एक वर्षमै चार लाखभन्दा बढी सिप्लिकानका बिरुवा बिक्री | Khabarhub Khabarhub

एक वर्षमै चार लाखभन्दा बढी सिप्लिकानका बिरुवा बिक्री


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

गण्डकी– तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित एक्ले खेतमा कृषि फार्मका सञ्चालक कविराज खनालले यस वर्ष मात्रै चार लाख ५० हजार रुपैयाँको सिप्लिकानका बिरुवा बेचेका छन् ।

विशेषगरी पहाडी क्षेत्रमा पाइने बहुऔषधीय गुणयुक्त यो वनस्पति देशका अधिकांश स्थानबाट हराउँदै गएको छ, तर खनालले भने विगत पाँच वर्षयता यसको व्यावसायिक खेती गरी आम्दानी गरिरहेका छन् । 

परापूर्वकालदेखि नै च्यवन, गर्गजस्ता ऋषिमुनिहरूले यस वनस्पतिलाई शरीरको शुद्धीकरणसँगै ध्यानमा स्थिरता र दीर्घायु प्राप्तिका लागि उपयोग गर्ने गरेको विभिन्न ग्रन्थमा उल्लेख गरिएको पाइन्छ ।

लोपोन्मुख अवस्थामा रहेको यस वनस्पतिको संरक्षणसँगै पुस्तौँसम्म यसको उपयोग होस् भन्ने सोचका साथ व्यावसायिक खेती गर्न थालेको खनालले बताए ।

कास्कीको रुपा, मादी, माछापुच्छ्रे, अन्नपूर्ण गाउँपालिका र तनहुँको शुक्लागण्डकी,  भिमाद, बन्दीपुर, देवघाट आसपासका क्षेत्रहरू सिप्लिकान खेतीका लागि उपयुक्त रहेको बताउँदै उनले सङ्कटापन्न यस प्रजातिको वनस्पतिलाई संरक्षण गर्दै जनजनमा प्रयोग बढाउने उद्देश्य राखेको सुनाए ।

कोभिड–१९ महामारीपछि विगत पाँचदेखि आफू यस खेतीतर्फ लागेको खनालको भनाइ छ । ‘यसको व्यावसायिक खेती सुरु गरेको पाँच वर्षभन्दा बढी भयो । राम्रै उत्पादन भइरहेको छ । यस वर्ष मात्रै चार लाख ५० हजार रुपैयाँको बिरुवा बिक्री भएको छ’, उनले भने, ‘कास्कीको रुपा गाउँपालिकासहित देशका विभिन्न स्थानमा यहाँको बिरुवा पुग्ने गरेको छ । माग धान्नै सकेको छैन ।’

खनालले यस वर्ष मात्र नर्सरीमा १० हजार बिरुवा उत्पादन गरे पनि मागअनुसार अझै बिरुवा उत्पादन गर्न नसकिएको जानकारी दिए । छरछिमेक, इष्टमित्रलगायत कतिपय स्थानमा निःशुल्क बिरुवा प्रदान गर्ने गरेको उनले बताए । 

सिप्लिकानको प्रतिबिरुवा एक सयदेखि १५० रुपैयाँसम्म बिक्री भइरहेको छ । पछिल्ला वर्षमा यसको माग अत्यधिक बढ्दो क्रममा छ ।

‘पर्यावरणीय सन्तुलनसँगै यो वनस्पति स्वास्थ्यप्रद पनि छ । यसको महत्त्व प्रचारका साथै संरक्षण र बिस्तार आवश्यक छ । यसका लागि राज्यले पनि साथ र सहयोग गर्नुपर्छ’, खानलाले भने । 

उच्च रक्तचाप, सुगर, जन्डिस र मिर्गौलामा हुने पत्थरीलगायतका रोगका लागि औषधिका रूपमा सिप्लिकानको प्रयोग गर्ने गरिन्छ । यसलाई तत्कालका लागि तरकारी र अचार तथा लामो समयका लागि गुन्द्रुक बनाएर पनि खान सकिन्छ । 

खनालले आफ्नो फार्ममा सिप्लिकानसँगै कुरिलोखेती पनि गर्दै आउनुभएको छ । यहाँको उत्पादन शुक्लागण्डकी नगरपालिका–१ र २ का साथै पोखरा नगरपालिका–३२ बाट पनि बिक्री भइरहेको छ । आफ्नो फार्मबाट वार्षिक २० देखि २५ हजार कुरिलोका बिरुवा बिक्री भइरहेका उनले जानकारी दिए । 

स्वास्थ्यका लागि  उपयोगी कुरिलोको टुसालाई तरकारीका रूपमा बढी प्रयोग गरिन्छ । कुरिलोमा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियमसँगै अन्य विभिन्न पौष्टिक तत्त्व पाइने र बच्चादेखि वृद्धसम्म सबैका लागि उपयोगी हुने खनालको भनाइ छ । 

खनालले पछिल्लो समय फार्ममा आउने वा बुझ्न चाहने जो कोहीलाई कुरिलो, सिप्लिकानलगायत खेतीका प्रविधि, उपयोगिता र बजारीकरणलगायत विषयमा जानकारी गराउँदै आएका छन् । उनको फार्म एउटा जीवन्त पाठशाला जस्तै बन्दै गएको छ । 

व्यावसायिक कृषिसँगै पत्रकारिता र शिक्षण पेसालाई सँगसँगै अघि बढाउनुभएका खनाल रेडियो नेपाल र आदर्श समाज राष्ट्रिय दैनिकमा संवाददाताका रूपमा समेत कार्यरत छन् । रासस
 

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  २ : ०८ बजे

कलाकार लक्ष्मी श्रेष्ठको निधन

काठमाडौं – कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। । चर्चित

काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – काठमाडौं उपत्यकासहित आज देशका विभिन्न क्षेत्रमा वर्षा भएको

आधुनिक सीपसहित पुरानै पेशामा फर्किए बाजुराका कुमाल समुदाय

धनगढी – बाजुरा बाह्विसका कुमाल जाति फेरि माटोका भाँडा बनाउने

ट्रम्प र पुटिनको वार्ता निष्कर्षविहीन भएपछि रुसद्वारा युक्रेनमाथि भीषण आक्रमण

किभ – रूसी सरकारी प्रवक्ताले शुक्रबार एक प्रेस ब्रिफिङमार्फत युक्रेनमाथिको

शल्यक्रिया गरेको केही समयमा मृत्यु, आफन्त आन्दोलित

दाङ – दाङ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि