सुदूरपश्चिममा प्रचण्डकाे ‘हेड्याक’ : दलको नेतामा १६ महिनापछि खगराजकाे ‘कमब्याक’ | Khabarhub Khabarhub

सुदूरपश्चिममा प्रचण्डकाे ‘हेड्याक’ : दलको नेतामा १६ महिनापछि खगराजकाे ‘कमब्याक’


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेकपा माओवादी केन्द्रका कार्यकर्ताले प्रचण्डलाई सुप्रिमो भन्छन् अर्थात् सुप्रिम कमाण्डर । माओवादीभित्र प्रचण्डको बोली नै पार्टी सञ्चालनकाे विधि हो । आदेश हो । निर्देशन हो; जस्तो देखिन्छ । तर सुदूरपश्चिम प्रदेश सभाको दलको नेता बनाउने विषयलाई आधार मान्ने हो भने प्रचण्ड अब प्रचण्ड रहेनन्, न उनको आदेश चल्छ, न निर्देशन नै ।

प्रचण्डले चाहेको व्यक्तिलाई दलको नेता बनाउन १६ महिना कुर्नु पर्‍यो । प्रचण्डकाे टाउकाे दुखाइकाे बनेकाे विषय १६ महिना कुरेर पनि सहज हस्तान्तरण र दिलखुसवाला समझदारी नभएको माओवादी निकट स्रोतको दाबी छ । दलको नेतामा देखिएको विवाद मिलाउन प्रचण्डले धेरै मिहिनेत र समय खर्चिनु पर्‍यो ।

माओवादीबाट ११ जना प्रदेश सभा सदस्य छन् । ती मध्ये १ जना सभामुख छन् भने बाँकी १० जना मध्ये सुरुमा प्रचण्डकै निर्देशनबाट खगराज भट्टलाई दलको नेता बनाइयो । पछि १० मध्ये ६ जनाले बहुमतबाट निर्णय गरेपछि मानबहादुर धामी दलको नेता भए ।

१२ माघ २०८० मा उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बहुमत सांसदको बैठकले भट्टलाई हटाउँदै दलको नेतामा मानबहादुर धामीलाई चयन गर्‍याे । भट्ट पार्टी स्थायी कमिटी हुन् भने धामी केन्द्रीय सदस्य ।

पार्टी सङ्गठनको वरियताविपरीत सांसदले मनोमानी निर्णय गरेको र गुट हाबी भएकोमा प्रचण्ड चिन्तित थिए । दलको नेता फेर्ने प्रचण्डको निर्देशन कार्यान्वयन हुन १६ महिना लाग्यो । त्यो पनि खगराजकै गृहजिल्ला पुगेर सबै नेताहरूलाई एकसाथ राखेर, आफ्नैसामु दलको नेता परिवर्तन गर्न लगाउनु पर्‍यो ।

दलको नेतामा खगराज १६ महिनापछि कमब्याक भए । उनले आफ्नै गृहजिल्ला डडेल्धुरामा पार्टी अध्यक्षसहितलाई साक्षी राखेर पद पाए । त्यो बाँकी कार्यकालका लागि हो या केही समयका लागि अहिले नै भन्न सकिने अवस्था छैन ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका पदाधिकारीको उपस्थितिमा डडेल्धुरामा बसेको प्रदेश संसदीय दलको बैठकले दलको नेतामा भट्टलाई पुनर्वहाली गर्दै निरन्तरता दिने सर्वसम्मत निर्णय गरेको माओवादी नेता एवम् प्रदेश सभा सदस्य शिवसिंह ओलीले जानकारी दिए ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष नन्दकिशोर पुन पासाङ, महासचिव देव गुरुङ, उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्जसहितका नेताको उपस्थिति थियो ।

ओलीका अनुसार उपनेता, प्रमुख सचेतक र सचेतकका सम्बन्धमा भने कुनै निर्णय भएको छैन । अध्यक्ष प्रचण्डले मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियान शुभारम्भ गर्न सुदूरपश्चिम आएका बेला आफ्नै उपस्थितिमा दलको बैठक राखेरमात्रै दलको नेता परिवर्तन गर्न सफल भएका हुन् ।

‘सामान्य कुराकानी मिलेको जस्तो थिएन । २०८० माघ १२ गते बहुमतबाट खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाइएको थियो ।’ पार्टी उपमहासचिव तथा प्रदेश इन्चार्ज गिरीराजमणी पोखरेलले भने । उनले डडेल्धुरामा बसेको बैठकले पुन संसदीय दलको नेताको जिम्मेवारी भट्टलाई दिने निर्णय गरिएको जानकारी दिए ।

माओवादी अध्यक्ष प्रचण्डले यस अघि नै संसदीय दलको नेता परिवर्तन गर्न लिखित तथा मौखिक निर्देशन दिएका थिए । आफ्नो पटक–पटकको निर्देशन उल्लङ्घन भएपछि डडेल्धुरामा आफ्नै उपस्थितिमा बैठक राखेर प्रचण्डले दलको नेता परिवर्तनको निर्णय गराएका हुन् ।

सुदूरपश्चिम प्रदेश सभामा नेकपा माओवादीभित्र दलको नेता फेरबदलको शृङ्खला १६ महिनापछि मथ्थर भएको देखिन्छ । पार्टी भित्रको कार्यविभाजन, केन्द्रीय नेतृत्व तहमा देखिएको गुटबन्दी र व्यक्तिगत स्वार्थ नमिलेपछि कित्ताकाटको स्थितिमा प्रदेश तहका नेताहरू पुगेका थिए ।

भट्टलाई हटाउने निर्णयमा उपनेता अक्कलबहादुर रावल, प्रदेशसभा सदस्य मानबहादुर धामी, शिवसिंह ओली, ओमविक्रम भाट, लक्ष्मी विक र गीतादेवी मालले हस्ताक्षर गरेका थिए । त्यतिबेला भट्ट पक्षमा रमेशसिंह धामी, जानकीदेवी कुँवर र झपटबहादुर साउद मात्रै थिए ।

तर हाल ओली, भट्ट पक्षमा उभिएपछि भट्ट र धामी पक्षमा पाँच–पाँच जना सांसद देखिएपछि पार्टीको हस्तक्षेप अनिवार्य देखिएको थियो । धामी पक्षलाई प्रदेशमा विना मगरले बलियो साथ दिएको अवस्था थियो ।

सुदूरपश्चिम प्रदेश सभामा माओवादीका ११ जना सांसद छन् । जसमा ८ जना प्रत्यक्ष र ३ जना समानुपातिक छन् । ती मध्ये पनि १ जना सभामुख छन् । पार्टी कमिटीको वरियतामा खगराज भट्टलाई २०७९ को निर्वाचनपछि दलको नेता बनाइएको थियो । त्यो बेला असन्तुष्टिका बीच पनि सर्वसम्मत नै जिम्मेवारी खगराजले पाए । तर असन्तुष्टिको शृङ्खला लामो समय टिक्न सकेन । गएको वर्ष माघ १२ गते मानबहादुर धामी बहुमत देखाएर दलको नेताको पत्रसहित प्रदेश सभामा पुगेपछि धामीले नै दल नेताको अधिकार पाए ।

‘पार्टीमा समस्या छ । नेता र नेतृत्व तहमा बसेकाहरुबाटै त्यो समस्या उत्पन्न गरिएको हो । जसरी समस्या सुरुवात गरियो, त्यसैगरी समाधान गर्ने जिम्मा लिनु पर्छ ।’ यसअघि पाँचै वर्ष मुख्यमन्त्री र माओवादी दलको नेता बनेका त्रिलोचन भट्टले भने, ‘सोही अनुसार केन्द्रबाट सिर्जित समस्या केन्द्रीय नेताहरूबाटै सहमति गराइएको छ ।’

सङ्घीय सभामा सुदूरपश्चिमबाट २०७९ को चुनावमा माओवादीको प्रतिनिधित्व ‘निल’ भयो । कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादीसहितको चुनावी गठबन्धन थियो ।

माओवादीको भागमा परेको ४ सिट गुमायो । एकीकृत समाजवादीले पाएको तीनै सीटमा आफूलाई सुरक्षित ग¥यो । कमजोर हुँदै गएको माओवादीभित्रको चरमगुटबन्दी देखेर कार्यकर्ता हैरान देखिएका थिए ।

सुदूरपश्चिममा माओवादी सिङ्गो पार्टीको आकार देखिँदैन । प्रदेश इञ्चार्ज गिरीराजमणि पोखरेलले व्यवस्थापन गर्न सकेका छैनन् । आफ्नै गुट, आफ्नै समूह र आफू अनुकूलकै व्याख्यामा नेताहरू छन् । प्रदेशसभाभित्र दलको कार्यालय र पार्टीभित्र प्रदेश कमिटी यसैको मारमा देखिन्छ । व्याख्या, बहस र तर्क सबैका आआफ्नै भइरहेका छन् । एकले अर्काको अस्तित्व स्वीकार्ने अवस्था नै देखिँदैन्, पार्टी गुटकै कारण सङ्कटतर्फ गइरहेको एकथरि नेताहरूको चिन्ता छ ।

पटक–पटक प्रचण्डको पत्र र निर्देशनको बेवास्ता

सुदूरपश्चिममा प्रचण्ड आफ्नै निर्णय कार्यान्वयन गराउन लामो समय असफल देखिए । केन्द्रीय हेडक्वार्टरले पार्टी अध्यक्ष प्रचण्डकै निर्देशन २ पटक पठायो । मौखिक निर्देशन पनि प्रचण्डले दिए । तर कोही कसैले टेरेनन् ।

अध्यक्ष पूष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले २०८१ असार १२ गते प्रदेश इञ्चार्ज गिरीराजमणि पोखरेललाई लिखित निर्देशन दिँदै भट्टलाई संसदीय दलको नेता बनाउन भनेका थिए । तर सात महिनासम्म पनि उक्त निर्णय कार्यान्वयन नभएपछि केन्द्रीय समितिको छैठौँ बैठक (पुस २१–२३) ले निर्देशन अनुमोदन गर्दै तत्काल लागू गर्न निर्देशन दिएको थियो । त्यो पनि कार्यान्वयन भएन ।

गएको माघ २७ गते माओवादी अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले पठाएको सर्कुलरमा पनि प्रदेशको गुटबन्दीको छायाँ परेको आरोप लाग्यो । कैलाली नपुग्दै दलको नेता फेर्न दिएको निर्देशनले समेत कुनै टेरपुच्छर लगाएन । १० जना सांसदलाई प्रचण्डले काठमाडौं बोलाए । उनी घाइते भएपछि त्यही दिन संवाद हुन सकेन । केही दिन पछि खगराज निकट ४ जना सांसदलाई ‘टि–मिटिङ’ मा बोलाएर डडेल्धुरामा दलको नेता फेर्ने निधोमा उनी देखिए ।

मध्यपहाडी लोकमार्ग अभियानका क्रममा डडेल्धुरा पुगेका प्रचण्डले सबै नेतालाई एकसाथ राखेर १६ महिनापछि दलको नेता फेर्ने सफल भए ।

‘खगराज भट्ट पहिले बाबुराम निकट र पछि जनार्दन हुँदै नारायणकाजीसँग पनि निकट देखिन्छन् । अर्का मानबहादुर धामी वर्षमान पुन निकट छन् । माओवादीले सुदूरपश्चिममा आफ्नो विरासत कमजोर पारिसकेको छ । बैतडी, कैलाली, कञ्चनपुर र अछामबाहेक अरू जिल्लामा निकै कमजोर उपस्थिति छ । प्रभाव देखिने जिल्लामा समेत कुनै पनि चुनाव एक्लै उम्मेदवार बनाएर आफ्नै मतले जित्ने अवस्था र गणित माओवादीसँग छैन । गुटबन्दीले बचेको साख पनि गुमाउने लयमा माओवादी देखिन्छ ।

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  १ : २१ बजे

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

काठमाडौं – नक्कली सुनको मूर्ति सस्तोमा मिलाइदिने प्रलोभनमा पारी रु

बडिमालिकामा कृषि मेला : रैथाने बाली प्राथमिकतामा

धनगढी – बडीमालिका नगरपालिकाले आफ्नो उत्पादनको प्रबद्धन गर्न बृहत कृषिमेली

गाजाका लाखौं नागरिक विस्थापित, संयुक्त राष्ट्रसङ्घको गम्भीर चिन्ता

एजेन्सी – संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता समन्वय कार्यालय (ओसीएचए)ले जानकारी

जनताका आवाज सरकारसमक्ष पुर्याउँछौँ : प्रचण्ड

डडेल्धुरा– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एनपी साउदले भने : सरकारले जनअपेक्षा अनुरुप काम गर्न सकेन

महोत्तरी – नेपाली कांग्रेसका नेता एनपी साउदले वर्तमान सरकारले जनअपेक्षाअनुरुप