चौँसट्ठी वर्षका जाँगरी चौधरी : चार बिघामा फलाउँदैछन् मौसमी तरकारी | Khabarhub Khabarhub

चौँसट्ठी वर्षका जाँगरी चौधरी : चार बिघामा फलाउँदैछन् मौसमी तरकारी


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

धरान– उमेरले चौँसट्ठी वर्ष, जाँगर तन्नेरिका जस्तै । अचेलका युवालाई पनि गुनासो गर्दै ठिक्क छ । बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय युक्ति चौधरीलाई न कसैप्रति गुनासो न त आफ्नो उमेरको बहाना । बिहान सबेरै उठेदेखि बेलुका रात नछिप्पिएसम्म खेतबारीमै । उनको मिहिनेत गज्जबको छ । एकाबिहानै बारीमा पस्छन्, काँक्रा, बोडी, घिरौँला, लौका, टमाटर स्याहार्दा स्याहार्दै समय बितेको पत्तो नै हुन्न ।

युक्ति मात्र हैन उनकै लयमा हिँडिरहेका छन् छोराबुहारी र श्रीमती पनि । परिवारको लय मिलेपछि व्यवसायमा पनि त्यसरी नै सफलता मिलिरहेको छ । चौधरी भन्छन्, ‘हाल चार बिघामा मौसमी तरकारी उत्पादन गरिरहेका छौँ । परिवारको साथ पाएको छु बारीभरि लटरम्मै तरकारी छन्, बेच्न भ्याइनभ्याइ छ ।’

उमेरले आराम खोज्ने समयमा पनि जोस र परिश्रममा कुनै कमी छैन । परिश्रम र आत्मनिर्भरताको उदाहरण बन्दै चौधरीले यही खेतीबाट वार्षिक १० लाख रुपैयाँ भन्दा बढी आम्दानी गरिरहेका छन् । उनले छ वर्षअघि एककट्ठा जमिनमा तरकारीखेती सुरु गरेका थिए । त्यसको दुई वर्षपछि रितिका कृषि फार्म दर्ता गरी औपचारिक रूपमा यही उद्यम गरिरहेका छन् । ‘आराम गरेर घरमा बस्ने उमेर हो तर पनि पहिलेदेखि काम गर्ने बानी बस्यो । काम नगरी बस्नै सकिँदैन’, चौधरी भन्छन्, ‘सकुन्जेल काम गर्ने हो, हात खुट्टा चलेको छ, तागत छँदैछ । परिवारले साथ दिएकै छन् । जुनदिन सकिन्न त्यसदिनको कुरा बेग्लै होला ।’

उनको मुख्य पेसा कृषि नै हो तर घरमा केही गाई, गोरु र बाख्रा पनि छन् । यसले कृषिमा सहयोग पुगिरहेको चौधरीले बताउँछन् । ‘घरैमा पालेका गाई, गोरु, बाख्राका गोबर भेला पार्छु, ।’ चौधरी भन्छन् । उनले जैविक मललाई तरकारीखेतीमा प्रयोग गरेका छन् । रासायनिक मलको प्रयोग घटाएर स्वस्थ्य र प्राकृतिक उत्पादन गर्न सहयोग पनि पुर्‍याएका छन् । यसले आत्मनिर्भता र दिगोपना कायम राख्न सघाउ पुर्‍याएको छ ।

उनको बारीबाट उत्पादन भएको तरकारी सुनसरीका विभिन्न ठाउँ, चक्रघटी, कालाबन्जर, बाङ्गे चतरालगायत बजारमा बिक्री हुने गरेको बताउँछन् । तरकारी बिक्रीका लागि बजारको समस्या छैन, व्यापारीहरू आफैँ फार्ममै लिन आउँछन् । चौधरीले बजार मूल्यभन्दा १० रुपैयाँ कममा तरकारी बिक्री गर्ने गरेको बताए ।

आफ्नो बारीमा हुने उत्पादनले भान्छाको आवश्यकता पूर्तिका साथै छोराछोरी, नातिनतिनालाई पढाउनेदेखि घरखर्च चलाउनसम्म सबै आवश्यकता पूरा हुँदै आएको छ । चौधरी परिवारका लागि तरकारीखेती आयआर्जनको भरपर्दो स्रोत त हुँदै हो दैनिक चार, पाँच जनाले ज्यालादारीमा काम गर्न पाएका छन् । यसले थोरै भए पनि स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न सघाउ पुगेको छ ।

पछिल्लो समय तरकारीखेतीका लागि स्थानीय नगरपालिकाले पनि बीउ अनुदानमा उपलब्ध गराउँदै आएको छ । गत वर्षमात्रै सुनसरी कृषि ज्ञान केन्द्रले एक लाख रुपैयाँको अनुदान प्रदान गरेको थियो । चौधरीका अनुसार यस्ता अनुदानले तरकारीखेतीमा केही हदसम्म सहयोग पुगेको छ र उत्पादनमा थप उत्साह र सहजता मिलेको छ ।

बराहक्षेत्रका अधिकांश स्थानीयवा तरकारीखेतीमा आत्मनिर्भर छन् । बराहक्षेत्र–८ का अर्का किसान मीनकुमार उराँवले हाल १० कट्ठा जमिनमा तरकारीखेती गर्दै आएका छन् । ‘थोरै जग्गामा तरकारीखेती गरे पनि उत्पादन राम्रो भएकाले आम्दानी पनि सन्तोषजनक छ । आफ्नै बारीमा उत्पादन भएको अर्गानिक तरकारी उपभोग गर्न पाइने र बेचेर घरमै बसिबसी आम्दानी पनि गर्न पाइने उनी बताउँछन् । उनले भने, ‘तरकारी बेचेर हरेक वर्ष तीन लाखभन्दा बढीको कारोबार गरिरहेको छु ।’

बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीले किसानलाई तरकारीखेतीबाटै आत्मनिर्भर बनाउँदै उत्पादनमा सहजता ल्याउनेतर्फ नगरपालिका केन्द्रित रहेको बताए । उनले भने, ‘नगरपालिकाले स्थानीय किसानको आर्थिक विकासका लागि जैविक तरकारीखेती, सिँचाइ सुविधा र उत्पादन निर्यात गर्न यातायातको सुविधाका साथै प्रोत्साहनस्वरुप हरेक वर्ष तालिम र अनुदान प्रदान गर्दै आएका छौँ ।’

सुनसरी जिल्लामा हाल आठ हजार १५३ हेक्टरमा तरकारीखेती हुँदै आएको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठले जानकारी दिए । जिल्लाको बराहक्षेत्र, रामधुनी क्षेत्रलगायत स्थानका किसानले तरकारीखेती गर्दै आएका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ३ : ५५ बजे

कोशी प्रदेशको परिमार्जित जनस्वास्थ्य नियमावली स्वीकृत

काठमाडौं– कोशी प्रदेश सरकारले परिमार्जित योगदानमूलक कोषको व्यवस्था गर्न बनेको

सांसदहरूको निष्कर्ष : ‘कुलिङ पिरियड’मा संसदीय समिति सचिवालय र दुई मन्त्रालयको बदमासी

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले निजामती सेवा विधेकको

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई छ महिनाको जेल सजाय

ढाका– बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा बुधबार

वैतेश्वरका भूमिहीन सुकुम्वासीलाई निस्सा वितरण 

दोलखा– जिल्ला भूमि समस्या आयोग दोलखाले बुधबार वैतेश्वर गाउँपालिका भित्रका

सोमालियाको राजधानी मोगादिशुमा अफ्रिकी संघको हेलिकोप्टर दुर्घटना, तीन जनाको मृत्यु

एजेन्सी – सोमालियाको राजधानी मोगादिशुमा बुधबार बिहान भएको एक हेलिकोप्टर