलाउने नीति लिएको देखिन्छ । यसमा छिमेकको हिन्दूवादी सत्ताले पनि साथ दिने विश्वासमा राजावादीहरु देखिन्छन् । फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्रको समर्थनमा काठमाडौंमा निस्केको जुलुसमा यूपीका मुख्यमन्त्री योगी आदित्यनाथको तस्वीर देखिएपछि राजावादीको राष्ट्रवादको नाराप्रति प्रश्न उठेको अवस्था छ, भलै यसबारे राप्रपाका नेताहरुले आधिकारिक धारणा बाहिर ल्याएका छैनन् ।

राजावादीहरुले सडक आन्दोलन तताएपछि सत्तापक्ष र प्रतिपक्ष दुबै पोजिसनमा रहेका राजनीतिक दलहरु तरंगित बनेका छन् । गणतन्त्रका सारथी मानिएका कांग्रेस, एमाले, माओवादी र रास्पवाले जनतालाई सन्तुष्ट बनाउन नसकेमा कारण गणतन्त्र खतरामा पर्दै भएको र राजावादीहरु जुर्मुराएको भन्नेखालका विश्लेषणहरु पनि आइरहेका छन् ।

आखिर नेपालमा राजतन्त्र फर्कने सम्भावना छ त ? राजनीतिक दलहरुको सहमतिबाटै राजतन्त्र फर्किन्छ या सडक आन्दोलनको दबावबाट ? यसमाथि पनि बहस गर्ने बेला शायद भइसकेको छैन । किनभने, अहिलेसम्म आन्दोलन गर्ने भनेका राजावादी दलहरुसँग रहेको अहिलेसम्मको जनमत कांग्रेस, एमाले र माओवादीको तुलनामा निकै कम छ ।

आन्दोलनले ‘जनआन्दोलनको’ रुप लिन आवश्यक पर्ने जनमत राजावादीहरुको पोल्टामा परिहालेको अवस्था छैन । भविश्यमा के होला, त्यो बेग्लै पाटो हो । काठमाडौंमा १० हजारको जुलुस निस्कँदैमा व्यवस्था परिवर्तन हुन गाह्रो छ । ०८४ को चुनावमा बहुमत ल्याएर संविधान फेर्न सके बेग्लै कुरा ।

तथापि सरकारविरुद्ध जनतामा रहेको असन्तुष्टि भड्कियो भने सत्तापक्षसँग रहेको बहुमत काम लाग्ने छैन । उदाहरणका लागि बंगलादेशमा शेख हसिनाको दलसँग एक्लै दुई तिहाइ मत थियो तर सडक आन्दोलनका अगाडि त्यो दुई तिहाई बहुमत काम लागेन र बलियो सरकार ढल्यो । बाहना ठूलो थिएन, केबल आरक्षणमा विद्यार्थीहरुको असन्तुष्टि थियो । त्यसर्थ, कांग्रेस एमालेसँग बहुमत छँदैछ भने ०७९ को चुनावको गणित हिसाब गरेर बस्ने हो भने नसोचेको परिणाम नआउला भन्न सकिँदैन ।

यो आलेखमा राजावादीहरुको आन्दोलन कहाँसम्म पुग्ला भन्नेबारे विश्लेषण वा भविष्यवाणी गर्न खोजिएको छैन । अहिले नै त्यस्तो भविष्यवाणी गर्न सकिँदैन ।

यस आलेखमा के मात्रै प्रश्न उठाउन खोजिएको हो भने राजसंस्था फर्काएर देशका तमाम समस्या समाधान गर्न सकिने दाबी गरिरहेका कमल थापा र राजेन्द्र लिङदेनको राजनीति लाइन के हो ? उनीहरु तुल्सी गिरीको लाइनमा अगाडि बढ्न खोजिरहेका छन् या सूर्यबहादुर थापा (सुवथा) को लाइनमा ? थापा र लिङदेन नेपाली राजनीतिलाई ०४७ सालभन्दा अगाडि फर्काउन चाहन्छन् या ०४७ सालको संविधान ब्युँताउन चाहन्छन् ? अनि राजसंस्था फर्काउने तर्क गरिरहेका दुर्गा प्रसाईंदेखि लिएर ज्ञानेन्द्र शाहसम्मको माग के हो ? ०४७ सालको संविधान हो या २०१९ सालको संविधान ?

राजावादीको दुई लाइन संघर्ष

नेपालका राजावादीहरुमा विगत लामो समयदेखि ‘दुई लाइन संघर्ष’ चल्दै आएको देखिन्छ । ०३६ सालमा जनआन्दोलन चर्किएपछि राजा वीरेन्द्रले ‘बहुदल रोज्ने कि सुधारिएको पञ्चायत?’ भनेर जनमत संग्रह गराउने घोषणा गरेका थिए । त्यसबेला अनुदार पञ्च र दरबारियाहरुले वीरेन्द्रको उदारताप्रति असन्तुष्टि जनाएका थिए । राजा यसरी उदार बन्नुहुँदैन भन्ने लाइनमा ज्ञानेन्द्र शाहदेखि लिएर तुल्सी गिरीसम्म थिए । राजाले सम्प्रभुता कसैलाई डेलिभर गर्नुहुँदैन भन्ने राजनीतिशास्त्रका हिमायती तुल्सी गिरी राजासँग रिसाएर श्रीलंकातिर हिँडे । अर्का मूर्धन्य पञ्च सूर्यबहादुर थापा भने ‘सुधारिएको पञ्चायत’को पक्षमा उभिए । र, उनले जनमत संग्रहमा बहुदलीय व्यवस्थालाई हराउने निर्णायक भूमिका निभाए ।

राजा वीरेन्द्र र ज्ञानेन्द्र

जनमत संग्रह सकिएको एक दशकपछि ०४६ सालमा पञ्चायतविरुद्ध जनआन्दोलन भयो । आन्दोलनको दबावमा राजा वीरेन्द्रले ०४६ चैत २६ गते बहुदलीय प्रजातन्त्रको घोषणा गरे । वीरेन्द्रले यसरी ‘उदारता’ देखाएकोमा दरबारको अनुदार समूह सन्तुष्ट थिएन । तत्कालीन रानी ऐश्वर्य र राजाका भाइ ज्ञानेन्द्र शाहसमेत वीरेन्द्रको उदारप्रति रुष्ट रहेको चर्चा हुने गरेको थियो । अन्ततः ०४६ को परिवर्तनपछि दरबारियाहरु उदार र अनुदार दुईधारमा विभक्त भए ।

संसदीय चुनाव (०४८) मा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापाका बेग्लाबेग्लै पार्टी चुनावी मैदानमा आए । तथापि उनीहरु ०४७ सालको संविधानलाई मानेर, संवैधानिक राजतन्त्रलाई स्वीकार्दै राप्रपा नामका पार्टीहरु खोलेर राजनीतिको मूल धारमा समाहित भएका थिए ।

उता, तुल्सी गिरी चाहिँ राजावादीहरुले पार्टी खोल्नु हुँदैन भन्ने मान्यता राख्थे । राजाको कुनै पनि पार्टी हुँदैन र राजाको हातमा रहेको दैवी अधिकारसहितको सम्प्रभुता संसदमा सारेर ‘द्वैध सम्प्रभुता’ चलाउनु राजनीतिशास्त्रको सिद्धान्तकै विपरीत हुने गिरीको लाइन थियो । सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द ‘बहुदलवादी भड्कावमा फसेको’ तुल्सी गिरीको आरोप थियो ।

सूर्यबहादुर थापा र तुल्सी गिरी

सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले चाहिँ राजासमेत जनताको चाहना र मागअनुसार चल्नुपर्ने बताउँदै ०४७ को संविधानले प्रत्याभूत गरेको ‘संवैधानिक राजसंस्थासहितको बहुदलीय प्रजातन्त्र’मा आफूलाई रुपान्तरित गरे ।

यस अवधिमा केही महत्वपूर्ण राजनीतिक घटनाहरु भए ।

०५८ साल जेठमा राजा वीरेन्द्रको बंश नास भयो र ज्ञानेन्द्र शाह राजा बने । बेलायतमा पढेका उदार राजा वीरेन्द्रको बंश विनास जुनसुकै कारणले भएता पनि त्यसको परिणामस्वरुप राजगद्दीमा त्यहीअनुदार नेतृत्व आइपुग्यो, जो ०३६ सालको जनमत संग्रह र ०४६ सालको बहुदल घोषणाप्रति असन्तुष्ट थियो ।

उक्त अनुदार समूह ०४७ को संविधानले प्रत्याभूत गरेको संवैधानिक राजसंस्थाको साटो सक्रिय राजतन्त्रको पक्षपाती थियो । सूर्यबहादुर थापाको लाइन होइन, तुल्सी गिरीपथको समर्थक थियो । ज्ञानेन्द्र त्यही अनुदारपन्थी राजाका रुपमा ०५८ सालमा राजगद्दीमा पुगे ।

ज्ञानेन्द्र अनुदार राजा हुन् र उनी तुल्सी गिरीपथका यात्री हुन् भन्ने केही तथ्य–प्रमाणहरु छन् । राजा बनेलगत्तै उनले दाजुजस्तो टुलुटुलु हेरेर नबस्ने बताए । ०५८ असोजमा शेरबहादुर देउवा नेतृत्वको जननिर्वाचित सरकारलाई अपदस्थ गरे । ०६१ माघ १९ गते सैन्य ‘कु’ मार्फत ०१७ साल भाग–२ दोहोर्‍याए ।

रोचक चाहिँ के भने ज्ञानेन्द्रले ‘कु’ गरिसकेपछि श्रीलंकाबाट तुल्सी गिरीलाई बोलाएर मन्त्रिपरिषदको उपाध्यक्ष बोलाए । यसले पनि ज्ञानेन्द्र शाह उदार सूर्यबहादुर थापाको सल्लाहमा होइन कि अनुदार तुल्सी गिरीको सल्लाहमा चल्ने निरंकुशताप्रेमी राजा थिए भन्ने प्रमाणित हुन्छ । उनी दाजु वीरेन्द्रजस्तो प्रजातन्त्रवादी होइन, बुबा महेन्द्रजस्तो निर्दलीय राजा बन्न चाहन्थे भन्ने इतिहासले पुष्टि गरिसकेको छ ।

अन्ततः ज्ञानेन्द्र र तुल्सी गिरीको राजनीतिक प्रयोग नेपालमा सफल भएन । ०६२÷०६३ मा दोस्रो जनआन्दोलन भयो । राजाको प्रत्यक्ष शासन ढल्यो । संसद पुनस्थापना भयो । राजाको अधिकार थप कटौती गरेर अन्तरिम संविधान जारी भयो । र, ०६४ को संविधानसभा चुनावपछि ०६५ साल जेठ १५ देखि नेपालमा राजतन्त्र औपचारिक रुपमा अन्त्य भएर गणतन्त्रको घोषणा भयो ।

राप्रपामा फुट, कमल थापाको उदय

एकातिर ०४६ पछिको बहुदल कालमा राजदरबारभित्र अनुदार नेतृत्वको उदय भयो भने अर्कातिर ०६३ सालपछि राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र पनि कमल थापाको नेतृत्वमा अनुदारवादी धारको जन्म भयो । ०६४ को संविधानसभा चुनावअघि कमल थापाले सूर्यबहादुर थापा नेतृत्वको राप्रपाबाट फुटेर ‘राप्रपा नेपाल’ गठन गरे र संविधानसभाको चुनावमा भाग लिए । गाई चिह्न लिएर चुनाव लडेका थापाको दल राप्रपा नेपाल ०७० सालको दोस्रो संविधानसभामा २४ सीटसहित चौथो शक्ति बन्न सफल भयो।

दोस्रो जनआन्दोलनपछि सूर्यबहादुर थापाले गणतन्त्रलाई स्वीकार गरेका थिए । भलै उनको पार्टीको राजनीतिक झुकाव संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रपति थियो । तर, जनताको मागलाई समर्थन गर्नुपर्ने थापाको लाइन थियो । तर, कमल थापाले सूर्यबहादुरलाई राजतन्त्रको नारा छाडेको आरोप लगाए र राजा फर्काउने मुख्य मागसहित राप्रपा नेपाल बनाए । राजेन्द्र लिङदेन धवल समशेर राणाहरु कमल थापाका सारथी बने । र, उनीहरुले सूर्यबहादुर थापा नेतृत्वको राप्रपालाई ‘गणतन्त्रवादी’ बनेको आरोप लगाए ।

हुन त राप्रपाका दुबै समूहवीच ०७३ मा एकीकरण पनि नभएको होइन । तर, राजतन्त्रलाई हेर्ने दृष्टिकोणकै कारण पछि विभाजित बने । कमल थापा र राजेन्द्र लिङदेनको आरोप सूर्यबहादुर थापामाथि निरन्तर यही रहन्थ्यो कि– थापाले गणतन्त्रलाई स्वीकारे, राजतन्त्रको मुद्दा छाडे । र, यो विवादको जग त्यही नै हो, जो ०३६ सालदेखि नै उदार र अनुदार दबारियाहरुबीच रहँदै आएको थियो ।

यो पनि-

राप्रपा नेतालाई दुर्गा प्रसाईँको चुनौती– म तपाईहरुको गोठालो होइन

उदार पञ्चको परिचय बनाएका सूर्यबहादुर थापाको निधन भइसकेको छ । सुबथाका बिरासत, छोरा सूनीलबहादुर थापा र नाति सिद्धार्थ थापा नेपाली कांग्रेसमा प्रवेश गरिसकेका छन् । पूर्वमन्त्री सुनीलबहादुर थापा गणतन्त्रवादी मात्रै बनेका छैनन्, राष्ट्रपति रामचन्द्र पौडेलको सल्लहकार छन् । नेपालमा राजतन्त्रको युग सकिएको थापाको विश्लेषण छ ।

राजेन्द्र लिङदेनको उदय

यतिबेला कमल थापाको नियति सूर्यबहादुर थापाकै जस्तो बनेको छ । ०७८ को महाधिवेशनमा राजेन्द्र लिङदेन समूहले कमल थापामाथि लगाएको सबैभन्दा गम्भीर आरोप नै त्यही थियो कि उनले राजतन्त्रको मुद्दा छाडे र गणतन्त्रवादी बने । स्मरण रहोस् विगतमा यही आरोप कमल थापाले सूर्यबहादुर थापामाथि लगाएका थिए ।

महाधिवेशनमा पराजित बनेपछि कमल थापाले राप्रपा परित्याग गर्दै राप्रपा नेपाल पुनर्गठन गरे । तर, रोचक दृश्य के देखियो भने विगतमा उदार भनिएको राप्रपा ज्ञानेन्द्रसँग निकट बन्यो । विगतमा सूर्यबहादुर थापासँग विद्रोह गरेको बनेको राप्रपा नेपालचाहिँ ज्ञानेन्द्रसँग असन्तुष्ट हुँदै राजतन्त्रको नारा नबोक्ने, हिन्दु राष्ट्रको मात्रै नारा बोक्ने लाइनमा पुग्यो । लिङदेन अनुदार र थापा उदार राजावादीमा बदलिए ।

पुरानो कांग्रेसको लाइनमा थापा र लिङदेन !

राप्रपा र राप्रपा नेपालको राजनीतिक लाइनमा यतिबेला अर्को रोचक पक्ष थपिएको छ । महाधिवेशनमा ज्ञानेन्द्रले हस्तक्षेप गरेको आरोप लगाउँदै राजतन्त्र नबोक्ने बताएका कमल थापा फेरि ‘राजसंस्थासहितको प्रजातन्त्र’ चाहिन्छ भन्न थालेका छन् । उता कमल थापालाई राजतन्त्रको नारा छाडेको आरोप लगाउने राजेन्द्र लिङदेन सक्रिय राजतन्त्रको नारा लगाउन छाडेर ‘संवैधानिक राजसंस्था’को वकालत गर्ने ठाउँमा आइपुगेका छन् ।

अन्ततः घुम्दैफिर्दै रुम्जाटार भनेजसरी कमल थापा र राजेन्द्र लिङदेन दुबै नेताहरु ‘राजतन्त्रवादी लाइन’बाट ‘विचलित ?’ भएर ‘संवैधानिक राजसंस्थावादी’ बन्न पुगेका छन् । उनीहरु दुबैजना ०४७ सालको संविधानको पक्षपाती बनेका छन् । एक प्रकारले भन्ने हो भने वीपीवादी कांग्रेसको लाइनमा आइपुगेका छन् ।

त्यसो त दुर्गा प्रसाईँले राजा फर्काउने कुरो गरिरहेका छन् । कस्तो राजा ? उनले केही स्पष्ट पारेका छैनन् । त्यसैगरी स्वयं राजा ज्ञानेन्द्रले पनि फाुगन ६ गतेको सम्वोधनमा अब समय आयो, राष्ट्र जोगाउन मलाई साथ दिनोस् भनेका छन् । तर, उनले कसरी राष्ट्र जोगाउँछन् ? ज्ञानेन्द्रले स्पष्ट पारेका छैनन् । संवैधानिक राजा बनेर ‘ राष्ट्र जोगाउने’ हुन् या सक्रिय बनेर ? यो गम्भीर राजनीतिक प्रश्न ज्ञानेन्द्र शाहकै ‘कोर्ट’मा छ ।

अब यति व्याख्या गरिसकेपछि सोझै थापा र लिङदेनमाथि उब्जेका केही प्रश्नहरुको चर्चा गरौं–

एक– राजनीतिक दलहरुले देश हाँक्न सकेनन् त्यसैले राजसंस्था चाहिन्छ भन्ने तपाईहरुले ०४७ को संविधानमा भन्दा पनि कम अधिकार रहने ‘संवैधानिक राजसंस्था’ चाहिन्छ भनिरहनुभएको सुनिन्छ । त्यस्तो अधिकार नै केही नभएको खोपीको राजा स्थापना गर्दा देशमा विकास र समृद्धि हुन्छ भनेर कसरी मान्ने ? यो त ०४६ पछिकै असफल राजनीतिक प्रयोग भएन र ?

दुई– यसअघि राप्रपाको महाधिवेशनमा राजाले प्रत्यक्ष हस्तक्षेप गरेको आरोप कमल थापाले लगाएका थिए । आफूले त्यस्तो हस्तक्षेपकारी राजसंस्था नचाहेको थापाको भनाइ थियो । अहिले एकाएक कुन विश्वासका आधारमा फेरि थापाले राजसंस्था चाहियो भन्न थालेका हुन् ? प्रजातन्त्रमाथि पटक–पटक हस्तक्षेप गर्दै आएका अनुदार राजाबाट कसरी विश्वास गर्न सकिन्छ कि उनी संवैधानिक दायरामा बस्नेछन् र उनी गद्दीमा बस्नासाथ देशको मुहार फेरिने छ ?

तीन– देशमा राजा नै चाहिने हो भने थापा र लिङदेनले किन तुल्सी गिरीले जस्तै सक्रिय राजतन्त्र चाहिन्छ भनेर माग गर्न नसकेको ? कुनै पनि कार्यकारी अधिकार नभएको संवैधानिक राजाले कसरी देश बदल्न सक्छ ?

चार – सक्रिय राजा पनि नचाहिने तर राजसंस्था पनि चाहिन्छ भनिराख्ने राप्रपाका नेताहरुको लाइन राजावादी जनमतलाई लिएर ठूलो दल बन्ने रणनीति मात्रै त होइन ? राजतन्त्र राप्रपाको चुनावी एजेण्डा मात्रै पो हो कि ?

पाँच– राजा फर्काउँछु भन्ने राजावादी नेताहरु किन आपसमा मिल्न नसकेर कम्युनिस्ट पार्टी जस्तै चोइटिएका ? किन एकले अर्कालाई स्वीकार्न नसकेका ? थापा र लिङदेनबीच किन एकता नभएको ? दूर्गा प्रसाई किबन बेग्लै छोटे राजा बनेका ? के राजावादीहरु सामन्ती सोचबाट ग्रस्त भएकाले एक हुन नसकेका हुन् त ?

छ– विगतमा राप्रपा फुटाउने कार्यमा पूर्वराजाको देन रहेको राप्रपाकै नेताहरुले गुनासो गर्दै आएका छन् । एउटा राप्रपा मिलाउन र एकता गराउन नसक्ने ज्ञानेन्द्रले देशलाई एकतावद्ध गराउलान् भन्ने विश्वास कसरी गर्न सकिएला ?

सात– राजा त फर्काउने तर कसलाई राजा बनाउने ? ज्ञानेन्द्र पहिले नै ‘टेस्टेड’ भइसकेका होइनन् र ? उनी वा पारस वा नातिलाई राजा बनाउँदैमा देशमा एकता र विकास कसरी सम्भव हुन्छ ? के उनीहरुसँग जादुको छडी छ र ?

आठ– जनताबाट निर्वाचित भएर आम नेपालीका छोराछोरीले शासन चलाउने सर्वमान्य लोकतान्त्रिक व्यवस्थालाई अस्वीकार गर्ने अनि बंशवादको वकालत गर्ने सोचाइ कसरी जायज हुन सक्छ ? उदाहरणका लागि– अहिले देशमा कसैले राणा शासन चाहियो भन्यो भने के होला ? तपाईहरुले राजतन्त्र (राजसंस्था) मात्र किन ? राणा शासनचाहिँ किन नमागेको ? आखिर, नेपालमा जहानियाँ राणा शासन पनि त १०४ वर्षसम्म चलेकै व्यवस्था हो ।

यो पनि-

ज्ञानेन्द्रले पढाएको प्रजातन्त्रको पाठ – सोह्र दुना आठ !

ज्ञानेन्द्रको ‘भड्किलो’ प्रश्न, ओलीको ‘आक्रामक’ जवाफ !

ज्ञानेन्द्र र प्रचण्ड : हुन नसकेको त्यो भेट !

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ९ : १७ बजे

आज २०८१ साल चैत २ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल चैत २ गते शनिबार चैत

स्ववियु निर्वाचन : त्रिविका ११ आङ्गिक क्याम्पसमा प्रक्रिया अगाडि बढेन

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका ११ आङ्गिक क्याम्पसमा स्वतन्त्र

मनाङका ९० किशोरीले लगाए एचपिभी खोप

मनाङ – हिमाली जिल्ला मनाङका ९० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको

मेचीनगर गोल्डकप : उपाधिका लागि आयोजक काँकडभिट्टा र चर्च ब्वाइज भिड्ने

झापा – काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका

गोरखाको इतिहास अध्ययन र प्रवर्द्धन गर्न ‘स्रष्टा पदयात्रा’

गोरखा – गोरखाको इतिहास अध्ययन र पर्यटन प्रवर्द्धनका लागि ‘स्रष्टा