कर्मचारी आन्दोलनले सुदूरपश्चिम प्रदेशमा आर्थिक गतिविधि ठप्प | Khabarhub Khabarhub

कर्मचारी आन्दोलनले सुदूरपश्चिम प्रदेशमा आर्थिक गतिविधि ठप्प


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले लेखा क्षेत्रका कर्मचारीको वृत्ति विकास सुविधा नै रोक्ने गरी ल्याएको निजामती ऐन संशोधन गर्न माग गर्दै कर्मचारी आन्दोलित भएपछि आर्थिक गतिविधि ठप्प भएको छ । उक्त ऐनले लेखा समूहका कर्मचारीलाई प्रत्यक्ष असर पर्ने भएकाले आन्दोलन गर्नु परेको लेखा अधिकृत कृष्ण शाहीले बताए ।

कर्मचारीको आन्दोलनका कारण प्रदेशसभा, प्रदेश सरकार र ती मातहतका कर्मचारी तथा जनप्रतिनिधिको तलब निकासा समेत रोकिएको छ । मुख्यमन्त्री, मन्त्री, सांसददेखि कर्मचारीको तलब प्रत्येक महिनाको २५ गतेपछि निकासा हुने गरेको थियो । आन्दोलनका कारण १० दिन बितिसक्दा पनि अझै तलब निकासा हुन सकेको छैन ।

आन्दोलनकारीले माग सम्बोधन नभएसम्म काममा नफर्किने बताएपछि प्रदेशका करिब दुई हजार कर्मचारी यसको मारमा परेका छन् ।

लेखा समूहतर्फका अधिकृतहरूले हालको कानून तथा दरबन्दी संरचनाले उपल्लो तहमा पदोन्नतिमा अवरोध गरेको निष्कर्षसहित विरोध गरेका हुन् । हालको दरबन्दीअनुसार अधिकृत सातौँ, आठौँ तहमा लेखा समूहतर्फ २५ दरबन्दी रहेकोमा उपसचिव नवौँ, दशौँ तहमा एक जनाको मात्रै दरबन्दी छ ।

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले ०८१ फागुन २० गते प्रदेश लोक सेवा आयोगले जारी गरेको विज्ञापनमा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा सामान्य प्रशासनबाट ७ जना र राजश्वबाट १ जना तथा कार्यक्षमताको मूल्याङ्कनको आधारमा सामान्य प्रशासनबाट ७ जना र राजश्वबाट १ जनालाई बढुवा गर्ने सूचना जारी गरेको थियो । यसरी १६ जना बढुवा हुँदा लेखाका कोही पनि बढुवा हुने अवस्था छैन ।

लेखा अधिकृत कृष्णबहादुर शाहीले लुम्बिनी र कोशी प्रदेशमा प्रदेश निजामती सेवाको नवौँ तहमा समूह हटाइएको छ । जसले गर्दा सबै समूहका कर्मचारी खुल्ला प्रतिस्पर्धाबाट बढुवाका लागि प्रतिस्पर्धा गर्ने बताए ।

सुदूरपश्चिम प्रदेशमा पनि नवौँ तहमा समूह हटाउने भन्दै उनीहरूले गत वर्षबाटै शान्तिपूर्ण आन्दोलन गरिरहेका थिए । तर, त्यो आन्दोलनबाट माग सम्बोधन नभएपछि आर्थिक क्रियाकलाप नै ठप्प गर्न लागेको उनीहरूको दाबी छ । सरकारले सुनुवाइ नै नगर्ने अवस्था आएपछि आन्दोलन गर्नु परेको उनीहरुको भनाइ छ ।

नवौँ तहमा समूह हटाउने विषयमा सुदूरपश्चिम प्रदेश सभामा एमाले उपनेता सन्तोष शर्मा थापाले पनि संशोधन प्रस्ताव दर्ता गरेकी थिइन् । तर, उनको प्रस्ताव अनुसार ऐन र कार्यविधिमा कुनै संशोधन भएन ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रशासन समूहतर्फ अधिकृत सातौँ, आठौँ तहमा ६९ दरबन्दी रहेकोमा १३ जना कार्यरत छन् ।

प्रदेशमा हाल कायम रहेको दरबन्दी संरचना प्रदेश बन्ने बेला ०७५ सालमा सङ्घ सरकारले तोकिदिएको दरबन्दी संरचना हो । त्यसबेला लेखा समूहतर्फ अधिकृत तहमा २५ वटा दरबन्दीमा २५ जनाले नै सुदूरपश्चिम रोजेर समायोजन भएका थिए ।

प्रदेश सरकारको चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको आठ महिना अवधिमा पुँजीगत बजेटको करिब १४ प्रतिशत मात्र खर्च भएको देखिन्छ । लेखाका कर्मचारी नै आन्दोलनमा उत्रिएपछि अहिले भुक्तानी निकासा नै ठप्प भएको छ । 

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ९ : २३ बजे

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ- बागलुङमा पाँच करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा

कीर्तिपुर अस्पतालमा जलनकै बिरामीलाई बेड अभाव

काठमाडौं – जलनको उपचारका लागि प्रमुख मानिएको कीर्तिपुर अस्पतालमा जलनकै

कटहरका रूख सुकेपछि किसान चिन्तित

काभ्रे– काभ्रेको मण्डनदेउपुर नगरपालिकामा कटहरका रूख सुक्न थालेपछि किसान चिन्तित

बैतडीको सिल्लेगडा बर्थिङ एकाइमा ‘बेबी वार्मर’

बैतडी– बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सिल्लेगडा बर्थिङ एकाइमा बेबी वार्मर

कानूनसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न दुई समितिको बैठक बस्दैछ