बिरामीको विश्वास जित्दै बाजुरा अस्पताल, दिन थाल्यो शल्यक्रियाबाटै प्रसूति सेवा  | Khabarhub Khabarhub

बिरामीको विश्वास जित्दै बाजुरा अस्पताल, दिन थाल्यो शल्यक्रियाबाटै प्रसूति सेवा 


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

धनगढी– दुर्गमका अस्पताललाई रिफर सेन्टरको आरोप लाग्छ । ती अस्पतालको काम बिरामी उपचार गर्ने होइन, बिरामी रिफर गर्ने, कागज बनाउने भन्ने भाष्य नै स्थापित गरिन्छ । भनिन्छ, नामका मात्रै अस्पताल । न उपचार । न औषधी । स्वास्थ्य कर्मी छन्, उपचार छैन । संरचना छ । बिरामीलाई सेवा छैन, यस्तै आरोप र आक्रोश खेपिरहने मध्ये पर्छ, बाजुरा जिल्ला अस्पताल । 

कहिल्यै विशेषज्ञ डाक्टरको अभाव । कहिल्यै औषधी, त कहिल्यै औजार उपकरणको समस्या । नभएको दिन बिजुली बत्ती पनि कारण बनिदिन्छ । केही वास्तविकता र केही बहानाकै कारण पहाडी जिल्लाका अस्पताल माथि बिरामीको विश्वास अझै बढ्न सकेको छैन । उपचार सेवा पाए पनि औषधी सबै निजी मेडिकलबाट किन्नु पर्दाको दुखेसो सुनी साध्य थिएनन् । 

तर अब बाजुरा जिल्ला अस्पताल त्यो पुरानो परिचयबाट मुक्त छ । सुविधायुक्त संरचना बनेको छ । धेरैका लागि त्यो स्तरको अस्पताल संरचना बाजुरामा पनि बन्छ, त भन्दा पत्यार लाग्ने अवस्थाको छैन । त्यो भित्रको व्यवस्थापन र अस्पतालले दिन थालेको उपचार सेवाले पनि बाजुरा अस्पताल सहरको नामी अस्पताल भन्दा कम छैन । उपचार सेवा पनि, भौतिक संरचनामा पनि । दुबैमा आह लाग्दो देखिन्छ ।  

अस्पताल ५० शय्या सिफारिस छ । तर सञ्चालनमा छैन । प्रदेश सरकारले आवश्यक लगानी र दरबन्दी उपलब्ध नगराउँदा संरचना भएर पनि सेवा सञ्चालनमा ढिलाइ भएको अस्पतालका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए । इको बाहेक अन्य सबै सुविधाका लागि औजार उपकरण पनि उपलब्ध छन् ।

पहिलेको जस्तो सबै बिरामीको रिफर आरोप पनि छैन । जटिल प्रकृतिको छ, यता उपचारमै जोखिम देखिएको अवस्था र आफन्तले म लैजान्छु भनेको अवस्था बाहेक बाजुरा अस्पतालमै उपचार गर्ने गरिएको कार्यालय प्रमुख डाक्टर चन्द्रशेखर यादवले बताए । ‘रिफरको आरोप मात्रै हो, दैनिक १ सय ५० देखि २ सय बिरामी उपचारका लागि आउँछन्, ती मध्ये सबैजसोको उपचार अस्पतालले नै गरेको अवस्था छ, यादवले भने । 

हाल २ जना विशेषज्ञसहित ८ जना चिकित्सक अस्पतालमा सेवारत छन् । थप १ जना विएन छन् । कर्मचारीको संख्या मात्रै १ सय ३ जनाको छ । यो दुर्गमको अस्पतालमा धेरै हो । अझै दरबन्दी अभाव छ । स्थायी दरबन्दीका स्वास्थ्य कर्मी कम छन् । तर पनि सेवा प्रवाहमा सुधार हुँदै गएको देखिन्छ । 

स्त्री रोग विशेषज्ञ र हाडजोर्नी रोग विशेषज्ञ डाक्टरले सेवा दिइरहेका छन् । महिलाहरूको पाठेघरको समस्या र हात जोर्नी, दुखेको, भाँचिएकाहरू नै अस्पतालमा उपचारका लागि आउने गरेका छन् । सय बढी हातखुट्टा भाँचिएका बिरामीले बाजुरा अस्पतालमै २ वर्षको अवधिमा उपचार सेवा लिइसकेको तथ्यांक छ । 

अछामको बयालपाटा अस्पतालको सेवा प्रवाह फितलो हुँदै गएपछि बाजुरा जिल्ला अस्पतालमा बिरामीको चाप बढेको छ । त्रिवेणी, बुढीगंगा र खप्तड छेडेदहका बिरामी समेत बयालपाटा जाने गर्थे । अहिले सबैजसो बाजुरा अस्पतालमै आउने गरेका छन् । अस्पतालले सुरु गरेको गुणस्तरीय उपचार सेवापछि बिरामीको विश्वास बढेको भन्छन्, सूचना अधिकारी नृप गिरी । 

अस्पतालसँग अक्सिजन प्लान्ट छ । कार्यालय भित्र अत्याधुनिक औजार उपकरण जडान गरिएको छ । जनरल एनएच थेसियाकालागि मेसिन भएपनि जनशक्ति छैन । त्यो बाहेक अत्याधुनिक डिआर एक्सरे मेसिन अस्पतालमा उपलब्ध छ । थेरापी उपचार सेवा र आफ्नै फार्मेसी पनि छ । अल्टासाउण्ड, एक्सरे सबै सुविधा, युएसजी, इसीजी सबै प्रकारको सुविधा उपलब्ध हुने भएदेखि बिरामीको चाप बढेको हो । 

मंगलबार मात्रै जटिल प्रकृतिको गर्भवती महिलाको शल्यक्रिया मार्फत प्रसूति सेवा सफल अस्पतालले सफल गरेको छ । स्वामीकात्तिक खापर गाउँपालिका–१ बस्ने २३ वर्षीया बुट्टा विकको एउटा पेटमै मरेको र अर्को जीवित बच्चा थियो । महिलालाई जोखिम अवस्थामा अस्पतालमा पुर्‍याइयो । त्यो केसलाई प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. सुनिल कुमार शाह नेतृत्वको टिमले सफल शल्यक्रिया मार्फत एक बच्चा र आमाको ज्यान बचाए । 

पेटमा रहेका दुवै बच्चा उल्टो अवस्थामा थिए । नालसाल उतै गाउँकै स्वास्थ्य संस्थामा पहिला नै आइसकेको थियो । मरेको बच्चाको बायाँ खुट्टा बाहिर आएको थियो । अवस्था निकै जटिल र जोखिमयुक्त थियो, तर सफल गर्न सकियो डाक्टर सुनिल कुमार शाहले भने । 

डाक्टर शाहका अनुसार मरेको बच्चालाई पहिला झिकेर फाल्यौ, पछि जीवित बच्चालाई शल्यक्रियाबाट आमा र बच्चा बचाउन सफल भएको डाक्टर शाहले बताए । सुरुमा श्रीमतीको अवस्था निकै जटिल भएपछि हेलिकप्टर व्यवस्थाका लागि बुट्टाका श्रीमान् किरिन्द्र विकले विभिन्न निकायमा गुहारेका थिए । तर कतै बाट हवाइउद्धार नहुने भएपछि जिल्ला अस्पताल बाजुरा ल्याए । ‘श्रीमती बचाउने आशा मरिसकेको थियो, तर अस्पतालमा पुगाइसकेपछि आमा र एउटा बच्चा बच्यो, मेरा लागि डाक्टर भगवान हुन्, उनले भने । 

यो अवस्थाको शल्यक्रिया बाजुरा अस्पतालले पहिलो पटक सफल गरेको हो । बाजुरा अस्पतालका प्रमुख डा. चन्दशेखर यादवले भने, ‘आकस्मिक हवाई उद्धार तत्काल सहज नै थिएन, जोखिम परिस्थितिमा एउटा बच्चा र आमा बचाउनु चुनौती थियो, तर सफल भयौँ,।’

‘आइसीयु, एनआइसियु नभएको अस्पतालमा यस्तो केस बचाउन निकै गाह्रो हुन्छ ।’ हाम्रो अस्पतालले जोखिम लिएरै सफल गर्‍यो, टिमलाई धन्यवाद, बाजुरा अस्पताल पनि बिरामीको विश्वास जित्ने ठाउँमा पुग्यो, कार्यालय प्रमुख डाक्टर यादवले थपे ।

अस्पतालमा आकस्मिक प्रसूति सेवा सँगै विशेषज्ञ सेवा सञ्चालनमा छ । यो आर्थिक वर्षमा मात्र अस्पतालमा ४९ जना जटिल प्रसूति आमाको शल्यक्रिया मार्फत सुत्केरी गराइएको छ । यो सेवाको सूचीले दुर्गममा डाक्टर बस्दैनन्, सेवा छैन, भन्ने प्रचार नै गलत प्रमाणित भएको छ । 

बाजुरामै गुणस्तरीय स्वास्थ्य उपचार सेवा पाउने भएपछि स्थानीय खुसी भएका छन् । महँगो खर्च तिरेर धनगढी, भारत, नेपालगन्ज र काठमाडौं जानु पर्ने बाध्यता हटेको छ । अति गरिब, विपन्न तथा दलित समुदाय अस्पतालको सुव्यवस्थापन पछि सहज भएको छ । पछिल्लो समय बाजुरा अस्पतालसँगको बिरामीको विश्वास पनि बढेको देखिन्छ ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ३ : ४९ बजे

दक्षिण अफ्रिकाले जित्याे टेस्ट च्याम्पियनसिपको उपाधि

काठमाडौं – दक्षिण अफ्रिकाले आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको

आजबाट बंगलादेशसँग बिजुली बिक्री सुरू

काठमाडौं – नेपालले आजबाट बंगलादेशमा ४० मेगावाट विद्युत व्यवसायीक रूपमा

तनहुँ प्रशासनमा बिहान ७ बजेदेखि सेवा

तनहुँ – जिल्ला प्रशासन कार्यालय तनहुँले नागरिकता र राष्ट्रिय परिचयपत्रका

एपिएफले जित्यो ‘प्रचण्ड कप’ भलिबलको उपाधि

कास्की – पोखरामा सञ्चालन भएको ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल