म्याग्दी– म्याग्दीको हिमाली क्षेत्रमा यार्सागुम्बा संकलन गर्न थालिएको छ । धवलागिरि गाउँपालिका–१ गुर्जा, वडा नं–४ मुदी र रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका बासिन्दाहरु यार्सागुम्बा खोज्न हिमाल फेदीको बुकी पाटनमा पुगेका छन् । गुर्जा, चुरेन र धौलागिरि हिमालको फेदीमा यार्सागुम्बा पाइने गर्छ ।
धवलागिरी गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले गुर्जाका अधिकांश घरबाट यार्सा खोज्न हिमाली क्षेत्रमा गएका बताए। गुर्जामा गत वैशाखको २६ गतेदेखि यार्सा संकलन गर्न खुला गरिएको थियो । गुर्जामा रहेका दुई सय ५० घरपरिवार मध्य एक घरबाट कम्तीमा एक जना यार्सा खोज्न गएका वडा अध्यक्ष छन्त्यालले बताए।
रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका वडाध्यक्ष थकबहादुर पाइजा (रिम)ले हिउँदेबाली भित्र्याउने र बर्खेबाली लगाउने तथा उपभोक्ता समिति मार्फत सञ्चालित विकास आयोजनाको काम सकेर स्थानीयबासीहरु यार्सागुम्बा खोज्न धौलागिरि हिमाल फेदीको कालीबराह बुकीमा गएका बताए ।
चिमखोलाबाट करिब ५० स्थानीयवासी यार्सागुम्बा खोज्न बुकीमा गएका छन् । वैशाखको अन्तिम सातादेखि जेठ महिनाको तेस्रो हप्तासम्मका लागि पुग्ने खाद्यान्न, लत्ताकपडा लिएर यार्सा खोज्न बुकी गएका हुन् । अनुकुल मौसम हुँदा दैनिक एक सय गोटासम्म यार्सागुम्बा संकलन हुने र एक जनाले दुई लाख भन्दा बढी आम्दानी गर्ने बताइएको छ ।
यार्सा संकलकहरु बुकीमा ओढार र त्रिपालको छाप्रो हालेर बास बस्ने गरेका छन् । संकलन भएको यार्सा स्थानीय स्तरमा प्रतिगोटादुई सयदेखि दुई सय ५० सम्ममा बिक्री हुने गरेको चिमखोले बुकीमा यार्सा संकलन गर्दै गरेका गमान गर्बुजाले बताए।
यार्सा संकलन हिमाली क्षेत्रका बासिन्दाका लागि रोजगारी र आयआर्जनको माध्यम बनेको छ । यार्सा टिप्न जानेहरूले देवीदेवताको पूजापाठ गरी काम सुरु गर्छन् । यार्सा संकलन हिमाली भेगका जनताका लागि मौसमी रोजगारी बनेको छ ।
यार्सा सङ्कलन भएपछि ठेकेदारले गाउँमै पुगेर यार्साको खरिद गर्दै आएका छन् । म्याग्दीमा केहि वर्षअघि वार्षिक २० किलोभन्दा बढी यार्सा निकासी हुने गरेकोमा पछिल्ला वर्षहरुमा मात्रा घटेको छ । चालु आर्थिक वर्षमा हालसम्म कसैले यार्सागुम्बा संकलनको अनुमति नलिएका डिभिजन वन कार्यालयका सूचना अधिकारी विनयबहादुर अधिकारी खत्रीले जानकारी दिए ।
यार्सागुम्बा संकलन र निकासीका लागि राजस्व तिरेर संकलन पुर्जी र छोटपुर्जी लिएर मात्रै यार्सागुम्बा बिक्री र निकासी गर्न पाइन्छ । गत वर्ष आधा किलोग्राम यार्सागुम्बाको लागि छोडपुर्जी जारी भएको थियो । प्रतिकिलो यार्सागुम्बा निकासी गर्न १० हजार राजस्व तिर्नुपर्छ ।
हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा न्यून मात्रामा भेटिने भएपछि यार्सा संकलनकर्ताले संकलन भएपछि मात्रै सोही बमोजिमको संकलन पुर्जी काट्ने चलन छ । सर्वसाधारणबाट व्यवसायीहरुले प्रतिकिलो पाँच लाखदेखि छ लाखसम्ममा यार्सा खरिद गर्ने गरेका छन् । हालको बजारमूल्य प्रतिकिलो आठलाखदेखि १० लाखसम्म रहेको जानकार बताउँछन् ।
प्रतिक्रिया