नेप्सेका अध्यक्ष पौडेलले आनाकानी गर्दा अड्कियो एसएमईज विनियमावली | Khabarhub Khabarhub

नेप्सेका अध्यक्ष पौडेलले आनाकानी गर्दा अड्कियो एसएमईज विनियमावली

आठ प्रतिशतमा सर्किट ब्रेक, ५०० कित्ता कारोबार गर्नुपर्ने प्रस्ताव


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साना तथा मझौला सङ्गठित संस्था (एसएमईज) को धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१ नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सार्वजनिक गरिसकेको छ ।

एसएमईजलाई कार्यान्वयन गराउनका लागि बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई विनियमावली बनाउन जिम्मा दिएको छ ।

सेबोनले दिएको जिम्मेवारी अनुसार नेप्सेले विनियमावलीको ड्राफ्ट तयार पारिसकेको छ । तर, पास गर्न भने सकेको छैन । नेप्सेका अध्यक्ष शोभाकान्त पौडेलका कारण विनियमावली पास हुन नसकिरहेको हो ।

नेप्सेले पाँच सदस्यीय कार्यसमिति बनाएर एसएमईज विनियमावली ड्राफ्ट तयार गरेको थियो । कार्यसमितिमा नेप्सेका तत्कालीन सञ्चालक समिति सदस्य रोशन सिग्देलको संयोजकत्वमा दुई सञ्चालक विमल डङ्गोल र दीर्घबहादुर रावल सदस्य थिए ।

सोही समितिमा नेप्सेका दुई विभागीय प्रमुख निराजन फुयाँल र निराधर सुवेदी सदस्यसहितले विनियमावलीको ड्राफ्ट तयार गरेका थिए । नेप्सेको सञ्चालक समितिले नै बनाएको उक्त समितिले २०८१ चैत ३ गते विनियमावली सञ्चालक समितिमा निर्णयार्थ पठाउने निर्णय गरेको थियो ।

समितिले ३७ पृष्ठको विनियमावली ड्राफ्ट तयार गरेर सञ्चालक समितिमा बुझाइसकेको छ । धितोपत्र बोर्डको नियमावलीको निर्देशनमा बनेको उक्त विनियमावली नेप्सेको बोर्ड बैठकबाट भने पास हुन नसकेको हो ।

नेप्सेको सञ्चालक समिति बैठकमा गत चैत १९ गते पहिलोपटक विनियमावलीबारे छलफल भएको थियो । तर, उक्त बैठकमा नेप्सेका अध्यक्ष पौडेलले थप अध्ययन गर्नुपर्ने भन्दै विनियमावली पास गर्न रोकेका थिए ।

वैशाख १९ गते बसेको सञ्चालक समिति बैठकमा पनि एसएमईज विनियमावलीको विषयले प्रवेश पाएको थियो । तर, बोर्डका अन्य सबै सदस्य पास गर्न तयार रहँदा अध्यक्ष पौडेल राजी भएनन् । उक्त बैठकमा पनि विनियमावली पास भएन ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले पनि एमएमईज विनियमावली पास नभएको पुष्टि गरे ।विनियमावलीबारे खबरहबले राखेको जिज्ञासामा उनले भने, ‘पास भएको छैन, आगामी बैठकबाट पास गरेर धितोपत्र बोर्डमा पठाउँछौँ ।’

विनियमावली पास गर्दा कुनै लफडामा फसिने डर रहेकाले अध्यक्ष पौडेलले पास नगरेको स्रोतको दाबी छ । ‘अध्यक्षज्यू आफैँले बनाएको समितिले दिएको ड्राफ्टमा विश्वास गर्नुभएन’, नेप्से स्रोतले भन्यो, ‘कुनै लफडामा फसिने डर मान्दै पास गर्न मान्नुभएन ।’

नेप्सेको अध्यक्ष अर्थ मन्त्रालयले नियुक्त गर्छ । हालका अध्यक्ष पौडेल नेप्सेमा आउनुअघि भन्सार विभागका महानिर्देशक थिए । पौडेल हाल अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखामा कार्यरत छन् ।

लोकसेवा आयोगले सहसचिव पौडेललाई सचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ । वैशाख २५ गते बसेको आयोग बढुवा समितिको बैठकले पौडेललाई सचिवमा पदोन्नतिका सिफारिस गरेको छ ।

सचिव हुने बेला विवादमा नपर्न अध्यक्ष पौडेलले विनियमावली रोकेको स्रोतको दाबी छ । ‘अध्यक्षज्यू सचिव हुन लाग्नुभएको छ’, स्रोतले भन्यो, ‘यो बेला विवादमा नपर्ने उहाँको चाहनाले विनियमावली पास नभएको हो ।’

पौडेल सचिव भएर गए उनको ठाउँमा अर्थ मन्त्रालयले अर्का अध्यक्ष (सहसचिव) पठाउने, अनि मात्र विनियमावली पास हुने स्थिति बनेको नेप्सेका कर्मचारीहरूले बताए ।

आठ प्रतिशतमा सर्किट ब्रेक, ५०० कित्ता कारोबार गर्नुपर्ने प्रस्ताव

धितोपत्र बोर्डले ‘साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१’ जारी गर्दै सानो पुँजी लगानीमा सञ्चालन गरिएका कम्पनीहरूलाई धितोपत्र बोर्डले साधारण शेयर (आईपीओ) जारी गर्ने बाटो खोलिदिँदै नियमावली ल्याएको थियो ।

बोर्डले स्टार्टअप (नवप्रवद्र्धक) कम्पनीहरूको धितोपत्र सूचीकरण तथा कारोबार गर्ने विशिष्टीकृत बजार (एसएमई प्लेटफर्म) मा २५ करोड रुपैयाँसम्म चुक्ता पुँजी भएको कम्पनीहरू आउने व्यवस्था नियमावलीमा गरेको थियो ।

नियमावलीमार्फत बोर्डले आईपीओमा न्यूनतम ५०० कित्ताका लागि आवेदन दिनुपर्ने जसको लागि ५० हजार रुपैयाँ न्यूनतम खर्च गर्नुपर्ने व्यवस्था गरेको थियो ।

तर, नियमावलीले भने कारोबार गर्दा न्यूनतम कति कित्ता कारोबार हुने, सर्किट ब्रेकर कति प्रतिशत बढेपछि लाग्ने जस्ता कुराहरू बताएको थिएन । सोही कुरा एकिन गर्न र आवश्यक पर्ने सफ्टवेयर बनाउन सेबोनले नेप्सेलाई विनियमावली बनाउन निर्देशन दिएको थियो ।

समितिले बनाएको ३७ पृष्ठको विनियमावली ड्राफ्टलाई ‘साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र सूचीकरण तथा कारोबार विनियमावली, २०८१’ नाम दिएको छ । जसमा ५४ वटा दफा रहेका छन् ।

नेप्से स्रोतले दिएको जानकारी अनुसार एसएमईजको कारोबार हुने छुट्टै टीएमएस र कारोबार भएको देखिने साइटसमेत छुट्टै हुनेछ । अन्य कारोबार हुने टीएमएसकै छेउमा एसएमईजमा जाने अर्को ठाउँ हुने र त्यहाँ गएर कारोबार गर्ने मिल्ने गरी सफ्टवेयर बनाएको नेप्से स्रोतको भनाइ छ ।

अब नेप्सेमा न्यूनतम कति कित्ता कारोबार हुने हो भन्ने कुरालाई लिएर धेरै लगानीकर्ताले चासो पनि दिएका थिए । नयाँ नियम कार्यान्वयनमा आएपछि न्यूनतम ५०० कित्ता आईपीओ भर्नुपर्ने भएकाले दोस्रो बजारमा समेत न्यूनतम ५०० कित्ता नै कारोबार हुनुपर्ने लगानीकर्ताको माग छ ।

लगानीकर्ताले माग गरे बमोजिम नै नेप्सेले विनियमावली तयार गरेको छ । विनियमावलीको दफा २४ मा न्यूनतम ५०० कित्तामात्र कारोबार प्रस्ताव गरिएको छ । ५०० कित्ता भन्दा तल ‘अड लट’ मार्फत पनि बिक्री गर्ने नपाइने व्यवस्था उक्त दफाले गरेको छ ।

हकप्रद र बोनस शेयर नथपिँदासम्म ५०० कित्ता मात्र कारोबार हुने र त्यसपछि मात्र ५१०, ५२०, ५९० वा त्यो भन्दामा कारोबार हुने व्यवस्था छ ।

ड्राफ्ट गरिएको विनियमावलीको दफा २२ मा एउटै मूल्यको दुईवटा माग आए र मूल्य मिले पनि पहिले जसले अडर दिएको हो, त्यो व्यक्तिको शेयर खरिद हुने व्यवस्था प्रस्ताव गरिएको छ ।

विनियमावलीको दफा २७ मा अग्रिम रकम भएपछि मात्र शेयर खरिदका लागि अर्डर दिन पाउने र किन्न मिल्ने व्यवस्था छ ।

दफा ३१ म एसएमईजको शेयर कारोबार समय प्रस्ताव गरिएको छ । जसमा बिहान १०ः३० देखि ११ बजेसम्मको समयलाई प्रि–ओपन सेसन हुने उल्लेख छ । ११ देखि ३ बजेसम्म नियमित बजारको समय तोकिएको छ ।

सोही दफामा अन्तिम १५ मिनेटमा भएको किनबेचलाई औसत गरेर उक्त दिनको अन्तिम बजार मूल्य निर्धारण गरिने व्यवस्था गरिएको छ ।

कम्पनीको सर्किटको विषयमा विनियमावलीको दफा ३२ मा प्रस्ताव गरिएको छ । जसमा बजारमा कति बढाएर घटाएर अडर हाल्न मिल्ने र कम्पनीको सर्किटको विषयमा व्यवस्था गरेको छ ।

उक्त दफामा प्रि–ओपन सेसनमा पाँच प्रतिशतसम्म मूल्य बढे वा घटेमा सर्किट ब्रेकर लाग्छ । त्यसपछिको बजारमा भने १० प्रतिशतसम्म बढे वा घटेमा सर्किट ब्रेकर लाग्छ । उक्त दफामै कुनै कम्पनी खरिद गर्दा वा बिक्री गर्दा अधिकतम दुई प्रतिशत बढाएर वा घटाएर मात्र अर्डर दिन पाइने व्यवस्था प्रस्तावित छ ।

विनियमावलीको दफा ३३ मा कति रुपैयाँ घटाएर वा बढाएर शेयर कारोबार गर्न पाइने भनी व्यवस्था गरेको छ । एसएमईजको शेयर मूल्य एक रुपैयाँ बढाएर वा घटाएर कारोबार गर्न पाइनेछ ।

अहिले भएको शेयर बजारमा भने एक पैसा पनि घटाएर वा बढाएर कारोबार गर्ने पाइने व्यवस्था छ । तर, एसएमईजको विनियमावलीमा भने एक रुपैयाँ राखिएको छ ।

दफा ३७ मा पूरै एसएमईज बजारको सर्किट ब्रेकरको व्यवस्था गरिएको छ । जसमा बजार खुलेको एक घण्टाभित्र चार प्रतिशतले बढे वा घटे १५ मिनेटका लागि बजार बन्द हुने र बजार खुलेको दुई घण्टाभित्र ६ प्रतिशतले बढे वा घटेमा ४० मिनेटका लागि बजार बन्द हुनेछ ।

जुनसुकै समयमा बजार आठ प्रतिशतले बढे वा घटे उक्त दिनका लागि बजार बन्द हुने व्यवस्था प्रस्ताव गरिएको छ ।

विनियमावलीमा त्रैमासिक रूपमा वित्तीय विवरण पेस गर्नुपर्ने व्यवस्था गरेको छ भने उक्त विवरणमा प्रमुख वित्तीय सूचकहरू राख्नुपर्ने लेखिएको छ । वित्तीय विवरणमा आगामी दिनको योजना र नाफामा असर परेको भए त्यसको कारण समेत खुलाउनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

कम्पनीलाई वा कम्पनीका सञ्चालक वा उच्च तहका कर्मचारीलाई मुद्दा लागेको भए तीन महिनाभित्र जानकारी दिनुपर्ने व्यवस्था प्रस्तावित छ । वित्तीय विवरणमा शेयरको भाउ उच्च, न्यूनतम र औषत समेत खुलाएर राख्नुपर्ने पनि भनिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ६ : २६ बजे

राष्ट्रका नाममा मोदीको सम्बोधन : भारतले पाकिस्तानलाई कडा जवाफ दिएको छ

नयाँ दिल्ली— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रका नाम सम्बोधन

पूर्वी नवलपरासीको चोरमारामा पुल भाँचियो, पूर्व–पश्चिम राजमार्ग ठप्प

काठमाडौं – नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गत चोरमाराको पुल भाँचिएको छ ।

कञ्चनजङ्घा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु

ताप्लेजुङ । कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु

उपप्रधानमन्त्री सिंहले भने : देश स्थिरतासहित समृद्धितर्फ अघि बढेकाे छ

नुवाकोट – उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले शिक्षाको विकासबाट

समाजवादी गणतन्त्र निर्माणमा साथ दिन अध्यक्ष प्रचण्डको आग्रह

सुर्खेत – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल