पोखराको पर्यटन बसपार्कमा कालो नम्बर प्लेट निषेध, चर्कियो असन्तोष | Khabarhub Khabarhub

पोखराको पर्यटन बसपार्कमा कालो नम्बर प्लेट निषेध, चर्कियो असन्तोष


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखराको एक मात्र पर्यटन बसपार्कमा कालो नम्बर प्लेटका गाडी प्रवेश गर्न नपाउने विषयमा विवाद चुलिएको छ । पोखरा महानगरका मेयर धनराज आचार्यले सामाजिक सञ्जालमार्फत ‘भ्रामक प्रचार’ विरुद्ध टिप्पणी गरेपछि सार्वजनिक बहस चर्किएको छ भने यातायात व्यवसायीले मेयरको भनाइप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।

मेयर आचार्यका अनुसार पछिल्ला दिनमा सामाजिक सञ्जाल र केही व्यक्तिहरूको माध्यमबाट तथ्यविहीन प्रचार र आन्दोलनका गतिविधि देखिन थालेपछि गम्भीर ध्यानाकर्षण गराउनुपर्ने अवस्था आएको हो ।

पोखराको राष्ट्र बैंक चोकको पूर्वतर्फ अवस्थित झन्डै १५ रोपनी क्षेत्रफलको यो बसपार्क सन् १९९८ मा ‘नेपाल भ्रमण वर्ष’ का अवसरमा अस्थायी संरचनाबाट सुरु भएको थियो ।

त्यसयता पर्यटन लक्षित सवारीसाधन पार्किङ तथा यात्रु चढ्ने–ओराल्ने थलोका रूपमा प्रयोग हुँदै आएको यस बसपार्कको २०७९ सालमा पुनर्निर्माण गरिएको हो ।

उक्त पुनर्निर्माण पर्यटन विभाग, पोखरा महानगरपालिका र पोखरा उपत्यका नगर विकास समितिको संयुक्त लगानीमा सम्पन्न भएको हो ।

हाल बसपार्क नेपाल सरकारको स्वामित्वमा रहनुका साथै पोखरा उपत्यका नगर विकास समितिको नाममा लालपुर्जासहित कायम रहेको स्पष्ट पारिएको छ ।

मेयर आचार्यका अनुसार निर्माण सम्पन्न भएपछि सार्वजनिक टेन्डर प्रक्रियामार्फत पर्यटन क्षेत्रमा मात्र सञ्चालन हुने सवारीसाधनका लागि यो बसपार्कको प्रयोग हुँदै आएको हो । तर पछिल्लो समय ‘१५ रोपनीको सानो क्षेत्र सबै प्रकारका गाडीका लागि खुला हुनुपर्छ’ भन्ने आशयका प्रचारहरू देखिएको भन्दै उनले त्यसप्रति असहमति जनाएका छन् ।

उनले भनेका छन्, ‘यस बसपार्कको उद्देश्य र ऐतिहासिक पृष्ठभूमिलाई बेवास्ता गर्दै सतही रूपमा नयाँ सोचको नाममा गरिएका प्रचारहरू प्रचलित ऐन, कानुन र व्यवस्थाको प्रत्यक्ष उल्लंघन हुन् ।’

उनले अन्य भाडाका सार्वजनिक सवारीसाधन (कालो नम्बर प्लेट) का लागि पोखरा बसपार्क, विन्ध्यवासिनी बसपार्कलगायत स्थानहरूमा छोटो अवधिका लागि पार्किङको व्यवस्था रहँदै आएको र आगामी दिनमा पोखरा बसपार्कको पुनर्निर्माण, लामेआहालमा पूर्ण क्षमताको बसपार्क निर्माण तथा ६ वटा नाकामा साना टर्मिनल बनाउने प्रक्रिया अघि बढिरहेको समेत जानकारी गराएका छन् । ‘यस विषयमा दातृ निकायहरूसँग आवश्यक सम्झौता प्रक्रियामा हामी अघि बढिसकेका छौँ,’ मेयरको भनाइ छ ।

उनले यातायात सेवा अत्यावश्यक व्यावसायिक क्षेत्र भएको उल्लेख गर्दै यसमा संलग्न सबै पक्षले आपसी सहकार्य, कानुनी मर्यादा र संवेदनशीलताको ख्याल गर्नुपर्नेमा जोड दिएका छन् । ‘कुनै पनि विषयलाई जानिबुझेर विषयान्तरण गरी आन्दोलनजस्ता गम्भीर शब्दहरूको प्रयोग गर्नु उचित, समयसापेक्ष र समाधानमुखी देखिँदैन,’ उनले लेखेका छन् ।

पोखराका यातायात व्यवसायी योगेन्द्र केसीले मेयरको फेसबुक स्टाटसमा टिप्पणी गर्दै आपत्ति जनाएका छन् । ‘पोखरा बसपार्क बनाउने सोच राम्रो हो तर त्यो कहिले बन्ने हो ? अहिले पर्यटक बोकेर चलिरहेका कालो प्लेटका गाडीलाई हटाउनु उचित होइन,’ उनले प्रतिक्रिया दिएका छन् ।

व्यवसायी केसीले हरियो र कालो प्लेटका गाडीको सेवा र सुविधाको तुलनात्मक मूल्यांकन गरेर निर्णय गर्नुपर्ने प्रस्तावसमेत गरेका छन् । ‘हामीलाई मनमुटाब होइन, व्यवस्थापन चाहिएको हो । यात्रु कुन गाडी रोज्छन् त्यो हेरेर निर्णय गर्नुपर्छ,’ उनको भनाइ छ ।

केसीले मेयरप्रति व्यक्तिगत सम्मान व्यक्त गर्दै पनि सवारी व्यवसायीको हक र अस्तित्वको रक्षा गर्न आग्रह गरेका छन् । ‘हामी पनि पोखरावासी हौँ । तपाईँको कार्यकाल सफल होस् भन्ने शुभकामनासहित यो कुरा राखेका हौँ,’ उनले लेखेका छन् ।

हाल पर्यटन बसपार्कको प्रयोजन र पहुँचसम्बन्धी यो विवाद सार्वजनिक बहसको विषय बनेको छ । एकातर्फ महानगरले कानुनी र योजनागत सन्दर्भमा सीमित प्रयोगको नीति लिएको दाबी गरेको छ भने अर्कातर्फ व्यवसायीहरूले यात्रु सेवामा संलग्न सवारीमाथि असमान व्यवहार भएको तर्क गर्दै आएका छन् । पोखरा पर्यटन परिषद्को समेत संलग्नतामा यातायात व्यवसायी पोखरा उपत्यका नगर विकास समितिको कार्यालयमा ज्ञापनपत्र बुझाउनुका साथै धर्ना समेत दिएका छन् ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ७ : ४५ बजे

जेन–जी पुस्तालाई लक्षित गरेर विशेष कार्यक्रम ल्याउन शिवाकोटीको जोड

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नेपाली कांग्रेसले

दक्षिण अफ्रिकाले जित्याे टेस्ट च्याम्पियनसिपको उपाधि

काठमाडौं – दक्षिण अफ्रिकाले आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको

आजबाट बंगलादेशसँग बिजुली बिक्री सुरू

काठमाडौं – नेपालले आजबाट बंगलादेशमा ४० मेगावाट विद्युत व्यवसायीक रूपमा

तनहुँ प्रशासनमा बिहान ७ बजेदेखि सेवा

तनहुँ – जिल्ला प्रशासन कार्यालय तनहुँले नागरिकता र राष्ट्रिय परिचयपत्रका