दुई महिनापछि बालेन-सुनिता भेट, नगरसभा र कार्यपालिका बैठक राख्न तयार | Khabarhub Khabarhub

दुई महिनापछि बालेन-सुनिता भेट, नगरसभा र कार्यपालिका बैठक राख्न तयार

तीनजना वडाध्यक्षसँग पनि बालेनले गरे संवाद


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक राख्नेबारे मेयर बालेन्द्र साह (बालेन), उपमेयर सुनिता डंगोल र तीनजना वडाध्यक्षहरूबीच बुधबार वार्ता भएको छ ।

करिब २ महिना लामो अन्तरालपछि मेयर बालेन्द्रसँग सुनिताले भेट गर्न पाएकी हुन् । गत वैशाख ६ गते बेल्जियमबाट फर्किएयता सुनिता र बालेनको भेट हुन सकेको थिएन । २०८१ चै २१ गते सुनिता र वडाध्यक्षहरूको पहलमा प्रमुख प्रशाकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालयमा हाजिर गराएसँगै मेयर बालेनसँग सम्बन्ध झन् बिग्रिएको थियो ।

त्यसअघि पनि मेयर बालेनसँग वडाअध्यक्ष र उपमेयरले बिरलै मात्र प्रत्यक्ष अन्तरक्रिया गर्न पाउने अवस्था थियो । यस्तो अवस्थामा गत जेठ १२ गते कार्यपालिकाका ४० जना सदस्यहरूले मेयर बालेन्द्रलाई जतिसक्दो छिटो कार्यपालिका बैठक बोलाउन माग गरेका थिए । उनीहरूले दबाब दिए पनि पछिल्लो समय एक्लिएका बालेनले उक्त बैठक बोलाउन चासो दिएका थिएनन् ।

उक्त कार्यपालिका सदस्यहरूको अनौपचारिक बैठकमा बालेनबाहेक सबै उपस्थित थिए । कार्यपालिकामा नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व छ । यो बैठकमा रास्वपाबाट १६ नम्बर वडामा निर्वाचित रोजिना श्रेष्ठ पनि सहभागी थिइनन् । उनले पनि बैठकमा सहभागी भएर बालेनमाथि दबाब बढाउन भूमिका खेलेकी थिइन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ मा‘कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्ने’ भनिएको छ । तर काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक पुस १० गतेयता बस्न सकेको छैन ।

यो अवस्थामा मेयर र उपमेयरबीचको करिब दुई महिना लामो संवाहीनता तोडिँदै बुधबार छलफल भएको हो । उक्त छलफलमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्धारित मिति अर्थात् असार १० गतेभित्रै ल्याउने गरि छलफल भएको थियो ।

तर मेयर, उपमेयर र वडाध्यक्षहरूबीचको छलफलमा कुरा मिल्न नसकेको एकजना वडाध्यक्षले बताएका छन् । बजेट तयारी अघि बढाउन पनि कार्यपालिका बैठक आवश्यक भएको विषयमा उपमेयर र वडाध्यक्षहरूले मेयर साहको ध्यानाकर्षण गराएका थिए ।

उक्त छलफलमा उपमेयर डंगोल, नेकपा (एमाले) बाट वडा नम्बर ३२ का अध्यक्ष नवराज पराजुली, नेपाली कांग्रेसबाट वडा नम्बर १७ का अध्यक्ष एवम् प्रवक्ता नवीन मानन्ध र एकीकृत समाजवादीबाट वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोल सहभागी थिए ।

‘हामीले लामो समयपछि मेयरसँग कुराकानी गर्न पायौँ । बुधबार भएको छलफलमा पुस ८ गतेयता बस्न नसकेको कार्यपालिका बैठक राख्ने विषयमा कुरा भएको हो’, छलफलमा सहभागी एक वडाध्यक्षले भने, ‘तर कार्यपालिका राख्नेबारे कुरा टुंगिसकेको छैन । कार्यपालिका बैठक र नयाँ बजेटबारे बिहीबार पनि बस्ने कुरा भएको छ।’

बुधबार सबै विषयमा कुरा नमिलेपछि बिहीबार बस्ने भनिए पनि टुंगो नभएको ती वडाध्यक्षले बताए । ‘बस्ने सहमति भएको हो । तर अहिलेसम्म टुंगो छैन’, उनले भने । उनका अनुसार बुधबारको भेटमा मेयर साहले कार्यपालिका र नगरसभा बैठक राख्न तयार रहेको बताएका थिए । उनल बैठकमा सबैसँग मिलेर काम गर्न तयार रहेको पनि उल्लेख गरेका थिए ।

कम्तीमा एक महिनामा बस्नुपर्ने कार्यपालिका बैठक ६ महिनादेखि बस्न नसकेपछि महानगरपालिकाका विकास निर्माण, नीतिगत निर्णय पनि अन्योलमा पर्दै आएका छन् ।

सबै स्थानीय तहले असार १० सम्ममा बजेट ल्याउनुपर्ने कानुनी बाध्यता छ । तर, लामो समयदेखि कार्यपालिका बैठक बस्न नसक्दा आर्थिक वर्ष २०८२–८३ का लागि बजेट निर्माणको प्राथमिकताबारे महानगरले कार्यपालिकामा छलफल गर्न पाएको छैन ।

स्थानीय सरकार सञ्चालन ऐनमै सभा तथा कार्यपालिकाको बैठक नगर प्रमुखले बोलाउने र अध्यक्षता गर्ने प्रावधान छ । तर, मेयरले नबोलाउँदा आगामी आर्थिक वर्षको बजेटमा अन्योल देखिएको छ ।

मेयरको नेतृत्वको सीमा निर्धारण समितिको बैठकसमेत बस्न नसक्दा बजेट कस्तो र कत्रो ल्याउने भन्नेमा अन्योल छ । त्यससँगै नजिकिएको बर्खामा विपद्का घटना पनि बढ्ने जोखिम छ ।

यस्तो बेला कार्यपालिका बैठक नबस्दा थप अन्योल छाएको जनप्रतिनिधिहरूले गुनासो गरिरहेका छन् । तर, मेयर साहले बैठकमा चासो नदेखाउँदा थप समस्या सिर्जना भएको जनप्रतिनिधिहरूले गुनासो गरेका छन् ।

पछिल्लो समय प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेर निलम्बन गरिदिएपपछि मेयर बालेन झनै रिसाएका छन् । उनले त्यसको बदलमा जथाभावी बोलेको भन्दै प्रवक्ता नवीन मानन्धरलाई स्पष्टीकरण सोधेर काउन्टर दिएका थिए । तर उनका विश्वासपात्र पाण्डे गुरागाईंको कारबाहीमा परेर घर गइसकेका छन् ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  १ : ०८ बजे

इरानले इजरायलमा गर्‍यो मिसाइल प्रहार

इरान – इजरायलले गरेको आक्रमणको प्रतिकार स्वरूप इरानले बालिस्टिक मिसाइल

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल जेठ ३१ गते शनिबार। असार

आज २०८२ साल जेठ ३१ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल जेठ ३१ गते शनिबार। असार

पार्टीले समाजवादी क्रान्तिका लागि बलियो सैद्धान्तिक आधार तयार गरेको छ : माधव नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री