एसइईको सम्पूर्ण तयारी पूरा : पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुँदै « Khabarhub

एसइईको सम्पूर्ण तयारी पूरा : पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुँदै


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको छ।

परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सबै तयारी पूरा भएको जानकारी दिए। बोर्डले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री प्रत्येक जिल्लामा पुगिसकेको जनाएको छ।

परीक्षा नियन्त्रक पौडेलले भने, “गतवर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार सात सय ८५ परीक्षार्थी सहभागी थिए। यसवर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार दुई सय ८६ जना बढेर पाँच लाख १४ हजार ७१ जना छन्।”

कार्यालयले यसवर्षको एसइई परीक्षाका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरेको छ। परीक्षामा एक सय ५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष हुने छन् भने २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटिने भएका छन्। परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिने जनाइएको छ।

यस पटकको एसइईमा बाल सुधार केन्द्र र कारागार गरी तीनवटा विद्यालय बाहिरका केन्द्र निर्धारण गरेको छ। परीक्षा नियन्त्रक पौडेलले काठमाडौँ र दैलेखका दुई कारागार तथा भक्तपुरको बाल सुधार गृहबाट विद्यार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको जानकारी दिए।

यस वर्षको एसइईमा कीर्तिपुस्थित सफलता एचआईभी शिक्षा सदनबाट पनि विद्यार्थी सहभागी हुने भएका छन् भने यहाँबाट चार जना एचआइभी सङ्क्रमित विद्यार्थीले एसइई परीक्षा दिने भएका छन्।

यस वर्षको एसइई चैत ७ गतेदेखि सुरु भएर १९ गते सम्पन्न हुने भएको छ। परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन हुनेछ। परीक्षा तालिकानुसार पहिलो दिन चैत ७ गते अनिवार्य अंग्रेजी विषय, सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुनेछ।

चैत ८ गते अनिवार्य नेपाली विषय, गैरनेपाली विद्यार्थीका लागि अंग्रेजी (इलेक्टिभ इङलिस) को परीक्षा हुनेछ। चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान तथा प्रविधि एवं संस्कृततर्फ शुक्लयजुर्वेद‚ सामवेद, अथर्ववेद, नीतिशास्त्रलगायत विषयको परीक्षा हुनेछ। १३ गते अनिवार्य सामाजिक, १४ गते ऐच्छिक प्रथम, १५ गते ऐच्छिक द्धितियको परीक्षा सञ्चालन हुनेछ।

लेटर ग्रेडिङ प्रणालीमै यसवर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गर्न तयारी गरिएको छ भने चैत १९ सम्म सञ्चालन परीक्षाको नतिजामा उत्तीर्ण दरमा ७० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ। २०८० सालको एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी पास भएका थिए।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ६ : १७ बजे

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि