पत्नी सुशीलालाई बीपीको सन्देश– ‘देह र मनको सुखबाट अज्ञानीहरू मात्र गदगद हुन्छन्’ | Khabarhub Khabarhub

पत्र साहित्य 

पत्नी सुशीलालाई बीपीको सन्देश– ‘देह र मनको सुखबाट अज्ञानीहरू मात्र गदगद हुन्छन्’


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

प्रिय सुशीला,
हाम्रो दुःख अन्त्य हुने भएन । तिमीलाई मैले यसअघि जेलबाटै चिठी लेखेको थिएँ । त्यस दिनदेखि आजसम्म दुर्योगले कठोरतम् प्रहार गरिरहेको छ । त्यसपछिका दिनमा मैले तिमीलाई पत्र लेख्न सकिनँ । त्यस प्रहारको आघातमा म अझसम्म निसासिएको छु । मैले तिमीलाई घरव्यवहारको बारेमा चिठी लेख्नु पर्दैन । त्यस्तो चिठी जहिले जस्तो लेख्दा पनि हुन्छ ।

मैले तिमीलाई लेख्नुपर्ने किसिमको चिठी लेख्न सक्ने मायालु मनस्थितिमा म अझै पुगेको छैन । मेरो जीवनमा एउटा गहिरो शून्यता आएको छ, विषाद् छाएको छ । यस विषाद्को व्यापक बोझले हाम्रा कोमल भावना मानौँ निमिट्यान्न नै भएका छन् । म आत्तिएको छु । पराजित छु, झन्झन् तल–तल भासिँदै छु । यसबाट निस्किन सम्भव छैनजस्तो छ ।

पिताजी परलोक हुनुभएको वस्तुस्थितिले मेरो सिङ्गो अस्तित्वलाई तीतो बनाएको छ । म मरणान्त निराशाको दुष्चक्रमा फसेको छु । बुझिदेउ, मेरो आत्मआनन्दको मुहान सुकेको जस्तो छ । अहिले सधैँ यस्तै अवस्था रहँदैन भनेर पाकाहरूले सम्झाउँछन् होला । त्यो हाम्रो सुखको मुहान अन्तर्मनको अवचेतनमा लुकेर बस्ला तर म अहिले यस मर्मान्त प्रहारबाट विचेत भएको छु ।

कमसेकम तत्कालका निमित्त जीवनशक्तिले सुस्तरी आफ्नो काम सुरु गर्ला वा गर्न थालिसक्यो होला । छिटै नै म स्वस्थ बनौँला । आखिर हामी बाँच्नै पर्छ । मृत्युको माझमै हामी बाँचिरहेका हुन्छौँ ।

मलाई यस्तै भएको छ, म पूरै खलबलिएको छु, जरैदेखि उखेलिएको छ । यस्तो भयङ्कर घटनाले तिमीलाई कहाँ पुर्‍याएकाे होला, कस्तो भएको होला, म सोच्न पनि सक्दिनँ । तिमी झन् व्यथित भएकी छ्यौ । मेरी प्रियतमा, तिम्रो कलिलो उमेर र सीमित अनुभवका हिसाबले तिमीलाई झन् ठूलो आघात परेको छ । यस्तो बेलामा म तिमीलाई मृत्युउन्मुख पिताजीको आखिरी सन्देश सम्झाउन चाहन्छु । पिताजी भन्नुहुन्थ्यो– ‘दुःख गर्न सिक, दुःखले नै मनुष्यलाई महान बनाउँछ ।’

यस सन्देशको सम्झनाले मलाई ठूलो शक्ति दिन्छ । तिमीलाई पनि पक्कै दिन्छ होला । वेदना मानवताको नियति हो । म सुस्तरी जीवनको यस उदात्त सत्यलाई साक्षात्कार गरिरहेको छु ।

तिमी सोधौली, के त्यसो भए दुःखको अन्त्य नै छैन त ? छैन प्रिय, मेरो विचारमा जीवन अन्त्यहीन वेदनाको शृंखला हो । वेदनाको अग्नि परीक्षामा सहर्ष उत्तीर्ण हुनसक्ने जीवनमात्र सार्थक हो । देह र मनको सुखबाट अज्ञानीहरू मात्र गदगद हुन्छन् । यस्तो सुख हाम्रा निमित्त छैन । तिमीले यस बारेमा राम्ररी सोच्नू । मैले एउटा बाटो पक्रिसकेको छु । त्यो बाटो कष्टतीर्ण छ । त्यस बाटोमा रगत, पसिना र विश्रान्तिबाहेक केही छैन । म तिमीलाई सहधर्मिणीका रूपमा यही मार्ग दिन सक्छु । यस्तो बाटोमा तिमी मलाई साथ दिन सक्छ्यौ त ?

म तिम्रो सान्निध्यका निमित्त व्याकुल छु । म यहाँबाट निस्किन सक्दिनँ । म पटना छाड्न निषेधित छु, तर तिमीलाई त त्यस्तो निषेध छैन होला । छैन भने तिमी यहाँ किन नआएको ? तिमी आइसक्नुपर्ने होइन र ? म सधैँ तिम्रो बाटो हेरिरहन्छु । घरसामु अडिने प्रत्येक गाडाबाट तिमी ओर्लन्छौ कि भन्ने आशा गर्छु । म हरेकपल्ट निराश हुन्छु । तर फेरि पनि आशा मर्दैन ।

यता, रामबाबु मलाई भेट्न आउनु भएको थियो । उहाँले मलाई देखाउनु भएको मायाले म विह्वल भएँ । उहाँ तीन दिन बस्नुभयो । म उहाँलाई खुबै मन पराउन थालेको छु । त्यसअघि नै गिरिजा आइसकेका थिए । मनमोहन, दीर्घराज र कृष्णमोहन पनि भेट्न आए । तर विराटनगरबाट कोही पनि आएका छैनन् । अफसोस ! हो, विराटनगरबाट सहानुभूतिका पत्र अवश्य आएका छन् ।

तर त्यहाँका कसैलाई पनि मेरो चिन्ता छैन जस्तो छ वा उनीहरूसँग समय छैन कि ? तर यसको अर्काे पाटो पनि छ । त्यहाँको अवस्था विकट होला । मलाई आमाको चिन्ता लागिराखेको छ । यस्तो विकट अवस्थामा उहाँ कसरी रहनुभएको होला । दुःख खप्ने क्षमता उहाँमा प्रशस्त छ । तर त्यसको पनि कुनै सीमा होला । आमालाई सम्झिँदा मेरो मनमा ग्लानि उत्पन्न हुन्छ । उहाँको सन्दर्भमा मेरा ठूल्ठूला आदर्शवादी गफहरू अनुचित छन् जस्तो लाग्छ ।

म उहाँलाई माया गर्छु, यो कुरा सम्झाउनू । उहाँका छोराहरूमध्ये म एक जनाले कमसेकम उहाँलाई राम्ररी चिनेको छु, बुझेको छु । त्यसैले म उहाँलाई साँचो अर्थमा माया गर्छु । यो भनिदिनू । आफ्ना अत्यन्त अप्ठेरा दिनमा पनि आमाले मलाई कहिल्यै बिर्सिनु भएन, यो म जान्दछु ।

अब अहिले जे भए पनि मेरो पीर गरिरहनु पर्दैन । आमाले आफूलाई जहाँसम्म हुन्छ, खुसी राख्नु पर्‍याे भन्ने मेरो भनाइ हो । आमाको खुसी मेरो छेउमा आफैँ पुग्नेछ । तर यसको साटो उहाँले आफूलाई दुःख दिनुभयो भने म सधैँ झन् दुःखी हुनेछु ।

मेरो स्वास्थ्य अझसम्म राम्रो भइसकेको छैन । जेलबाट छुटेपछि स्वास्थ्यलाभ गरौँला भन्ने लागेको थियो । घटनाक्रमले छल्यो । आमालाई यो कुरो नसुनाउनू । तिमीले पनि यस विषयमा पिरोलिरहने काम छैन ।

तिमीलाई माया गर्ने
विसु

नोट : एउटा कुरो भन्न झण्डै बिर्सिएको । देवेन्द्र पनि छुटिसके, तर उनलाई पनि मजस्तै आरा छोड्न नपाइने निषेधाज्ञा छ । हरेक १५ दिनमा आरा पुलिस थानामा हाजिरी हुनुपर्छ । अब छिटै नै उनले तिमीलाई पत्र लेख्लान् ।
मार्च १९४५

(प्रदीप गिरिको ‘विश्वेश्वरप्रसाद कोइराला : आधारभूत संकलन’ नामक पुस्तकबाट साभार) 

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  १२ : २० बजे

इम्बोस्ड नम्बर प्लेटबारे यसअघिको निर्णयबाट पछि हटयो सरकार, अब स्वैच्छिक मात्रै

काठमाडौं- इम्बोस्ड नम्बर प्लेट जडानका सम्बन्धमा यसअघिको निर्णयबाट सरकार पछाडी

मन्त्री पाण्डेले दिए पर्वतारोहण सङ्घका नवनिर्वाचित कार्यसमितिलाई बधाई

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल पर्वतारोहण

उखु किसानलाई अनुदान रकम निकासा, पर्सिसम्म किसानको खातामा रकम पुग्ने

काठमाण्डौं– सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदानबापतको रकम आज निकासा गरेको

हैजा फैलिएपछि वीरगञ्जका विद्यालय भदौ १३ सम्म बन्द

वीरगञ्ज- पर्साको वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरू भदौ १३ सम्म बन्द गरिने

ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा निर्विराेध निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसकी सांसद् ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन