बराहक्षेत्रमा ज्ञानेन्द्रबहादुर कार्कीको स्मार्ट सिटी फेल, सडक मात्रै स्मार्ट बनाइने | Khabarhub Khabarhub

बराहक्षेत्रमा ज्ञानेन्द्रबहादुर कार्कीको स्मार्ट सिटी फेल, सडक मात्रै स्मार्ट बनाइने


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुनसरीको बराहक्षेत्र नगरपालिकामा चर्चाको रूपमा रहेको ‘स्मार्ट सिटी’ परियोजना फेल भएको छ । नेताहरूले भाषणमा बराहक्षेत्रलाई ‘स्मार्टसिटी’ बनाउने भने पनि स्रोत सुनिश्चित नहुँदा र नेपालमा ‘स्मार्टसिटी’ मापदण्डअनुसार संरचना विकास गर्न सम्भव नहुने भएपछि परियोजना फेल भएको हाे ।

तर सङ्घीय सघन सहरी विकास तथा भवन कार्यालय विराटनगर र वराहक्षेत्र नगरपालिकाको संयुक्त लगानीमा ‘स्मार्ट रोड’ भने बन्ने भएको छ । पहिलो चरणमा बराहक्षेत्र नगरपालिकाको चक्रघट्टीस्थित मुख्य बजार मुनाल चोकदेखि नेता चोकसम्म ३१० मिटर सडकको काम सुरु भएको छ ।

यस अघि बराहक्षेत्र नगरपालिकाले स्मार्ट सिटी बनाउने भन्दै सडककाे मापदण्ड अधिकतम ८३ फुट अधिग्रहण गर्ने निर्णय गरेको थियो । नगर प्रमुख रमेश कार्कीको सूचना विरुद्ध स्थानीय तीन जनाले आमरण अनसन बसेका थिए । पाँच दिनसम्म नागरिकहरू अनसन बसेपछि स्थानीय नगरिक समाज, पत्रकारलगायतको रोहबरमा अनसनकारी र नगरपालिकाबीच दुई पक्षीय सहमति गराइएको थियो ।

नगर प्रमुख कार्की निर्णयबाट पछि हटेपछि वडा नं ६ स्थित महेन्द्रगेटदेखि लोकेन्द्रबहादुर कार्कीको घरसम्म नालादेखि नाला कायम गर्ने र केदार नेपालको घर (मुनाल चौक) सम्म ७२ फिट सडक कायम गर्ने सहमति भएको थियो । स्थानीयले अनावश्यक रूपमा नगरपालिकाले जग्गा अधिग्रहण गरेको आरोप लगाउँदै आएका थिए ।

यस्तो हुनेछ स्मार्ट रोड

स्मार्टसिटीको परियोजना अगाडि बढ्ने सुनिश्चित नभएपछि नगरपालिका र सङ्घीय सघन सहरी विकास तथा भवन कार्यालय विराटनगरको साझेदारीमा स्मार्ट रोड बन्ने भएको छ ।

बराहक्षेत्र–६ स्थित नेता चौकदेखि दक्षिणतर्फ मुनाल चौकसम्म ३१० मिटर सडक निर्माण सुरु भएको छ । सडक १९ मिटर चौडा हुने छ । जसमा १.५ मिटरको डिभाइडरसहित १४ मिटरको कालोपत्रे बन्ने स्थानीय ठेकेदार कम्पनीका प्रतिनिधि शिशिर चौलागाईंले जानकारी दिए । सडकमा १.२ मिटरको दुवैतर्फ कर्भस्टोन र इन्टरलकसहितको फुटपाथ निर्माण हुने छ ।

साइपाल स्वर्णिम जेभीले ठेक्का लिएर काम सुरु गरेको छ । आगामी असार १५ गतेभित्र योजना सम्पन्न गर्ने सम्झौता भएको छ ।
बराहक्षेत्र नगरपालिको ७२ लाख ७४ हजार ९०६ रुपैयाँ ३३ पैसा र सङ्घीय आयोजना (सहरी विकास आयोजना) को १ करोड ७२ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । ठेकेदार कम्पनीले भने १ करोड ५९ लाख ४४ हजार २५९ रुपैयाँ १ पैसाको लागतमा सम्झौता गरेको छ ।

ठेकेदार कम्पनीका प्रतिनिधि चौलागाईंका अनुसार यो वर्ष ३ करोड रुपैयाँ विनियोजन हुँदैछ । यही शीर्षकअन्तर्गत बाङ्गेदेखि मुनाल चोकसम्म ९ करोड रुपैयाँको लागतमा स्मार्ट रोड बन्ने छ । यस्तै धिमाल चोकदेखि महेन्द्र गेटसम्म ५ करोड रुपैयाँको बजेटमा अर्को खण्ड निर्माण हुने छ ।

सांसदका कुरा मात्रै ‘स्मार्ट’

सुनसरी क्षेत्र नं. ४ का सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बराहक्षेत्र नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने योजना अघि सारेका थिए । पूर्वमन्त्रीका कुरालाई कार्यकर्ताले समेत ‘स्मार्ट’ रुपमा राख्दै आएका छन् । तर, स्मार्ट सिटीको अवधारणा बारे कोही पनि जानकार छैनन् ।

नगरभित्रका दुई मुख्य बजार चक्रघट्टी र प्रकाशपुरलाई जोडेर स्मार्ट सिटी बनाउने योजना पूर्वमन्त्री कार्कीले कार्यकर्ता भेटघाटमा भन्दै आएका थिए । त्यतिमात्र होइन उनले प्रत्येक योजनामा ‘स्मार्ट’ शब्द जोड्ने गरेका छन् । उनले बराहक्षेत्रका विद्यालयलाई समेत स्मार्ट विद्यालय बनाउने योजना अघि सार्दै आएका छन् । तर हालसम्म उनको ‘स्मार्ट योजना’ मा बजेटको सुनिश्चितता हुन सकेको छैन ।

नेपालमा स्मार्ट सिटी

आर्थिक वर्ष २०७३/०७४ को बजेटमार्फत् पहिलोपटक नेपालमा स्मार्ट सिटीको अवधारणा आएको थियो । पहिलो चरणमा पाइलट प्रोजेक्टका रूपमा निजगढ, पालुङटार र लुम्बिनीलाई स्मार्ट सिटी बनाउने घोषणा गरिएको थियो ।

आव २०७४/०७५ मा स्मार्ट सिटीको सङ्ख्या थप गरी १३ वटा बनाइएको थियो । जसमा गोरखाको पालुङटार, स्याङ्जाको वालिङ, चितवनको भरतपुर, सिरहाको मिर्चैया, रौतहटको चन्द्रपुर, दाङको तुल्सिपुर, काभ्रेपलाञ्चोकको काभ्रे, दैलेखको दुल्लु, डढेल्धुराको अमरगढी, कैलालीको टिकापुर र धनकुटा रहेका थिए ।

वि.सं. २०७६ सालमा उपत्यका विकास प्राधिकरणले राजधानीका चार स्थानमा स्मार्ट सिटी बनाउने अवधारणा ल्याएको थियो ।

बेलाबेला विभिन्न अध्ययनहरूले विश्वका स्मार्ट सिटी भनेर घोषणा गरिरहेका हुन्छन् । वि.सं. २०७४ सालमा बेलायती अनुसन्धानकर्ता जुनिपरले सिङ्गापुर, बार्सिलोना, लन्डन, सान फ्रान्सिस्को र ओस्लोलाई विश्वका उत्कृष्ट ५ स्मार्टसिटी घोषणा गरेका थिए ।

राष्ट्रिय योजना आयोगले तय गरेका स्मार्ट सिटीका निश्चित आधार छन् । ती सूचकहरू पूरा भएको खण्डमा मात्र स्मार्ट सिटी सम्भव हुने छ । त्यस्ता सूचकहरूमा स्मार्ट जनता, स्मार्ट शासन, स्मार्ट अर्थव्यवस्था र स्मार्ट पूर्वाधार छन् । यी आधारमा सडक, इन्टरनेट, यातायात, खानेपानी, विद्युत, स्वास्थ्य संस्था, पर्यटकीय पूर्वाधारहरू निर्माण हुन आवश्यक छ । स्मार्ट सिटीका लागि समन्वय भने नयाँ शहर आयोजना समन्वय कार्यालयले गर्ने बताइएको छ ।

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  २ : २८ बजे

आध्यात्मिक जागरण र विश्व बन्धुत्वको सन्देश फैलाउन ‘खुला सत्सङ्ग’

ललितपुर – आध्यात्मिक जागरणका लागि सन्देश फैलाउने उद्देश्यसहित आज यहाँ

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैनः अध्यक्ष केसी

कैलाली – राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रको विकल्प

अमेरिकामा आँधीका कारण कम्तीमा २१ जनाको मृत्यु

वासिङ्टन – अमेरिकाका दुई राज्य मिसौरी र केन्टुकीमा आएको आँधीका

कृषिमा यान्त्रिकीकरणः समय र खर्चको बचत

गलकोट – अहिले खेतबारीमा गहुँ चुट्न किसानलाई भ्याइनभ्याइ छ ।

नापतौलमा अनियमितता गर्नेलाई कारबाही

जनकपुरधाम – गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको