काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारदेखि एउटा अनौठो एवं विवादास्पद अभियानको थालनी गरेका छन्– ‘म झोले हुँ’ भन्ने अभियान ।
ओलीको यो अभियान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘म चौकीदार हुँ’ भन्ने अभियानको ठ्याक्कै फोटोकपीजस्तै देखिएको छ ।
सोमबार दिनभरि सामाजिक सञ्जालमा एमाले नेताहरुले ‘म झोले हुँ’ भन्दै एकपछि अर्को तस्बिर पोस्ट गरिरहेका छन् । उता, नागरिक तहबाट भने एमाले नेताहरुमाथि आलोचनाको वर्षा भइरहेको छ ।
नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले प्रधानमन्त्रीका रुपमा सरकारको नेतृत्व सम्हालेको यो तेस्रो कार्यकाल हो । यसअघि उनी २०७२ को भारतीय नाकाबन्दीको समय र २०७४ को निर्वाचनपछि दुई पटक प्रधानमन्त्री भइसकेका छन् ।
तुलनात्मक रुपमा उनको पहिलो र दोस्रो कार्यकालमा केही सम्झनलायक काम भए । पहिलो कार्यकालमा भारतीय नाकाबन्दीको प्रतिरोध गर्न उनको योगदान स्मरणीय छ ।
दोस्रो कार्यकालमा उनले थालेका कयौँ विकासका आयोजनाले अहिले पूर्णता पाइरहेका छन् । तर, पहिलो र दोस्रो कार्यकालमा लोकप्रियताको उचाइ समेताका ओली तेस्रो कार्यकालमा आलोचनाको घेरामा छन् ।
२०८१ असार १७ गते रामेश्वर थापाको घरमा कांग्रेससँग ७ बुँदे सहमति गरेर असार ३१ गते तेस्रो पटक शक्तिशाली सरकारको बागडोर सम्हालेका ओली कहिले काठमाडौंका मेयर बालेन्द्र साहसँग जुध्छन् त कहिले राष्ट्रिय स्वतन्त्र पार्टी र राजावादीसँग पौँठैजोरी खेलिरहन्छन् ।
खासगरी बालेन्द्रसँगको शीतयुद्ध र रास्वपा सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा राजनीतिक प्रतिशोध साँधेको आरोपबीच नयाँ दलका कार्यकर्ताले एमाले र कांग्रेस दुवैका नेता-कार्यकर्तामाथि ‘झोले’ ट्याग भिराइदिएका छन् ।
कांग्रेस नेता-कार्यकर्तालाई पनि सर्वसाधारण र खासगरी नयाँ डिजिटल पुस्ताकाहरूले ‘झोले’ भन्न छाड्दैनन् । तर कांग्रेसको पंक्ति तुलनात्मक रुपमा शान्त देखिँदैन। नेतृत्वले पनि प्रतिकारमा उत्रिनु भनेको सुनिँदैन ।
यता सत्ताको नेतृत्व गरेको एक वर्ष पुग्न लाग्दा पनि परिणाममुखी काम गर्न नसकेका प्रधानमन्त्री ओलीलाई ‘झोले’शब्दले भाउन्न हुने गरेको छ । त्यही कुराको पुष्टि ओली र उनको सचिवालयले सोमबार पुष्टि गरेको छ ।
सोमबार सबैभन्दा पहिले ओलीले एउटा तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरे। ‘एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौं गुणा उत्तम चरित्र हो’, लेखिएको उक्त तस्बिर केहीबेरमै भाइरल भयो ।
प्रधानमन्त्री ओलीले आफू ‘झोले’ भएको उल्लेख गर्दै फेसबुकमार्फत् ‘झोले’ भनेर लखेट्दैमा सत्य अँगाल्न नछोड्न आग्रह पनि गरे । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्ने उनको तर्क छ ।
‘हिजोआज एउटालाई भगवान बनाउनु पर्यो भने सामूहिकतामा विश्वास राख्नेहरूलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ,’ स्टाटसमा भनिएको छ, ‘भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ । सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौँ । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्छ ।’
त्यसपछि उनकै प्रमुख सल्लाहकारण विष्णु रिमाल, महासचिव शंकर पोखरेल, अर्थमन्त्री विष्णु पौडेलले समेत ओलीकै जस्तो तस्बिर बनाएर पोस्ट गरे ।
उपमहासचिव प्रदीप ज्ञवालीले पनि केही घण्टापछि झोले शब्दसहितको तस्बिरले आफ्नो फेसबुक वाल रंग्याए । ज्ञवाली एमालेमा वैचारिक र अध्ययनशील नेता मानिए पनि ओलीको अनुयायीका रुपमा उनले त्यसो गर्नुलाई अन्यथा मान्न सकिँदैन ।
‘भनिन्छ-जहाँ तर्क सकिन्छ, त्यहीँबाट गाली-गलौज सुरू हुन्छ । अचेल सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको एउटा जमात इमान, निष्ठा र जनसेवाको राजनीति गरिरहेको पार्टी पङ्क्तिलाई निरुत्साहित गर्न गालीगलौजको अभियान नै चलाइरहेको छ’, उनले भनेका छन्, ‘वंशवाद र जन्मजात श्रेष्ठताको सामन्ती मान्यता बोक्ने रैती बन्नुमा गर्व गर्ने तर प्रतिष्पर्धात्मक लोकतन्त्रका पक्षधरहरूलाई चाहिँ ‘झोले’ भन्दै खिसिट्युरी गर्ने उनीहरू चाहन्छन्- राजनीतिक कार्यकर्ताहरू, कुनै नेतालाई मन पराउने कलाकारहरू या नागरिकहरू ‘सेल्फ सेन्सर्ड’ बनून् र बोल्न छाडून् । यो दूषित मनसायलाई हुर्किन दिनुहुन्न । सामन्तको पो झोला बोक्न हुन्न, विचारको झोला बोक्न के को संकोच’, उनले यति भन्दै आफ्नो फेसबुक वाल रंग्याएका छन् ।

समस्या
हुन त ओली नेतृत्वको सरकारले विकासको गतिलाई पनि तीव्रता दिइरहेको बताइरहेको छ। तर दुईतिहाइको शक्तिशाली सरकार विकास खर्च गर्ने मामिलामा कमजोर देखिएको छ । जेठ लाग्दासम्म चालु आर्थिक वर्षको ३५ प्रतिशत मात्रै विकास खर्च गरेको यो सरकारले पहिले जस्तै यस पटक पनि असारे विकासमा पैसाको खोलो बगाउने निश्चित छ ।
अर्कातिर बलियो सरकार भए पनि देशभित्रै रोजगारी सिर्जनमा असफल भएको आरोप पनि यो सरकारमाथि छ । त्यससँगै विभिन्न विवाद र काण्डमा मुछिएका व्यक्तिहरूलाई संरक्षण गरेको आरोप पनि ओली सरकारको शीरमा छ । पछिल्लो पटक भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकलाई कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीले काँध थापिरहेको दृश्यल आश्चर्य लाग्दो ।
कतिसम्म भने कुनै बेला कांग्रेस प्रतिपक्षमा हुँदा प्रमुख सचेतक बनेका लेखक आफैं प्रश्न उठेपछि मन्त्रीले राजीनामा दिनुपर्ने कुरा संसद्मै राख्थे । तर आज उनैमाथि प्रश्न उठ्दा उनी राजीनामाको साटो आफूमाथि छानबिन गरिरहेका डीआईजीलाई दिउँसो सरूवा गरेर आलोचना भएपछि साँझमा अख्तियारमै दरबन्दी थमौती गर्न पनि बाँकी राख्दैनन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले कुनै बेला भनेअनुसार नै ज्यान मुद्दाका दोषी मोहम्मत अफताव आलम जेलबाट रिहा भइसकेका छन् । देउवाले आलमलाई छुटाउन प्रयास भइरहेको भनेर दिएको अभिव्यक्ति केही वर्ष पनि पुरानो भएको छैन । भलै आलम अदालतको आदेशमा त छुटेका हुन् ।
सम्पत्ति शुद्धीकरणको सवालमा ग्रे लिस्टमा परेको नेपालले भ्रष्टाचार नियन्त्रणमा चासो नदिए कालोसूचीमै पर्ने जोखिम छ । तर सरकार भने प्रश्न उठेकाहरूमाथि छानबिन गर्नको साटो जोगाउन लागेपछि आलोचनाको स्वर झन बढेको छ ।
प्रतिक्रिया
कुनै पनि क्रान्तिकारी र रुपान्तरणकारी राजनीतिक शक्तिले आफ्ना विम्ब र नाराहरू विचारधारात्मक रुपमा स्पष्ट राख्नुपर्ने हुन्छ । त्यो कुरा भाषिक रुपमा स्तरीय बनाएर जनतासम्म लैजानुपर्छ ।
‘मदन भण्डारी स्वयम् स्तरीय भाषा र प्रस्तुतिका मानक हुनुहुन्थ्यो । एमाले त मदन भण्डारीको हुर्मत लिन अब कुनै क्षेत्र बाँकी छोडेनन्’, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य अशेष घिमिरे भन्छन्, ‘क्रान्तिकारी आन्दोलनले माग गर्ने भाषा र प्रस्तुतिको यो हुर्मत, विचारधारात्मक टाटपल्टाइको अर्को खसोखास उदाहरण हो । सामाजिक लफङ्गाहरू, लम्पटहरूको झगडामा एक झगडियाका रुपमा आफ्नो पहिचानलाई भारी गिरावट गर्नु, सामान्य होइन यो त एमालेभित्रको डरलाग्दो पतन हो ।’
उनको विचारमा क्रान्तिकारीहरूले स्पष्ट रुपमा आफूलाई समाजवादी र क्रान्तिबीज भन्न सक्नुपर्छ । ‘लम्पटहरूले व्यंग्य गर्ने झोले होइन । हामी कसैको झोले होइनौँ’, उनी भन्छन्, ‘एमालेका साथीहरूले बुझ्नु पर्ने कुरा झोले हुनु कुनै गौरवको कुरा होइन । यो हीनताबोधबाट निस्किएर सिद्धान्तमा पस्नुस् ।’
उनको तर्कमा सिद्धान्त किताबका काला अक्षर होइनन् । ‘ती हजारौँ हजार मानव संघर्षका अनुभवका निष्कर्ष हुन् । संकटको सामना सिद्धान्तबाट भागेर होइन, त्यसलाई दह्रोसँग पक्रिएर मात्र गर्न सकिन्छ’, उनले एमालेका नेताहरूलाई सुझाउँदै भनेका छन् ।
चौतर्फी आलोचनाबीच एमालेले झोले अभियान थालेपछि राजनीतिक विश्लेषक केशव दाहालले यसलाई नालायकीपनको संज्ञा दिएका छन् । दाहालले झोले बन्नुलाई सबैभन्दा चुत्थो काम भनेका छन् ।
‘लौ न यिनलाई कसैले भनिदेओस्, लोकतन्त्रमा झोले हुनु सबैभन्दा पत्रु, अर्थहीन र लाजमर्दो कुरा हो। सक्छौ, सार्वभौम, सचेत, स्वाभिमानी र स्वतन्त्र मान्छे बन, सक्दैनौँ राजनीति नगर। तर झोले नबन’, उनले सुझाएका छन्, ‘झोले बन्नु सबैभन्दा चुत्थो काम हो । अन्यथा, यदि तिमी झोले नै हौ भने यति कुरा ठोकेर भन्छु, तिमी नेता बन्न लायक छैनौँ।’
ओली र एमाले नेताहरूको यो झोले अभियानबारे अनेरास्वियुकै एकजना नेताले पनि अस्वीकार गरेका छन् । भर्खरै भएको स्वतन्त्र विद्यार्थी युनियनको त्रिवि केन्द्रीय क्याप्समा चुनावमा झिनो मतले पराजित सिद्धान्त भट्टले वैचारिक तर्क दिएका छन् ।
‘म सिद्धान्त हुँ । व्यक्तिको होइन, पार्टी संगठनको, विधिको, विधान, पद्धति र वामपन्थी जबज विचारमा अडिग छु’, उनले झोले अभियानतिर संकते गर्दै भनेका छन्, ‘म नागरिक हुँ राष्ट्र र राष्ट्रियताप्रति बफादार छु ।’
एकजना वाम नेताको बुझाइमा ओली अब कम्युनिस्ट विचाराधारबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उग्र दक्षिणपन्थी धारतिर अघि बढेका छन् ।
‘केपी ओलीले कार्ल मार्क्स, भीआई लेनिन, हो चि मिन्ह, ह्युगो चाभेज र मदन भण्डारीबाट सिक्लान् भन्ने अपेक्षा थियो’, उनी भन्छन्, ‘ओली त मोदीबाट सिकेर आन्दोलन ध्वस्त बनाउनतिर पो लागेछन् । मोदीले ‘म चौकिदार’ भनेका थिए, यता ओलीले त्यसकै भद्दा नक्कल ‘झोले’का रुपमा गरेका छन् ।’
उनको दृष्टिकोणमा यो एमालेको आवाराकरण हो । ‘यो एमालेको टपरटुइँयाकरणको अर्को संस्करण हो । ओलीले मार्क्स र लेनिनको विचार छाडेर मोदीको नाराको कपी पेस्ट गर्नतिर लाग्नु भनेको एमालेलाई वैचारिक अवसानको बाटोतिर लगे भन्ने हाम्रो निष्कर्ष हो’, उनले भने।
यस प्रकरणलाई लिएर सोमबमार दिनभर सामाजिक सञ्जाल तातेको छ । सुदन ज्ञवालीले एमालेमा झोले होइन भन्ने अवस्था नरहेको पनि बताएका छन् । ‘एमालेका कमरेडहरूले अब ‘म झोले होइन’ भन्न पनि नपाउने गरी सार्वभौम पार्टी सदस्यहरूको निजी प्रतिष्ठा र अस्तित्वसमेत ओलीराजमा मेटियो’, उनले तीखो प्रतिक्रिया दिएका छन् ।
अर्कातिर कुलमान तामाङ नामका गरेका सर्वसाधारणले आफू न रैती न त झोले भएको बताएका छन् । ‘म झोले होइन, रैती पनि होइन म, नयाँ उन्नत समाजवादमा सबै जनता हाँसिखुसी जिउन सकोस्… त्यो ठूलो कुरा हो’, उनले भनेका छन् ।
उता एकजना पत्रकार सूर्यप्रकाश कँडेलले आफू कहिल्यै झोले नभएको बताउँदै त्यस्तो नबन्ने प्रण गरेका छन् ।
अर्का सर्वसाधारण शिव थापाले पनि यस्तो उट्पट्याङ कुराको पछि लाग्ने प्रधानमन्त्रीमाथि प्रश्न उठाएका छन् । ‘प्रधानमन्त्रीले म झोले होइन भनेर पोस्ट हालेछन् । सबका सब एमालेले आफूलाई झोले भन्दै ट्रेन्ड चलाउँदैछन् । होइन यो उटपट्याङ सल्लाह प्रधानमन्त्रीलाई कसले दिन्छ । हाम्रैतिरका रिमालज्यूले कि कसले ?’,उनले प्रश्न गरेका छन्।
भयो ।’
प्रतिक्रिया