न्होम्पेन- चिनियाँ राष्ट्रपति सी जिन्पिङ बिहीबार कम्बोडियाको भ्रमणका लागि राजधानी न्होम्पेन पुगेको चीनको ग्लोबल टेलिभिजन (सीजीटीएन) ले जनाएको छ ।
स्रोतका अनुसार चीनको क्षेत्रीय व्यापार सम्बन्धलाई बलियो बनाइ अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पले लगाएको चर्को करको प्रभावलाई कम गर्ने प्रयासस्वरुप राष्ट्रपति सी भियतनाम र मलेसियाको भ्रमण पछि कम्बोडिया पुगेका हुन् ।
बिहीबार न्होम्पेनको विमानस्थलमा उनलाई सैन्य स्वागतसहित राजा नोरोडोम सिहामोनीले स्वागत गरेका थिए ।
राष्ट्रपति सीले पूर्वनेता हुन सेन र उनका छोरा प्रधानमन्त्री हुन मानेटसँग बैठक गर्नुअघि बिहीबार दिउँसो दरबारमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार चीन कम्बोडियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार र लगानीको स्रोत हो ।
एसियामा चीनका भरपर्दो समर्थक हुन मानेटले सी को भ्रमणलाई अर्थपूर्ण र मित्रताको प्रतीकको रुपमा वर्णन गरेका छन् ।
उनले दुई देशबीच सार्वभौमिकता, समानता र आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तमा आधारित सम्बन्ध रहेको बताएका छन् । यसै क्रममा उनले कम्बोडियाको सामाजिक आर्थिक विकासमा चीनले “महत्वपूर्ण भूमिका खेलेको’’ पनि बताएका छन् । उनका अनुसार यस वर्ष चीन र कम्बोडियाले कूटनीतिक सम्बन्धको ६७ वर्षसमेत मनाउँदैछन् ।
चालु महिनाको सुरुमा ट्रम्पले गरेको चर्को कर घोषणापछि विश्वव्यापी रुपमा यस विषयमा बहस र चर्चा भइरहेको छ ।
कम्बोडियाली वाणिज्य मन्त्रालयका अनुसार हुन मानेटले वासिङ्टनलाई “आपसी समझदारी र वार्ताका लागि कम्बोडियाको विश्वास व्यक्त गर्दै अमेरिकी सामानहरूमा आफ्नो कर घटाउने प्रतिवद्धता’’ सहितको पत्र लेखेका छन् ।
प्रतिक्रिया