गुन्द्रुक । अन्तर्राष्ट्रियस्तरमै नेपालको मौलिक परिकारको पहिचान बनाएको एउटा ‘तरकारी’ । भनिन्छ, जहाँ नेपाली पुग्छन्, त्यहाँ गुन्द्रुक पनि पुग्छ !
हरेक नेपालीको ‘प्रिय’ तरकारी गुन्द्रुक यहाँसम्म कसरी आइपुग्यो त ? अर्थात् एउटा हरियो सागलाई कसरी कसैले गुन्द्रुकजस्तो ‘तरकारी’ बनाउने विधि पत्ता लगायो ?
इतिहासकारहरु गुन्द्रुकको ‘उत्पत्ति’लाई नेपाल एकीकरणका क्रममा भएका युद्धसँग जोड्छन् ।
गोरखाका राजा पृथ्वी नारायण शाहले पहिलोपटक कीर्तिपुर आक्रमण गर्दा कीर्तिपुरेहरुको बारीमा लहलह साग थियो रे ! कीर्तिपुरेहरुले साग टिप्न पाएका थिएनन्, गोरखालीहरुले आक्रमण गरिहाले ।
आफूमाथि आक्रमण भएपछि कीर्तिपुरेहरु पनि प्रतिकारमा उत्रिनु पर्यो । प्रशस्त सैन्य शक्ति नभएको अवस्थामा कीर्तिपुरका महिलादेखि बालबच्चा सबैले युद्धमा भाग लिनु पर्यो । आफूहरुले युद्धमा गएको बेला बाहिरका व्यक्ति आएर खानेकुरा, साग चोरीदेलान् भन्ने डरले कीर्तिपुरेहरुले जुक्ती लगाए– खाद्यान्नसहित सागपात खाल्डोमा पुरेर युद्ध गर्न जाने !
त्यसपछि बारीमा लहलह फलेको साग टिपेर सबैजनाले खाल्डोमा पुरे ।
जब युद्धबाट फर्किएर आए, सबैजनाले खाल्डो उधिनेर लुकाएको खाद्यान्न बाहिर निकाले ।
बाहिर निकालिएको खानेकुरामध्ये धानचामल लगायतको अन्न त पकाउन सकिने अवस्थामै थियो । तर, लुकाएको साग भने खाल्डोमै गलेर काम नलाग्ने अवस्थामा पुग्यो ।
कीर्तिपुरेहरुले केही दिन भोक टार्नका लागि तरकारीविनै भात–रोटी खाए । तर, केही दिन पछि त तरकारी आवश्यक पर्यो ।
खाल्डोबाट निकालिएको साग बारीमा फिँजाएर त्यत्तिकै राखिएको (फालिएको) थियो । खाल्डोमा राख्दा गलेर काम नलाग्ने अवस्थामा पुगेको साग बारीमा फालिएको अवस्थामा घामले सुकेर कक्रक्क परेको थियो । पछि केहीले बारीबाट त्यही सुकेको साग टिपेर ल्याइ पकाउन थाले ।
अलिकति अमिलो–अमिलो, तर असाध्यै मिठो स्वादको सुकेको साग (तरकारी)ले पुरै कीर्तिपुरमा चर्चा पायो ।
कलान्तरमा यसको नाम गुन्द्रुक रहन गयो । जुन अहिले आम नेपालीको एक मौलिक परिकार बन्न पुगेको छ ।
प्रतिक्रिया