सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ रेडियो नेपाल नजिकै फोरलेन सडकमा बाँगेशीमलबाट बसपार्क जाँदै गरेको फोर्स गाडीले आइतबार बिहान ठक्कर दिँदा मृत्यु भएका कालीबहादुर बुढाका आफन्त निरन्तर आन्दोलन गर्दै आएका छन् । बुढाका आफन्तले निरन्तर आइतबारदेखि आन्दोलन गर्दै आएका छन् ।
शनिबार पनि बिहानैदेखि वीरेन्द्रनगरको एरीचोकमा प्रदर्शन जारी राखेका छन् । जुम्लाको हिमा गाउँपालिका–४ का ५५ वर्षीय बुढाको वैशाख ७ गते वीरेन्द्रनगर सुर्खेतको रेडियो नेपाल नजिकै कर्णाली प्रदेश ००१ ख ०९१५ नम्बरको मध्यपश्चिम यातायात प्रालिको फोर्स गाडीले ठक्कर दिएको थियो । प्रदेश अस्पताल पुर्याइएका उनलाई डाक्टरले मृत घोषणा गरे ।
मृतकको परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आन्दोलन गर्न बाध्य भएको आन्दोलन सङ्घर्ष समिति संयोजक छत्रबहादुर शाहीले बताए । प्रहरीले गाडी चालक दैलेख चामुण्डाबिन्द्रासैनी नगरपालिका–१ का २४ वर्षीय तेज थामीमगरलाई नियन्त्रणमा लिइसकेको छ ।
मृतकका आफन्तहरूले उचित न्याय नपाउँदासम्म शव नबुझ्ने बताउँदै आएका छन् ।
प्रतिक्रिया