काठमाडौं– काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका राजावादीहरु अब जिल्लातिर फर्कने भएका छन् । अबको आन्दोलन काठमाडौंका विभिन्न पालिकामा जारी राख्दै ७७ वटै जिल्लामा केन्द्रित हुने संयुक्त जनआन्दोलन समितिका अध्यक्ष नवराज सुवेदीले जनाएका छन् ।
बुधबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै सुवेदीले भनेका छन्, ‘संयुक्त जनआन्दोलन समितिमा आवद्ध ४५ दल, समूह र अभियानको वैठक आज सम्पन्न भयो । उक्त वैठकमा गत एक हप्तादेखि सञ्चालन हुँदै आएको जनआन्दोलनको समीक्षा गरिनुको साथै भावी कार्य योजनाका बारेमा समेत छलफल भयो । वैठकमा सहभागीहरुको उत्साह प्रशंसनीय रहेको थियो ।’
वैठकले आन्दोलनमा उत्साहजनक जनसहभागिताको निमित्त सबैमा हार्दिक आभार प्रकट गरेको सुवेदीले बताए । वैठकको भावनालाई दृष्टिगत गर्दै संयुक्त जनआन्दोलन समितिले निम्न अनुसार कार्यक्रम तय गरेको सुवेदीले जानकारी दिए–

१. पहिलो चरणको आन्दोलनबाट प्राप्त अनुभवलाई दृष्टिगत गर्दै आन्दोलनको भावी स्वरुपमा केही परिमार्जन गर्ने ।
२. काठमाडौं उपत्यकाको विभिन्न पालिकाहरुमा विरोध प्रदर्शनहरु निरन्तर जारी राख्ने ।
३. काठमाडौंका अतिरिक्त देशका विभिन्न प्रमुख शहरहरुमा विरोध सभा, धर्ना तथा जनप्रदर्शन गर्ने ।
४. आन्दोलनलाई अझ सशक्त प्रभावकारी र उपलब्धिमूलक बनाउन स्थानीय तहदेखि नै संयुक्त जनआन्दोलन समिति गठन गर्ने ।
५. देशका विभिन्न जिल्लाहरुमा प्रतिवद्ध र जुझारु युवा कार्यकर्ताहरुको समूह तयार गर्ने ।
६. देशका विभिन्न जिल्लामा आन्दोलनका विभिन्न कार्यक्रम सञ्चालन गरिसकेपछि आन्दोलनलाई पुनः काठमाडौँ केन्द्रित गर्ने ।
नवदुर्गा पार्टी प्यालेसमा किन भयो होहल्ला ?
धुम्बाराहीको नवदूर्गा पार्टी प्यालेसमा बुधबार दिउँसो राजावादी आन्दोलनका अगुवाहरुको बैठक डाकिएको थियो । बैठकको उद्देश्य आगामी दिनमा राजा फर्काउने आन्दोलन कसरी अगाडि बढाउने भन्नेबारे छलफल गरेर ठोस निचोड निकाल्ने रहेको थियो ।
बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन उपस्थित नै भएनन् । उनी संसदमा व्यस्त भएकाले आउन नसक्ने खबर पाएपछि उग्र राजावादी युवाले कार्यक्रममै प्रश्न गरे– संसद चाहिएको कि राजसंस्था ?

कमल थापाले बोल्नै लाग्दा हुटिङ भयो र नवराज सुवेदीले माइक हातमा लिएर बैठक सकिएको जानकारी दिए । लगत्तै, युवा पुस्ताका राजावादीहरुले ‘अब बूढाहरुबाट पार लाग्दैन’ भन्दै बेग्लै बैठक आयोजना गरे ।
आन्दोलनमा सहभागी ४५ घटकका नेताहरु मात्रै कार्यक्रममा सहभागी हुने भनिएको थियो । तर, आन्दोलनकारी जत्थासमेत त्यहाँ प्रवेश गर् यो र नेताहरुलाई भाषण हैन, आन्दोलनमा लागौं भन्दै हल्दा मच्चाएको सहभागी एक नेताले बताए ।
बैठकमा पसेका पत्रकार एवं युट्युबरहरुलाई सम्वोधन गर्दै स्वागत नेपालले मिडियाकर्मी साथीहरु बाहिर गइदिनुहोला, यो हाम्रो आन्तरिक छलफल हो भनेर आग्रह गरेका थिए । तर, मिडियाकर्मीहरु उल्टै, त्यहाँको भनाभनको भिडियो खिच्नतिर लागेपछि कार्यकर्ताले मिडियाकर्मीलाई बाहिर जानोस् भन्दै हप्काएको सुनिन्थ्यो ।
कार्यक्रममा सहभागी धर्मगुरु श्रीनिवासले हिन्दु धर्मले अनुशासित हुन सिकाउने बताउँदै सबैलाई शान्त र अनुशासित भइदिन आग्रह गरे । तर, गुरुको आग्रह राजावादीहरुले नै मानेनन् । र, कमल थापा बोल्ने बेलामा भीडले अझ होहल्ला बढायो । त्सय लगत्तै हामी सल्लाह गरेर कार्यक्रम तय गर्छौं भन्दै बैठक समापन भएको घोषणा गरे ।
अन्ततः साँझ सुवेदीले एकतर्फी रुपमा जिल्ला केन्द्रित हुने कार्यक्रम घोषणा गरे । तर, यसमा राप्रपाको सहमति, असमति के छ, प्रष्ट भएको छैन ।
नवराज सुवेदी निकट एक राजावादी अभियन्ता खबरहबसँग भन्छन्, ‘बुधबार पार्टी प्यालेसमा आन्दोलनकारीवीच झगडा भएको होइन, ४५ जना मात्रै बस्ने बैठकमा अरु पनि छिरेपछि विषयकेन्द्रित छलफल हुन नपाएको मात्र हो । यस्तो ‘क्लोज मिटिङ’ पार्टी प्यालेसको हलमा गर्नुको साटो राप्रपाको कार्यालय वा अन्त कुनै बन्द कोठामा गरेको भए यस्तो हुने थिएन ।’

प्रतिक्रिया