६ महिनापछि घर फर्किए टिङ्करवासी « Khabarhub

६ महिनापछि घर फर्किए टिङ्करवासी


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

दार्चुला– दार्चुलाको उत्तरी सिमानामास्थित टिङ्कर गाउँका स्थानीय ६ महिनापछि गाउँ फर्किएका छन् । गत मङ्सिरमा चिसो छल्न गाउँ छोडेर खलङ्गा झरेका ७० परिवार पुनः गाउँ फर्किएका हुन् ।

गत मङ्सिरमा कठोर जाडो छल्न गाउँ छाडेका यहाँका स्थानीय वैशाख अन्तिम साता मात्रै पुनः फर्किएका हुन् । ‘६ महिनापछि फर्किँदा आफ्नो घरको ढोका देवी–देवता भरोसामा जस्तोको तस्तै रहेछ’, स्थानीय जसपाल तिंकरीले भने, ‘भगवान् भरोसा छोडिएका घरका ताला खुलेका छन् ।’ ६ दिनको यात्रापछि अहिले सबै स्थानीय गाउँ पुगेपछि चहलपहल बढेको छ ।

टिङ्कर पुग्न नेपालकै भूमि भएर जान सकिने गोरेटो बाटो छैन । स्थानीय भारतको बाटो हुँदै कठिन यात्रा गरी गाउँ पुगेका छन् । वडा नम्बर १ का वडा सदस्य एवं टिङ्करका स्थानीय हितेश बुढाथोकीले भने, ‘आफ्नै भूमि भएर गाउँ फर्किन नपाउँदा नरमाइलो लाग्छ ।’ आफ्नो गाउँ जान भारतीय अनुमति लिनुपर्दा अपमानित महसुस हुने गरेको स्थानीयको गुनासो छ । राज्यले समयमै पूर्वाधार निर्माणमा ढिलाइ गर्दा यहाँका नागरिकले सास्ती खेप्नुपरेको हो ।

सरकारले विशेष अनुदानअन्तर्गत चालू आर्थिक वर्षमा पाँच करोड ५० लाख बजेट पठाएको भए पनि गाउँपालिकाले ठेक्कामा ढिलाइ हुँदा बाटो बन्न सकेन । यद्यपि गाउँपालिकाले यसै साता मात्र निर्माण कम्पनी छनोट गरेको छ ।

यो पटक आफ्नै भूमि भएर गाउँ जाने सपना बुनेका उनीहरू अन्ततः भारतकै भूमि भएर गाउँ फर्किनुपरेको बुढाथोकी बताउँछन् ।

यहाँका बासिन्दा वर्षको आधा समय खलङ्गामा र बाँकी समय टिङ्करमा बस्ने गर्छन् । उनीहरूको भाषामा यसलाई ‘कुञ्चा’ सर्नु भनिन्छ । कुञ्चा भनेको सौका समुदायको भाषामा बसाइसराइ हो । तीन हजार तीन सय मिटर उचाइमा अवस्थित यस गाउँमा ६ फिटभन्दा बढी हिउँ पर्ने हुँदा हिउँदमा बस्न नसकिने स्थानीय दानसिंह तिंकरीले बताए । चिसो छल्न उनीहरू परिवार, पशुचौपाया, खाद्यान्नसहित खलङ्गातिर सर्छन् ।

चिसो मौसम भएका कारण ६ महिना गाउँ सुनसान हुन्छ । घरका ढोकामा चाबी लगाइएको हुन्छ । दानसिंहले थपे, ‘अहिलेसम्म गाउँमा चोरी भएको घटना छैन । यो सबै भगवान्को देन हो ।’ हामीहरूको संस्कृति, परम्परा र पूजापाठमा गहिरो आस्था छ । यही कारण कोही नहुँदा पनि हाम्रो खाद्यान्न, घर सुरक्षित नै रहेको हुन्छ ।

स्थानीयको मुख्य जीविकोपार्जन कृषि, व्यापार र जडिबुटी सङ्कलन हो । यहाँ फापर, उवा, कागुनाे, आलु गहुँजस्ता अन्नबाली उत्पादन हुन्छ । उनीहरू गाई, चौरी, खच्चड, घोडा, बाख्रा पाल्छन् । अहिले गाउँ पुगेपछि स्थानीय आलु फापर, गहुँ, छर्ने तयारीमा छन् । 

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ११ : १४ बजे

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको