सडकका शिक्षकले प्रधानमन्त्री ओलीलाई दिए- शून्य अंक ! (भिडियोसहित) | Khabarhub Khabarhub

सडकका शिक्षकले प्रधानमन्त्री ओलीलाई दिए- शून्य अंक ! (भिडियोसहित)



काठमाडौं- ‘शिक्षा ऐन जारी गर’ भन्दै शिक्षकहरुले सडक आन्दोलन थालेको शनिबार २५ दिन पुग्यो । बिहीबार सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षकहरु विद्यालय फर्किने वातावरण बनाउन सरकारलाई आदेश दिएको थियो । तर दुई दिन बित्दासमेत सरकारले शिक्षक फर्काउने कुनै उपाय खोज्न सकेको छैन ।

यो सरकार असफल रहेको भन्दै सडकबाट शिक्षकहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘जिरो’ नम्बर दिएका छन् । साथै, उनीहरुले २०३६ सालमा शिक्षकहरुले १२० दिन आन्दोलन गरेको इतिहास सम्झाउँदै ऐन नलिइ सडकबाट नउठ्ने चेतावनी दिएका छन् ।

शिक्षकहरुको घुँडा टेकाउने सरकारको प्रयास असफल रहेको उनीहरुको आरोप छ । त्यसैगरी विद्यार्थीको पढाइमा हुन गएको क्षतिबारे सरकार जवाफदेही बन्नुपर्ने उनीहरुको धारणा छ । सरकार शैक्षिक क्षेत्रप्रति अनुदार भएको बेलामा सर्वोच्चले वातावरण बनाउन दिएको आदेशले आफूहरुलाई अभिभावकत्व प्रदान भएको भन्दै धन्यवादसमेत दिएका छन् ।

ऐन ल्याउने काम सांसद र सरकार प्रमुखको हो

सुधा झा, शिक्षिका

सर्वोच्चको आदेशलाई हामी स्वागत गर्छौँ । बुद्धिजीवी वर्ग सडकमा आउनुपर्ने बाध्यता आफैँमा लज्जाजनक हो । सरकारमा हुँदा र नहुँदा नेताको फरक विचार आउँछ । प्रधानमन्त्रीले ४८ प्रतिशत नतिजा दिएको छ भन्नुभयो । कम्तिमा हामीले यति थोरै सेवासुविधामा पनि यति नतिजा दिएका छौँ ।

कतिपनि सख सुविधा नभएका छोराछोरी सामुदायिक विद्यालयमा आउँछन् । पढाइलाई धेरै कुराले प्रभाव पार्छ । बर्खामा र खेतीपाती गर्ने समयमा विद्यार्थी विद्यालय आउँदैनन् । कति घरको कामधन्दा सकेर आउँछन् । थाकेर पढ्न आएको विद्यार्थीले कति सिक्छ ? तर हामीले मिलाएर पढाएका छौँ र नतिजा दिएका छौँ ।

२५ दिनदेखि हामी सडकमा छौँ । तर विद्यार्थी हामीलाई फोन गरिरहेका छन् । कहिलेबाट विद्यालय खुल्छ भनेर चासो राखेका छन् । उनीहरुको लागि ट्युसनको व्यवस्था छैन । जति पढ्ने हो विद्यालयको कक्षाकोठाभित्रै पढ्ने हो । बाहिर अतिरिक्त पढाइको व्यवस्था छैन ।

शिक्षा ऐन ल्याउने काम शिक्षकको होइन । यो सांसद् र प्रधानमन्त्रीको काम हो । उनीहरुले नसकेको काम हामीले झक्झक्याउन परेको छ । शिक्षक सडकमा आएर नाचे भन्ने प्रधानमन्त्रीले ऐन ल्याउन चार जना आए भइहाल्यो भन्ने । २०७२ देखि के हेरेर बस्नुभएको थियो ।

हामीले प्रधानमन्त्रीको मूल्याङनलाई नम्बर दिने हो भने जिरो प्रतिशत हो । यस्तोबेला शिक्षामन्त्री परिवर्तन गर्ने । अस्थिर बनाउने काम प्रधानमन्त्रीले गरिरहेका छन् । जुन देशमा शिक्षक डाक्टर सडकमा हुनु भनेको देश सकिने बेलाको संकेत हो ।

नेताहरु बन्ने विधयेक रातारात आउने । हिजो चप्पल लगाएर आएका नेताहरु आज आलिसान महल र गाडीमा हिड्न पुग्ने । शिक्षकको लागि सेवासुविधा दिँदा बजेटले नपुग्ने यो हास्यास्पद कुरा गरेर हुन्छ । संघीयता ल्याउन भन्दा अगाडी नेताहरु कसरी पाल्ने भनेर सोच्नुपर्दैनथ्यो ?

ऋण खोजेर आन्दोलनमा

खुसीलाल यादव, सप्तरी

शिक्षकहरु विद्यार्थी छोडेर सडकमा आएका छन् । घरपरिवार छोडेर काठमाडौँ आएका छन् । हामीहरु कसरी बसिरहेका छौ । कहाँ बसिरहेका छौ । खाएका छौ वा भोकै छौ । यो सरकारले बुझ्नुपर्ने कुरा हो । म आफू राहत शिक्षक हुँ । शिक्षा क्षेत्र समस्यैसमस्यामा अल्झेको छ । सरकारले शिक्षकलाई दोष दिने काम भएको छ ।

यो तौरतरिकाले ४८ प्रतिशत शिक्षकहरुले नतिजा दिनु भनेको लगानीका हिसाबले बढी हो । विद्यालय खोल्दिएको छ, ट्रेनमा कोचेजसरी विद्यार्थी कोचेका छन् । त्यहि अनुपातमा शिक्षकको दरबन्दी छैन । प्रस्ताविक पाँच कक्षासम्मको विद्यालयलाई यो सरकार मावि बनाइदिएको छ । त्यो प्रस्तावित मावि विद्यालयमा एक पनि शिक्षक छैन ।

प्राविमा पढाउने शिक्षकले मावि पढाउनु परेको छ । यो सरकारले बनाएको होइन ? घरको गृहिणी जस्तो शिक्षक बनेका छन् । मैले ६ महिनादेखि तलब पाएको छैन । ऋण खाजेर आन्दोलनमा आएको छु । अबोध बालबालिकाको भविष्य सम्झेर आएको हुँ ।

शिक्षकविरुद्ध टिकाटिप्पणी अपाच्य

विजय केपी, शिक्षक

सर्वोच्च अदालतले नितान्त सरकारलाई आदेश दिएको छ । हामी शिक्षकहरुलाई दिइएको आदेश होइन । ८४ दिनदेखि सरकारलाई हामीले झक्झकाइ रहेका छौँ । चैत २० गतेबाट मात्रै सडकमा आएका हौँ । सर्वोच्चले शिक्षकको आन्दोलनलाई गम्भिरतापूर्वक लिएको छ ।

शिक्षक आन्दोलनको गर्विलो इतिहास छ । राजनीतिक व्यवस्थाको आन्दोलनजस्तै शिक्षकको पनि छ । सरकारलाई खबरदारी गरिएको बेलामा शिक्षक आन्दोलनलाई कमजोर बनाउने विभिन्न लाञ्छना नलगाउन आग्रह छ । सरकारका भँडुवा र भिजिलान्तेहरुले आलोचना गरिरहेका छन् ।

रोकिएको परीक्षाको लागि हामी शिक्षक सचेत छौँ । नयाँ मन्त्रीसँग आशावादी छौँ । तर शंका पनि उत्तिकै लागेको छ । शिक्षा प्रणाली बुझेको मन्त्रीले राजीनामा दिनुपर्यो । नयाँ मन्त्री रघुजी पन्तले पूर्वाग्रह नराखी काम गर्नुभयो भने शिक्षा ऐन पारित गर्न सक्नुहुन्छ । तर उहाँको अभिव्यक्ति सकारात्मक भने देखिदैन । प्रधानमन्त्री केपी शर्मा ओलीलीको अभिव्यक्ति झनै अलोकप्रिय रहेको छ ।

राम्रो ऐन ल्याउन एउटा पुस्ताले त्याग गर्नुपर्छ

झमकप्रसाद चौलागाई, शिक्षक

यो सरकारले विगत २०७२ देखि ०७५ भित्रमा ऐन कानुन बनाएर संविधान जारी गर्यो । गणतन्त्र स्थापितको कुरा लिखित रुपमा हुँदा पनि सरकारले सुनिरहेको छैन । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका समन्वय होला । यो माग शिक्षकको मात्रै नभएर तमाम अभिभावक, विद्यार्थी र शिक्षासँग सरोकार राख्ने सबै व्यक्तित्वको पनि हो ।

यो आन्दोलन राजनीतिक पार्टीहरुको लागि पनि हितकर छ । ऐनविना हामी कसरी फर्किने ?विद्यार्थीलाई विदाको दिन पढाएर पनि अहिलेको क्षति पूरा गर्छौँ ।

यो ऐन १०औँ वर्षपछिका विद्यार्थीका लागि पनि हो । राम्रो नियम बनाउन कुनै एक पुस्ताले संघर्ष र समर्पण गर्नैपर्ने हुन्छ । एकाध मान्छेले विरोध गर्नु स्वाभाविक हो । सयप्रतिशत त के हुन्छ ?

सरकारकै कारण विद्यार्थीको पढाइ ध्वस्त

अनुराग कुर्मी, रौतहट

हरेक दिन दुई लाख शिक्षक सडकमा छन् । नेपाल सरकारको दायित्व बन्छ कि शिक्षासम्बन्धी यो समस्या छिटो भन्दा छिटो समाधान गर्नुपर्छ । यो समस्या बुझेर सर्वोच्चले सरकारलाई आदेश दिएको छ । यसले अदालत शिक्षकप्रति गम्भिर रहेको पाइयो । यो हाम्रो लागि खुसीको कुरा हो ।

शिक्षा भनेको ज्योति छर्ने काम हो । यो काम नरोक्नु भनेको सह्रानीय छ । विद्यार्थीमाथि पर्न गएको क्षति भनेको सरकारको अदूरदर्शिताको कारण भइरहेको छ । ओली सरकारको लापरवाहीले भइरहेको छ । वर्षौदेखि सहमति भएको छ तर कार्यान्वयन भएको छैन ।

शिक्षाको विषयमा निर्वाचनमा राम्रो राम्रो कुरा गर्ने । सर्वसुलभ र निशुल्क शिक्षा भन्ने तर कार्यान्वय नगर्ने भएको छ । भनाइ र गराइमा किन फरक ? सर्वहारा वर्गका छोराछोरी पढ्ने ठाउँको सरकारलाई चिन्ता खै ? निजी विद्यालयको लागि माहोल तयार गर्ने तर सामुदायिकलाई नगर्ने किन हो ?

शिक्षक महासंघले नेपालको शैक्षिक प्रगतिको लागि सरकारलाई सहयोग गरिरहेको छ । हाम्रो माग सरकारले पूरा गर्नैपर्छ ।

ऐन बनाउने काम चानचुने होइन

गंगाप्रसाद यादव, सप्तरी

शिक्षक फर्किने सम्भावना छैन तर संघीय शिक्षा ऐन यो तीन दिनमा बनाउन भने सकिन्छ । यो सबैभन्दा असफल सरकार हो । २०३६ सालमा शिक्षकहरुको आन्दोलन १२० दिन चलेको थियो । यो आन्दोलन १३० दिनसम्म चल्छ जस्तो मलाई लागेको छ । यो ऐन यति सजिलै आउँदैन र शिक्षकहरु सडकमै हुन्छन् ।

तर बुद्धि आए र ऐन दिएभने धेरै राम्रो हुने थियो । विद्यार्थी बनाउने सरकारले होइन, हामी शिक्षकले हो । हामीलाई उनीहरुको भविष्यप्रति चिन्ता छ । हामी छुट्टी, रातदिन गरेर पढाएर उनीहरुको भर्पाइ गर्छौ । यो आन्दोलन यिनै विद्यार्थीको लागि पनि हो । ऐन बनाउने काम चानचुने कुरा होइन ।

हेर्नुहोस् भिडियो-

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ३ : ४१ बजे

आजको मौसम : तराईमा तातो हावा चल्ने

काठमाडौं– हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको

सांसद राई पक्राउ परेको जानकारी दिइयो सभामुखलाई

काठमाडौं– प्रहरीले नेपाली कांग्रेसकी सांसद माया राईलाई पक्राउ गरेको जानकारी

ट्रम्पको पुटिनमाथि शंका : एकै दिन जेलेन्स्कीले भेटे विश्वका शीर्ष नेता

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले

‘भूकम्पका कारण नभइ आणविक परीक्षणले हल्लिइरहेछ धर्ती’

काठमाडौं– भूकम्प र आणविक परीक्षणका सम्बन्धमा एउटा अनुसन्धान बाहिर आएको

मातातीर्थ औंशीमा प्रधानमन्त्री ओलीले सम्झिए आमा

काठमाडौं– आजको आमाको मुख हेर्ने दिन अर्थात आमा खुवाउने औंशी