‘दुई सयको बचत, दस हजारको सहारा’ « Khabarhub

‘दुई सयको बचत, दस हजारको सहारा’


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

इलाम– विदेशी भूमिमा पसिना बगाएका र फर्किएर गाउँमै रोजगारी सृजना गरेका सूर्योदय नगरपालिका–१३ र १४ का बासिन्दाले सञ्चालन गरेको ‘आप्रवासी बहुउद्देश्यीय सहकारी संस्था’ प्रभावकारी बन्दै गएको छ । त्रिहत्तर घरपरिवार आबद्ध सहकारीमा अहिले मासिक दुई सय अनिवार्य र पाँच सय ऐच्छिक बचत सङ्कलन हुँदै आएको छ ।

‘अप्ठ्यारो पर्दा चर्को ब्याजमा ऋण खानुपरेको छैन । सहकारी सुरु भएपछि हामीलाई सहारा मिलेको छ’, संस्थाकी कोषाध्यक्ष रीना राईले भनिन् । सहकारीले १२ प्रतिशत ब्याजदरमा अधिकतम १० हजार ऋण उपलब्ध गराउँछ । एक सदस्यले तीन महिनाका लागि ऋण लिन पाउने व्यवस्था छ । तीन महिनाका लागि १० हजार ऋण लिएमा जम्मा तीन सय ६० रुपैयाँ ब्याज तिर्नुपर्छ ।

सहकारीकी सहसचिव माया राईका अनुसार यो ऋणले बालबच्चाको पढाइदेखि तरकारीखेती, बीउबिजन खरिदजस्ता काममा सदस्यलाई सहुलियत दिएको छ ।

२०७९ सालमा स्थापना भएको सो सहकारीमा हाल ७३ परिवार आबद्ध छन् । विदेश गएका वा फर्किएका सदस्यमात्र सामेल हुन पाउने यो सहकारीले आर्थिक समृद्धिको यात्रामा महत्त्वपूर्ण पाइला चालेको छ । सुरुमा ४० जना सेयर सदस्यबाट सुरु गरिएको सहकारीमा अहिले मासिक दुई सय अनिवार्य र पाँच सय ऐच्छिक बचत सङ्कलन हुँदै आएको हो ।

वित्तीय साक्षरतामा पनि संस्था सशक्त बन्दै गएको छ । २०७६ सालमा सूर्योदय नगरपालिकाले सामी कार्यक्रमअन्तर्गत २५ जनालाई २४ हप्ते वित्तीय साक्षरता तालिम दिएको थियो । सहकारीका कोषाध्यक्ष राईका अनुसार तालिमले सदस्यहरूमा वित्तीय अनुशासन र सचेतना बढेको छ । तालिमपछि ३० जनाले उद्यमशीलता तालिम पनि लिए, जसअन्तर्गत अचार र बाँस (तामा)को अचार बनाउने सीप प्राप्त गरेका थिए । तालिमपछि स्थानीय महिलाहरूले मिक्स अचार, अकबरे पेस्ट, आँप र फर्सीको अचार उत्पादन गरी बिक्री गर्न थालेका छन् ।

सचिव हेमकुमारी भट्टराईका अनुसार सामीले दिएको सात हजार रुपैयाँ सहयोगबाट सुरु गरिएको अचार व्यवसायले हालसम्म ३५ हजार रुपैयाँ आम्दानी दिएको छ । मेला र महोत्सवमा मागअनुसार तयारी गरेर बिक्री गरिने गरिएको छ । संस्थालाई गत वर्ष सूर्योदय नगरपालिकाले एक लाख रुपैयाँ बराबरको टेबल, कुर्सी, दराज र ¥याक सहयोगस्वरूप प्रदान गरेको थियो ।

सहकारीका अध्यक्ष अर्जुन अधिकारीका अनुसार स्थानीय डम्बरसिंह राईले घरभाडामा सहुलियत दिएका छन् । अध्यक्ष अधिकारीले सहकारीका लागि आफ्नै भवन निर्माणको तयारी भइरहेको जानकारी दिए । भवन निर्माणका लागि श्रमदान, व्यक्तिगत तथा संस्थागत सहयोगमार्फत एकतले भवन वडा नम्बर १३ मा निर्माण गरिने छ ।

सहकारीका अगुवा सदस्य माया राईका श्रीमान् बिदुप्रकाश राई नौ वर्षदेखि मलेसियामा कार्यरत छन् भने कोषाध्यक्ष रीना राईका श्रीमान् नन्दलाल साउदीमा २९ महिना र मलेसियामा आठ वर्ष बसेपछि हाल गाउँमै कृषि, पशुपालन र चियाबारीमा संलग्न छन् ।

विदेशिएका परिवारको आफ्नै पहल र सहयोगमा सञ्चालित यस सहकारीले गाउँमा रोजगारी र आत्मनिर्भरता अभिवृद्धिमा उल्लेखनीय योगदान दिँदै आएको छ । (रासस)

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  १० : २५ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर