‘उत्तेजक अभिव्यक्ति नदिनू’ भनेपछि प्रधानमन्त्रीले बहिष्कार गरे मानवअधिकार आयोगको कार्यक्रम | Khabarhub Khabarhub

‘उत्तेजक अभिव्यक्ति नदिनू’ भनेपछि प्रधानमन्त्रीले बहिष्कार गरे मानवअधिकार आयोगको कार्यक्रम


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो २५ औँ वार्षिकोत्सव कार्यक्रमका लागि प्रमुख अतिथिका रूपमा १५ दिनअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो पठाएको थियो । प्रमुख अतिथिका रूपमा सम्बोधनका लागि दिइएको निम्तो प्रधानमन्त्री ओलीले मंगलबार अन्तिम समयमा अस्वीकार गरेका छन् ।

आयोगले १५ दिनअघि निम्तो पठाएर मंगलबार बिहान साढे ११ बजे पुग्नेगरी कार्यक्रमको आयोजना र सुरक्षा व्यवस्थापन गरिसकेको अवस्थामा ओलीले उक्त कार्यक्रम नै बहिष्कार गरिदिए ।

कार्यक्रम सुरू हुनुअघि आयोगका पदाधिकारी र कर्मचारीहरू ओलीको स्वागतका लागि फूलमाला लिएर तम्मतयार भएको अवस्थामा प्रधानमन्त्रीको सचिवालयले बालुवाटारबाट आउन नसक्ने जानकारी पठाइदियो ।

आयोगका सह-प्रवक्ता एवम् उपसचिव श्यामबाबु काफ्लेका अनुसार १५ दिनअघि निम्तो पठाएर प्रधानमन्त्रीको स्वागत र सुरक्षाका लागि त्यहीअनुसार व्यवस्थापन पनि गरिएको थियो ।

‘यसअघि पनि प्रधानमन्त्री नै प्रमुख अतिथि रहने परम्परा थियो । त्यहीअनुसार यस पटक पनि १५ दिनअघि नै निम्तो पठाएर स्वागतको तयारी गरेका थियौँ’, काफ्लेले खबरहबलाई भने, ‘तर अन्तिम समयमा उहाँ आउन नसक्ने खबर आयो ।’

काफ्लेले प्रधानमन्त्री आयोगको कार्यक्रममा आउन नसक्नुको कारणबारे आफूहरूलाई जानकरी नभएको बताएका छन् ।

आयोगले प्रधानमन्त्री आउने भनेपछि सरकारका मुख्य सचिव र सचिवहरूलाई पनि निम्तो गरेको थियो। तर आयोगको कार्यक्रममा प्रधानमन्त्री नगएपछि अन्य मन्त्री र सचिवहरूसमेत गएनन् ।

विवाद

आयोगले सोमबार मात्रै जथाभावी बोलेको भन्दै विज्ञप्ति निकालेर प्रधानमन्त्री ओलीलाई फड्कारेको थियो। आयोगले उत्तेजनापूर्ण अभिव्यक्ति नदिन आग्रह गर्दै विज्ञप्ति नै निकालेपछि ओली रिसाएका हुन् ।

आयोगले भनेको थियो, ‘शान्तिपूर्ण तवरबाट विचार र अभिव्यक्ति राख्न नेपालको संविधान र कानुनले निषेध गरेको छैन। यस परिस्थितिमा अरुको विचार, अभिव्यक्ति र प्रदर्शनप्रति लक्षित गरी सम्माननीय प्रधानमन्त्रीबाट आएको उक्त अभिव्यक्ति चिन्ताजनक छ ।’

आयोगले उत्तेजनापूर्ण अभिव्यक्ति दिएर मुठभेटको अवस्था ननिम्त्याउन पनि ओलीलाई भनेको थियो । ‘जुनसुकै व्यक्ति, समूह र पार्टीलाई आफ्‌नो विचार र अभिव्यक्तिको स्वतन्त्रता भए पनि अरुप्रति लक्षित गरी मूठभेड निम्तिन सक्ने गरी उत्तेजनापूर्ण अभिव्यक्ति आउनु मानव अधिकारका मूल्यमान्यताको समेत विपरीत हुन्छ’, राजावादीको प्रदर्शन रोक्न कार्यकर्तालाई सडकमा उत्रिन ओलीले आइतबार दिएको भनाइबारे आयोगले भनेको थियो।

ओलीले आइतबार मात्रै बागमती प्रदेशमा एमालेबाट निर्वाचित वडाअध्यक्षका लागि गोदावरीमा गरेको कार्यक्रममा ‘जेठ १५ गते एघार बजेदेखि दुईबजेसम्म काठमाडौँ नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छ’ भनेर उत्तेजक अभिव्यक्ति दिएका थिए ।

उनले त्यसका लागि एमाले कार्यकर्तालाई तयार रहन भनेर दिएको निर्देशनसहितको अभिव्यक्तिप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो ।

आयोगले प्रधानमन्त्रीबाटै अर्को पक्षलाई निषेध गर्ने गरि आएको सडक कब्जाको उद्घोषलाई आपत्तिजनक भनेको थियो। ‘देशको शान्ति सुरक्षा र अमनचयन कायम गर्ने जिम्मेवारी सरकारका सुरक्षा निकायको हुँदाहुँदै लोकतान्त्रिक मुलुकमा कुनै पनि पार्टी विशेषबाट कुनै पनि क्षेत्र कब्जामा लिनु भनेको विधिको शासनविपरीत हुनुका साथै निषेधलाई प्रश्रय दिनु हो’, ओलीको भनाइमा आपत्ति जनाउँदै आयोगले भनेको थियो ।

उक्त विज्ञप्तिमा आयोगले जिम्मेवार व्यक्तिले अभिव्यक्ति दिँदा सजगता अपनाउनुपर्ने भनेको थियो । ‘जिम्मेवार व्यक्तिले आफ्‌नो अभिव्यक्ति दिँदा संयमित हुन, अरु व्यक्ति, समूह वा पार्टी लक्षित नकारात्मक टीकाटिप्पणी नगर्न, सुरक्षा निकायले राजधानीलगायतका क्षेत्रको शान्तिसुरक्षालाई मजबुत बनाउन तथा आफ्‌ना विरोध र प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोग सम्बद्ध सवै पक्षलाई आग्रह गर्दछ’, आयोगले भनेको थियो ।

आगामी जेठ १५ गतेबाट राजतन्त्रसमर्थक संयुक्त जनआन्दोलन समितिले काठमाडौंमा आन्दोलन गर्न लागेपछि त्यसलाई रोक्न ओलीले सडकमा कार्यकर्ता उतार्ने घोषणा गरेका थिए । ओलीको अभिव्यक्तिअघि नै राजावादीहरूले आन्दोलनको अनुगमन गरिदिन आयोगमा जानकारीपत्र पठाइसकेका छन् ।

आयोगको गुनासो

ओली सहभागी नभएपछि स्थापना दिवस कार्यक्रममा आयोगकी सदस्य लीली थापाले सरकार अहिले पनि मानवअधिकार आयोगप्रति कति उदासीन छ भन्ने यो कार्यक्रमले देखाएको बताएकी छन् ।

आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगका सिफारिसको फितलो कार्यान्वयन भइररहेको गुनासो गरे । आयोगका सिफारिस कार्यान्वयन लागि उनले सरकारलाई आग्रहसमेत गरे। उनले प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै लिखित भाषण तयार गरेका थिए । त्यही भाषण उनले त्यहाँ वाचन गरे ।

प्रधानमन्त्रीको सचिवालयले भने आयोगको कार्यक्रम बहिष्कार भन्दा सोमबार राति अबेरसम्म बस्नुपरेकाले जान नसकेको जनाएको छ । प्रेसविज्ञ रामशरण बजगाईंले प्रधानमन्त्री सोमबार राति अबेरसम्म व्यस्त हुँदा बिहानको कार्यक्रममा जान नसकेको बताएका छन् ।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ४ : १३ बजे

सीमान्तकृत समुदायका लागि सुरक्षित आवासमा पहुँच वृद्धि गर्न जोड

काठमाडौं – आवाससम्बन्धी संविधानप्रदत्त अधिकार प्राप्तिका लागि सीमान्तकृत समुदायको सुरक्षित

अल्जेरियामा फुटबल समर्थकहरू बीच भागदौड : तीन जनाको मृत्यु, ८१ घाइते

अल्जियर्स – अल्जेरियाको राजधानी अल्जियर्समा मोलुदिया क्लब द अल्जेर (एमसीए)

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोली आइसिसी विश्वकप क्रिकेट लिग २

पशुपतिनाथ र बुद्ध पुकार्दै कान्छारामले भने- प्रकाशमान र विष्णुलाई ०८४ पछि संसद्‍मा देख्नु नपरोस्

काठमाडौं- नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले संघीय सरकारका