आज स्ववियु निर्वाचन : कतै विवाद कतै ताला | Khabarhub Khabarhub

आज स्ववियु निर्वाचन : कतै विवाद कतै ताला


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं – त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । नेपालको सबैभन्दा जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमातहतमा रहेका ६४ वटा आंगिक क्याम्पस (६२ वटा क्याम्पसमा कक्षा सञ्चालन) र एक हजार ५३ सम्बन्धन प्राप्त क्याम्पस छन् । 

उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको हक, हितको संरक्षण तथा सम्वर्द्धन गर्दै अनुसन्धानमूलक, बौद्धिक, प्राज्ञिक र चारित्रिक विकास गर्न, विद्यार्थीहरूमा शैक्षिक तथा सामाजिक मूल्य-मान्यता स्थापित गर्न शिक्षक, कर्मचारी र विद्यार्थीबीच आपसी समन्वयका साथ अनुशासन कायम राख्न स्ववियुको महत्वपूर्ण भूमिका मानिन्छ । 

यस्तै पठनपाठनका लागि उपयुक्त वातावरण तयार गर्न र अतिरिक्त क्रियाकलाप तथा खेलकुदका माध्यमबाट विद्यार्थीको चौतर्फी विकासमा पनि स्ववियुको महत्वपूर्ण भूमिका रहँदै आएको छ। 

विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम, २०५० र स्ववियु निर्वाचनसम्बन्धी निर्देशिकामा उल्लेख भएबमोजिम निर्वाचन हुन गइरहेको निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति सदस्य सचिव प्रा. पशुपति अधिकारीले बताए । 

उनले विश्वविद्यालयका दुई वटा आंगिक र ८५ भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा निर्विरोध निर्वाचन सम्पन्न भइसकेको पनि जानकारी दिए । सदस्य सचिव अधिकारीले १३ वटा आंगिक क्याम्पसहरुमा निर्वाचन प्रक्रिया अगाडि बढाउन समझदारीको प्रयास भइरहेको पनि बताए । 

स्ववियु निर्वाचनको तयारी भइरहेका बेला सोमबार मध्यराति रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेको छ। क्याम्पस प्रशासनले फर्जी कार्ड (नक्कली परिचयपत्र) जारी गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो। यसको निष्पक्ष छानबिन गर्न पनि सो सङ्गठनले माग गरेको छ।

सुरक्षाको कारण देखाउँदै अमृत साइन्स क्याम्पसमा आज हुने भनिएको स्ववियु निर्वाचन स्थगित गरिएको छ। निमित्त क्याम्पस प्रमुख होमबहादुर बानियाँले सूचना टाँस गरेर निर्वाचन स्थगित गरिएको जानकारी दिए। सोमबार आह्वान गरिएको बैठकमा केही विद्यार्थी सङ्गठन अनुपस्थित भएकाले निर्वाचन स्थगित गरिएको सूचनामा उल्लेख छ। 

ऐतिहासिक सन्दर्भ

त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचनको इतिहास हेर्दा वि.सं. २०१८-०१९ सालदेखि प्रत्यक्ष मतदान प्रणालीको आधारमा निर्वाचन प्रारम्भ भएको देखिन्छ। 

वि.सं. २०३० सालसम्म प्रत्येक वर्ष स्ववियु निर्वाचन हुने गरेकोमा वि.सं. २०३६ सालदेखि प्रत्येक दुई वर्षमा २०६५ सालसम्म प्रत्यक्ष प्रणालीबाट निर्वाचन भएको देखिन्छ। 

वि.सं. २०७३ सालदेखि मिश्रित प्रणालीमा आधारित निर्वाचनको परिपाटी प्रारम्भ भएको हो भने उम्मेदवारको उमेरहद- २८ वर्ष कायम गरिएको छ। वि.सं. २०७३ सालमा उपत्यकामा ९ ओटा र उपत्यकाबहिर १७ ओटा क्याम्पसमा मात्र स्ववियु निर्वाचन सम्पन्न भएको थियो। 

वि.सं. २०७९ सालमा ५० ओटा आङ्गिक क्याम्पस र ३०० बढी सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्ववियु निर्वाचन सम्पन्न भएको थियो। विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीद्वारा विश्वविद्यालयको नीतिनिर्माण र कार्यान्वयनमा प्रतिनिधित्व सुनिश्चित गर्न, क्याम्पसहरूमा शैक्षिक वातावरण कायम गर्न र विद्यार्थीको चौतर्फी विकास गर्न एउटा वैधानिक संस्थालाई व्यवस्थित गर्न युनियनको नियमित निर्वाचन प्रक्रियालाई अगाडि बढाइएको हो। 

त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका लागि प्रत्येक क्याम्पसमा स्ववियु गठन गर्नुको उद्देश्य विद्यार्थीको हक, हितको संरक्षण तथा सम्वर्द्धनमा लाग्ने, क्याम्पसमा बौद्धिक र चारित्रिक विकासका कार्यक्रम बनाई कार्यान्वयन गर्ने, विद्यार्थीमा अनुशासन कायम राख्दै पठनपाठनका लागि उपयुक्त वातावरण तयार गर्ने र अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीमा सिर्जनात्मक तथा रचनात्मक क्षमताको विकास गर्नु हो। 

 स्ववियु कार्यसमिति गठन र रिक्त पदपूर्ति सम्बन्धमा 
विद्यार्थी संख्या २०० जनासम्म भएका प्रत्येक क्याम्पसमा ११ सदस्यीय, २०१ देखि १००० जनासम्म विद्यार्थी भएको क्याम्पसमा १५ सदस्यीय, १००१ देखि ३००० जनासम्म विद्यार्थी भएको क्याम्पसमा १९ सदस्यीय र ३००१ जनाभन्दा बढी विद्यार्थी संख्या भएको क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्य समिति रहने व्यवस्था छ। 

जम्मा २१ सदस्यीय स्ववियु कार्यसमितिमा प्रत्यक्षबाट ११ जना (अध्यक्ष १, सचिव १, कोषाध्यक्ष १ र ८ जना सदस्य) र समानुपातिकबाट १० जना सदस्यको सदर मतलाई जम्मा सदस्य संख्याले भाग गरी आउने भागफलको आधारमा र अन्तमा शेष बढी भएअनुसार संघ-संगठन-समूहबाट सदस्य निर्वाचित हुने व्यवस्था छ। 

यसरी २१ जनाको उपस्थितिमा निर्वाचन समितिले पुनः निर्वाचन गराउँदा समानुपातिकका १० जनामध्येबाट एक जना उपाध्यक्ष र एक जना सहायक सचिवका लागि २१ जनाको उपस्थितिमा निर्वाचन हुनेछ र यसरी बनेको स्ववियु कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ । 

कार्यसमितिमा कुनै कारणले निर्वाचित पदाधिकारीमध्ये अध्यक्षको पद रिक्त भएमा उपाध्यक्ष र सचिवको पद रिक्त भएमा सहायक सचिवबाट पदपूर्ति गरिने र अन्य पद रिक्त भएमा कार्य समितिका सदस्यबाट पदपूर्ति गर्ने व्यवस्था छ । 

समानुपातिकतर्फ मनोनित सदस्यले चित्तबुझ्दो कार्य नगरेमा सम्बन्धित संगठनले फिर्ता बोलाउने निर्णयसहितको पत्र संरक्षकसमक्ष प्रस्तुत गरेपछि संरक्षकले स्ववियु कार्यसमितिबाट नाम हटाएर संगठनको समानुपातिक सूचीमा भएका नाममध्येबाट सिफारिस भइआएको विद्यार्थीलाई सदस्यमा मनोनित गर्ने व्यवस्था छ । 

यो पनि

मध्यराति आरआरमा लाग्यो ताला, अमृत साइन्समा मतदान स्थगित

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ६ : ३२ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

सर्लाही – आज हुलाकी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक

विकास योजनालाई समयमै सम्पन्न गर्न पूर्वमन्त्री शर्माको आग्रह

दाङ – पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विकास योजनालाई

जलवायु परिवर्तनको असर न्युनिकरण गर्न सामूहिक सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनले पारेको

लिबियाले १७७ गैरकानुनी आप्रवासीलाई नाइजेरिया फिर्ता पठायो

त्रिपोली – लिबियाको अवैध आप्रवासन नियन्त्रण विभागले १७७ गैरकानुनी आप्रवासीलाई

आजका समाचार : एकै ट्रकमा चीनतर्फ लाँदै गरेको २५ करोड, देशभरका क्याम्पसमा स्ववियु चुनाव र गाजामा फेरि इजरायलद्वारा नरसंहार

राजावादीको सक्रियता बढेपछि कांग्रेसले बोलायो बैठक, ठोस धारणा सार्वजनिक गर्नेपूर्वराजा