पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ | Khabarhub Khabarhub

पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बुकीपाटनको उत्तरपट्टि देखिने अनगिन्ती हिमशृङ्खला । चारैतिर हरियाली पहाड । त्यही पहाडको डाँडैभरि सेताम्मे भेडाका बथान । छेउछाउमा बाँसको चित्रा र प्लास्टिकका त्रिपालले बेरिएका केही अस्थायी गोठ । जहाँ केही थान दुःख, केही थान खुसी र केही थान आशा बोकेर बसेका गोठाला भेटिन्छन् र उनीहरूसँगै भेटिन्छन् भर्खरै जन्मिएका भेडाका पाठा । जसले लेकाली जनजीवनलाई छर्लङ्ग पार्छ । समथर चौरमा चर्दै गरेका भेडाले धेरैलाई आकर्षित गरेको छ ।

हिजोआज त्यही भेडीगोठ र भेडाका बथान हेर्ने बुकीपाटन पुग्ने पर्यटक बढ्दै छन् । हजारौँ भेडा र सयौँ गोठालाको बासस्थान बनेको छ ढोरपाटन बुकीपाटन अब पर्यटक घुम्ने ठाउँका रूपमा पनि विकास हुँदैछ ।

यति बेला बुकीपाटनमा घाँस पलाएर हरियाली बनेको छ । त्यही हरियालीमा सेताम्मे भेडाका बथानले बुकीपाटनको सुन्दरतालाई बढाएको छ । पाँच वर्ष अगाडिसम्म बुकीपाटन भेडा गोठालाका लागि मात्रै प्यारो थियो । तर अहिले प्राकृतिक सुन्दरतासँग रम्नेका लाग अझ बढी प्रिय बनेको छ ।

भेडाका बथानले ढपक्क ढाकिएको बुकी हेर्न हजारौँ पर्यटक लालायित छन् । ढोरपाटन उपत्यका पुग्ने जो कोही पर्यटक बुकीपाटन सहजै पुग्न सक्दैन । उच्च पहाडी क्षेत्र रहेको हुँदा लेक लाग्ने सम्भावना बढी हुन्छ । पछिल्लो दुई वर्षयता बुकीपाटन पुग्ने पर्यटक र पत्रकारले त्यहाँको दृश्य सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्न थालेपछि ढोरपाटन उपत्यका पुग्ने पर्यटकले बुकीपाटनको यात्रा तय गर्ने छन् ।

बुकीपाटन पुग्न सडक सञ्जालको सुविधा छैन । अघिल्लो वर्षसम्म गोरेटोमार्फत भेडीगोठाला र पर्यटक बुकीपाटन उक्लिने गर्थे । यस वर्ष भने पदमार्ग बनेको छ ।

नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा पर्ने बुकीपाटन पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ । यहाँ आउने पर्यटकको नजरमा सबैभन्दा पहिले भेडाका बथान र भेडी गोठमा पुग्ने गर्छ ।

ढोरपाटन पाखाथरदेखि करिब पाँच घण्टाको पैदल यात्रामा बुकीपाटनको पहिलो गन्तव्य गर्पाछेडा पुगिन्छ । गर्पाछेडा पुग्दा बित्तिकै चारै तिर हजारौँका सङ्ख्यामा छरिएर चर्दै गरेका भेडाका बथान देख्दा पर्यटकको थकाननै मेटिने गर्छ । बुकीपाटनमा आउने अधिकांश पर्यटक भेडाका बथानसँग रमाउने ढोरपाटनका भेडी गोठाला भक्त अदैले बताए ।

पाँच वर्ष अगाडिसम्म गोठाला र भेडाका बथानबाहेक कोही पनि बुकीपाटनमा नआउने गरेको भन्दै पछिल्लो समय दिनदिनै सहर बजारबाट पर्यटक घुम्न आउने गरेको उनले सुनाए । आफूहरू बच्चैदेखि बुकीपाटनमा बस्ने हुँदा यहाँको सुन्दरतासँगै रमाउने बानी परिसकेको उनको भनाइ छ ।

पर्यटकले भेडीगोठ, भेडाका बथान र गोठालाका जनजीवनबारे बढी चासो दिएर हेर्ने गरेको अदैले बताए । पर्यटक आउन थालेपछि बुकी पाटनमा पहलपहल बढ्न थालेको उनको भनाइ छ ।

दहखर्क, टीकाधारा, फुर्सेधारा, फागुनेलगायत थुप्रै बुकीपाटन क्षेत्र पर्छन् । यो याममा बागलुङसहित पूर्वी रुकुम, डोल्पा र म्याग्दीका सयौँ गोठालाहरू अस्थायी गोठ बनाएर बस्दै आएका छन् ।

सयौँ गोठालाको हजारौँ सङ्ख्यामा भेडाबाख्रा, गाईभैँसीले बुकी पाटननै ढाकिएका हुन्छन् । एउटै गोठालाको पाँच हजारसम्म भेडा हुन्छन् । धेरै स्थानबाट गोठालाहरूले भेडा लिएर आउँदा सिङ्गो पहाडनै ढपक्क ढाकिने गर्छ ।

रोल्पाको सुनछहारीबाट बागलुङको निसीखोला, निसेलढोर हुँदै बुकीपाटन आएका पुनराम घर्तीमगरले हिजोआज घुम्न आउने पर्यटकको सङ्ख्या बढेको बताए । आफू झण्डै ४० वर्षदेखि बुकीपाटनमा भेडा चरनका लागि आएको सुनाउँदै पहिले कोही पनि घुम्नका लागि नआउने उनको भनाइ छ ।

रोल्पाबाट दुई साता लगाएर भेडी गोठ लिएर आएका घर्तीमगरले झण्डै एक हजार ७०० भेडा पाल्दै आएका छन् । एकै ठाउँमा हजारौँको सङ्ख्यामा भेडा देख्दा घुम्न आएका पर्यटक दङ्ग पर्ने घर्ती मगर बताउँ छन् । पर्यटकले गोठालाको कपडा, खाना र बासस्थानलाई बढी चासो दिएर हेर्ने गरेको उनले सुनाए ।

बुकीपाटन समुद्री सतहदेखि चार हजार ५०० मिटरको उचाइसम्म फैलिएको छ । यहाँ हरेक बर्सातको समय असारदेखि कात्तिकसम्म गोठाला बस्ने गर्छन् । कात्तिक महिना पछाडि चिसो बढ्ने हुँदा बेँसी झर्ने गर्छन् ।

भैरवाहदेखि बुकीपाटन आएका प्रकाश ज्ञवालीले यहाँको प्राकृतिक सुन्दरता र भेडाका बथानले आफूलाई लोभ्याएको बताए । आठ जनाको समूहमा ढोरपाटन उपत्यका घुम्न आएको बेला होटल व्यावसायिकले बुकीपाटन जान सुझाएपछि बुकी उक्लिएको उनको भनाइ छ । आफूले अहिलेसम्म एकै ठाउँमा हजारौँ भेडा नदेखेको ज्ञवालीले सुनाए । (रासस) 

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ८ : ३९ बजे

युवाहरुलाई साथ लिएर अघि बढ्नेछाैँ : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवाहरुलाई साथमा

शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौं : हमास

एजेन्सी – हमासले गाजामा जारी द्वन्द्व अन्त्य गर्नको लागि युद्धविराम

विकास-निर्माणका काममा राजनीति नगरौँ : विमलेन्द्र निधि

जनकपुरधाम– नेपाल कांग्रेसका नेता विमलेन्द्र निधिले विकास–निर्माणका गतिविधिमा राजनीति गर्नु

पाँच कम्युनिस्ट पार्टीहरूको बैठक पेरिसडाँडामा

 काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले कम्युनिस्ट विचारधारा बोकेका विभिन्न

गाजामा भएको इजरायली आक्रमणमा १९ जनाको मृत्यु

एजेन्सी – गाजामा इजरायली सेनाले शनिबार विभिन्न क्षेत्रमा गरेको हवाई