हिमाली गाउँमा जातीय विभेद र बालविवाह रोक्न धर्मगुरु परिचालन, टोलटोलमा जागरण अभियान | Khabarhub Khabarhub

हिमाली गाउँमा जातीय विभेद र बालविवाह रोक्न धर्मगुरु परिचालन, टोलटोलमा जागरण अभियान


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

धनगढी- विकासको लहरसँगै पछिल्लो समय दुर्गम गाउँमा पनि विद्यालय बने । बिजुली जल्यो । स्वास्थ्य उपचार सेवा सहज भयो । सडक पुगे । र, सञ्चार सुविधाले गाउँ जोडिए । तर, मानव चेतना स्तर अझै माथि उठ्न सकेको छैन । स्थानीय बासिन्दामा अझै पुरानै सोच र चिन्तन हाबी छ । सामाजिक अन्धविश्वासप्रतिको बुझाइमा अझै पनि जति प्रष्टता देखिँदैन । ती गाउँमा अझै चेतना स्तर अझै माथि उठ्न सकेको छैन ।

सुदूरपश्चिमका पहाडी जिल्लामा यस्तै अवस्था छ । सुदूरपश्चिमका सीमित शहर बजार बाहेक गाउँमा अझै बाल विवाह रोकिएको छैन । जातीय विभेद कायमै छ भने छोरा र छोरी, महिला र पुरुषबीच कायम असमानता सामाजिक प्रथाजस्तै जीवित छ ।

यो समस्याबाट हिमाली गाउँपालिका पनि मुक्त छैन । हिमाली गाउँपालिका बाजुराका नौ वटा स्थानीय तहमध्ये एक हो । भौगोलिक बनावट र पहुँचका आधारमा यो गाउँ जिल्लाकै सर्वाधिक विकट हो । विकास सुविधाले पनि यो गाउँ निकै पछाडि छ । भूगोलकै कारण अझै ७ मध्ये ३ वटा वडामा अझै सडक पुग्न सकेको छैन ।

एक गाउँबाट अर्को गाउँ पुग्नै दिनभर बित्दछ । यो गाउँको विडम्वना धेरै छ । हिमाली गाउँमा बालविवाह, जातीय विभेद, लैङ्गिक असमानताजस्ता कुसंस्कार र कुप्रथा अझै व्याप्त छ ।

यस्ता समस्या समाधानको उपायसहित यतिबेला हिमाली गाउँपालिका धर्मगुरुसहित सचेतना अभियानमा केन्द्रित भएको छ । गाउँ, टोल र विद्यालय केन्द्रित अभियान थालेको पालिका उपाध्यक्ष राजकला सार्कीले बताइन् । पालिकाभित्रका ७ वटा वडा मध्ये ४, ५ र ६ वडामा जातीय विभेद बढी भेटिन्छ । अन्य वडामा बाल विवाहको समस्या छ । त्यो रोक्नकै लागि अभियान शुरु गरिएको उपाध्यक्ष सार्कीले जानकारी दिइन् ।

उनी आफैँ दलित समुदायकी प्रतिनिधि हुन् । अरुको त के कुरा, जनप्रतिनिधि भएपनि यस्तो विभेदको समस्या उनले समेत भोग्दै आएकी छिन् । चुनाव प्रचार होस् या पालिकाको कामले नै किन नहोस्, वडाका बस्ती पुग्दा गाउँघरमा बास र खानको प्रबन्ध गर्न उनी आफैँलाई समस्या पर्छ । हिमाली गाउँमा ब्राह्मणहरुको बाक्लो बस्ती छ । समस्या पनि तीनै बस्तीमा धेरै छ । ”नयाँ पुस्तामा समस्या छैन”, सार्कीले भनिन् ”पुराना, अशिक्षित र बुबाबाजे पुस्तालाई मनाउनै गाह्रो देखिन्छ ।”

गाउँलेमा बालविवाह गर्ने, जातका आधारमा विभेद गर्ने कुमान्यता धर्ममै स्थापित छ भन्ने गलत सोच रहेको उनले बताइन् । त्यही सोचलाई चिर्न धर्मगुरुलाई साथमा लिएर अभियानमा लागेको उपाध्यक्ष सार्कीले बताइन् । अभियानका लागि पालिकाको न्यायिक समितिले बजेट छुट्याएको छ । उपाध्यक्ष सार्कीलाई ब्राम्हण समुदायका धर्मगुरुहरु हिरालाल कँडेल र नारायण पाध्यायले साथ दिएका छन् ।

कँडेल ५० वर्षदेखि धार्मिक प्रवचन र हिन्दू धर्म प्रचारमा सक्रिय छन् । पाध्याय हिमालीका स्थानीय बासिन्दा नै हुन् । उनी पनि महायज्ञ र महोत्सव केन्द्रित धार्मिक गतिविधिमा संलग्न छन् । ”धर्मगुरुले नै सम्झाउँदा, उनीहरुले नै दलित बस्तीमा पुगेर सँगै खाना खाँदा, बस्दा केही फरक सन्देश जाने र स्थानीय सचेत हुने विश्वासका साथ अभियान थालिएको हो, धेरै राम्रो भयो ।” सार्कीले भनिन् ।

गाउँपालिकाले धर्मगुरुलाई नै गाउँका टोलबस्ती र विद्यालयमा लगेर जातीय विभेद र बालविवाहविरुद्ध सचेतना अभियान सञ्चालन गरेको छ । जेठ २० शुरु भएको १० दिने अभियान २९ गतेसम्म सञ्चालन भएको थियो । यस अवधिमा ८ वटा माध्यमिक विद्यालय र ७ वटा वडा अनि दुई दर्जन बढी टोलमा कार्यक्रम गरिएको सार्कीले जानकारी दिइन् ।

दलित समुदायबाट पालिका उपाध्यक्ष भएकी राजकला सार्की र धर्मगुरुसँगै एकसाथ सचेतना अभियानमा हिँडेपछि गाउँलेहरु छक्क परे । पानी नचल्ने, भित्रभित्रै विभेद गरिराख्ने, महिनावारी नहुँदै कन्यादान गर्नुपर्छ भनेर बाल विवाह गराउने र कतिपय सामाजिक कुसंस्कार लुकाइराख्ने चलन हाबी भएपछि एक्सनमै जानु परेको उपाध्यक्ष सार्कीले बताइन् ।

”दलित प्रतिनिधीसँगै धर्म गुरुपनि सँगै आएको देख्दा गाउँलेहरु शुरुमा अचम्ममा परे‍, कानेखुसी पनि गरे, किन यस्तो गरेको होलान भनेर आपसमा कुराकानी पनि गरे, पछि विस्तारै यो केही पनि होइन रहेछ, यस्तो कुप्रथा मान्नु हुँदैन रहेछ भन्नेमा पुगे ।” कार्यक्रममा सहभागी धर्मगुरु नारायण पाध्यायले भने ।

बाजुरामा अझै २० प्रतिशतभन्दा धेरै बालविवाह हुने गरेको तथ्याङ्क छ । हिमाली नेपाल सरकारका सँस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री बद्रीप्रसाद पाण्डेको गृहपालिका पनि हो ।

तर पनि गाउँमा जातीय विभेदको जरा अझै मासिएको छैन । महिलामाथि हुने घरेलु हिंसा कायमै छ । छोरालाई र छोरीलाई गरिने व्यवाहारमा समानता कायम हुन सकेको छैन । समस्या सबैतिर भएपनि हिमालीमा अझ बढी छ । गाउँहरु दुर्गम छन् ।

पालिका अध्यक्ष गोविन्द्र बहादुर मल्लका अनुसार धेरै कुरामा गाउँलेहरु सचेत र जिम्मेवार भइसकेका छन् । पहिलोजस्तो छिछि र दुरदुरको अवस्था नभएको उनले सुनाए । यो अभियानले यदी त्यस्तो भएको अवस्थामा पनि पालिका जिम्मेवार छ भन्ने राम्रो सन्देश दिएको उनले बताए । बुढापाकाको पुस्तामा कतैकतै देखिएपनि नयाँ पुस्तामा जात व्यवस्थाको मान्यता नै नभएको प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीको दाबी छ ।

पालिकाले विद्यालयस्तरबाटै जागरण ल्याउन कक्षा ७ देखि १० सम्म पढ्ने विद्यार्थीलाई सचेतना दिएको हो । धर्मगुरुको टिमले रात, बिहान, दिउँसो हरेक बस्ती, वडा र स्कुलमा पुगेर सचेतनामूलक अभियान सञ्चालन गरेको छ । अभियानका क्रममा कम्तीमा एक हजारको संख्यामा विद्यार्थी र हजार बढीको संख्यामा स्थानीय जोडिएका छन् ।

शिक्षकहरुले पनि अभियानप्रति खुशी व्यक्त गरेका छन् । आफूहरुभन्दा धर्मगुरु नै आएर दिएको ज्ञान गाउँलेका लागि प्रेरणा हुने उनीहरुको विश्वास छ । अभियानबाट स्थानीय सर्वसाधारण समेत खुशी भएका छन् । ”धर्मले नै विभेद गरेको हो, सानै उमेरमा कन्यादान गर्नुपर्छ भन्ने मान्यता थियो, त्यो होइन रहेछ, मेरा आँखा खुले, अब म यस्तो सोच राख्दिनँ ।” स्थानीय प्रेमलाल पाण्डेले भने ।

उपाध्यक्ष सार्कीको अठोट अभियानलाई सफल पार्ने छ । अब कानून व्यवसायीदेखि समाजलाई सफल सन्देश दिने व्यक्तिलाई लिएर नयाँ अभियान सञ्चालन गर्ने सार्कीले बताइन् । ”घरको झगडा कम गराउनु छ । छोरा छोरीबीच समान व्यवहार गर्न लगाउनु छ । बाल विवाह पूर्ण रुपमा रोक्नुछ । मान्छेलाई मान्छेको व्यवाहार नै नगर्ने सोचमा परिवर्तन ल्याउनु छुु, सार्कीले थपिन् ।

जातीय विभेद र बाल विवाह जस्ता कुमान्यताले समाजमा अझै जरा गाडेको अवस्था रहेको अधिवक्ता हर्क खडायतले बताए । सामाजिक कुसँस्कारले नै सामाजिक सद्भाव र शान्ति अनि विकासमा अवरोध गरेको उनको भनाइ छ । ”कानूनी रुपमा अवैध भनिएका कुरा निरुत्साहन गर्नैपर्छ ।” अधिवक्ता खडायतले भने ।

”नेपालको इतिहासलाई फर्केर हेर्दा यति धेरै कान‍ून निर्माण गरिए पनि कार्यान्वयन हुन नसक्दा जातीय विभेद केही मात्रामा अहिले पनि कायमै रहेको छ । यो हाम्रो लागि दुःखको कुरा हो, अन्त्य हुनु पर्छ ।” खडायतले थपे ।

”धर्म र सँस्कृतिले जीवन र समाज बनाउने शैली, सँस्कार र सभ्यता दिन्छ, तर हाम्रो समाजमा अझै गलत प्रचार गरिएको पाइयो, धर्मले कोही कसैलाई विभेद गर्दैन, र गरिएको छैन ।” हिमालीको अभियानले राम्रो सन्देश गएको बताउँदै धर्मगुरु हिरालाल कँडेलले भने ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ६ : ४६ बजे

सुदूरपश्चिम बजेट : ३३ अर्ब ४७ करोड, कृषि र पूर्वाधारमा जोड 

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि

इजरायलमा बिहानै इरानको मिसाइल प्रहार : जेरुसेलम र तेल अभिभमा उद्धार टोली

जेरुसेलम – इजरायलमा इरानले बिहानै मिसाइल प्रहार गरेको छ। तेल

वीरगञ्ज भन्सारबाट ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को ११ महिनामा

सडक सञ्जालमा जोडियो ढोरपाटन

म्याग्दी- म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक (मार्ग) जोडिएको

सन्तानको हुटहुटीले ‘डिभोर्सी’ जोडीको पुनर्मिलन !

छुटिएको एक जोडी पति पत्नीको सम्बन्ध पुनः कायम होस् भनेर