बङ्गलादेशमा विद्युत् व्यापारबाट एक अर्ब २५ करोड आम्दानी हुन्छः ऊर्जामन्त्री खड्का « Khabarhub

बङ्गलादेशमा विद्युत् व्यापारबाट एक अर्ब २५ करोड आम्दानी हुन्छः ऊर्जामन्त्री खड्का


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बङ्गलादेशसँगको विद्युत् व्यापारबाट पाँच महिनामा रु एक अर्ब २५ करोड बराबर आम्दानी हुने बताएका छन् ।

यस वर्ष नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु भएको अवसरमा आज ऊर्जा मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री खड्काले नेपालबाट बङ्गलादेश दैनिक ४० मेगावाट विद्युत् निर्यात गरेर मासिक २५ करोड बराबर र पाँच महिनामा रु एक अर्ब २५ करोड बराबर आम्दानी हुने बताएका हुन् ।

नेपाल विद्युत् प्राधिकरणले गएराति १२ बजेदेखि भारतीय प्रसारण लाइन हुँदै ४० मेगावाट विद्युत् बङ्गलादेश विद्युत् निर्यात गरेको थियो । गत वर्ष कात्तिक ३० (नोभेम्बर १५) मा पहिलोपटक ११ घण्टा ३० मिनेटका लागि भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेश विद्युत् निर्यात गरेको प्राधिकरणले यस वर्ष गएराति १२ बजेदेखि पुनः ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको हो ।

गत वर्षको असोज १७ गते नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटिपिसी विद्युत् व्यापार निगम लिमिटेड भारतबीच विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर भएसँगै अघिल्लो ‘सिजन’को अन्तिम दिन अर्थात् कात्तिक ३० गते दिउँसो १२ बजेदेखि राति १२ बजेसम्म विद्युत् निर्यात भएको थियो ।

ऊर्जामन्त्री खड्काले वर्षायाममा नेपाललाई बढी भएको विद्युत् छिमेकी मुलुक भारतसँगै बङ्गलादेशमा निर्यात गर्दा नेपालको समृद्धिमा सहयोग पुगेको बताए । गत वर्षदेखि नेपालले विद्युत् आयातभन्दा निर्यात धेरै गर्दै आएको मन्त्री खड्काको भनाइ थियो ।

उनले मुलुकको दिगो आर्थिक विकासका लागि ऊर्जा क्षेत्र भरपर्दो माध्यम भएकाले यस क्षेत्रमा सरकारले अझ बढी ध्यान दिएर काम गर्दै आएको बताए । “सरकारले आन्तरिक विद्युत् खपतलाई भरपर्दो र सुरक्षित बनाउने गरी काम गरिरहेको छ,” मन्त्री खड्काले भने ।

उनले विद्युत् क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेर साना आयोजनाका साथसाथै बूढीगण्डकी, अपर अरुणलगायतका ठूला आयोजनालाई अगाडि बढाउन लागिरहेको उल्लेख गरे । विद्युत् व्यापारले नेपालको समृद्धिको आधारलाई झन् बलियो बनाउँदै लगेको मन्त्री खड्काको भनाइ थियो ।

ऊर्जामन्त्री खड्काले जलविद्युत् क्षेत्रमार्फत गरिब तथा विपन्न नागरिकलाई सम्पन्न बनाउनका लागि सरकारले बिनाधितो रु दुई लाखदेखि पाँच लाखसम्मको शेयर प्रदान गर्न लागिरहेको बताए । नेपालले हरेक वर्ष पाँच महिना बर्सातको समयमा बढी भएको बिजुली छिमेकी मुलुक भारतलाई निर्यात गर्दै आएको छ ।

आजदेखि बङ्गलादेश निर्यात सुरु गरिएको विद्युत् आगामी नोभेम्बर १५ सम्म निर्यात हुनेछ । पाँच महिनामा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत् निर्यात हुनेछ । उक्त विद्युत् नेपालको ४०० केभी ढल्केबर सबस्टेसनबाट भारतको मुजफरपुर, बेहरामपुर हुँदै बङ्गलादेशको भेरमारा सबस्टेसनसम्म पुग्नेछ ।

पत्रकार सम्मेलनमा ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले नेपाल भारत र बङ्गलादेशबीच भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालबाट बङ्गलादेश विद्युत् निर्यात गरिएको बताए । उनले आगामी दिनमा बढीभन्दा बढी विद्युत् बङ्गलादेश निर्यात गर्नका लागि छलफल भइरहेको स्पष्ट पारे ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अब नेपाल ऊर्जा व्यापारको युगमा प्रवेश गरेको भन्दै भारत र बङ्गलादेशमा बिजुली निर्यात गरी अर्बौं आम्दानी हुने बताए ।

“अहिले लोडसेडिङ छैन र हुँदैन पनि, उत्पादित बिजुली बढी भएरै बिक्री सुरु गरिएको छ, ट्रिपिङको समस्या कहिलेकाहीँ देखिएर झ्याप झ्याप बत्ती जाने गरे पनि यसलाई हटाउँदै लगिएको छ,” उनले भने ।

त्यस्तै, नेपालले जुन १ देखि हरियाणा राज्यमा १८५ मेगावाट विद्युत् निर्यात गर्दै आएकामा आइतबार अर्थात् जुन १५ बाट बढाएर २०० मेगावाट बिक्री गरेको छ । त्यस्तै विहारमा पनि ८० मेगावाट विद्युत् आइतबारदेखि निर्यात हुन सुरु भएको छ ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ८ : ३० बजे

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चकाे आदेश

काठमाडौं- सर्वोच्च अदालतले बीएन्डसी मेडिकल कलेजका मालिक एवम् हिन्दु धर्म

पोखरा विमानस्थलमा भ्रष्टाचार विवाद : पूर्वसचिव सुशील घिमिरेसँग मागियो डेढ लाख रुपैयाँ धरौटी

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा लागत अस्वाभाविक रूपमा बढाएर नेपाल

कम्बोडियासँग सीमा पार गोली हानाहान : थाइ सेना

एजेन्सी– छिमेकीराष्ट्र कम्बोडियाले डिसेम्बरको युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै मंगलबार कम्बोडियन

दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीका १२ भन्दा बढी नेताहरूले दिए राजीनामा

दाङ– दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र असन्तुष्टि बढिरहँदा नेता-कार्यकर्ताले

शेरधनको प्रतिबद्धता : कृषि, पर्यटन, पूर्वाधार विकास, बाँदर नियन्त्रण र गाँजा खेतीलाई वैधानिकतासम्म

भोजपुर- नेकपा एमालेबाट भोजपुरमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार शेरधन राईले