तनहुँको घिरिङमा व्यावसायिक अङ्गुरखेती « Khabarhub

तनहुँको घिरिङमा व्यावसायिक अङ्गुरखेती


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको घिरिङ गाउँपालिका– ४ स्थित बाह्रबिसेमा गत वर्षदेखि करिब ७० रोपनी क्षेत्रफलमा व्यावसायिक अङ्गुरखेती गरिएको छ । घिरिङ भाइनएड एन्ड रिसर्च सेन्टर कम्पनीले खेती सुरु गरेको हो ।

कम्पनीले स्विट्जरल्यान्डबाट प्रतिबिरुवा सात सयदेखि एक हजार रुपैयाँसम्म खर्च गरेर गत वर्षदेखि खेती सुरु गरेको उद्यमी एवं सञ्चालक कुमार कार्कीले जानकारी दिए ।

‘पहिलो वर्ष करिब नौ हजार पाँचसय बिरुवा रोपेका थियौँ । धादिङमा ३८ करोड ५० लाख र तनहुँमा डेढ करोड गरी ४० करोड लगानी गरिसकेको छु’, उनले भने ।

यस वर्ष पनि अङ्गुर फलेर टिप्ने कार्य सुरु भइसकेको छ । उत्पादित अङ्गुर तनहुँ, पोखरा, काठमाडौंलगायत क्षेत्रबाट व्यवसायी फार्ममा आएर लैजाने गरेको उद्यमी कुमार कार्कीले जानकारी दिए । उनले भने, ‘पहिलो वर्ष १८ लाख मूल्य बराबरको अङ्गुर उत्पादन भएको थियो, यस वर्ष पनि सोही अनुपातमा उत्पादन हुने अपेक्षा गरेका छौँ ।’

कार्कीका अनुसार फार्ममा हाल २०/२२ प्रजातिका अङ्गुर छन् । त्यसमध्ये केही खानका लागि त केही वाइन बनाउनका लागि प्रयोग हुन्छन् । खाने अङ्गुर प्रतिकिलोग्राम ३५० र वाइन बनाउने प्रतिकिलो २५० रुपैयाँमा बिक्री गर्ने गरिएको छ । हाल दैनिक १०/१२ जना जनशक्ति अङ्गुर टिप्नका लागि खटाइएका छन् ।

फार्ममा रहेका २०/२२  प्रजातिका अङ्गुर परीक्षणका लागि खेती गरिएकामध्ये करिब १० प्रजाति उत्पादनमा राम्रो भएको कार्कीले जानकारी दिए ।

सोही कम्पनीले धादिङबाट भाइएड वाइनरी नामक वाइनसमेत उत्पादन गरिरहेको छ । कम्पनीको वार्षिक तीन लाख लिटर वाइन उत्पादन गर्ने क्षमता रहेको छ । प्रति ७५० एमएलको वाइनतर्फ तीन प्रकारका वाइन उत्पादन गरिएका र ती प्रतिबोतल एक हजार दुई सय रुपैयाँमा बिक्रीका लागि बजारमा ल्याइएको व्यवसायी कार्कीले बताए ।

धादिङको जुङ्गेखोला केवलपुर दशथाक्रे गाउँपालिकामा समेत विगत १५ वर्षदेखि १५० रोपनीमा व्यावसायिक अङ्गुरखेती गर्दै आएको उनको भनाइ छ । वाइनका लागि अङ्गुर प्रशोधनलगायत उत्पादन उद्योगसमेत सोही स्थानमा स्थापना गरिएको छ । विशेष गरी जुस, वाइन तथा खानाका लागि अङ्गुरखेती गरिएको कार्कीको भनाइ छ ।

अङ्गुरको बोट रोपेको एक वर्षमा फल दिन सुरु गर्छ भने पहिलो वर्षमा प्रतिबोट तीनदेखि चार केजी उत्पादन हुने गरेको छ । चैत/वैशाखमा फूल फुलेसँगै करिब तीन महिनामा फल टिप्न तयार हुने गरेको छ । मासिक घाँस कटाइ, बिरुवा गोडमेल, मल तथा अन्य व्यवस्थापकीय काममा स्थानीयहरूले पनि काम पाएका छन् । यसका लागि ज्यालादारीमा कामदार खटाउने गरिएको कार्कीले बताए ।

विगतदेखि नै पर्यटन क्षेत्रमा काम गरिरहेकाले कृषि क्षेत्रमा नयाँ काम गर्ने ध्येयले यस खेतीतर्फ आकर्षित भएको उनले बताए । धादिङमा भएको फार्मका लागि बागमती प्रदेश बिग फार्म नामक कार्यक्रम शीर्षकमा नेपाल सरकारबाट ५५ लाख बराबरको अनुदान दिएपछि काम गर्न थप हौसला मिलेको कृषक कार्कीले बताए । (रासस)

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ८ : ४६ बजे

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट

खुला पहुँच कार्यान्वयनका लागि दुई नयाँ निर्देशिकाको मस्यौदा सार्वजनिक

काठमाडौं – विद्युत् नियमन आयोगले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा

स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज- स्रोत नखुलेको भारतीय मुद्रासहित यहाँ एक जना पक्राउ परेका

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

काठमाडौं– नापि कार्यालय धनुषाले  नाप जाँच भएको करिब ५ वर्षपछि

नेपाललाई समावेशी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड

 काठमाडौं- बेलायती सञ्चारकर्मी, ट्राभल लेखिका तथा अपाङ्गता अधिकार अभियन्ता सोफी मोर्गनले