काठमाडौं – टिकटकबाट चर्चामा आएकी मोडल प्रिज्मा खतिवडा र कलाकार सागर लम्साल ‘बले’ बीचको मनमुटाव सतहमा आएको छ ।
प्रिज्माले पत्रकार प्रकाश सुबेदीसँगको अन्तर्वार्तामा सागरसँगको मनमुटावको विषयमा बोलेकी छन् । त्यहाँ उनले सागरका कारण आफू मानसिक, सामाजिक र नैतिक समस्यामा परेको बताइन् ।
सागरसँगको मनमुटावको घटना दोस्रो पटक प्रहरी समक्ष पुगेको प्रिज्माले खुलाइन् ।
भएको के हो ?
प्रिज्मा र प्रिन्सी ‘ट्विन गर्ल’का रुपमा परिचित छन् । यी दुवै टिकटकबाट उदाएका जुम्ल्याहा दिदी-बहिनी हुन् ।
केही वर्षअघिसम्म म्युजिक भिडियोमा यी दुवैको माग राम्रै थियो । अहिले कमी आएको छ ।
प्रिज्मा भन्छिन्, ‘अहिले हामीलाई प्रस्ताव नै कम आउने गरेको हो ।’
म्युजिक भिडियोमा काम गर्दाका दौरान यी दुई सागर लम्साल ‘बले’सँग नजिकिएका हुन् ।
प्रिज्मा र सागरको रिल जोडीलाई दर्शकले रुचाए । अर्कोतर्फ यी दुई प्रेममा रहेको चर्चा पनि सुनिन थाल्यो ।
सागर र प्रिज्मा दुवैले आफूहरुको प्रेमसम्बन्ध रहेको अस्वीकार गरेका थिए । तर, चर्चा भने विवाहसम्म पुगेको थियो ।
०७८ मंसिरमा यी दुईको प्रेम सम्बन्ध टुटेको विषय गसिप बन्यो । त्यस यता प्रिज्मा र सागरले सहकार्य गरेका छैनन् ।
सागरसँग विगतमा प्रेमसम्बन्ध रहेको उनी अहिले पनि स्वीकार गर्दिनन् ।
प्रिज्मा भने सागरसँग मनमुटाव भएकै कारण सहकार्य हुन नसकेको बताउँछिन् । प्रिज्माका अनुसार सागरले पटक-पटक मेसेजबाट सहकार्यको प्रस्ताव गर्ने गरेका थिए तर, आफूले अस्वीकार गरिरहिन् ।
यो मनमुटाव थप अप्रिय बन्दै गएको छ । प्रिज्मा प्रहरी समक्ष पुगेको छिन् ।
सागरले आफ्नो तस्बिर र भिडियो दुरुपयोग गरेको कारण प्रिज्मा प्रहरी गुहार्न पुगेकी हुन् ।
प्रिज्माको दाबी अनुसार सागर आफैँलै आफ्नो फ्यान पेज चलाउँछन् । त्यसमा सागरले गीत प्रचारका लागि आफूसँगको प्रेम सम्बन्ध फन्डा प्रयोग गर्ने गरेको प्रिज्माको दाबी छ ।
उनी भन्छिन्, ‘उहाँको विवाह पश्चात पनि उहाँको फ्यान पेजमा मेरो र उहाँको भिडियो जोडेर आउने क्रम रोकिएन । यस्ता भिडियोमा प्रेम प्रसंग जोडिएर आउने भएकाले मेरो असन्तुष्टि हो ।’
यस विषयमा आफूले प्रहरीमा उजुरीसमेत गरेको प्रिज्माले खुलाएकी छन् ।
उनले भनिन्, ‘प्रहरीमा उजुरी गरेपछि सागरजीसँग हाम्रो सहमति भएको थियो । त्यस सहमतिमा मसँग सम्बन्धित रहेर अप्रत्यक्षरुपमा समेत नबोल्ने सहमति भएको थियो । उहाँको फ्यान पेजबाट पनि मेरो फोटो भिडियो हटाउने सहमति भएको थियो ।’
साथै उनको अर्को असन्तुष्टि भनेको सागरले गरेको आफू लक्षित प्रेम सम्बन्धको व्यङ्ग्य ।
ती व्यङ्ग्यले आत्म सम्मानमा ठेस पुगेको भन्दै उनी पटक-पटक प्रहरीकोमा धाउने गरेकी छन् ।
प्रहरी समक्षको सहमति पश्चात पनि सागरबाट अप्रत्यक्ष व्यङ्ग्य गर्ने काम नरोकिएको प्रिज्माको दाबी छ । सोही कारण उनले गत फागुन १९ गते प्रहरी परिसर भद्रकालीमा उजुरी दिएकी थिइन् ।
त्यस उजुरीमा उनले कमेडी दरबार कार्यक्रममा सागरले आफूलाई लक्षित गरी खिल्ली उडाएको भन्दै चरित्र हत्याको कारबाही गर्न माग गरेकी थिइन् ।
उक्त भिडियो हटाउने सहमति पश्चात कमेडी दरबार टिमसँग प्रिज्माको मेलमिलाप भएको छ । सागरसँग भने उनी मेलमिलाप गर्ने पक्षमा छैनन् ।
भन्छिन्, ‘उहाँले पहिलो कागजी सम्झौता मान्नु भएन । अब कानुनी उपचारमा जानुको विकल्प छैन ।’
‘सागरले प्रहरी कार्यालयमै पिट्न खोजे’
केही दिन अघि प्रहरीले छलफलका लागि बोलाउँदा सागरले आफूलाई पिट्ने प्रयास भएको प्रिज्माले बताएकी छन् ।
उनले भनिन्, ‘प्रहरीले दुवै पक्षलाई बोलाएको थियो । त्यहाँ मुख छाड्दै सागरजीले हात उठाउनुभयो । प्रहरीले हामीलाई केही समय माथि बस्न भनेको थियो । त्यहीँ उहाँले अभद्र व्यवहार देखाउनु भयो ।’
साथै, सागरले आफूहरु दुई (प्रिज्मा र प्रिन्सी)लाई काम नदिनु भन्दै कला क्षेत्रका विभिन्न व्यक्तिसँग भन्दै हिँडेको प्रिज्माको दाबी छ ।
उनी भन्छिन्, ‘उहाँले प्रिज्मा प्रिन्सीलाई काम नदिनु है भन्दै हिँड्नुहुन्छ । सायद हामीले उहाँसँग काम गर्दैैनौं भनेपछि इगो राख्नुभएको हो कि ?’
प्रतिक्रिया