काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारसँग सहमति भइसकेको अवस्थामा सार्वजनिक यातायात बन्द गर्नु उचित नभएको बताएका छन् ।
मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा मन्त्री दाहालले गण्डकी प्रदेश सरकारलाई राइड सेयरिङसम्बन्धी नियमावली स्थगन गर्न अनुरोध गर्ने र नियमावली स्थगन भएपछि संघीय कानून मार्फत व्यवस्थित गर्ने सहमति भए पनि सहमति कार्यान्वयन नगरेर यातायात बन्द गर्नु उचित नभएको बताएका हुन् ।
उनले यातायात बन्द गर्ने यातायात व्यवसायीको कदम गलत रहेको स्पष्ट पारे । राइड सेयरिङले जनतालाई सेवा दिइरहेकाले नियमनको दायरामा ल्याउन खोजिएको उनले बताए । मन्त्री दाहालले सरकारसँग आफ्ना कुराहरू राख्दै जिम्मेवार भएर अघि बढ्न यातायात व्यवसायीलाई आग्रह समेत गरे ।
बैठकमा समिति सदस्यहरूले सिण्डिकेटलाई प्रोत्साहन गर्ने गरी कुनै सहमति नगर्न सरकारको ध्यानाकर्षण गराएका थिए । समिति सदस्य प्रकाश ज्वालाले सरकार र यातायात व्यवसायीबीच भएको सहमति सिण्डिकेटलाई व्यक्ताउने गरी भएको भन्दै आपत्ति जनाए । राइड सेयरिङका विषयमा गण्डकी प्रदेशले गरेको निर्णय सही भएकाले यसलाई अन्य प्रदेशमा पनि अवलम्बन गर्नुपर्ने उनले बताए ।
त्यस्तै समिति सदस्य माधव सापकोटाले यातायात व्यवसायीसँग भएको सम्झौताप्रति अन्योल देखिएकाले सरकारले प्रष्टता साथ सहमतिको जानकारी गराउनुपर्ने बताए ।
त्यस्तै समिति सदस्य दयालबहादुर शाहीले यातायात व्यवसायीको सरकार डराउन नहुने भन्दै नाजायज माग सम्बोधन गर्न नहुने बताए ।
त्यस्तै अन्य समिति सदस्यहरूले यातायात व्यवसायीले सार्वजनिक सवारी बन्द गर्दा सर्वसाधारणलाई सास्ती भएकाले छिटो निकास निकाल्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया