राजा समर्थकहरूको रैती हुने रहर | Khabarhub Khabarhub

राजा समर्थकहरूको रैती हुने रहर


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


909
Shares
  • change font
  • change font
  • change font

राजा फर्काउन रातदिन जागराम बस्नेहरूले स्पष्ट बुझ्दा हुन्छ– नागरिकको असन्तुष्टि अब नागरिकबाट राजाको रैती, प्रजा हुन होइन, अग्रगमनका लागि हो  । राजसंस्था पुनर्स्थापना गराउँछु भन्नु र विजय शाहीले अकालमा मृत्यु भइसकेकाहरू जीवित पार्ने भ्रम छर्नु उस्तै उस्तै हो । 

सामन्तका अवशेषहरूले २४० वर्षको दासत्व किन बुझ्न सकिरहेका छैनन् ? वीर सहिदहरुको रगतले कोरेको इतिहास हो यो । अनि तिनै वीर सपुतहरुको कोखबाट जन्मिएको गणतन्त्र हो ।

आज जनजातिका छोराछोरी राष्ट्रपति,  उपराष्ट्रपति, सभामुख , मन्त्री बनिसक्दा राजेन्द्र लिङ्देन, कमल थापा,  दुर्गा प्रसाईं र जुम्लाका ज्ञानबहादुर शाहीका कति पुर्खालाई राजा र तिनका सन्तानले गुलाम बनाए ?

 राजाका रैतीहरुमा यो चेतना हुन जरुरी छ ।  शासक र क्रोनिजहरूको हालीमुहालीले जनअसन्तुष्टि चुलिएको मौका पारेर दक्षिणपन्थी तत्वहरु चलमलाउन कोसिस गरिरहेका छन् । सत्तारूढ शक्तिको अकर्मण्यले चुलिएको असन्तुष्टिमा पूर्वराजा ज्ञानेन्द्रले प्रतिक्रान्तिको कोसिस गरिरहेको स्पष्ट देखिन्छ । 

संसारमा कोही पनि राजाले जनताको इच्छाबमोजिम शासन त्यागेका छैनन् । त्यो केवल  ठूलो रक्तपातपछि मात्र सम्भव भएको पाइन्छ । फ्रान्सका लुईस चौधौँले ‘म नै राज्य हुँ’ भन्थे । सन् १७१५ मा जनताले उनको टाउको काटेका थिए । यस्ता धेरै दृष्टान्त छन्, जहाँ जनताले महान सङ्घर्षको बलमा लोकतान्त्रिक व्यवस्था स्थापित गर्दै आएका छन् । 

नेपालको राजनीतिक इतिहासमा गणतन्त्र स्थापना र २४० वर्ष पुरानो राजसंस्थाको अन्त्य एउटा ऐतिहासिक घटना हो । यसले नेपाललाई राजतन्त्रबाट लोकतन्त्रमा रूपान्तरण गरायो । देशको राजनीतिक, सामाजिक र आर्थिक परिदृश्यमा परिवर्तन ल्यायो । यस परिवर्तनका पछाडि धेरै कारण र घटना जिम्मेवार छन् ।  राजसंस्थाको अन्त्यका केही मुख्य कारण यस्ता थिए ।

 जनकांक्षा र लोकतन्त्रको माग
नेपाली जनताले लामो समयदेखि लोकतन्त्र, स्वतन्त्रता र समानताको माग गर्दै आएका थिए। राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन थालेपछी जनतामा रोष बढ्यो । जनआन्दोलनले राजालाई शक्ति त्याग्न बाध्य बनायो । 

 राजा ज्ञानेन्द्रको नीति
राजा ज्ञानेन्द्रले लोकतान्त्रिक प्रक्रियालाई नराम्रोसँग प्रभाव पार्ने नीति अवलम्बन गरे । उनले संसद् भङ्ग गरेर प्रत्यक्ष शासन थाले । यसले जनताको विश्वास गुम्यो ।

राजदरबार हत्याकाण्ड
राजा वीरेन्द्र र उनका परिवारको हत्याकाण्डले राजसंस्थाप्रति जनताको विश्वास झन् कमजोर बनायो । यस घटनाले राजतन्त्रको छवि ध्वस्त पार्‍यो ।

२०४६ सालको जनआन्दोलनपछि देशमा नयाँ संविधान लागू गरिएको थियो ।यही आन्दोलनले दिएको म्याण्डेटबाट देश संवैधानिक राजतन्त्रात्मक राष्ट्रमा परिणत भएको थियो । तर, माओवादीको १० वर्षे जनयुद्ध, ०६२–०६३ सालको जनआन्दोलनले राजतन्त्र अन्त्य गर्दै नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको थियो । 

नेपालमा गणतन्त्र स्थापनाको १७ वर्ष पूरा भएको छ । तर, यति छोटो अवधिमै एकथरि मानिस नयाँ व्यवस्थाको औचित्यमाथि प्रश्न उठाउन थालेका छन् । मानौँ राजतन्त्रकालमा रामराज्य थियो, त्यहाँ कुनै गरिबी थिएन, असमानता र विभेद थिएन । उन्नत प्रकारको लोकतन्त्र भएको दलील उनीहरुको छ ।

यसखाले तर्क सुन्दा राजतन्त्रकालमा ‘दूधकै खोलो बग्थ्यो’ भन्ने भान हुन्छ । सङ्घीयताले केन्द्रको अधिकार जनताको घर आँगनमा पुगेको, अवसरहरू सिर्जना गरेको, पूँजी परिचालन गरेको, विकासका कामले गति पाएको सङ्घीयता विरोधीहरूले देखेका छैनन् । अहिले उनीहरु यो अवस्थामा चिच्याउने, कराउनेदेखि सडकमा उफ्रिनेसम्मको परिवेश गणतन्त्रले ल्याएको हो । 

गणतन्त्रले धेरै चुनौतीको सामना गर्दैछ। राजनीतिक अस्थिरता, भ्रष्टाचार र आर्थिक असमानताजस्ता समस्या समाधान हुन बाँकी छन् । जनताले गणतन्त्रबाट धेरै अपेक्षा गरेका छन् । तर, यो प्रणालीले आफ्नो पूर्ण क्षमता प्राप्त गर्न अझै समय लिन सक्छ । यसको सफलताका लागि राजनीतिक इच्छाशक्ति, जनताको सहभागिता र सुशासन आवश्यक छ। नेपालले गणतन्त्रको मूल्य र आदर्शलाई कायम राख्दै अगाडि बढ्नु पर्छ । 

सुगौली सन्धिदेखि महाकाली सन्धिसम्म आउँदा नेपालले जे–जति क्षति बेहोर्‍यो, ती सबै सन्धिमा नेपालका राजाहरू प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जोडिएका छन् । कतिपय सन्धिहरु राजाकै निर्देशन र रोहबरमा भएका छन् त कतिपय उनीहरु राष्ट्रप्रमुख भएका बखत । राजा गीर्वाणयुद्धको पालामा भएको सुगौली सन्धि सन् १८६० मा नेपालले ६१ प्रतिशत भूमि गुमायो । 

राजा त्रिभुवनको पालामा गरिएको नेपाल–भारत शान्ति तथा मैत्री सन्धि सन् १९५० ले सुगौली सन्धिलाई अनुमोदन गर्‍यो । महेन्द्रको पालामा सन् १९४० को नेपाल र भारतबीच भएको कोशी सम्झौताले हरेक वर्ष नेपालले डुबानको समस्या भोग्दै आएको छ । महेन्द्रकै पालामा सन् १९५९ भएको गण्डक सम्झौताले नेपालका दर्जनौं बस्तीहरू डुबानमा परिरहेका छन् । 

 वीरेन्द्रको पालामा २०५२ मा भएको महाकाली सन्धिले महाकाली नदीको पानी विद्युत र सिँचाइका लागि भारतलाई सुम्पिने काम भएको छ । जो नेपालका लागि घातक छ । त्यसो त राजतन्त्रकाल आफैँमा अँध्यारो युग थियो । 

 राजाहरूले गरेको विकासकै प्रवृत्ति हेर्ने हो भने पृथ्वीनारायण शाहको एकीकरण प्रक्रियादेखि २०६५ साल जेठ १५ गते गणतन्त्रको घोषणा हुँदासम्म नेपालका शाह राजाहरुले २५० वर्ष शासन गरे । त्यस अवधिमा नेपालको विकास के–कति भयो, त्यसमाथि बहस हुँदै जाला । तथ्याङ्कहरुले २००७ सालको क्रान्तिपूर्व नेपाल विश्वकै दोस्रो पछौटे मुलुक भएको बताउँछ । त्यसका लागि प्रमुख भूमिका नै नेपालका राजा र राणाहरूको छ । 

हिजो माओवादी जनयुद्ध हुँदै गर्दा बयलगाडा चढेर अमेरिका पुगिँदैन भन्दै जनआन्दोलन कमजोर पार्न खोज्ने वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली गणतन्त्र सुव्यवस्थित नहुनुको अर्को मुख्य कारण हो । शासकको हातमा देश सुम्पिएपिछ देशको हालत यस्ताे नभए कस्तो हुन्छ ? माओवादी जनयुद्धकै कारण गणतन्त्र आएको हो भन्नेमा दुबिधा छैन । कांग्रेस एमाले तत्काल कार्यनीतिक नारा बनाउनुपर्छ भन्ने थिएन । कांग्रेस सैद्धान्तिक ढङ्गले राजतन्त्रसहितको प्रजातन्त्र भन्थ्यो । एमालेले तत्काल देशमा गणतन्त्र सम्भव छैन भन्थ्यो ।

लोकतान्त्रिक गणतन्त्रको रक्षकको आवश्यकता छ देशमा, निरङ्कुश राजसंस्थाको होइन । दलहरूको विलासी जीवनशैलीका कारण कतिपय नागरिकहरूले राजाप्रति थप मोह देखाएपछि राजनीतिक दलहरूले विभिन्न टिकाटिप्पणी गर्ने गरेका छन् । यद्यपि विश्लेषकहरू दलहरूले लडेर ल्याएको व्यवस्था संस्थागत हुन नसक्दा नागरिकमा चरम निराशा हुनु स्वाभाविक भएको टिप्पणी गर्छन् ।

खासगरी समाजमा तीनथरी प्रवृत्ति हुन्छन् ।  एउटा अग्रगामी सोच विचार भएका शक्ति जो सङ्ख्यामा थोरै हुन्छन् । उनीहरू इतिहासमा अग्रगामी इन्जिनको काम गर्छन् । अर्को सानो शक्ति ५–१० प्रतिशतसम्मका हुन्छन् । त्यो शक्ति आजभन्दा हिजोको ठिक थियो भनेर पुरानो शक्तिको महिमा मण्डन गरेर बस्ने पुरानै अवस्थातिर फर्काउन खोज्ने हुन्छन् । 

 ती पुरानो सामन्तवादी सोच राख्ने पुरानो शक्तिबाट फाइदा लिएकाहरू अत्यन्तै अल्पचेतना भएका रूढिवादी चिन्तन भएका मान्छेहरू हुन्छन् । अर्को सबैभन्दा ठूलो पङ्क्ति ७०-८० प्रतिशत ढुलमुल मध्यमार्गी खालका हुन्छन् । यो शक्ति अग्रगामी शक्ति बलियो भएमा अग्रगामीको पक्षमा लाग्छन् । पश्चगामी शक्ति हाबी भए जस्तो देखिए उतैतिर लाग्छन् । 

महत्वपूर्ण कुरा के हो भने लोकतान्त्रिक गणतन्त्र साधन हो । साध्य भनेको जनताको सुख, समृद्धि, प्रगति, उन्नति र खुसियाली हो । नेपालमा लोकतन्त्र ढिलो गरी आयो । आर्थिक क्रान्ति पूरा हुन नसकेकाले धेरै जनसंख्या बेरोजगारी, गरिबी, पिछडिएर पिल्सिएको छ । 

देशमा भएका युवाको पङ्क्ति विदेश जान बाध्य छ । देशभित्र शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा जस्ता आधारभूत आवश्यकता प्रत्याभूत गराउन सकिएको छैन । वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक विभेद अहिले विभिन्न रूपमा कायम छन् । जसका कारण जनता असन्तुष्ट हुनु स्वाभाविक हो । देशमा भएको परिवर्तनले छिटो परिणाम दिनुपर्ने थियो । त्यो अपेक्षा पूरा नहुँदा जनतामा निराशा छाएको छ । 

 क्रान्तिकारीको ठूलो तप्का फेरि यथास्थितिवादीमा बद्लिन्छन् । ठूला दल भनिएका कांग्रेस, एमाले पछिल्लो समय मूल नेतृत्व क्रान्तिकारी नेतृत्वबाट विमुख हुँदा अलि सत्तालिप्सा हुन पुग्यो ।

त्यसले गर्दा गणतन्त्रभन्दा हिजो राम्रो हो कि भन्ने शक्तिलाई बल पुगेको छ तर कमीकमजोरीलाई सच्याएर अघि बढ्ने प्रयास आवश्यक छ । लोकतन्त्रको विकल्प अझ उन्नत खालको लोकतन्त्र हो । गणतन्त्रको विकल्प अझ परिमार्जित जनतालाई सुख समृद्धि प्रत्याभूत गराउने गणतन्त्र हो , राजतन्त्र होइन, राजसंस्था होइन ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ५ : २५ बजे

मुद्दा फर्छ्यौटमा उल्लेख्य सुधार भएको छ : प्रधानन्यायाधीश राउत

काठमाडौं– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोच्च अदालतको मुद्दा फर्छ्यौटमा उल्लेख्य सुधार

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

गोदावरी– ललितपुरस्थित गोदावरी नगरपालिकाले जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण कार्य अगाडि

विदेश सचिवको ब्रिफिङ : भारतको आक्रमण पाकिस्तानी सेना, संरचना र सर्वसाधारणविरुद्ध होइन

काठमाडौं : भारतीय विदेश सचिव विक्रम मिस्रीले भारतले आतंकवाद विरुद्ध

रातो मच्छिन्द्रनाथको रथबाट खसालियो नरिवल (तस्बिरहरू)

काठमाडौं– रातो मच्छिन्द्रनाथ रथ जात्राअन्तर्गत शुक्रबार ललितपुरको लगनखेलस्थीत थतिटोलमा नरिवल

नीति कार्यक्रमभित्र सत्तापक्षले देखेको आशा, प्रतिपक्षको निराशा

काठमाडौं- सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३