त्रिपोली – लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक सातामा एक जोडी जहाज दुर्घटना हुँदा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको अनुमान गरिएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)ले जनाएको छ ।
गत जुन १२ मा त्रिपोलीमा रहेको लिबियाको बन्दरगाह नजिकै पहिलो डुङ्गा दुर्घटना हुँदा महिला र बालबालिकासहित २१ जना बेपत्ता भएको र जीवित रहेका पाँच जना मात्र फेला परेको आइओएमले मङ्गलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
समुद्रमा डुबेर मृत्यु हुनेमा इरिट्रिया, पाकिस्तान, इजिप्ट र सुडानका नागरिक रहेका छन् ।संयुक्त राष्ट्रसङ्घीय निकायका अनुसार दोस्रो दुर्घटना बन्दरगाह शहर तोब्रुकबाट करिब ३५ किलोमिटर टाढा भएको थियो, जहाँ कम्तीमा ३९ जनाको समुद्रमा डुबेर मृत्यु भएको थियो ।
मध्यपूर्व र उत्तर अफ्रिकाका लागि आईओएमका क्षेत्रीय निर्देशक ओथमान बेलबेसीले भने, “दर्जनौंको मृत्युको पीडामा रहेको अवस्थामा आईओएमले फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायलाई खोजी र उद्धार कार्यबढाउन र बाँचेकाहरूलाई सुरक्षित र पूर्वानुमानयोग्य अवतरणको प्रत्याभूति दिन आग्रह गरेको छ।”
विज्ञप्तिमा भनिएको छ, “भूमध्यसागर पार गरेर युरोप जाने क्रममा यस वर्ष अहिलेसम्म कम्तीमा ७४३ जनाको मृत्यु भएको छ । यो घातक मार्गमा बढ्दो खतरनाक मानव तस्करी अभ्यास, सीमित उद्धार क्षमता र मानवीय परिचालनमा बढ्दो प्रतिबन्धले बढ्दो समस्यालाई उजागर गरेको छ।
शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तका अनुसार जुन १५ सम्ममा इटालियाली तटमा आप्रवासीको अवतरण वर्षेनी १५ प्रतिशतले बढेको छ।
प्रतिक्रिया