काठमाडौं- भारतले गत बुधबार पाकिस्तानमा सञ्चालन गरेको अपरेशन सिन्दुरका क्रममा रफायल र जे १० फाइटर जेटबीच ‘डगफाइट’ भयो । ‘डगफाइट’ मा पाकिस्तानले चीनमा बनेको आफ्नो जे १० ले भारतीय वायुसेनाको फ्रान्समा निर्मित तीन वटा रफायल खसालेको दाबी गरेको छ ।
पश्चिमा मुलुकका विश्लेषक र सुरक्षा स्रोतले पाकिस्तानले कम्तीमा एउटा रफायल खसालेको पुष्टि गरेका छन् । भारतले यसबारे आधिकारिक जानकारी दिएको छैन । यद्यपि भारतीय सेनाले ‘सबै पाइलट सकुशल फिर्ता भएको’ र ‘क्षति लडाइँको एउटा अंग’ भएको बताएपछि भने पाकिस्तानी दाबीमा आंशिक भएपनि सत्यता रहेको अनुमान गरिएको छ ।
यो दाबी सत्य भए कुनै पनि युद्धका क्रममा दुश्मनले रफायल खसालेको पहिलो घटना हुनेछ । आफ्नो मुलुकमा उत्पादित जे १० ले रणमैदानमा नेटो मापदण्डको रफायल फाइटर खसालेको खबरले चीनमा उत्साह छाएको छ भने फ्रान्समा खैलाबैला मच्चिएको छ ।
आज हामीले जे १० र रफायल कति समान छन् र यी फाइटरबीच कति भिन्नता छ भनेर जानकारी दिनेछौँ ।
फ्रान्सको दास्सो आभियास्योँ कम्पनीले बनाउने रफायल हाल फ्रान्स र भारतसँगै ग्रिस, क्रोएशिया, इण्डोनेशिया, इजिप्ट, यूएई, कतारजस्ता मुलुकले प्रयोग गर्दै आएका छन् । चेङ्दु एअरक्राफ्ट इण्डष्ट्री ग्रुपले बनाउने जे १० चाहिँ चीनबाहेक पाकिस्तानले मात्रै प्रयोग गर्छ ।
दुवै जेट ४.५ जेनेरेसनका हुन् । यसको अर्थ दुवै चौथो जेनेरेसनका जेटभन्दा उन्नत छन् तर पाचौँ पुस्ताजति आधुनिक छैनन् । रफायल र जे १० जस्तै ४.५ जेनेरेसनका फाइटरमा युरोपमा निर्मित युरोफाइटर टाइफुन र जापानको मित्सुबिसी एफ–२ पनि पर्छन् ।
रफायललाई आफ्नो पुस्ताको उत्कृष्ट फाइटर मानिन्छ । यसअघि युद्धमा खासै प्रयोग नभएको जे १० चाहिँ ‘डार्क हर्स’ हो ।
दुई जेटबीचको सबैभन्दा ठूलो भिन्नता यसको रेडारमा छ । दुवै जेटमा उन्नत किसिमको ‘एक्टिभ इलेक्ट्रोनिकल्ली स्क्यान्ड एरे (एइसा)’ रेडार जडान गरिएको छ । तर, यसको क्षमता भने दुवै जेटमा फरक छ । रफायलमा आरबीई२–एए एइसा रडार जडान गरिएको छ । यसमा प्रयोग भएको एन्टिनाको वृत्त ६०० मिलिमिटर अर्थात् २३.६ इन्च छ भने यसले १४० डिग्रीमा २ सय किलोमिटरसम्म स्क्यान गर्नसक्छ ।
जे १० को रडार प्रणालीबारे आधिकारिक जानकारी सार्वजनिक रुपमा उपलब्ध छैन । यद्यपि यसमा प्रयोग भएको एन्टेनाको वृत्त ७०० मिलिमिटर अर्थात् २७.६ इन्च बराबर रहेको ठानिन्छ ।
हतियार भण्डारणको कुरा गर्दा रफायलको अगाडि जे १० फुच्चे साबित हुन्छ । रफायलले ९ टनसम्म हतियार बोक्न सक्छ । जे १० ले केबल ६ टन हतियार बोक्छ ।
रफायलमा विभिन्न किसिमका क्षेप्यास्त्र, बम र आवश्यक परे आणविक हतियार समेत बोक्नका लागि १४ वटा ‘हार्ड पोइन्ट’ राखिएको छ । जे १० मा चाहिँ यस्ता केबल ११ वटा ‘हार्ड पोइन्ट’ छन् ।
पछिल्लो ‘डगफाइट’ मा पाकिस्तानले जे १० बाट चीनमै बनेको पीएल–१५ क्षेप्यास्त्र प्रयोग गरेको बताइएको छ । यसको उच्चतम गति मक-५ सम्म पुग्छ । यो भनेको आवाजको वेगभन्दा ५ गुणा धेरै अर्थात् ६ हजार किलोमिटर प्रतिघण्टा हो ।
आकाशबाट आकाशमा मार हान्ने यस क्षेप्यास्त्रको मारक दूरी ३ सय किलोमिटर छ । यद्यपि चीनले पाकिस्तानलाई उपलब्ध गराएको क्षेप्यास्त्रको दूरी केबल १ सय ४५ किलोमिटर आसपास मात्रै रहेको विश्वास गरिन्छ ।
उता भारतीय वायुसेनाको रफायलमा प्रायः युरोपमा निर्मित मिटिओर क्षेप्यास्त्र प्रयोग हुन्छ । यसको उच्चतम गति मक ४ अर्थात् झण्डै ५ हजार किलोमिटर प्रतिघण्टा छ ।
मिटिओर क्षेप्यास्त्रको मारक दूरी २ सय किलोमिटरसम्म रहेको दाबी गरिएको छ । लडाइँपछि पीएल–१५ को मात्रै भग्नावशेष भेटिएको छ, मिटिओरको भेटिएको छैन । यस्तो अवस्थामा भारतले किन उक्त क्षेप्यास्त्र प्रयोग गरेन भन्ने अझै स्पष्ट भएको छैन ।
यद्यपि भारतीय वायुसेनाको एउटा फाइटर जमिनमा खसेको दाबी गर्दै केही तस्बिर सामाजिक सञ्जालमा शेयर भइरहेका छन् । ती तस्बिरमा ‘मिका’ नामक आकाशबाट आकाशमा मार हान्ने क्षेप्यास्त्र देखिएको छ । ती क्षेप्यास्त्रको मारक दूरी केबल ६० देखि ८० किलोमिटर मात्रै छ ।
रफायल १५ मिटर लामो र ११ मिटर चौडा छ । यसको वजन १५ टन छ । जे १० को लम्बाइ १७ मिटर र चौडाइ १० मिटर छ । यसको वजन १४ टन छ ।
जे १० आकाशमा अधिकतम १८ हजार मिटर माथिसम्म उड्न सक्छ, रफायलको अधिकतम उचाइ भने केबल १६ हजार मिटर छ । कुल तीन ट्यांकी इन्धन बोकेर जे १० ले १ हजार २ सय ४० किलोमिटरको दूरी पार गर्नसक्छ । उता रफायलले भने तीन ट्यांकी इन्धनमा १ हजार ८ सय ५० किलोमिटरको दूरी तय गर्छ ।
पाकिस्तानी वायुसेनाले एउटै प्रणालीमा आधारित रहेर पछिल्लो डगफाइट लडेको थियो । यसको अर्थ जे १० फाइटर जेटलाई सूचना दिन ‘अर्ली वार्निङ एण्ड कन्ट्रोल सिस्टम’, जमिनमा रहेको हवाइ प्रतिरोधी रडार प्रणाली सबै चीनमा निर्मित थिए । यसले गर्दा लडाइँ भइरहेका बेला महत्वपूर्ण डेटा प्रवाहमा पाकिस्तानलाई सहज थियो ।
भारतका लागि भने परिस्थिति अर्कै रह्यो । भारतले फ्रान्समा बनेको रफायल जेट प्रयोग गरेको थियो । ‘अर्ली वार्निङ एण्ड कन्ट्रोल सिस्टम’ इजरायलमा बनेको थियो भने जमिनमा रहेको हवाइ प्रतिरोधी रडार प्रणाली रुसमा बनेको थियो । यसले पनि जे १० सँग लड्न भारतीय वायुसेनालाई सकस भयो ।
प्रतिक्रिया