१२ कक्षाका विद्यार्थीको मनोदशा : परीक्षा अन्योलले ‘डिप्रेस्ड’ भयौँ | Khabarhub Khabarhub

शिक्षक आन्दोलनको असर

१२ कक्षाका विद्यार्थीको मनोदशा : परीक्षा अन्योलले ‘डिप्रेस्ड’ भयौँ



फाइल फोटो

काठमाडौं – वैशाख ११ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षा २१ गतेका लागि सरेको छ । तर शिक्षक आन्दोलन जारी रहेकाले २१ गतेदेखि पनि परीक्षा हुने हो कि हैन भन्ने अन्योल कायमै छ ।

परीक्षा अन्योलको स्थितिमा पुगेपछि विद्यार्थीले आफूहरु डिप्रेस्ड भएको बताएका छन् । दुई महिनादेखि परीक्षा तयारी गरिरहेका विद्यार्थीहरू यतिबेला शिक्षक र सरकारबीचको लडाइँको चपेटामा परेका हुन् ।

शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोक्ने अडान लिएका शिक्षकहरू कार्यस्थलमा नफर्किएपछि कक्षा १२ को परीक्षासमेत रद्द भएको छ । देशका दुर्गम क्षेत्रमा झोलाकुम्लो बोकेर परीक्षा केन्द्र वरपर पुगेका विद्यार्थीहरू अलपत्र भएका छन् ।

शिक्षकहरूले आफ्ना मागमा अडान राख्दाराख्दै सरकारले निजामती कर्मचारी खटाएरै भए पनि निर्धारित समयमै परीक्षा गर्ने आश्वासन दिएको थियो ।

तर, कर्मचारी ट्रेड युनियनले परीक्षा गराउन नखटिने र शिक्षकहरूको आन्दोलनमा एकबद्ध हुने जनाएपछि परीक्षाको मिति वैशाख २१ गतेदेखि हुनेगरी राष्ट्रिय परीक्षा बोर्डले नयाँ तालिका सार्वजनिक गरेको छ ।

‘परीक्षा हुन्छ र हुँदैन’ को स्थिति बन्दा विद्यार्थीहरूले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् । अन्योलको स्थितिले आफूहरूको मनोदशा बिग्रिएको भन्दै उनीहरूले ‘अब विद्यार्थी पनि संसद् भवन घेराउ गर्न आउनुपर्ने हो ?’ भनी सरकारलाई चेतावनी दिएका छन् ।

आन्दोलनरत शिक्षकहरूप्रति पनि विद्यार्थी आक्रोशित छन् । नेता र शिक्षकहरूले आफूहरूको भविष्यमाथि खेलवाड गरेको विद्यार्थीहरूको गुनासो छ । विद्यार्थीको परीक्षा बहिष्कार गरेर शिक्षकले धर्म ननिभाएको उनीहरूले बताएका छन् ।

टिकटकमा डिजिटल नेपाल नामक अकाउन्टबाट एक विद्यार्थीले परीक्षाको कारण आफूहरू फस्ट्रेट भएको जनाएका छन् । ती विद्यार्थीले भनेका छन् –

‘सबैलाई थाहा भइरहकै कुरा हो, वैशाख १२ गतेबाट १२ कक्षाको परीक्षा हुनुपर्ने हो । हामी फ्रस्ट्रेटेड भइसक्यौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको बोली मात्रै बिक्ने हो ? आफ्ना इच्छाले कहिले परीक्षा हुन्छ, कहिले फेरि स्थगित भयो भनेको छ । अब हामी विद्यार्थी सबै सडकमा आउनुपर्ने हो ?

पाँच लाख विद्यार्थीले संसद् भवन नै घेराउ गर्नुपर्ने हो ? विद्यार्थीको दिमाग नै लथालिङ्ग भइसक्यो । हामीले परीक्षाको तयारी गरिरहेका छौँ । भोलि नै परीक्षा भए पनि हामी तयारी अवस्थामा छौँ । तर परीक्षा हुन्छ कि हुँदैन ? प्रधानमन्त्रीले फिक्स गर्दिनुपर्‍यो । कहिले परीक्षा सर्छ भनेको छ, कहिले सर्दैन भनेको छ । के हुँदैछ नेपालमा ?

बाहिरको कर्मचारी राखेर परीक्षा गर्ने रे ! शिक्षकको काम अरूले गरेर हुन्छ ? प्रहरीले शिक्षकको काम गरेर हुन्छ ? छिटो वार्ता गरेर समस्याको समाधान गरेर परीक्षा गर्ने वातावरण मिलाउनुपर्‍यो । नेपाल देश, देशजस्तो छैन । नेपाली नै रहन्छ वा रहँदैन जस्तो भैसक्यो । अब यातायात सङ्गठन, विद्यार्थी सङ्गठन सबैले पेल्दिन्छन् । तब चेत आउने हो ?

अर्का विद्यार्थी अनिश श्रेष्ठले टिकटकमा भनेका छन् –

१२ को परीक्षाको तयारी गर्दागर्दै शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिनुभयो । उहाँ टेन्सन फ्रि भएर जानुभयो । परीक्षा हुन्छ कि हुँदैन भन्ने कुराले हामीलाई टेन्सन भयो ।

रुटिन अफ नेपाल बन्द लगायतका पेजहरूले घरि हुन्छ भनेका छन् घर हुन्न भनेका छन् । पाँच पाँच मिनेटमा फरक फरक अपडेटले विद्यार्थी तर्साउने काम गरेका छन् । परीक्षा पनि कसरी दिने ? हामी ढल्न लागिसकेम् । पढेको पनि जम्मै बिर्सिसक्यौँ ।

अर्की विद्यार्थी भूमिका बस्नेतले टिकटकमा परीक्षाको रुटिनसहित पोस्ट गरेकी छन्–

कहिले ११ गते, कहिले २१ गते परीक्षा हुन्छ भन्ने ! अब पनि परीक्षा सर्‍यो भने हामी विद्यार्थीले सडक आन्दोलन गर्ने हो ।

त्यसैगरी पूर्णिमा रिजाल भन्छिन् –

परीक्षा सर्छ भन्ने सुने पनि पढेर सुतेँ । भोलि बिहान फेरि परीक्षा हुन्छ भन्ने खबर आयो, खुसी लाग्यो । पढ्दा पढ्दै समाचार हेर्‍यो…फेरि परीक्षा सर्‍यो । विद्यार्थीलाई यस्तो गर्न मिल्छ ? हामी पागल हुने स्थिति भैसक्यो । अनिश्चित कुराले पढ्न सकिरहेको छैन । एकाग्र भएर पढ्न सकिरहेको छैन ।

अत्ति भयो । शिक्षक र सरकारबीचको लडाइँमा हामी विद्यार्थी किन ? शिक्षकहरूले हाम्रो परीक्षा सकेर आन्दोलन गर्नुपर्ने थियो । कि पहिले हामीलाई यस्तो हुन सक्छ भनेर सुचना दिनुपथ्र्यो । यो नेता र शिक्षक दुवैले बुझ्नुपर्‍यो ।

राष्ट्रिय परीक्षा बोर्डले फागुन ११ मा कक्षा १२ का परीक्षा वैशाख ११ गतेबाट गर्ने तालिका सार्वजनिक गरेको थियो । सोही तालिकाअनुसार विद्यार्थीहरू परीक्षा तयारी गरिरहेका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ९ : ४८ बजे

नेपाल हुँदै युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच बङ्गलादेशी पक्राउ

काठमाडौं– बङ्गलादेशी नागरिकलाई नेपाल हुँदै वैदेशिक रोजगारीका लागि विभिन्न देश

आजको युग ज्ञानको युग हो : मुख्यमन्त्री कँडेल

सुर्खेत– कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आजको युग ज्ञानको युग भएको

कर्णाली प्रदेशमा स्वास्थ्य सेवाको पहुँचमा वृद्धि

भेरीगङ्गा– एक वर्षको अवधिमा कर्णाली प्रदेशका १३ लाख ३५ हजार

बागमती प्रदेश : डढेलोबाट नौ हजार छ सय हेक्टर वनमा क्षति

बागमती– बागमती प्रदेशको विभिन्न जिल्लास्थित सामुदायिक वनमा बर्सेनि हुने वन