ढाका– बङ्गलादेशमा जुन महिनामा डेङ्गुका मामिला उल्लेखनीय रूपमा बढ्दा यस वर्ष अहिलेसम्म १० हजारभन्दा बढी सङ्क्रमित हुनुका साथै ४२ जनाको मृत्यु भएको जनाइएको छ । मे महिनामा एक हजार सात सय ७३ मानिस भाइरल रोगबाट सङ्क्रमित भएपछि जुनसम्म पाँच हजार नौ सय ५१ थप डेङ्गुका घटनाहरू रेकर्ड गरिएको छ ।
स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस) ले सोमबार सार्वजनिक गरेको तथ्यांकले यस वर्ष अहिलेसम्म डेङ्गुका सङ्क्रमितको सङ्ख्या १० हजार दुई सय ९६ पुगेको देखाएको छ ।
सोमबार स्थानीय समयअनुसार ८ः०० बजेसम्म २४ घण्टामा राजधानी ढाकामा ८७ सहित कुल चार सय २९ नयाँ डेङ्गुका घटना रिपोर्ट गरिएको डिजिएचएसको तथ्यांकले देखाएको छ । जुनमा १९, मेमा तीन, अप्रिलमा सात, फेब्रुअरीमा तीन र जनवरीमा १० जनाको मृत्यु भएको डिजिएचएसले जनाएको छ ।
यस वर्ष जनवरी १ देखि जुन ३० सम्म देशभरका विभिन्न अस्पतालबाट उपचारपछि नौ हजार ८७ जना डेङ्गुका बिरामी घर फर्केका छन् । जुन–सेप्टेम्बर मनसुन अवधि बङ्गलादेशमा डेङ्गु ज्वरोको मौसम हो । बङ्गलादेशे लामखुट्टेबाट हुने रोगहरूको उच्च जोखिममा रहेको राष्ट्र हो ।
प्रतिक्रिया