पर्वतको जलजला– माटेमा पदमार्ग विकास | Khabarhub Khabarhub

पर्वतको जलजला– माटेमा पदमार्ग विकास


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पर्वत – पर्वतको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल जलजलादेखि माटेको लेक पुग्ने पदमार्ग निर्माण सम्पन्न भएको छ ।

गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा यस वर्ष झन्डै दुई किलोमिटर लामो पदमार्ग निर्माण गरिएको छ ।

पर्वत–भमरकोट–घोडेपानी पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष मनबहादुर खड्काका अनुसार ३० लाखको लागतमा उक्त पदमार्ग निर्माण गरिएको हो । गत मङ्सिरदेखि सुरु भएको पदमार्ग निर्माणकार्य यसै साता सकिएको उनले बताए ।

कास्कीको नयाँ पुलबाट पर्वतको मोदी गाउँपालिकाको ताङ्ले–भमरकोट–डाँडाकमेरे–माटे–जलजला–मोहोरेडाँडा–घोडेपानी जोड्ने पदमार्गअन्तर्गत माटेको लेकसम्म १६ किलोमिटर लामो पदमार्ग यसअघि नै निर्माण भइसकेको थियो ।

बाँकी रहेको क्षेत्रमध्ये यस वर्ष दुई किलोमिटर पदमार्ग निर्माण भएपछि अब जलजलासम्म नै सहज रूपमा पर्यटक यात्रा गर्नसक्ने पर्यटन व्यवसायी टीका पुनले जानकारी दिए ।

योसँगै थप एक किलोमिटर पदमार्ग निर्माण गर्न सकेमा म्याग्दीको पर्यटकीयस्थल मोहोरेडाँडासम्म जोड्न सकिने उनको भनाइ छ ।

नयाँपुलदेखि पर्वतको मोदी र जलजला गाउँपालिका हुँदै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी जोड्ने नयाँ पदमार्ग तयार भएपछि पछिल्लो समय पर्यटकको आकर्षण बढ्दै गएको छ । माटेको लेकबाट जलजलासम्म पदमार्ग नहुँदा पर्यटक घाँसेभिर र झाँडीको बाटो पार गर्दै कष्टपूर्ण यात्रा गर्न बाध्य भएकामा अहिले सहज रूपमा यात्रा गर्न थालेको पर्यटन व्यवसायी पुनले बताए ।

पदमार्ग सहज भएसँगै अहिले हम्पाल र जलजला क्षेत्रमा लालीगुँरास हेर्न र टिप्न जानेको घुइँचो लागेको छ । जलजलामै होटल सञ्चालन गर्दै आएका पुनले दैनिकजसो होटल बुकिङ हुन थालेको बताए । हम्पाल र जलजला क्षेत्रमा विभिन्न रङका १२ थरि लालीगुँरास पाइने गर्छन् ।

फागुनदेखि जेठसम्म लालीगुँरास रहने भएकाले यो सिजनमा यहाँ पर्यटकको सहभागिता उल्लेख्य मात्रामा बढेको पुनले बताए । पदमार्ग सहज भएपछि आन्तरिक मात्र नभएर विदेशी पर्यटकको उल्लेख्य सहभागिता हुने गरेको छ ।

विगत १३ वर्षअघि पहिचान भएको नयाँपुल–मोहरिया–ताङले–भमरकोट–फलाटे–डाँडाकेटेरी–थामाको डिल–हम्पाल–जलजला–कोखेडाँडा–मोहरेडाँडा–फूलबारी–पुनहिल हुँदै घोडेपानी जोड्ने पदमार्ग सञ्चालनमा आए पनि हम्पाल क्षेत्रमा व्यवस्थित पदमार्ग निर्माणकार्य बल्ल सुरु भएको होटल व्यवसायी पुनले बताए ।

पदमार्ग निर्माण भएपछि राति वा दिउँसो जुनसुकै समयमा पनि पदयात्रा गर्न सहज हुने उनले बताए ।

विश्वकै दश उत्कृष्ट पदमार्गमा सूचीकृत अन्नपूर्ण चक्रीय पदमार्गको वैकल्पिक गन्तव्यका रूपमा विकास भएको ताङ्ले–भमरकोट–डाँडाकमेरे–माटे–जलजला–मोहोरेडाँडा–कोखेडाँडा–घोडेपानी जोड्ने पदमार्गअन्तर्गत माटेको लेकबाट जलजलासम्मको पदमार्ग निर्माणले पूर्णता पाएको हो ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  १ : २५ बजे

गर्मीबाट हज–यात्रीलाई बचाउन साउदी अरबको सङ्घर्ष

काठमाडौं – इस्लामको सबैभन्दा महत्त्वपूर्ण संस्कार हजमा दस लाखभन्दा बढी

वेददेखि विभेदसम्म !

काठमाडौँ – नेपालमा आज ‘जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस’

बजेटले राष्ट्रिय आवश्यकता सम्बोधन गर्न सकेन : नारायणकाजी श्रेष्ठ

काठमाडौं– सांसद नारायणकाजी श्रेष्ठले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि

सरकारले शून्य कार्बन उत्सर्जनको लक्ष्यसहित काम गरिरहेको छ : ऊर्जामन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शून्य कार्बन उत्सर्जन

धुलिखेल–खावा सडक : पुनः ठेक्कामा जान अर्थको सहमति कुर्दै सडक डिभिजन

काभ्रेपलाञ्चोक– सडक डिभिजन कार्यालय भक्तपुर अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित निर्माणाधीन धुलिखेल–खावा