तीनकुने घटनामा पूर्वराजाको भूमिकाबारे कांग्रेस आक्रमक हुँदा एमाले मौन | Khabarhub Khabarhub

तीनकुने घटनामा पूर्वराजाको भूमिकाबारे कांग्रेस आक्रमक हुँदा एमाले मौन


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


999
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा नवराज सुवेदी र दुर्गा प्रसाईं नेतृत्वका राजावादीहरूले मच्चाएको अराजकता र हिंसामा संलग्नमाथि कारबाही गर्न नेकपा एमालेले माग गरेको छ ।

एमाले महासचिव शंकर पोखरेलले आइतबार बसेको केन्द्रीय सचिवालयको ४७औँ बैठकपछि जारी गरेको वक्तव्यमा तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहको भूमिकालाई लिएर भने मौनता साँधिएको छ ।

अर्को प्रमुख सत्तारुढ नेपाली कांग्रेसको शनिबार बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पू्र्वपदाधिकारी बैठकले तीनकुने घटनाको सम्पूर्ण जिम्मेवार पूर्वराजा शाहलाई बनाउनुपर्ने निर्णय गरेको थियो।

तर, अर्को सत्ता साझेदार नेकपा एमालेले भने दुईजनाको ज्यान जाने गरी भएको तीनकुने घटनामा राजावादीको मात्रै नाम लिएर पूर्वराजाबारे मौनता साँधेको हो ।

महासचिव पोखरेलले बैठकपछि जारी गरेको वक्तव्यमा राजावादीका नाममा काठमाडौंको तीनकुने, कोटेश्वर र जडीबुटी लगायतका क्षेत्रमा अपराधिक समूहले देखाएको उद्दण्डता, अराजकता, तोडफोड, लुटपाट, हत्या र हिंसाका घटनालाई अत्यन्त गम्भीर रूपमा लिएको जनाएका छन् ।

बैठकले उक्त घटनाको निन्दा तथा भर्त्सना गरेको पनि पोखरेलले उल्लेख गरेका छन् ।

‘शान्तिपूर्ण प्रदर्शनका नाममा सवारी साधनको प्रयोग गरी सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारण नागरिकका घर, व्यवसायिक भवन, सञ्चारगृह, दलका कार्यालय र सरकारी भवनमाथि आगजनी गर्ने, लुटपाट गर्ने, जानी जानी हिंसा र आतङ्क सिर्जना गर्ने तथा मुलुकको लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्ने जस्ता अराजक र आपराधिक क्रियाकलापको छानबिन गरी दोषीउपर तत्काल कारबाहीको प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकषर्ण गर्दछ’, महासचिव पोखरेलले भनेका छन् ।

उनले बैठकमा एमालेले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने सङ्कल्प गरेको पनि बताएका छन् । ‘सबै राजनीतिक दल, नागरिक समाज र आमनेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासविरूद्ध गोलबन्द हुन आह्वान गर्दछ’, पोखरेलले भनेका छन् ।

उनले प्रतिनिधिसभा र राष्ट्रियसभाको अवरोधका कारणले प्रतिस्थापन विधेयक पारित गर्ने प्रक्रियामा व्यवधान सिर्जना भइरहेको पनि बताएका छन् ।

‘संविधान र कानुनको व्यवस्थाअनुरूपको कार्यसम्पादनमा उत्पन्न बाधा हटाउनका लागि प्रतिपक्षी दलहरूलाई अनुरोध गर्दछ’, महासचिव पोखरेलले भनेका छन्, ‘सरकारी विधेयकलाई संविधान र कानूनको व्यवस्थाअनुरूप सम्पादन गर्ने कर्तव्यतर्फ राष्ट्रियसभा अध्यक्ष र प्रतिनिधिसभाका सभामुखको ध्यानाकर्षण समेत गर्दछ ।’

के भनेको थियो कांग्रेसले ?

यसअघि प्रमुख सत्तारुढ नेपाली कांग्रेसले तीनकुनेमा शुक्रबार भएको हिंसात्मक घटना र विध्वंशको सम्पूर्ण दोष पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको थियो।

सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको काङ्ग्रेस पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको शनिबार नै प्रवक्ता डा. प्रकाशशरण महतले बताएका थिए ।

कांग्रेसले तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा शाहले लिनुपर्ने बताउँदै यसमा संलग्नमाथि कडा कारबाहीका लागि सरकारसँग माग पनि गरेको थियो ।

कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले तीनकुनेमा भएको हिंसात्मक घटनाबारे त्यो निष्कर्ष निकालेको पार्टी महतले बताएका थिए ।

महानगरको कारबाही

कांग्रेसको उक्त निर्णयअघि शनिबार नै काठमाडौं महानगरपालिकाले पूर्वराजालाई तीनकुने घटनाको मुख्य जिम्मेवार ठहर्‍याउँदै ७ लाख ९३ हजार जरिवाना तिराउने निर्णय गरेको थियो ।

पूर्वराजाकै निर्देशनमा तीनकुनेमा प्रदर्शनका क्रममा तोडफोड र सार्वजनिक सम्पत्तिमाथि आगजनी गर्ने काम भएको महानगरको निष्कर्ष थियो ।

त्यही निष्कर्षअनुसार ७ लाख ९३ हजार तिराउने जरिवाना पत्र महानगरको टोलीले आइतबार महारागञ्जस्थित निर्मल निवासमा पुर्‍याउँदै पूर्वराजाको सचिवालयले बुझ्न अस्वीकार गरेको छ ।

त्यसपछि महानगरले उक्त जरिवानाका लागि विभिन्न शीर्षकमा काटिएका ८ वटा पत्र हुलाकबाट निर्मल निवासका नाममा पठाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ७ : ३८ बजे

चितवनको गाईघाट दुर्घटनामा २१ जना घाइते

चितवन– भरतपुर महानगरपालिका– २९ गाइघाटमा सातवटा सवारीसाधन एकापसमा ठोक्किँदा २१

जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट

पर्वत– गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै

बर्दिया र कैलालीको सान चिसापानी पुल (तस्बिरहरू)

कर्णाली– एउटा मात्रै पिल्लरबाट बनेको केबुल तारयुक्त पाँच सय मिटर

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत