खोटाङको ‘फोक्सिङटार–धाप्लाङघाट’ सडक निर्माण हुँदै | Khabarhub Khabarhub

खोटाङको ‘फोक्सिङटार–धाप्लाङघाट’ सडक निर्माण हुँदै


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने छोटो मार्ग ‘फोक्सिङटार–धाप्लाङघाट सडक’ निर्माणको काम सुरु गरिएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका– ६ आँपटारको सिमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटारको पुल बाढीले बगाएपछि विकल्पका रूपमा प्रयोग गर्नका लागि उक्त सडक निर्माणको काम सुरु गरिएको हो ।

कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको एक करोड २० लाखमा पूरा हुनेउक्त सडकको पहिलो चरणमा ४५ लाखबाट निर्माण सुरु गरिएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–३ साउनेचउरको लामाचउरमा शनिबार आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले वैकल्पिक सडकको शिलान्यास गरेका थिए ।

गत असोज १२ गते आएको भीषण बाढीले बगाएको फोक्सिङटारको पुल पुनर्निर्माण गर्न समय लाग्ने र धाप्लाङघाटको पुल चाँडै बन्ने भएकाले वैकल्पिक सडकका रूपमा फोक्सिङटार–धाप्लाङघाट सडकको ट्रयाक खोल्न सुरु गरिएको मन्त्री राईले बताए । उपभोक्ता समितिबाट काम गर्नेगरी उक्त सडकको औपचारिक रूपमा शिलान्यास गरेर निर्माणको काम सुरु गरिएको छ ।

सडक निर्माणका लागि पहिलोपटक विनियोजन गरिएको बजेट मन्त्रालयले बराहपोखरी गाउँपालिकालाई हस्तान्तरण गरिसकेको जनाइएको छ । बाँकी बजेटको काम भने, मन्त्रालयबाट ठेक्का आह्वान गरेर ठेकेदारमार्फत गर्नेगरी प्रक्रिया अगाडि बढाइएको मन्त्री राईको सचिवालयले जानकारी दिएको छ ।

वैकल्पिक सडक निर्माणको काम सम्पन्न भएपछि खोटाङका नागरिकले सुनकोशी नदीको किनारैकिनार फोक्सिङटारबाट साउनेचउर, बङदुवा, आसाबाला, अजिङगरे, भोर्मा हुँदै धाप्लाङघाटसम्म यात्रा गर्न पाउनेछन् । धाप्लाङघाटबाट उदयपुरको साउने हुँदै तराई झर्नका लागि सबैभन्दा छोटो मार्ग हुने जनाइएको छ ।

फोक्सिङटारबाट नयाँ सडक जोड्न लागिएको धाप्लाङघाटस्थित सुनकोशी नदीमा समेत मोटरेबल पक्की पुल निर्माणको काम भइरहेको छ । फोक्सिङटारको मोटरेबल पक्की पुल बाढीले बगाएपछि भौतिक पूर्वाधार विकासमन्त्री राईले गत माघ १२ गते वैकल्पिक मार्ग खोल्नका लागि सम्भाव्यता अध्ययन पैदलयात्रा गरेका थिए ।

निर्माण सम्पन्न भएको वर्ष दिन नबित्दै बाढीले बगाएको फोक्सिङटार पुलको विकल्पमा अहिले अस्थायी बेलिब्रिज सञ्चालन गरिएको छ । सुनकोशीमा बाढी आउन थालेकाले यही जेठ ५ गतेदेखि उक्त बेलिब्रिज झिक्ने योजना बनाइएको गाईघाट–दिक्तेल सडक आयोजनाका प्रमुख इञ्जिनियर पशुपति ज्ञवालीले बताए ।

खोटाङवासीले भने जेठ १५ गतेसम्म बेलिब्रिज नहटाउन सडक विभागसँग आग्रह गरेका छन् । असोजदेखि कष्टकर जीवन बिताएका खोटाङवासीलाई सुविधा दिने उद्देश्यले सरकारले गत पुस २७ गतेदेखि फोक्सिङटारमा बेलिब्रिज सञ्चालनमा ल्याइएको थियो ।

फोक्सिङ्टारको पक्की पुल बाढीले बगाएपछि सुनकोशीमा एक करोड दुई लाख ९४ हजार ६७७ लागतमा बेलिब्रिज जडानको काम सम्पन्न गरिएको थियो । करिब ६ महिनाअघि जडान गरिएको ५० मिटर लम्बाइ र साढे ६ मिटर चौडाइ रहेको बेलिब्रिजबाट एकतर्फी यातायातका साधन सञ्चालन हुँदै आएका छन् ।

फोक्सिङटारमा बेलिब्रिज जडान गरिएपछि खोटाङको दिक्तेल बजारबाट गाईघाट, बेलटार, धरान, इटहरी, विराटनगर, दमक र बिर्तामोडसम्म यातायातका साधन सञ्चालनमा आएका थिए । बेलिब्रिज झिकेपछि खोटाङ–उदयपुर सिधा सम्पर्क टुट्ने र जिल्लावासीलाई तराईका जिल्ला झर्न ठूलो समस्या हुने निश्चित छ ।

अस्थायी बेलिब्रिज हटाएपछि सगरमाथा लोकमार्गको दिक्तेल–गाईघाट सडकमा यातायातका साधन पूर्ण रूपमा सञ्चालन बन्द हुने भएका छन् । जसका कारण जिल्लावासीलाई दैनिक उपभोग्यवस्तु तथा निर्माण सामग्री खरिद र उपचारका लागि धरान, विराटनगरलगायत अस्पतालसम्म जान समस्या हुने भएको छ ।

निर्माण कम्पनी गौरी पार्वती वाइपी जेभीले फोक्सिङटारमा निर्माण गरेको फोक्सिङटारको मोटरेबल पुल ‘फिनिसिङ’ गर्न र हस्तान्तरण गर्न बाँकी छँदै २०७९ साल पुस ७ गतेदेखि सञ्चालनमा ल्याइएको थियो । हस्तान्तरण नहुँदै बाढीले बगाएका कारण सम्बन्धित निर्माण कम्पनीले नै उक्त फोक्सिङटारको मोटरेबल पक्की पुल पुनर्निर्माण गर्नुपर्ने जिल्लामा हुने हरेक कार्यक्रममा बहस चल्ने गरेको छ ।

दिक्तेल–गाईघाट १०१ किलोमिटर लामो सडकखण्डको फोक्सिङटारमा आएको बाढीले बगाएको मोटरेबल पक्की पुल पुनर्निर्माणका लागि बजेट सुनिश्चित भएको जनाइएको छ ।

फोक्सिङटारमा मोटरेबल पक्की पुल पुनर्निर्माणका लागि नेपाल सरकार, अर्थ मन्त्रालयले ३५ करोड बजेट सुनिश्चित गरेको संविधानसभा सदस्य एवं जेमपन एमालेका पोलिटब्यूरो सदस्य विशाल भट्टराईले जानकारी दिए । (रासस)

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  ९ : ४२ बजे

लमजुङको गुरुङ बस्तीमा घाटु रौनक

लमजुङ– लोपोन्मुख घाटु नाचलाई गुरुङ संस्कृतिको धरोहरका रूपमा लिने गरिन्छ

मुलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरी छ : सञ्चारमन्त्री गुरुङ

लमजुङ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुक समृद्ध

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी– गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेदेखि सुरु हुने

अपडेट : इजरायली हमलाबाट गाजामा १०३ जनाको मृत्यु

गाजा पट्टी- इजरायली आक्रमणमा गाजा पट्टीभरि शनिबार रातभर र आइतबारसम्म

‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित

काठमाडौं–  प्रतिनिधिसभाबाट ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१’