केशर पुस्तकालय : नेशनल डिजिटल लाइब्रेरी बनाउने लक्ष्य, बजेट नहुँदा समस्या | Khabarhub Khabarhub

पुस्तकालयका कुरा

केशर पुस्तकालय : नेशनल डिजिटल लाइब्रेरी बनाउने लक्ष्य, बजेट नहुँदा समस्या



काठमाडौं – पहिला पहिला भनिन्थ्यो– ‘नयाँ पुस्तक किन, पुरानो कोट लगाऊ ।’ अहिले नयाँ कोट लगाएर, नयाँ पुस्तक पढ्ने पुस्ता हाबी छ । त्यसो गर्न नसक्नेका लागि पुस्तकालयका किताब ज्ञान–तिर्खा मेटाउन हाजिर छन् । देशको राजधानी काठमाडौंमा सबैथोक छ । तर कहाँ छ ? धेरैलाई थाहा छैन । युवापुस्ता सामाजिक सञ्जालमा अलमलिरहँदा केही युवाहरू पुस्तकालयमा झुम्मिएको भेटिन्छन् ।

घरमा भन्दा पनि राम्रो पढ्ने वातावरण उपत्यकामा कहाँ छ ? जहाँ अध्ययनका लागि शान्त र सहज होस् । समाधान छ राजधानीको केशरमहलस्थित केशर पुस्तकालय । जुन राणा प्रधानमन्त्री चन्द्र शमशेरका छोरा केशर शमशेरको निजी पुस्तकालय हो ।

काठमाडौंस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगै छ केशर महल । केशर शमशेरले आफ्नो निजी पुस्तकालय नेपाल सरकारलाई दान दिएपछि विसं २०२६ सालदेखि केशर पुस्तकालयको रूपमा सञ्चालन हुँदै आएको छ । यो नेपालको एक सरकारी पुस्तकालय हो । जहाँ बाहिरबाट देख्दामात्रै पनि लाग्छ यस्तो पनि सार्वाजनिक पुस्तकालय हुन सक्छ र ?

वास्तवमै बाहिरबाट देख्दा जाऔं जाऔं लाग्ने पुस्तकालय हो केशर पुस्तकालय । यहाँ दैनिक दुईसय पाठक पढ्न आउने पुस्तकालयकी सिनियर बुक्स वाइन्डर निशा किरण श्रेष्ठ बताउँछिन् । उनी ११ वर्षदेखि यहाँ कार्यरत छिन् । श्रेष्ठका अनुसार अझै पनि यहाँ आउने जति सबै पाठकलाई ठाउँ पुग्दैन । पुस्तकालयले सके जति सेवा दिइरहेको छ । बिदाका दिन पनि पुस्तकालयको सेवा पाइन्छ ।

यसै पुस्तकालयका बारेमा अध्ययन गर्ने क्रममा खबरहबको टोली पुग्दा पुस्तकालय अगाडिको रूख चढेर हाँगा काट्दै गरेको अवस्थामा भेटिए पुस्तकालय प्रमुख यादवचन्द्र निरौला । जो आफ्नो काम आफैँ गर्नमा गर्व गर्छन् । पढौँ उनीसँग गरिएको कुराकानीको सम्पादित अंश :

केशर पुस्तकालयको पृष्ठभूमि के हो ?

– विसं १९०८ मा चन्द्रशमशेर प्रधानमन्त्री भएका बेला उहाँका छोरा केशर शमशेर पनि बेलायतमा भ्रमण जानु भएको थियो । बेलायतमा भएको बृटिश म्युजियम लाइब्रेरी, बृटिश नेशनल लाइब्रेरीको ब्यवस्था देखेपछि यस्तो काम त हाम्रो देशमा पनि गर्नु पर्छ भन्ने सोच आएछ र बेलायतबाट आएपछि सन् १९०९ अर्थात् विसं १९६६ मा केशर पुस्तकालयको विधिवत् स्थापना भएको हो ।

तर अहिले भएको लाइब्रेरीको पुरानो भवन १९७० मा बनेको रहेछ । उहाँले बेलायतबाट फर्केर आउँदा त्यति बेलाका प्रकाशन गृह, बेलायत, फ्रान्सका विभिन्न प्रकाशकसँग पनि सम्बन्ध बनाउनु भएछ । त्यहाँबाट प्रकाशित पुस्तकहरू पनि नेपालमा आउने प्रबन्ध गरेर आउनु भएको रहेछ ।

२०६५ सालमा केशर पुस्तकालयले स्थापनाको एक सय वर्ष मनायो । यसपालि हामीले गत पुस २३ गते केशर समशेरको १३३ औँ जन्मजयन्ती मनायौँ । उहाँका परिवारका सदस्यहरू आउनुभयो । उहाँको जन्म १९४८ जनवरी ८ तारिक तद्अनुसार पुसको २३ गते भएको रहेछ ।

उहाँले मेरो शेषपछि पुस्तकालय नेपाल सरकार शिक्षा मन्त्रालयलाई दिइयोस् भनेर इच्छा व्यक्त गर्नु भएको रहेछ । २०२४ सालमा नेपाल सरकारलाई हस्तान्तरण गर्नुभयो । २६ सालदेखि नेपाल सरकार शिक्षा मन्त्रालयअन्तर्गत् केशर पुस्तकालय सञ्चालन हुँदै आयो ।

केशर महलको करिब ३४ रोपनी एक आना जग्गा मध्ये १८ रोपनीमा पुस्तकालयको नयाँ भवन छ । ९ रोपनीमा बगैँचा छ । पुराना करिब २५ हजार पुस्तक, विभिन्न जनावरका अखटोपहार पुराना सवारी साधन, मूर्तिहरू, ऐतिहासिक महत्वका सामग्री र केशर शमशेरका फोटाहरू पनि छन् । अहिले पुस्तकालयमा करिब ७० हजार पुस्तकहरू छन् ।

यहाँ कस्ता किताब छन् ?

– यहाँ सामान्य ज्ञानदेखि सबै विषयका पुस्तक छन् । विशेष गरी अङ्ग्रेजी साहित्यका कलेक्सन छन् । संस्कृत, हिन्दी भाषाका कलेक्सन पनि छन् । केही हस्तलिखित ग्रन्थ छन्, जुन अन्त छैनन् । केशर शमशेरका महत्वपूर्ण पुराना पुस्तकहरू छन् । विशेषगरी हामीसँग पुराना अनुसन्धान गर्ने खालका केशर शमशेरको किताबहरू पाइन्छन् । केही महत्त्वपूर्ण पुस्तकहरू छन् । यहाँ २५ हजारको हाराहारीमा पुस्तक छन् । जसमा केशर शमशेरका धेरै पुस्तकहरू छन् । त्यसमा केहीलाई हामी डिजिटलाइज गर्दैछौँ ।

पढ्ने संस्कृति हराउँदै गएको गुनासो छ । यहाँ त पढ्न आउने मान्छेलाई व्यवस्थापन गर्न सकिँदैन भनिएको छ । डिजिटलाइजेसनले पठन संस्कृतिमा असर पार्ने रहेछ ?

– समयअनुसार हामीले छापेकै किताब पढ्नु पर्छ भन्ने हो त ? अहिले मान्छेहरू हातमा भएको मोबाइलमा सबै समाचार पढ्छन् । उनीहरूले पत्रिका किनेर पढेनन् भने समाचार नै पढेनन् भन्न सकिन्न । अहिले माध्यम मात्र परिवर्तन भएको छ । पढ्ने, अध्ययन गर्ने कुरा किताब लिएर मात्र हुँदैन । अहिले सुन्ने प्रविधिको विकास भइसकेको छ । पठन संस्कृति घटेको छैन । डिजिटलाइजेसनले पठन संस्कृति घट्दैन ।

पहिला पढ्न, अध्ययन गर्न किताब र पत्रिका किन्नै पर्थ्यो । अबका लेखकले किताब छाप्ने काम मात्र गरेर पुग्दैन । अब बोल्ने किताब पनि चाहियो । अनलाइनमा पनि चाहियो । अब त पाठकलाई कसरी सजिलो हुन्छ, त्यसमा पनि विचार गर्नु पर्छ । पाठकहरू सुनेर खुसी हुन्छन् भने त्यो प्रविधि पनि अपनाउनु पर्‍यो । डिजिटल कपी पाइन्छ भने किन प्रिन्टेट किनेर फेरि डिजिटलाइट गर्ने ? प्रिन्टेट किनेर फेरि डिजिटलाइट गर्दा त हामीलाई कपीराइटदेखि लिएर धेरैखालका झन्झट आइलाग्छन् । प्रतिलिपि अधिकारले अप्ठ्यारो पार्छ ।

एउटा प्रकाशकको आखाँबाट उहाँहरूले छापेको किताब पढिएन भने ‘किताब पढिएन’ भन्न मिल्छ । तर समग्रमा पढ्ने शैली घटेको भन्न मिल्दैन ।

इतिहासका दुर्लभ पुस्तक जोगाउन कस्तो सुरक्षात्मक विधि अपनाउनु भा’छ ?

– हस्तलिखित ग्रन्थहरू डिजिटलाइज गरेका छौँ । पुराना पुस्तकहरू पनि डिजिटलाइज गर्न छानेका छौँ । अहिले धेरै पुस्तक अनलाइनमा पाइन्छन् ।

पहिला नै कहीँ डिजिटलाइज भएका छन् भने त्यसलाई छानेर डिजिटलमा नै लिन प्रयास गर्छौँ । यहाँ भएका फिजिकल पुस्तकलाई कपीराइटको ख्याल गरेर जोगाउँछौँ । अर्काको सम्पत्तिको ख्याल गर्नुपर्छ । हामीलाई डिजिटलाइज गर्ने कुरामा अलिकति चुनौती पनि छ । किनकि, हामी ‘लाइब्रेरी’ हौँ ‘पब्लिसर’ होइनौँ । हामीकहाँ विभिन्न ठाउँबाट पुस्तक आएका छन् । तिनलाई नै डिजिटलाइज गर्नुपर्ने हुन्छ । सबैलाई ध्यानमा राख्दै हामी एउटा नेशनल डिजिटल लाइब्रेरी बनाउने भनेर केशर पुस्तकालय, राष्ट्रिय पुस्तकालयसँग समन्वय गर्ने र ठूलो बनाउँदै लैजाने योजनामा छौँ ।

भारतको नेशनल डिजिटल लाइब्रेरी जत्रो ठूलो त हाम्रो हुँदैन तर त्यही खालको बनाउनु पर्छ भनेर हामी लागिपरेका छौँ । त्यो भयो भने चाँहि यहाँ लोकसेवा तयारी, राष्ट्र बैङ्कको तयारी वा अरु तयारीका कुरालाई समेटेर एउटा पोर्टल बनाउँदा राम्रो हुन्छ भनेर लागेका छौँ । तर यसका लागि साधन स्रोत र समय चाहिन्छ । यो लाइब्रेरीले मात्र गरेर पनि हुँदैन यसका लागि सरकारको प्रतिक्रिया चाहिन्छ । हाम्रो योजनामा सरकारले पर्याप्त बजेट दिएन भने काम गर्न सक्दैनौँ ।

पाठकका लागि यहाँ के त्यस्तो सुविधा छ अरु पुस्तकालयमा छैन ?

– पुस्तकालय हरेक दिन बिहान ९ बजे खुल्छ । बेलुका ६ बजे बन्द हुन्छ । सार्वजनिक बिदाका दिन पनि खोल्छौँ । यहाँ ९ बजे आइसकेपछि तातो चिसो पिउने पानीको सुविधा छ । बत्तीको व्यवस्था छ । पढ्नका लागि टेबलहरू छन् । अनलाइन अध्ययन गर्नेका लागि वाइफाइको व्यवस्था छ ।

पढ्न मन लागेका किताब यहाँ उपलब्ध छैन भने बजारबाट किनेर उपलब्ध गराउँछौँ । तर यहाँबाट पुस्तक बाहिर लान भने मिल्दैन । यहीँ बसेर पढ्नुपर्छ । किताब दिएपछि फिर्ता गराउन एकदमै गाह्रो छ । लाइब्रेरीमा पुस्तक पढिसकेपछि ‘लाइब्रेरी क्लियरेन्स’ नलिई ट्रान्सकृप्ट पाइँदैन त्यसैले किताब कहीँ जाने भएन । तर हाम्रोमा त लिनेदिने केही हुँदैन ।

सरकारी भएकाले तपाईँको नागरिकता दिनुहोस् भन्न पनि सक्दैनौँ । धेरै पुस्तक हराएपछि किताब बाहिर लाने सेवा बन्द गरेका छौँ । फिजिकल कपीलाई एउटा नीति बनाउनु पर्ने हुन्छ र डिजिटल कपीलाई अर्काे नीति बनाएर सेवा दिन सकिन्छ ।

तथ्याङ्क हेर्ने हो भने म आउनुअघि दैनिक ८०–९० जना पाठक आउँथे । अहिले औसत १६५ जना पुगेका छन् । हामी दैनिक ३५० देखि ५०० जनालाई सेवा दिन सक्छौँ । तर हामीलाई केही कुरामा गाह्रो छ । आइतबार हाम्रोमा पाठकको सङ्ख्या धेरै हुन्छ किनकि नजिकै रहेका पुस्तकालय प्राय आइतबार बन्द हुन्छन् । र, परीक्षाका बेलामा पनि पाठकको सङ्ख्या बढी हुन्छ ।

यहाँ पढ्न आउनका लागि केही डकुमेन्ट आवश्यक छ ?

– पाठकले आउँदा इन्ट्रान्समा आफ्नो झोलाहरू राखेर लगइन गर्नुपर्छ । आफ्ना किताबहरू छन् भने निकालेर पढ्नुहुन्छ । नत्र लाइब्रेरीका पुस्तकहरू पढ्न सक्नु हुन्छ । लाइब्रेरीको ‘मेम्बरसिप फी’ लिँदैनौँ ।

अहिले सबै पाठकको हातमा मोबाइल छ । मलाई ल्यापटप चाहियो वा कम्प्युटर चाहियो भन्ने धेरै कम आउनुहुन्छ । उहाँहरू आफैँले ल्याउनु हुन्छ । हामीले सोचेको चाँहि एउटासम्म व्यवस्था गर्न पाए हुन्थ्यो भन्ने छ ।

कवि साहित्यकारले लेखेका किताबलाई कस्तो स्थान दिनु भएको छ ?

– थोरै लेखकले मात्र यहाँ आफ्ना पुस्तकहरू सहयोग गर्नु हुन्छ । नत्र हामी दुई कपी किन्छौँ ।

कुनै कृतिले मदनपुरस्कार प्राप्त ग¥यो भने लेखकले त त्यो किताब बाँडेर हिँड्दैन । पाठकले खोज्छन् । बजारले पनि राम्रो कुरालाई खोज्छ । हामी किन्छौँ । कुनै लेखकले मेरो किताब किनिदिनु पर्‍यो बिकेन भन्नुहुन्छ । ती हामी आफैँले किनिदिन्छौँ ।

संरचनागत सुधारका दृष्टिले केशर पुस्तकालयमा अभूतपूर्व विकास भएको पाइन्छ । व्यवस्थापकीय दृष्टिले अहिले तपाईंहरूले भोगेका चुनौती के छन् ?

– अहिले बाहिरबाट हेर्दा त यो अभूतपूर्व नै छ । भित्र धेरै कुरा गर्न बाँकी छ । व्यवस्थापकीय कुरा बाँकी छन् । सबै बिस्तारै गर्दैछौँ ।

अर्थमन्त्रालयले एकपटक कम्तिमा पुँजीगत खर्चमा १ करोड रूपैयाँ दिने हो भने अर्काेपटक हामी माग्दैनौँ । सरकारले खर्च नै गर्न सकेन भनेर मिडियामा सुनिन्छ । प्रदेशले खर्च नै गर्न सकेन भनेको सुनिन्छ । तर जहाँ चाहिने हो त्यहाँ चाहिँ सरकारको ध्यान नै पुगेको छैन । राष्ट्रियस्तरमा नै यो पुस्तकालयका लागि राजनीतिक मान्छेले सोच्नु पर्छ ।

०६८ सालमा म राष्ट्रिय पुस्तकालयमा हुँदा छाना भरी जङ्गल थियो । त्यसमा मैले आफैँले घरबाट खुकुरी लगेर पन्छाएँ । यहाँ आउँदा पनि मैले आफैँले रुखमा चढेर रुखका पुराना हाँगाहरू झारेँ । दुबो पनि रोपेर मात्र हुँदैन । त्यसलाई आवश्यक रेखदेख चाहिन्छ । कार्यालय सहयोगीलाई बिस्तारै सिकाउँदैछौँ ।

यहाँ अगाडि कमलको रूख छ । त्यसलाई काभ्रोको रुखले छेक्यो त्यो कमल जहाँ पायो त्यहाँ हुँदैन । त्यो फुलेको बेलामा त्यसको बासनाले पुस्तकालयको रौनक नै अर्कै हुन्छ । त्यसलाई पनि आफैँले हेरचाह गर्ने गरेको छु ।

हामीलाई अहिले ठूलो चुनौती भनेको कर्मचारी व्यवस्थापनमा छ । कर्मचारीलाई खाजा खर्च दिनुपर्छ । पसिनाको मूल्य त सबैले पाउनु पर्छ । त्यो बजेट अर्थ मन्त्रालयले नदिने हो कि भन्ने छ । सरदर १५ जना कर्मचारीको दरबन्दी छ । तर १३ जना मात्रै कार्यरत छौँ ।

हामीसँग अहिले भएका पूर्वाधार कम छन् । बढाउनु पर्ने छ । एकपटक चाहिँ हामीले यस्तो ग¥यौँ है भनेर देखाउनु पनि छ । बाहिरबाट देखिने भन्दा यहाँभित्र धेरै फरक छ । परिवर्तनको खाँचो छ ।

मान्छेका धारणामा अहिले पुस्तकालयमा सामान्य काम गरे पनि हुन्छ, पुग्छ भन्ने छ । त्यहाँ किताब लिने दिने त हो नि भन्ने बुझाइ छ । त्यस्तो सोचाइले अबको पुस्तकालय चल्दैन । बजारमा के भइरहेको छ ? त्यसको ज्ञान आवश्यक छ । पुराना कुरालाई कसरी समहाल्ने ज्ञान हुन आवश्यक छ ।

पुस्तकालयसँगै जोडिएको एउटा पार्क छ । यसको सौन्दर्यीकरण र व्यवस्थापनका लागि बजेट आवश्यक छ । कर्मचारी आवश्यक छ ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ५ : २९ बजे

सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ

सिरहा – सिरहाको गोलबजारस्थित बर्धमान अस्पतालमा आज एक सुत्केरीको मृत्यु

युद्धविरामपछि पाकिस्तानी प्रधानमन्त्रीले भने : क्षेत्रीय शान्ति र स्थिरताको पक्षमा छौं

नयाँ दिल्ली – पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले भारत र पाकिस्तानबीच

पाकिस्तानले युद्धविराम तोडेको भारतको आरोप

काठमाडौं – युद्धविरामको सहमतिपछि पनि पाकिस्तानले आक्रमण जारी राखेको भारतले

बुद्धजयन्ती तथा लुम्बिनी दिवस समारोहको तयारी पूरा

लुम्बिनी – लुम्बिनी विकास कोषले २५६९औंँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस

दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु

उदयपुर – पिकअप जिप दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु