काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा अनेक आलोचनाका बीच प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सफल बनाउन प्रयासरत देखिन्थे । उनी सुरुवातदेखि नै नेकपा एमालेका अध्यक्ष ओली नेतृत्वमा सरकारले गरिरहेका निर्णयमा ‘हो मा हो’ थपिरहेका थिए ।
कुनै एउटा शक्तिशाली मन्त्रालय लिएर सरकारमा सहभागी हुन पार्टीभित्रैबाट गरिएको ‘प्रस्ताव’ अस्वीकार गर्दै महामन्त्री थापा सरकार सफल बनाउनतिर लागेका थिए । कांग्रेस–एमाले मिलेर बनेको सरकारलाई सफल बनाउन उनी उच्चस्तरीय राजनीतिक संयन्त्रमा समेत बसेर काम गरिरहेका थिए ।
सरकार सफल बनाएर जनतालाई परिणाम दिनका लागि व्यक्तिगतरुपमा जोखिम उठाएरै भए पनि जिम्मा लिनुपर्छ भनेर आफू सरकारलाई सघाउनका लागि मन्त्रालयको जिम्मेवारी नलिएको थापाले आफूनिकटलाई भन्दै पनि आएका थिए ।
महामन्त्री थापा सुरुवाती चरणमा उत्साहका साथ त्यसको प्रयासमा थिए । त्यही प्रयासस्वरुप उनी हिउँदे अधिवेशन बोलाएर विधेयकमार्फत् गर्न सकिने सम्पादन गर्न सकिने काम अध्यादेशमार्फत् गर्न खोज्दा पनि सरकारको बचाउमै उभिए । विगतमा सरकारले अध्यादेश ल्याउँदा चर्को विरोध गर्ने महामन्त्री थापा ओली नेतृत्वको सरकारले ल्याएका अध्यादेशहरूको बचाउमा उत्रिएपछि आलोचना खेप्न पनि तयार देखिए ।
महामन्त्री थापानिकट नेताहरूको दाबीअनुसार संसदबाट विधेयक पारित गरेर लैजान सकिने नियमित बाटो छँदाछँदै उनी अध्यादेशको पक्षमा उभिनुपर्ने एउटै कारण– कांग्रेस–एमाले नेतृत्वको सरकारलाई सफल बनाउनु नै थियो । तर, पछिल्लो समय उनै महामन्त्री थापा ओली नेतृत्वको सरकारप्रति असन्तुष्टिको आगो ओकेलिरहेका छन् ।
गत मंगलबार महामन्त्री थापाले बौद्धिक पेसाकर्मी अभियान परिषदले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सरकार ट्रयाक्टरको गतिमा अघि बढेको टिप्पणी गरे । उनले जनताले अपेक्षा गरेको गतिलाई सरकारले समात्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
‘सुरुको चरणमा जोतिएर काम गरेको पनि हो । एकदम उत्साहका साथमा धेरै कुरा बदल्न सकिन्छ भन्ने लागेर गरेको पनि हो,’ सरकार गठनपछि आफूले निर्वाह गरेको भूमिका स्मरण गर्दै थापाले भने, ‘तर, विस्तारै के कुरा लाग्न थालेको छ भने देशलाई ‘कंकर्ड’ (आवाजभन्दा तीव्र गतिमा उड्ने विमान) को ‘स्पीड’ (गति) चाहिएको छ । सरकार ट्रयाक्टरको स्पीडमा छ ।’
कांग्रेस महामन्त्री थापाले सरकारको कार्यशैलीबारे प्रश्न उठाउँदै प्रधानमन्त्रीको बेडरुमसम्मै बिचौलियाले कब्जा जमाएको टिप्पणीसमेत गरेका थिए । यसअघि पनि कांग्रेसकै अन्य नेताहरू सार्वजनिक रुपमै सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको, सातबुँदे सहमतिअनुसार अघि बढ्न नसकेको अभिव्यक्ति दिँदै आएका थिए । जसको अग्रपंक्तिमा थिए– नेता डा. शेखर कोइराला ।
नेता कोइरालासँगै अर्का महामन्त्री विश्वप्रकाश शर्मालगायतका नेताहरूले पनि सरकार सही ‘ट्रयाक’मा हिँड्न चुकेको भन्दै असन्तोष जनाइरहँदा प्रधानमन्त्री ओलीको कानमा बतास भने लागेको थिएन । तर, एकाएक सरकारलाई सघाउन गठन भएको उच्चस्तरीय राजनीतिक संयन्त्रमा बसेका महामन्त्री थापा नै विरोधमा उत्रिएपछि प्रधानमन्त्री ओली झस्किएका छन् ।
यो पनि-
सरकारबारे कांग्रेस नेताकै आक्रोशबीच ओली(देउवा एक घण्टा वार्ता
प्रधानमन्त्री ओलीले महामन्त्री थापाले सरकारको गतिलाई ट्रयाक्टरसँग तुलना गरेकै बेलुकी (वैशाख २) मा सत्ता साझेदार कांग्रेसका सभापति शेरबहादुर देउवासँग बालुवाटारमा झण्डै एक घण्टा छलफल गरेका थिए । एकपछि अर्काे गरी कांग्रेस नेताहरूले सरकारको कार्यशैलीलाई लिएर घेर्न थालेपछि उनले सभापति देउवालाई आफ्नो पार्टीका नेताहरूको धारणा बुझेर आफूलाई खबर गर्न आग्रह नै गरेका थिए ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सभापति देउवासँग कांग्रेसका नेताहरूको असन्तुष्टि सार्वजनिक रुपमै चौतर्फी छरिँदा गठबन्धन सरकारमाथि प्रश्न उठेको गुनासो गरेका थिए । कांग्रेसका नेताहरूको असन्तुष्टिका कारण विपक्षीले खेल्ने ठाउँ पाएको पनि प्रधानमन्त्रीको तर्क थियो ।
यो पनि-
ओलीले देउवालाई भने- विपक्षीले खेल्ने मौका पाए, असन्तुष्टिबारे कांग्रेस नेताहरूसँग कुरा गर्नुस्
कांग्रेस सभापति देउवासँग मंगलबार भएको भेटलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका थिए । महामन्त्री थापाको पछिल्लो अभिव्यक्तिबाट झस्किएका प्रधानमन्त्रीले बुधबार सरकारलाई सघाउन गठन भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकसमेत डाकेका थिए ।
तर, सरकारका कामकारबाहीप्रति आक्रामक थापा बुधबार बेलुका बालुवाटारमा बोलाइएको संयन्त्रको बैठकमा सहभागी भएनन् । स्रोतका अनुसार महामन्त्री थापालाई बालुवाटारमा लामो समयसम्म पर्खिइएको थियो । कांग्रेस बारा क्षेत्र नम्बर ३ को क्षेत्रीय सम्मेलनबाट बुधबार बेलुकी नै फर्किए पनि थापा बालुवाटार बैठकमा सहभागी नभएपछि अनेक टिप्पणी भइरहेको छ ।
‘नाङ्लो चुटेर हात्ती तर्साउने दाउ’

कांग्रेस महामन्त्री थापाका नजरमा पछिल्लो समय सभापति देउवा प्रधानमन्त्री ओलीसँग नरम रुपमा प्रस्तुत भइरहेका छन् । देउवामाथि दबाब बढाउन थापाले एकाएक सरकारप्रति आक्रामक ढंगले प्रस्तुत हुन खोजेको उनीनिकट नेताको भनाइ छ ।
‘सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीसँग ‘पोजिसन’ धेरै ‘लुज’ गर्नुभयो भनेर प्रेसर बढाउन बोलेका हुन्,’ ती नेताले खबरहबसँग भने, ‘गगन थापा नमिलाउँदासम्म कांग्रेस हल्लिदैँन भन्ने म्यासेज दिन खोजेका हुन् । प्रेसर बढाएको हो ।’
थापाले बढाउन खोजेको ‘प्रेसर’मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार परिवर्तनबारे दिएको अभिव्यक्तिले बल पुर्याउँदा प्रधानमन्त्री ओलीमा ‘थ्रेट’ बढेको ती नेताको विश्लेषण छ । ‘त्यसमा प्रचण्डको अभिव्यक्तिले सपोर्ट पनि गरिदिँदा थ्रेट पनि गर्यो,’ उनले भने ।महामन्त्री थापा निकट अर्का नेताले प्रधानमन्त्रीको बेडरुमसम्मै बिचौलियाले कब्जा जमाएको टिप्पणीलाई ‘नांग्लो चुटेर हात्ती तर्साउने’ उखानसँग जोडे । ‘बिचौलियावाला प्रसंग पनि उहाँले बुझेर बोल्नुभएको हो,’ उनले भने, ‘नाङ्लो चुटेर हात्ती तर्साउन खोज्नुभएको हो ।’
सरकारबारे के भन्छन् गगन ?
नेकपा एमालेसँग मिलेर सरकारमा गइसकेपछि हामीले के ठानेको थियौँ भने, दुईवटा ठूल्ठूला पार्टी मिलेर सरकार बनी सकेपछि संविधानमा पनि केही कुरा बदलाव ल्याउन हामी तुरुन्त काम प्रारम्भ गर्छौँ । खासगरी ‘गभरनेन्स’ (शासन)मा व्यापक सुधार गर्छौँ । ‘म्यासिभ’ (व्यापक) सुधार गर्छौं ।

व्यक्तिगत रुपमा मलाई भन्नुहुन्छ भने, मैले त यो पटक केही भूमिका लिनुपर्छ भन्दै गर्दाखेरि म सरकारमा बसेर भूमिका लिन्न । तर, यो सरकार सफल बनाउने, सरकारले परिणाम दिने कुराको सन्दर्भमा व्यक्तिगत रुपमा म ‘वार फुटिङ’ (युद्धस्तर)मा काम गर्न पनि तयार छु, व्यक्तिगत रुपमा जोखिम उठाउन पनि तयार छु, घाउ खान पनि तयार छु, गाली खान तयार पनि छु । किनकी अब काम गर्नुपर्यो, परिणाम दिनुपर्छ, जिम्मा पनि लिनुपर्छ ।
सुरुको चरणमा जोतिएर काम गरेको पनि हो । एकदम उत्साहका साथमा धेरै कुरा बदल्न सकिन्छ भन्ने लागेर गरेको पनि हो । तर, विस्तारै के कुरा लाग्न थालेको छ भने देशलाई ‘कंकर्ड’को ‘स्पीड’ चाहिएको छ । आज एउटा, भोलि एउटा, पर्सी एउटा माहोल बनाउनु पर्ने छ । सरकार ट्रयाक्टरको ‘स्पीड’ (गति)मा छ । मान्छेको ‘इमाजिनेस’ (कल्पना)को जुन गति छ, अपेक्षाको जुन गति छ, त्यो गति नै यसले पक्रिन सकेको छैन ।
अध्यादेश ल्याउने भनिरहेको बेलामा बकायदासाथ ‘पार्लियामेन्ट’ (संसद्)बाट विधेयक पारित गरेर लैजान सक्ने नियमित बाटोहरू छँदै थियो । तर, त्यो बेलामा अध्यादेशको बाटो किन रोजेको हो भन्दाखेरि त्यो ‘सेन्स अफ अर्जेन्सी’ आउँछ कि भनेर, कि हामीलाई सयौँ कानुन बनाउनु छ, सयौँ कानुन खारेज गर्नु छ ।
सयौँ कानुन खारेज गरेर सयौँ कानुन बनाउन हामीसँग सुविधा छैन । ‘वार फुटिङ’मा काम गर्नुछ, आज काम गर्नुपर्छ, भोलि काम गर्नुपर्छ, यसरी काम गर्नुपर्छ भनेर भनेर हामी जोतिन खोज्दै गर्दा पनि कताकता त्यो खालको जोश, त्यो खालको उत्साह, त्यो खालको समर्पण जुन खालको नेतृत्वबाट हुनुपर्ने हो, त्यो खालको नभएपछि अहिले हामी आफैँ भित्र पनि यसलाई कसरी चिर्ने भन्ने सन्दर्भमा अलमलको स्थिति सिर्जना भएको छ ।

गगनले सत्ता समीकरण बदल्न चाहेका हुन् ?
यसको अर्थ कुनै राजनीतिक विकल्पहरू खौजौँ भन्ने होइन । यो सरकारको ठाउँमा अर्को सरकार बने पनि यसैगरी बन्ने हो । किनकी कुनै पनि पार्टीको ‘मेजरिटी’ (बहुमत) छैन । यहीँ भित्र हामीले काम गर्नुपर्छ ।
तर, ‘डेलिभरी’ गर्नुपर्यो भन्ने कुराको सन्दर्भमा हामी मद्दत गर्न चाहिरहेका छौँ । हामी लागी पनि रहेका छौँ । हामी आफ्नो सम्पूर्ण कुरा लगाएर त्यसमा परिणाम दिन पनि चाहन्छौँ । तर, त्यो अनुसारले भइरहेको छैन । सरकारको ‘परफमेन्स’ बढाउन चाहन्छौँ । ‘गभरनेन्स’को कुरामा सरकार नचुकोस् भन्ने कुरामा, काम पनि गर्न चाहन्छौँ, खबरदारी पनि गर्न चाहन्छौँ ।
(बौद्धिक पेसाकर्मी अभियान परिषदको कार्यक्रममा थापाले दिएको अभिव्यक्तिको अंश)
यो पनि-
प्रतिक्रिया