अर्थोडक्स चियाको मूल्य : विदेशीलाई भन्दा नेपालीलाई किलोमा डेढसय महँगो | Khabarhub Khabarhub

अर्थोडक्स चियाको मूल्य : विदेशीलाई भन्दा नेपालीलाई किलोमा डेढसय महँगो


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्थोडक्स चियाको उत्पादन र बिक्री गर्ने मध्येको मुलुक नेपाल पनि हो । तर, चिया उद्योगीहरूले भने विदेशीलाई भन्दा नेपालीलाई महँगो मूल्यमा चिया बिक्री गर्दै आएको पाइएको छ ।

नेपाल राष्ट्र बैंकको विराटनगर कार्यालयले कोशी प्रदेशमा उत्पादित अर्थोडक्स चियाले राष्ट्रिय अर्थतन्त्रमा पुर्‍याएको योगदान एवम् आन्तरिक र बाह्य बजारमा यसको सम्भावना र चुनौती विषयमा रहेर गरेको एक विशेष अध्ययनका अनुसार नेपालमा अर्थोडक्स चिया उत्पादन गर्ने उद्योगीहरूले विदेशीलाई भन्दा नेपाली उपभोक्तालाई १४० रुपैयाँ बढी लिने गरेका छन् ।

उद्योगीहरूले नेपालमा प्रशोधित अर्गानिक सर्टिफाइड (प्राङ्गारिक प्रमाणित) अर्थोडक्स चियाको प्रतिकेजी मूल्य ९४१ रुपैयाँ ६० पैसा तोकेका छन्‌ । अन्तर्राष्ट्रिय बजारमा प्रतिकेजी ८०१ रुपैयाँ ५१ पैसामा बिक्री गर्ने गरेका छन् ।

त्यस्तै; अर्गानिक अनसर्टिफाइड अर्थोडक्स चियाको मूल्य क्रमशः ४३३ रुपैयाँ ७१ पैसा र ४०८ रुपैयाँ ३१ पैसा मात्र रहेको पाइएको छ । औसतमा अर्गानिक सर्टिफाइड र अनसर्टिफाइड अर्थोडक्स चियाको प्रतिकेजी बिक्री मूल्य क्रमशः ८२३ रुपैयाँ १४ पैसा र ४११ रुपैयाँ १२ पैसा पर्ने गर्छ ।

अर्थोडक्स चिया उद्योगबाट उत्पादित अर्थोडक्स चियामध्ये ८८.६ प्रतिशत भारत तथा तेस्रो मुलुकमा निर्यात हुने गरेको छ भने ११.४ प्रतिशत आन्तरिक बजारमा बिक्री हुने गरेको छ । अर्गानिक सर्टिफाइड अर्थोडक्स चियाको तेस्रो मुलुकमा निर्यात २१.६३ प्रतिशत रहेको छ भने अर्गानिक अनसर्टिफाइड अर्थोडक्स चियाको तेस्रो मुलुकमा निर्यात न्यून मात्रामा रहेको अध्ययनले देखाएको छ ।

आर्थिक वर्ष ०७९/८० मा चिया उद्योगीहरूले प्रशोधित अर्थोडक्स चियाको बिक्रीबाट २ अर्ब ५७ करोड ५५ लाख २१ हजार ९१३ रुपैयाँ आम्दानी गरेका थिए । जसमा निर्यातको हिस्सा ८६.७२ प्रतिशत छ । यसले उद्योगको अधिकांश आय अन्तर्राष्ट्रिय बजारबाट प्राप्त हुने र उद्योगको आर्थिक सफलता निर्यातमा नै निर्भर रहेको देखाएको छ ।

अर्थोडक्स चिया उद्योगमा तीन अर्ब बढी लगानी, हजारौंलाई रोजगारी

अध्ययनअनुसार ८४ अर्थोडक्स चिया उद्योगहरूमा लगानीकर्ताहरूले कुल लगानी ३ अर्ब ६८ करोड ७४ लाख रुपैयाँ लगानी गरेका छन् । जसमध्ये ३६.४ प्रतिशत हिस्सा ऋणको रहेको छ भने ६३.६ प्रतिशत हिस्सा स्वपुँजी रहेको छ । २ वटा अर्थोडक्स चिया उद्योगमा भने विदेशी लगानी रहेको प्रतिवेदनमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकले ८४ अर्थोडक्स चिया उद्योग र ४२ अर्थोडक्स चिया खेती गर्ने किसानहरू माथि अध्ययन गरेको जनाएको छ । अध्ययनले सो प्रदेशमा २१ अर्गानिक सर्टिफाइड र ७९ अर्गानिक अनसर्टिफाइड गरी कुल एक सय अर्थाेडक्स चिया प्रशोधन उद्योगहरू सञ्चालनमा रहेको देखाएको छ ।

सञ्चालनमा रहेका उद्योगहरूले आर्थिक वर्ष २०७९/८० मा ७८ लाख ३८ हजार ९४६ केजी प्रशोधित अर्थोडक्स चिया उत्पादन गरेका थिए । जसमा अर्गानिक सर्टिफाइड र अनसर्टिफाइड अर्थोडक्स चियाको हिस्सा क्रमशः ११.९ र ८८.१ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशमा सञ्चालित अर्थोडक्स चिया उद्योगहरूको औसत क्षमता उपयोग ५६.२१ प्रतिशत मात्रै गरेका छन् । उद्योगहरू कम क्षमतामा सञ्चालन हुनुको प्रमुख कारणहरूमा कच्चा पदार्थको अभाव, विद्युत आपूर्तिमा अनियमितता, प्राविधिक र दक्ष जनशक्तिको अभाव, मागमा कमी लगायतका समस्या रहेको प्रतिवेदनमा उल्लेख छ ।

अर्गानिक सर्टिफाइड र अनसर्टिफाइड अर्थोडक्स चिया उद्योगमा लगानीको प्रतिफल दर क्रमशः १३.५ र १०.८० प्रतिशत रहेको छ, जसले सर्टिफाइड उद्योगले उच्च प्रतिफल दिने देखाउँदछ । ‘लाभ लागत अनुपात अर्गानिक सर्टिफाइड उद्योगमा १.२२ः१ र अर्गानिक अनसर्टिफाइडमा १.१८ः१ रहेको छ, जसले अर्गानिक सर्टिफाइड उद्योग आर्थिक रूपमा लाभदायक हुने स्पष्ट हुन्छ’, प्रतिवेदनमा भनिएको छ ।

अर्गानिक सर्टिफाइड र अर्गानिक अनसर्टिफाइड अर्थाेडक्स चिया उद्योगको बिक्री आम्दानीमा खुद मुनाफा प्रतिशत दर क्रमशः १८.५० र १५.७० र कुल आम्दानीमा खुद मुनाफा प्रतिशत दर क्रमशः १७.८७ र १५.५३ रहेको प्रतिवेदनमा उल्लेख छ ।

अर्गानिक सर्टिफाइड र अर्गानिक अनसर्टिफाइड अर्थोडक्स चियाको प्रति केजी उत्पादन लागत क्रमशः ६९५.६२ र ३३६.७४ रुपैयाँ रहेको छ भने प्रति केजी मुनाफा क्रमशः १५१.८७ र ६४.५५ रुपैयाँ रहेको छ । अर्गानिक सर्टिफाइड चियाको उत्पादन लागत अर्गानिक अनसर्टिफाइड चियाको तुलनामा १०० प्रतिशतले बढी भएतापनि मुनाफा १३५ प्रतिशतले बढी रहेको छ ।

अर्गानिक सर्टिफाइड उद्योगमा प्रति उद्योग औसतमा ४४ जना र अर्गानिक अनसर्टिफाइड उद्योगमा प्रति उद्योग औसतमा २४ जनाले रोजगारी प्राप्त गरेका छन् । त्यसैगरी, अर्थोडक्स चिया खेतीतर्फ प्रति रोपनी २ जनाले रोजगारी प्राप्त गरेको देखिन्छ ।

कोशी प्रदेशमा अर्थोडक्स चियाको उत्पादनले (चियापत्ता र प्रशोधित चिया) कुल गार्हस्थ उत्पादनमा ०.०५ प्रतिशत योगदान मात्र पुर्‍याएको देखिन्छ भनेकोशी प्रदेशको कुल गार्हस्थ उत्पादनमा यसको योगदान ०.३३ प्रतिशत रहेको छ ।

अर्थोडक्स चियाको निर्यातलाई उत्पादन परिमाण र चियाको निर्यात मूल्यले धनात्मक प्रभाव पार्ने रिग्रेसन एनालाइसिसबाट देखिएको छ । अर्थोडक्स चियाको उत्पादन परिमाण १०० प्रतिशतले वृद्धि हुँदा निर्यात परिमाण ९४ प्रतिशतले र यस्तो चियाको निर्यात मूल्य एक सय वृद्धि हुँदा निर्यात परिमाण ६९ प्रतिशतले बढ्ने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

किसानले हरियोपत्ताको पाउँछन् प्रतिकेजी ५४ रुपैयाँमात्रै

अर्थोडक्स चिया उद्योगहरूले व्यक्तिगत किसान, किसान समूह, सहकारीबाट खरिद गर्ने तथा आफ्नै बगानबाट उत्पादन गर्ने हरियोपत्ताको प्रति केजी औसत खरिद/लागत मूल्य ५४.९३ रुपैयाँ बराबर लगानी गर्ने गरेका छन् ।

जसमध्ये अर्गानिक सर्टिफाइड र अनसर्टिफाइड अर्थोडक्स चिया उद्योगहरूको प्रति केजी औसत खरिद/लागत मूल्य क्रमशः ८७ रुपैयाँ र ४९.३५ रुपैयाँ रहेको देखिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

नमूना छनौटमा परेका अर्थोडक्स चिया खेती गर्ने किसानहरूमध्ये ७ प्रतिशतले मात्र सरकारबाट कृषि अनुदान प्राप्त गरेको देखिएको छ भने ८८ प्रतिशत किसानले तालिम प्राप्त गरेका छन् ।

त्यस्तै, प्रतिवेदनअनुसार स्थलगत सर्वेक्षणका क्रममा नमुना छनौटमा परेका किसानहरूबाट लिइएको आम्दानी र खर्च सम्बन्धी विवरणका आधारमा विश्लेषण गर्दा अर्गानिक सर्टिफाइड र अनसर्टिफाइड नमुना किसानहरूको प्रति केजी औसत लागत क्रमशः ४५ रुपैयाँ १६ पैसा र २४ रुपैयाँ ७२ पैसा र प्रति केजी औसत आम्दानी ७५ रुपैयाँ ५२ पैसा र ४८ रुपैयाँ ४४ पैसा रहेको छ ।

प्रति रोपनीका हिसाबले औसत आम्दानी १३ हजार ९९१ रुपैयाँ र १० हजार ५७५ रुपैयाँ र प्रति केजी औसत मुनाफा ३० र २४ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ३ : १२ बजे

भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा आजदेखि मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिएको

सामाजिक रुपान्तरणका लागि कम्युनिष्ट पार्टीको स्थापना : माधव नेपाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा गरिबी, पछौटेपन,

बाढीपहिरो पीडितलाई स्थायी आवास निर्माण गर्न अनुदान वितरण

काभ्रेपलाञ्चोक– गत असोजको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट पीडित भएका जिल्लाका

शिक्षकहरू २१ दिनदेखि सडकमै (तस्बिरहरू)

काठमाडौं– शिक्षा ऐनलगायत विभिन्न माग राख्दै आज २१ औँ दिनसम्म

भारतीय विद्युत् मन्त्री काठमाडौंमा

 काठमाडौं– भारतका विद्युत् र आभास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर