गण्डकी विश्वविद्यालयको कुलपतिका लागि ७ जनाको आवेदन | Khabarhub Khabarhub

गण्डकी विश्वविद्यालयको कुलपतिका लागि ७ जनाको आवेदन


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी विश्वविद्यालयले रिक्त रहेको कुलपति पदमा ७ जनाको आवेदन परेको छ । फागुन २१ बाट १५ दिनको म्याद राखेर सूचना जारी भएकामा अन्तिम दिन बुधबारसम्म ७ जनाको आवेदन परेको हो । आवेदन दिनेमा प्राध्यापक प्राध्यापक कृष्णप्रसाद गौतम, प्राडा विश्वकल्याण पराजुली, प्राडा नवराज देवकोटा, डा. कृष्णप्रसाद अधिकारी, प्रा.डा कुश्माकर न्यौपाने, प्रा.डा इन्द्रप्रसाद तिवारी र प्रा.डा सरोज कोइराला छन् । 

तनहुँको शुक्लागण्डकी घर भएका प्राध्यापक गौतम त्रिभुवन विश्वविद्यालय शिक्षा संकायका डिन भइसकेका व्यक्ति हुन् । पोखराको पृथ्वीनारायण क्याम्पसमा समेत लामो समय पढाएका उनी रेडक्रस लगायत सामाजिक संस्थामा क्रियाशील छन् । 

पोखरा घर भएका प्रा.डा पराजुली पृथ्वीनारायाण क्याम्पस पोखरामा समाजशास्त्र तथा मानवशास्त्रको पूर्व विभागीय प्रमुख हुन् । निर्वाचन क्षेत्र निर्धारण आयोगका सदस्य रहिसकेका पराजुली शैक्षिक र अनुसन्धानात्मक गतिविधिमा क्रियाशील छन् । 

प्राडा नवराज देवकोटा गण्डकी विश्वविद्यालयकै उपकुलपति हुन् । गोरखा घर भएका उनी यसअघि रामपुर कृषि क्याम्पसमा आवद्ध थिए । कास्कीको मादी घर भएका सहप्राध्यापक कृष्णप्रसाद अधिकारीले भौतिक शास्त्रमा विद्यावारिधि गरेका छन् । उनले इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरमा पढाउँछन् । 

पर्वतका प्राडा कुसुमाकर न्यौपाने पृथ्वीनारायण क्याम्पस नेपाली विभागका पूर्व विभागीय प्रमुख हुन् । लोक साहित्यको क्षेत्रको अध्ययन अनुसन्धामा लामो समयदेखि क्रियाशील उनी अहिले पोखराको फूलबारीमा बस्छन् र कास्कीकै लेखनाथका प्राडा इन्द्रप्रसाद तिवारी पोखरा विश्वविद्यालय स्कुल अफ सोसल साइन्सका पूर्व डिन हुन् । उनीसँग देशविदेशमा रहेर विभिन्न दातृ निकायहरुमा काम गरेको लामो अनुभव छ । 

पोखरा घर भएका प्राडा सरोज कोइराला पृथ्वीनारायण क्याम्पसका निवर्तमान प्रमुख हुन् । अंग्रेजी साहित्यमा विद्यावारिधि प्राप्त कोइराला यसअघि पोखरा विश्वविद्यालयको उपकुलपतिको प्रतिस्पर्धामा समेत सामेल थिए । 

विश्वविद्यालयबाट गठित कुलपति सिफारिस समितिले ‘गण्डकी विश्वविद्यालयको कुलपति सिफारिस सम्बन्धी कार्यविधि, २०८१’ अनुसार आवेदन आह्वान गरेको थियो । संस्थापक कुलपति कुलपति प्राडा गणेशमान गुरुङको कार्यकाल सकिनु अगावै विश्वविद्यालय ऐन अनुसार नै सिफारिस समिति गठन गरिएको थियो । कुलपति गुरुङको कार्यकाल फागुन ३ गते सकिएको हो ।

गण्डकी विश्वविद्यालय ऐन २०७६ को दफा २३ मा कुलपतिसम्बन्धी व्यवस्था गरिएको छ । उक्त दफाको उपदफा ३ मा कुलपति नियुक्तिका लागि सिफारिस गर्न न्यासिक परिषदको अध्यक्षको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिने व्यवस्था छ । जसमा प्रदेश लोकसेवा आयोगले तोकेको आयोगको सदस्य र न्यासिक परिषदले तोकेको न्यासिक परिषदको सदस्य रहने प्रावधान छ । हाल न्यासिक परिषद् अध्यक्ष प्राडा कैलाशनाथ प्याकुरेल छन् । छनोट समिति सदस्यमा लोकसेवा आयोगबाट सदस्य कल्पना लम्साल र न्यासिक परिषद्बाट यमुना घले छन् ।

समितिको सचिवालय स्थापना भइसकेपछि कार्यविधि बनाएर दरखास्त आह्वान गरिएको हो । त्यसो त थप एक पदावधिको लागि सरकारले पहिलो कार्यकालकै कुलपतिलाई नियुक्त गर्न सकिने प्रावधान कानुनमा राखिएको छ । त्यो सम्भावना भने अब टरिसकेको छ । 

विद्यावारिधि उपाधि हासिल गरी प्राज्ञिक वा प्रशासनिक वा व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हासिल गरेको र ४५ वर्ष उमेर पुगेको व्यक्ति कुलपतिका लागि योग्य हुने व्यवस्था छ । सिफारिस समितिले कुलपति पदमा नियुक्त हुन योग्य ३ जनाको नाम सिफारिस गर्नुपर्नेछ र यसरी सिफारिस भएका व्यक्तिमध्येबाट मुख्यमन्त्रीले कुलपति नियुक्ति गर्ने व्यवस्था ऐनले गरेको छ ।

कुलपतिको पदमा पहिलोपटक नियुक्तिका लागि सिफारिस गर्न प्रदेश सरकारको शिक्षा क्षेत्र हेर्ने मन्त्रीको संयोजकत्वमा प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्ष र प्रमुख सचिव सदस्य रहेको ३ सदस्यीय समितिको व्यवस्था थियो । सुरुमा न्यासिक परिषद् गठन नभइसकेकाले कानुनमै त्यस्तो प्रावधान राखिएको हो । प्रा.डा गुरुङ त्यही समितिको सिफारिसमा नियुक्त भएका हुन् ।

गण्डकी विश्वविद्यालय नेपालको पहिलो प्रदेश विश्वविद्यालय हो । यसको मुख्य कार्यालय मुस्ताङचोक, पोखरामा छ । विश्वविद्यालयले नेपाल सरकारबाट जग्गा प्राप्ति गरी पोखरा ३२ स्थित ज्ञानकुन्जमा स्थानीय तथा अस्थायी संरचना बनाइसकेको छ । अब मुख्य कार्यालयसहित सबै पढाइ उतै सार्ने तयारी भइरहेको छ । गण्डकी विश्वविद्यालय ऐन, २०७६ गण्डकी प्रदेश सभाबाट २०७६ असोज २७ मा पारित भएसँगै यसले विश्वविद्यालयको मान्यता पाएको हो । तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सोच र अग्रसरतामा विश्वविद्यालय खुलेको हो ।

विश्वविद्यालयमा हाल खेलकुद व्यवस्थापनमा स्नातक (बिएसएम), सूचना प्रविधिको स्नातक (बिआइटी) ब्याचल अफ फार्मेसी (बिफार्म), ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बिबिए), ब्याचल अफ आट्र्स ब्याचलर अफ ल (बिएएललबी) र मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी–आर्टिफिसियल इन्टेलिजेन्स (एमआइटी एआई)पढाइ हुन्छ ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ३ : १६ बजे

विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल

नवलपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलामा

इलाका प्रहरी कार्यालयलाई पुस्तक सहयोग

रामपुर– कालीगण्डकी फाउण्डेशन नेपालले इलाका प्रहरी कार्यालय रामपुरलाई पुस्तक सहयोग

उपल्लो मुस्ताङमा बागवानीको ‘सेटलाइट कृषि फार्म’

मुस्ताङ– उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमीमा मुस्ताङको मार्फास्थित शीतोष्ण

क्लब विश्वकप – मेसीको गोलमा मियामीको पहिलो जित

काठमाडौं – लियोनल मेसीको गोलमा इन्टर मियामीले फिफा क्लब विश्वकप

पुछिघाटको झोलुङ्गेपुल अस्थायी रूपमा मर्मत, स्थानीय खुसी

मन्थली– रामेछापको खाँडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोशी गाउँपालिका जोड्ने पुछिघाटको