तनहुँ – जिल्ला प्रशासन कार्यालय तनहुँले नागरिकता र राष्ट्रिय परिचयपत्रका लागि बिहान ७ बजेदेखि सेवा दिन सुरु गरेको छ । कार्यालयमा नयाँ नागरिकता र राष्ट्रिय परिचयपत्र दर्ताका लागि आउने सेवाग्राहीको चाप बढेपछि कार्यालयले शुक्रबारदेखि बिहान ७ देखि ५ बजेसम्म सेवा सुरु गरेको हो ।
बढ्दो गर्मीका कारण सेवाग्राहीलाई सास्ती भएकाले बिहानदेखि सेवा प्रवाह सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जानकारी दिए । उनले भने, “सेवा प्रवाहलाई व्यवस्थित गराउन बिहानदेखि सेवा प्रवाह थालिएको छ । अर्को सूचना प्रकाशित नभएसम्मका लागि ७ बजेदेखि सेवा सुरु हुनेछ ।”
कार्यालयमा नागरिकता र राष्ट्रिय परिचयपत्र विवरण दर्ताका लागि सेवाग्राहीको चाप बढ्दै गएको छ । कार्यालयले यसअघि दैनिक एक सय ५० को हाराहारीमा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्दै आएको छ ।
तनहुँमा १२ हजार राष्ट्रिय परिचयपत्र वितरण, ४६ हजार बाँकी
जिल्लामा १२ हजारभन्दा बढी राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लास्थित दश स्थानीय तहमा परिचयपत्र पठाएकामा सम्बन्धित स्थानीय तहबाट १२ हजार ५०७ जनालाई परिचयपत्र वितरण गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयबाट दुई सय ५८ परिचयपत्र वितरण भएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिनुभयो । प्रशासन कार्यालयमा आइपुगेका राष्ट्रिय परिचयपत्र चालु आर्थिक वर्षमा कार्यालयले सम्बन्धित पालिकामा पठाएको थियो ।
अधिकारीका अनुसार जिल्लाका पालिकामा ५९ हजार ५०० थान परिचयपत्र पठाइएको छ । अझै ४६ हजार ७३५ थान परिचयपत्र वितरण हुन बाँकी छ ।
अधिकारीले भने, “सम्बन्धित स्थानीय तहबाटै परिचयपत्र वितरण गर्दा सम्बन्धित व्यक्तिलाई सहज हुने भएपछि प्रशासन कार्यालयमा थन्किएर बसेका परिचयपत्र पालिकामा पठाएका हौँ । यसले गर्दा परिचयपत्र लिन सदरमुकामसम्म धाउनुपर्ने अवस्था रहेन ।”
उनका अनुसार चालु आर्थिक वर्षमा १५ हजार ७१२ जनाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दर्ता गरेका छन् । दिनमा १८० जनासम्मको आवेदन दर्ता गर्ने गरिएको छ । त्यसका लागि दुईवटा स्टेसन तोकिएको छ ।
प्रतिक्रिया