सेवा केन्द्र विस्तार गर्दै तनहुँका स्थानीय तह | Khabarhub Khabarhub

सेवा केन्द्र विस्तार गर्दै तनहुँका स्थानीय तह


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँका स्थानीय तहले वडाबाट प्रदान गर्ने सेवासुविधा जनताको नजिक पुर्‍याउन सेवा केन्द्र विस्तार गर्न थालेका छन् । जिल्लास्थित स्थानीय तहका वडा कार्यालयको केन्द्रबाट टाढा रहेका जनतालाई नजिकबाट सेवा सुविधा प्रदान गर्ने उद्देश्यसहित वडाको सेवा केन्द्र विस्तार गरिएको हो । 

भिमाद नगरपालिका–८ ले वडाको सेवा केन्द्र भानुमतीमा स्थापना गरेको छ । यसअघि अरौँदीमा वडा कार्यालय रहेकामा माथिल्लो भेगका जनतालाई वडा कार्यालयसम्म आएर सेवा लिन अपायक भएकाले सेवा केन्द्र स्थापना गरिएको वडाध्यक्ष अणबहादुर शाहीले बताए।

 उनले भने, ‘जनताको मागबमोजिम नै सेवा केन्द्र विस्तार गरेका हौँ । भानुमती भेगका जनतालाई अरौदीसम्म आएर सेवा लिन एक दिन छुट्याउनुपथ्र्यो, सवारी साधन कम चल्ने र हिँडेर आउनुपर्दा समस्या थियो । भानुमतीमै सेवा केन्द्र विस्तारपछि त्यस भेगका जनताले सहज ढङ्गबाट सेवा पाउनेछन् ।’

उक्त सेवा केन्द्रबाट बिहीबार र शुक्रबार सेवा प्रदान गरिनेछ । भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले जनतालाई सहज र सरल रूपमा सेवा प्रवाह गर्नु जनप्रतिनिधिको कर्तव्य भएको बताए। 

यस्तै जिल्लाकै आँबुखैरेनी गाउँपालिका–५ र ६ को सम्पर्क कार्यालय विस्तार गरिएको छ । वडा कार्यालयबाट प्रदान गरिने सेवा सहज रूपमा वडावासीलाई प्रदान गर्न दुई वडा कार्यालयको सम्पर्क कार्यालय विस्तार गरिएको हो । आँबुखैरेनी गाउँपालिका–५ को वडा कार्यालयको सम्पर्क कार्यालय बरालुङबेँसीमा स्थापना गरिएको छ । सङ्घीय शासन प्रणालीअन्तर्गत सेवा प्रवाहलाई विकेन्द्रित गर्दै स्थानीय तहलाई थप सशक्त र जनमुखी बनाउन सम्पर्क कार्यालय स्थापना गरिएको वडाध्यक्ष सन्तोष गरूङले जानकारी दिए। 

उक्त वडाको प्रमुख कार्यालय सानोभञ्ज्याङमा रहेकाले बरालुङबेँसी र वरपरका बस्तीहरूका सर्वसाधारणलाई वडा कार्यालयसम्म पुग्न समय लाग्ने भएकाले सम्पर्क कार्यालय स्थापना गरिएको उनको भनाइ छ । 

आँबुखैरेनी गाउँपालिका–६ को सम्पर्क कार्यालय केही समयअगाडि प्युघरफाँटमा स्थापना गरिएको थियो । प्युघरफाँटमा सेवा कार्यालय विस्तार गरी सर्वसाधारणलाई सेवा दिन थालिएपछि सहज भएको छ । वडा नं ६ का सर्वसाधारणलाई घण्टौ पैदल तथा महङ्गो गाडी भाडा तिरेर सेवा लिन वडा कार्यालय आउनुपर्ने समस्याको अन्त्य गर्न पालिकाले प्युघरमा सेवा केन्द्र विस्तार गरेको वडाध्यक्ष दिलीप गुरूङले जानकारी दिए । सेवा केन्द्रमा वडा कार्यालयबाट प्रदान गरिने सबै सेवाहरू दिइएको छ । 

हप्तामा दुई दिन उक्त सेवा कार्यालयबाट जनताले सेवा पाउने वडाध्यक्ष गुरूङले जानकारी दिए । त्यस भेगका जनतालाई वडा कार्यालयको केन्द्र हिलेखर्क जान समस्या भएपछि सहजताका लागि सेवा कार्यालय विस्तार गरिएको उनको भनाइ छ । 

उनले भने, ‘यस भेगका जनतालाई वडा कार्यालयको केन्द्रसम्म पुग्न एक दिनको समय छुट्याउनुपर्ने बाध्यता थियो । अब सेवा कार्यालयबाटै सहज रूपमा जनताले सेवा पाउनेछन् ।’

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जनताले सहज र सरल तरिकाले सेवा पाउनुपर्ने बताए। जनप्रतिनिधि जनताका शासक नभई सेवक भएकाले जनप्रतिनिधिले जनताको भावनाअनुसार काम गर्नुपर्नेमा उनको जोड थियो । 

उनले भने, ‘हिलेखर्कसम्म पुग्न अप्ठ्यारो परिरहेको थियो । प्युघर क्षेत्र वरिपरिका बस्तीका जनतालाई सहज र छिटो सेवाहरू उपलब्ध गराउन सेवा कार्यालयबाट सहज हुनेछ ।’ 

चुमानले सेवा कार्यालयले जनतासँगको निकटता बढाउने र प्रशासनिक सेवा प्रणालीलाई प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

उनले भने, ‘यस कार्यालयले जनतालाई एक स्थानबाट सहज र छिटो सेवा प्रदान गर्ने व्यवस्था गर्नेछ । यो कार्यालय खोल्नुका प्रमुख उद्देश्य भनेको जनतालाई स्थायी र दीर्घकालिन रूपमा सेवा दिने हो ।’
 

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  १२ : ३३ बजे

प्रधानमन्त्रीसमक्ष नाष्टको सेवा आयोगको प्रतिवेदन पेस

काठमाडौं– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को सेवा आयोगले

सुरौदी जलाधार क्षेत्र : पुल नहुँदा जोखिम, खेतीयोग्ज जमिन बगरमा परिणत

गण्डकी– कास्की, स्याङ्जा र तनहुँका भू-भाग समेटर बग्ने सुरौदी खोलाको

चक्रपथ बाहिर मेलम्चीको पानी वितरण गर्ने तयारी

काठमाडौं– काठमाडौँ उपत्यकाको चक्रपथ बाहिरका क्षेत्रमासमेत मेलम्चीको खानेपानी वितरण सञ्जाल

रारा राष्ट्रिय निकुञ्जभित्र एनटीएनसीको फिल्ड कार्यालय उद्घाटन

काठमाडौं- राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)ले रारा राष्ट्रिय निकुञ्जको मुख्यालय