मदन भण्डारी फाउण्डेशन एमालेमा गुट निर्माणको ‘प्लेटफर्म’ | Khabarhub Khabarhub

मदन भण्डारी फाउण्डेशन एमालेमा गुट निर्माणको ‘प्लेटफर्म’


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 6 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जननेता मदन भण्डारीका विचारको व्याख्या गर्ने माध्यमका रूपमा स्थापित ‘मदन भण्डारी फाउण्डेशन’ ‘पोलिटिकल थिङ्क ट्याङ्क’का रुपमा विकास गर्ने उद्देश्य लिइएको थियो ।

मदन भण्डारीको बहुआयामिक व्यक्तित्वबाट प्रेरणा र मार्गदर्शन लिँदै, उनका विचार र मूल्यमान्यताको अध्ययन, अनुसन्धान र थप विकास गर्ने फाउण्डेशनको मिसन थियो । फाउन्डेसनको लक्ष्य शिक्षा, जनस्वास्थ्य, उद्यमशीलता, खेलकुद, साहित्य, मानव अधिकार, शान्ति र न्यायको प्रवर्द्धनका साथै सामाजिक कल्याणका माध्यमबाट नेपाली समाजको प्रगतिलाई अगाडि बढाउन योगदान पुर्‍याउने रहिआएको छ ।

यद्यपि फाउण्डेशन राजनीतिक नेतृत्व विकास गर्ने र कार्यकर्तालाई एकीकृत गर्ने एउटा प्लेटफर्मका रुपमा विकास गरिएको देखिन्छ ।

मूलतः नेकपा (एमाले)को ०५९ माघ १८ देखि २२ गतेसम्म जनकपुरमा भएको सातौँ महाधिवेशनपछि फाउण्डेशन सङ्गठन सुदृढीकरण (गुट निर्माण) को दिशामा सक्रिय बन्यो ।

एमालेमा माधवकुमार नेपाल र झलनाथ खनालको गुटले राजनीतिमा टाउको उठाउन नदिँदा अहिलेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले फाउण्डेशनलाई आफूलाई बलियो बनाउने प्लेटफर्मका रुपमा प्रयोग गरे ।

कुनै दलसँग आबद्ध नरहेको भनिए पनि यो फाउन्डेसनमा एमाले बाहिरका कोही पनि सदस्य छैनन् । सन् १९९९ अर्थात् वि.सं. २०५६ सालमा स्थापना भएको गैरनाफामुखी एनजीओ शनिबार पुनः एमालेभित्रको सम्भवतः गुट निर्माणको साक्षी बन्यो ।

शनिबार मदन भण्डारी फाउण्डेशनकै आयोजनामा काठमाडौंको राष्ट्रिय सभागृहमा भएको ‘जबजको तीन दशक राष्ट्रिय गोष्ठी’ मा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले फेरि एमालेबाटै राजनीति गर्ने उद्घोष गरिन् । काठमाडौंमा भएको नवौँ महाधिवेशनमा केपी शर्मा ‌ओलीकै गुटबाट उपाध्यक्ष बनेकी उनी त्यसपछि दुई कार्यकाल राष्ट्रपति भएकी थिइन् ।

‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु’, भण्डारीले भनिन्, ‘अब म एमाले परिवारको एक सदस्यका रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु ।’

गुटको पक्षपोषण

शनिबार मात्रै आजपर्यतन्त एकै गुट चलाएमा ओली र भण्डारी एमालेको राजनीतिमा भोलिका दिनमा प्रतिस्पर्धी हुने अवस्था देखिएको छ। त्यो कुराको घोषणा पनि पूर्वराष्ट्रपति भण्डारीले ओलीसमेत उपस्थित कार्यक्रममै गरिन् ।

आमाले एमालेको राजनीति अर्थात् नेतृ्त्वमा आउने घोषणा गरिहँदा उनकै पुत्री अर्थात् मदन भण्डारी फाउण्डेशनकी अध्यक्ष उषाकिरणले अब सम्हालिएर अघि बढ्ने बताइन् ।

‘हामी टुक्रिएका थियौँ, छरिएका थियौँ। तिनै विक्षिप्तताहरूबाट सम्हालिएर मदन भण्डारीका विचार, सिद्धान्त र सपनाहरूलाई पूरा गर्न ‘मदन भण्डारी फाउन्डेशन’को स्थापना गर्‍यौँ’, उनले भनिन्, ‘फाउण्डेशनलाई प्राज्ञिक अनुसन्धानका साथै मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’को ‘ब्लु प्रिन्ट’बारे चर्चा, परिचर्चा, अध्ययन अनुसन्धान गर्दै समाजमा स्थापित गर्ने फोरमका रुपमा प्रयोग गरिनेछ।’

उनले फाउन्डेशन र यसले गर्ने कार्यहरूलाई ‘कन्स्पिरेसी थ्योरी’का रुपमा प्रचार गर्न आवश्यक नरहेको पनि उल्लेख गरिन् । मदन भण्डारीको ७४औँ जन्म जयन्तीका अवसरमा फाउन्डेशनले गरेको कार्यक्रममा मदन-विद्या पुत्री उषाको यो अभिव्क्ति आउँदै गर्दा बेला बेलामा केपी शर्मा ओली र उनका अनुयायीले फाउन्डेशनले अनावश्य सक्रियता देखाइरहेकोमा असन्तुष्टि पोख्ने गरेका छन् ।

अझ शनिबार पूर्वराष्ट्रपतिको यो घोषणाले फाउन्डेशनलाई गुटको मलजल गरेको आरोप लाग्ने निश्चित छ । फाउन्डेशनले काठमाडौंमा यो कार्यक्रम गरिरहँदा पूर्वराष्ट्रपतिलाई पार्टीमा ल्याउन अनिच्छा देखाइरहेका महासचिव शंकर पोखरेल भने पोखरामा थिए । महासचिव पोखरेल देशको सर्वोच्च पदमा पुगेकाहरूले फेरि राजनीतिमा आउने कुरा उचित नहुने तर्क गरिरहेका छन् ।

फाउन्डेशनकै फोरमबाट पूर्वराष्ट्रपतिले राजनीतिमा आउने घोषणा गरिरहँदा एमालेमा नवौँ र दशौँ माहाधिवेशनयता चलिरहेको ओली र उनीनिकटको बर्चस्वमाथि प्रश्न भने उठेको छ । यद्यपि ओली र भण्डारीलाई एकै गुटका मान्नेहरूको पनि कमी छैन । यस्तोमा भण्डारीको घोषणापछि आगामी ११ औँ महाधिवेशनमा ओलीले नेतृत्व हस्तान्तरण गर्न सक्ने चर्चा छ ।

पूर्वराष्ट्रपतिको सक्रियता

पूर्वराष्ट्रपति भण्डारीले एमालेको सदस्यता नवीकरण नगरुञ्जेल आफूलाई उही मदन भण्डारी फाउन्डेशनमार्फत् सक्रिय गराइन् । उनी देशका विभिन्न जिल्ला र क्षेत्रमा पुग्दा फाउन्डेशनलाई उपयोग गरिन् । औपचारिक कार्यक्रमदेखि अनौपचारिक छलफलसमेत यही फाउन्डेशनको फोरममार्फत् गरियो ।

एमालेको राजनीतिमा फर्किने उत्कट इच्छा बोकेकी उनका लागि एमाले कार्यकर्ता र सर्वसाधारणसँग संवादका लागि यो फोरम उपयोगी पनि भएको थियो ।

उनले राष्ट्रपतिबाट बिदा भएपछि आयोजित फाउन्डेशनको कार्यक्रमलाई नै सम्बोधन गरेर यसले नेपाली राजनीतिमा वैचारिक योगदान पुर्‍याएको भन्दै प्रशंसा गरेकी थिइन् ।

‘मदन भण्डारी फाउण्डेसन स्थापना भएदेखि सक्रिय रुपमा चलिरहेको छ । यसले सीमित स्रोत साधन र प्रतिकुल अवस्थामा पनि वैचारिक योगदान गरेको छ’, उनले २०८१ असोजमा भनेकी थिइन्, ‘राष्ट्रिय जीवनका महत्वपूर्ण क्षेत्रमा वैचारिक कार्य गरिरहेको छ । महत्वपूर्ण क्षेत्र शिक्षा, स्वास्थ्यमा बढी योगदान गरेको छ । कला साहित्यको सबै क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको छ ।’

उनी राष्ट्रपतिबाट बिदा हुनुअघि नै मदन भण्डारी फाउन्डेशनलाई २०७७ देखि नै जिल्ला हुँदै पालिका र वडासम्म विस्तार गरिएको थियो । भण्डारी २०७९ मा राष्ट्रपतिबाट बिदा भएपछि यही फाउन्डेशनको भरमा जिल्ला दौडाहामा निस्किएकी थिइन् ।

शनिबार एमालेको राजनीतिमा फर्किने घोषणा गरेकी भण्डारीका लागि फाउन्डेशनले आगामी वर्षभरि नै कार्यक्रम राख्ने भएको छ। मदन भण्डारीको ७५ औं जन्मजयन्ती मनाएपछि फाउन्डेसलने आगामी वर्षभर कार्यक्रम तयारी गरिरहेको छ । फाउन्डेसनले कार्यक्रमको खाका पनि निर्माण गरिरहेको छ ।  

आगामी वर्ष मदन भण्डारी जन्मिएको भएको ७५ वर्ष पुग्ने भएपछि फाउन्डेशनले देशव्यापी कार्यक्रम गर्न लागेको हो । आगामी वर्षलाई हीरक जन्मजयन्तीका रूपमा मनाउने तयारी गरिएको छ।  

सहकार्य र टुटफुटको कथा

उक्त गोष्ठीलाई सम्बोधन गर्दै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले २०५४ सालमा पार्टी विभाजन भएको प्रसङ्ग कोट्याए । तत्कालीन एमाले नेता वामदेव गौतम, सीपी मैनाली, सहाना प्रधानसहितले महाकाली सन्धिको विरोध गरेर नेकपा (माले) गठन गरे । झापा आन्दोलनताका चिनजान भएका ओली र हाल एकीकृत समाजवादीका अध्यक्ष रहेका माधवकुमार नेपाल नेपालबीच ४९ वर्षको सहकार्य रह्यो ।

नेकपा एमालेको नवौँ महाधिवेशनसम्म आइपुग्दा ओली–नेपाल स्पष्ट कित्ताकाट भयो । सातौँ अधिवेशनदेखि नै ओलीलाई पार्टीमा पेल्न थालेका माधव नेपाल देखावटी रुपमामात्रै एउटै प्यानलमा थिए । जनकपुरमा भएको सातौं महाधिवेशनमा महासचिव नेपालले आफूले प्रस्तुत गरेको ‘राजनीतिक संगठनात्मक प्रतिवेदन’ मात्रै पास गराए । केपी शर्मा ओलीको ‘पार्टी जीवनको प्रजातान्त्रीकरणसम्बन्धी धारणा र विधानहरू संशोधन मस्यौदा प्रस्ताव’ लगायत चार दस्तावेज स्थगित गराए ।

२०५४ सालदेखि एमाले महासचिव बनेका माधव नेपाल २०६५ सालसम्म नेतृत्वमा बसे । २०६५ मा बुटवलमा भएको आठौँ महाधिवेशनमा ओली झलनाथ खनालसँग पराजित भए । २०७१ सालको नवौँ महाधिवेशनमा ओली एमालेको नेतृत्वमा पुगे त्यो नि नेपाललाई हराउँदै । पार्टी राजनीतिमा झण्डै २० वर्ष माधव नेपाल र झलनाथ खनालले ओलीलाई नेतृत्वका रुपमा विकास हुन नदिएको आरोप अहिले पनि लागिरहन्छ ।

‘जनताको बहुदलीय जनवाद, राष्ट्र निर्माणको आधार’ भन्ने मूल नारासहित एमालेका अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री ओलीले फाउण्डेशनको राष्ट्रिय सम्मेलन उद्घाटन गरेका थिए । फाउण्डेशनले एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ‘जबज’ को विचारलाई प्रवर्द्ध गर्छ भने एमालेले यही सिद्धान्तलाई मार्गनिर्देशक सिद्धान्तका रुपमा अघि सार्दै आएको छ ।

मदन भण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलन पनि प्रधानमन्त्री ओलीले नै समुद्घाटन गरेका थिए । त्यहाँ उनको स्पष्ट सन्देश थियो – एमालेको लक्ष्य आगामी निर्वाचनमार्फत् निर्णायक राष्ट्रिय शक्ति बन्ने हो । उनले विरोधीहरूको झुट्टा आरोपको खण्डन गर्न कार्यकर्तामाझ आह्वान गरेका थिए । फाउण्डेशनका प्रत्येक कार्यक्रम र सम्मेलन एमालेले प्रयोग गर्दै आएको छ ।

यहीबीचमा एमाले अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीले पार्टीमा गुट निर्माण गर्न मदन भण्डारी फाउण्डेशनलाई प्रयोग गरेका थिए । अब एमालेमा ओलीको प्रतिस्पर्धीका रुपमा विद्या भण्डारीको आगमन हुँदैछ । यसको स्पष्ट सङ्केत शनिबार राष्ट्रिय सभा गृहको हलमा देखिएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले आफू एमालेको राजनीतिमा फर्किरहेको घोषणा गर्दा पार्टी कार्यकर्तामा ठूलो उत्साह देखियो । उनीहरूले शनिबार राष्ट्रिय सभागृहको हल गडगडाहट तालीले गुञ्जायमान बनाए । र, नारा लगाए– जनताको बहुदलीय जनवाद जिन्दावाद ! यसअघि सामाजिक सञ्जालमा समेत ‘मदनको विचार, विद्याको नेतृत्व’ भन्ने ह्विम भाइरल बनाइयो ।

पाँचौँदेखि दशौँसम्म पुग्दाका अन्तरविरोध

२०४९ माघ १४ देखि २० गतेसम्म काठमाडौंमा नेकपा एमालेले पाँचौं राष्ट्रिय महाधिवेशन गर्‍यो । त्यस महाधिवेशनमा मदन भण्डारीद्वारा प्रतिपादित ‘नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद (जबज)’ पारित भयो । मनमोहन अधिकारी र मदन भण्डारीले क्रमशः अध्यक्ष र महासचिवमा निरन्तरता पाए ।

०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा भण्डारी र अर्का नेता जीवराज आश्रितको निधन भएपछि माधव नेपाल महासचिव भए ।

२०५१–५२ सालमा मनमोहन अधिकारी नेतृत्वमा बनेको ९ महिने सरकारमा ओली गृहमन्त्री र नेपाल रक्षामन्त्री थिए ।

यी दुवै नेता जबजलाई मान्ने र महाकाली सन्धिका समर्थक हुन् । एमाले विभाजनका बेला ओली र नेपाल मिलेर सीपी मैनाली, राधाकृष्ण मैनालीलगायत नेतालाई पार्टीबाट लखेटेको चर्चा अहिले पनि हुने गरेको छ । त्यसबेला ओली र नेपालबीच नङ र मासुजस्तो सम्बन्ध थियो ।

एमालेको पाँचौँ महाधिवेशनमा मदन भण्डारीले प्रस्तुत गरेको जनताको बहुदलीय जनवादमाथि सीपी मैनाली र झलनाथ खनालले प्रश्न उठाए । खनालले जबजलाई ‘दक्ष प्रजापतिको टाउको’ भनेका थिए भने मैनालीले ‘परिमार्जित नौलो जनवाद’ भनेका थिए ।

पाँचौ अधिवेशनमा मदन भण्डारीसहित केपी ओली, माधव नेपाल र वामदेव गौतम एउटै लाइनमा उभिए । सीपी मैनालीको लाइन पराजित भयो, झलनाथ खनाल पनि मदनकै लाइनमा उभिए ।

०५४ माघ १२ देखि १८ गतेसम्म नेपालगञ्जमा भएको एमालेको छैटौँ महाधिवेशनमा अध्यक्ष मनमोहन अधिकारी र महासचिव माधव नेपाल भए । पार्टीमा महाकाली सन्धिलगायत विषयमा स्पष्ट दुई धार देखियो । यो अधिवेशनले पार्टी विभाजन रोक्न सकेन ।

०५९ माघ १८ देखि २२ गतेसम्म जनकपुरमा सातौँ महाधिवेशन भयो । महाधिवेशनमा महासचिव नेपालको ‘राजनीतिक संगठनात्मक प्रतिवेदन’ र केपी शर्मा ओलीको ‘पार्टी जीवनको प्रजातान्त्रीकरणसम्बन्धी धारणा र विधानहरू संशोधन मस्यौदा प्रस्ताव’ लगायत चार दस्तावेज प्रस्तुत भए । तर महासचिव नेपालबाहेकका अन्य दस्तावेज स्थगित भए । ‘प्रजातन्त्र शान्ति र समग्र विकास, प्रतिगमनको विरुद्धमा अग्रगामी निकास’ भन्ने नारासहित महाधिवेशन गरिएको थियो ।

एमालेले ०६५ फागुन ५–१४ मा बुटवलमा आठौं महाधिवेशन गर्‍यो । पार्टीलाई बहुपदीय प्रणालीमा लगियो । महाधिवेशनमा अध्यक्षका लागि झलनाथ खनाल र केपी शर्मा ओली प्रतिस्पर्धी थिए । खनालले ९१३ मत पाउँदा ओलीले ७९६ मत मात्रै पाए । यसरी एमालेको पहिलो कार्यकारी अध्यक्ष झलनाथ खनाल बने ।

यो लाइनमा वामदेव गौतम, घनश्याम भुसाल, योगेश भट्टराई, रामकुमारी झाँक्री, प्रकाश ज्वाला उभिए । तत्कालीन अवस्थामा यिनीहरु जबज विरोधीका रुपमा चिनिएका थिए । यो महाधिवेशनमा माधव नेपाल अध्यक्षका उम्मेदवार केपी ओलीसँग थिए । त्यसताका ओली–माधव गठबन्धन पराजित भएको थियो ।

२०७१ असार १९ देखि साउन १ सम्म काठमाडौंमा नवौं महाधिवेशन आयोजना भयो । नवौं महाधिवेशनमा केपी ओली अध्यक्षका रुपमा निर्वाचित भए । आठौं महाधिवेशनमा झलनाथको पक्षमा रहेका वामदेव गौतम ओली कित्तामा आए । आठौं महाधिवेशनमा युवाहरूको टिम भनिएको समूहले माधव नेपाललाई सघायो । तर झिनो मतान्तरले माधव नेपाल अध्यक्षमा पराजित भए । नवौं महाधिवेशनपछि माधव नेपाल एमालेमा किनारा लाग्दै गए ।

आठौं महाधिवेशनमा युवा टिम भनेर चिनिएको समूह नवौं अधिवेशनपछि माधव नेपाललाई धोका दिएको भन्दै आलोचित भयो । मध्यमार्गी धारका रुपमा चिनिएको समूह तितरवितर भएको छ । ओलीसँग फाटो हुँदा घनश्याम भुसाल, रामकुमारी झाँक्री, प्रकाश ज्वालालगायत माधव नेपालसँग गए ।

दशौं महाधिवेशनअघि नेकपा एमाले विभाजित भयो । नवौं महाधिवेशनका प्रतिस्पर्धी माधव नेपालको नेतृत्वमा २०७८ साल भदौ २ गते नेकपा एकीकृत समाजवादी गठन भयो । ओली–नेपाल ४९ वर्षे सहयात्रा टुङ्गिँदै फरक पार्टी नेकपा एकीकृत समाजवादी अस्तित्वमा आयो ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ८ : ०३ बजे

प्रहरीमा कार्यालय सहयोगी, जवान र हवल्दारलाई आधारभूत तहका कर्मचारी भन्नुपर्ने

काठमाडौं- गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी सम्बन्धी कानूनलाई संसदको चालू

प्रभु साहले संसद्‍मै च्याते निजामती सेवा विधेयक, पारित भए देशमा आगो बाल्ने चेतावनी

काठमाडौं- आम जनता पार्टीका अध्यक्ष प्रभु साहले संघीय निजामती सेवा

लुम्बिनीमा ७२ हजार ५२० हेक्टरमा धान रोपाइँ

लुम्बिनी– लुम्बिनी प्रदेशमा यस वर्ष ७२ हजार हेक्टरभन्दा बढी क्षेत्रमा धान

वर्षाका कारण दुम्कीबासमा वैकल्पिक सडक अवरुद्ध

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कीबासस्थित विनयी खोलाको अस्थायी डाइभर्सनको

कोशी प्रदेश सरकारले ‘किसान पहिलो’ अभियान सञ्चालन गर्ने

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले ‘किसान पहिलो’भन्ने