काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भगवान गौतमबुद्धको जन्मभूमि लुम्बिनीलाई बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थलको रुपमा परिचित गराउन सबैले पहल गर्नुपर्ने बताएका छन् ।
२५६९औँ बुद्ध जयन्तीको अवसरमा सोमबार शुभकामना व्यक्त गर्दै उनले भगवान गौतम बुद्धको जन्मभूमि लुम्बिनीलाई बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थलको रुपमा परिचित गराउँदै आन्तरिक पर्यटनलाई सुदृढ गर्न सरकारले उचित पहल गर्न आवश्यक रहेको उल्लेख गरेका छन् ।
नेपालको लुम्बिनी बुद्धको जन्मस्थल र बुद्ध दर्शनको उद्गम थलो भएको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यस स्थललाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र एवम् उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गरी विश्वभरका बौद्ध मार्गीहरूलाई नेपाल भित्र्याउन सके देशको आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रको विकासमा ठूलो योगदान हुन सक्ने बताएका छन् ।
उनले बुद्धको दर्शन, उनले दिएको शान्ति र अहिंसाको मार्गलाई आत्मसात् गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु बुद्धप्रतिको साँचो सम्मान हुने शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
सभामुख घिमिरेले किरात समुदायको महान पर्व उँभौलीको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । सो पर्वले सांस्कृतिक एवं सामाजिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।
प्रतिक्रिया