पुस्तकको प्राचीन स्वरूप सुमेरिया असिरियामा करिब ३५०० ई.पू. अघि क्युनिफर्म लिपिमा लेखिएका माटाका ट्याब्लेट्सदेखि वर्तमान अवस्थाका इ-ट्याब्लेट्ससम्म आइपुग्दा पुस्तकालयले परिवर्तनका विभिन्न स्वरुप र चरणहरू पार गर्दै आएको छ । पुस्तकालय मात्र नभइ विश्वका हरेक क्षेत्र परिवर्तित छ । परिवर्तनको मुख्य कारण मानव सभ्यतामा भएको विकास, मानव खोज तथा नवप्रवर्तन हो ।
मानव सभ्यताको विकाससँगै विश्वले विभिन्न युग/कालहरूलाई पार गर्दै हाल उत्तर-उत्तरआधुनिक युगमा विचरण गरिरहेको छ । युग परिवर्तनको मुख्य कारण पनि मानव सभ्यतासँगै सूचना प्रविधिमा द्रुतगतिमा भएको विकास र परिवर्तन हो । परिवर्तनको प्रभाव शिक्षा, सूचना, सूचना सम्प्रेषण, ज्ञानको संरचना र प्रणालीमा गहिरो रूपमा परेको छ । यस्तो प्रभाव पुस्तकालयमा झनै सशक्त रूपमा परेको छ र हुनु आवश्यक छ ।
आदिमकालमा पुस्तकालय माटाका ट्याब्लेट्स, पपाइरस रोल, कोडेक्स, पार्चमेन्ट, भोजपत्र, ताडपत्र आदिको सङ्कलकका रूपमा परिचित थियो । समय क्रमसँगै पुस्तकालय एक स्थिर र गहिरो अध्ययन केन्द्रको रूपमा विकसित हुँदै गयो । परम्परागत र आधुनिक युगमा पुस्तकालय सूचना सङ्कलन र भण्डारणको रूपमा परिचित थियो भने उत्तर आधुनिक युगमा पुस्तकालयको भूमिकामा परिवर्तन भई ज्ञान र प्रयोगकर्ताबीच प्राविधिक सामान्जस्यता ल्याउने प्रयासमा केन्द्रित रह्यो ।
वर्तमानमा विश्वले उत्तर-उत्तरआधुनिक युगमा पखेटा फिँजाइ रहँदा पुस्तकालयको कार्यशैली तथा भूमिका पनि पुनः परिभाषित हुँदै गइरहेको छ । सूचना प्रवाह, प्रविधि, र ज्ञानको भूमण्डलीकरणको यो उत्तर-उत्तरआधुनिक युगमा पुस्तकालयहरू किताब राख्ने स्थान मात्र नभई मानव चेतनाको गतिशील केन्द्र बन्दै गइरहेका छन् र बन्नु अपरिहार्य छ ।
के हो उत्तर-उत्तरआधुनिकता (पोस्ट–पोस्टमोडर्निजम) ?

उत्तर-आधुनिकताको समयपश्चात् विकसित एक वैचारिक धार हो उत्तर-उत्तरआधुनिकता । यो एक दार्शनिक, सांस्कृतिक र कलात्मक आन्दोलन हो । यसको उत्पत्ति सन् १९९० अथवा २०औं शताब्दीको अन्त्यबाट उत्तर-आधुनिकताको प्रभाव कम भएसँगै भएको हो । यसमा उत्तर-आधुनिकता (पोस्टमोडर्निजम) मा देखिएका विखण्डनवाद, सापेक्षतावाद र अस्थायित्वको विकल्पको रूपमा पुनः संरचना, उत्तरदायित्व, सहकार्यका साथै नयाँ सत्य, अर्थ र संरचना खोज्ने प्रयास गरिएको छ ।
यस युगको वैचारिक केन्द्रका रूपमा पुनः आशावाद, सहभाव, सहअस्तित्व, सामाजिक प्रतिबद्धता रहेका छन् । उत्तर-उत्तरआधुनिकताले डिजिटल युगसँग गहिरो सम्बन्ध राख्दछ । आर्टिफिसियल इन्टेलिजेन्ट (एआई), खुला ज्ञान (ओपन नलेज), अन्तर्क्रियात्मक सञ्चारपद्धति आदिमार्फत् सामाजिक, आर्थिक, साँस्कृतिक, शैक्षिक प्रणालीहरूको पुनः संरचना (निर्माण) गर्नु उत्तर-उत्तरआधुनिकताको विशेषता हो ।
यस वैचारिक धारमा सूचना व्यवस्थापनमा नयाँ प्रविधिको प्रयोग, समावेशी विचारधारा, उत्तरदायी र अर्थपूर्ण सहभागिता प्राथमिकतामा रहेका छन् । उत्तर-उत्तरआधुनिकता सन्देहपूर्ण भन्दा पनि सन्दर्भसापेक्ष हुने गर्छ, जुन समयको गतिशीलतासँगै टिकाउ र मानवीय भावनालाई आत्मसात गर्ने हुन्छ । समाजका अन्य क्षेत्रमा जस्तै यस विचारधाराको प्रभाव पुस्तकालयमा पनि घनिभूत रूपमा परेको छ ।
यस युगमा पुस्तकालय ज्ञान सङ्कलन र प्राप्तिको स्थान मात्र नभई ज्ञानको प्रयोग, निर्माण, पुनःर्निर्माण तथा सिर्जनात्मक सहभागिताको केन्द्रका रूपमा परिचित हुँदै गइरहेको छ । यस अर्थमा पुस्तकालयलाई उत्तर-उत्तरआधुनिताका आधारहरूमा टेक्दै पुनःपरिभाषा र कार्यशैली तथा भूमिकालाई पुनः निर्माण गर्नु अपरिहार्य छ । यस लेखमा उत्तर-उत्तरआधुनिकताका तीन धारहरू डिजीआधुनिकता, अल्टरआधुनिकता र मेटाआधुनिकतालाई पुस्तकालयको सन्दर्भमा विश्लेषण गर्ने प्रयास गरिएको छ ।

डिजीआधुनिकता (डिजी मोर्डनिजम) र पुस्तकालय
ब्रिटिश चिन्तक एलेन किर्वीले सन् २००९ मा “ डिजी मोर्डनिजम : हाउ न्यु टेक्नोलोजिज डिस्मेन्टल द पोस्टमोर्डन एण्ड रिकन्फिगर आवर कल्चर” नामक पुस्तक मार्फत उत्तरआधुनिकताको अन्त्य र डिजिटल युगको आरम्भका रूपमा डिजीआधुनिकता (डिजिमोर्डनिजम) शब्दको प्रयोग सुरु गरेका हुन् ।
उनका अनुसार डिजिआधुनिकता डिजिटल युगको साँस्कृतिक विचार वा तर्क हो जहाँ प्रयोगकर्ताहरू सिर्जनाकार हुन्छन्, सूचना (ज्ञान) खुला (ओपन इन्डेड) हुन्छन् र सत्यहरू प्रदर्शित हुन्छन् अथवा “डिजिमोर्डनिजम इज द कल्चर लोजिक अफ द डिजिटल एज ह्वेयर युजर्स आर ओपन इन्डेड एण्ड ट्रुथ इज पर्फरमेटिभ” ।
यस वैचारिक धार अनुसार पुस्तकालय प्रयोगकर्ताहरू पाठक मात्र नभई सूचनाको सर्जक पनि हुन् । पाठकहरू विकिपिडिया सम्पादन गर्ने, ब्लग निर्माण गर्ने, आफ्ना डिजिटल फाइलहरू शेयर गर्ने आदि कार्यमा सक्रिय रहन सक्छन् । पुस्तकालयले आफ्ना प्रयोगकर्ता इन्गेजमेन्टलाई प्रोत्साहन गर्न, स्थायी सङ्ग्रहलाई भन्दा जीवन्त सामग्री (लिभिङ अर्काइभ्ज) प्रणालीलाई प्रोत्साहन गर्नुपर्छ ।
पाठकका व्यक्तिगत अनुभव,टेस्टिमोनियल, ओरल हिस्ट्रिज, अथवा युजर सब्मिटेड न्यारेटिभ्सलाई समेटेर पुस्तकालय सामग्रीलाई प्रवर्द्धन गर्नु पर्छ । डिजिआधुनिकतामा सूचना/ज्ञान सामाग्री भन्नाले पुस्तकमात्र नभएर अडियो, भिडियो, पोर्डकास्ट, एआईद्वारा निर्मित ज्ञान/सूचना सामाग्री, इन्फोग्राफिक आदि पनि हुन् ।
डिजिआधुनिकताको अर्को महत्वपूर्ण पाटोको उक्त डिजिटल सूचना सामग्रीका लागि डिजिटल साक्षरता प्रदान गर्नु रहन्छ । पुस्तकालयले आफ्ना पाठक वा प्रयोगकर्ताहरूलाई डिजिटल सूचनाको छनोट, मुल्याङ्कन र इमान्दारितापूर्वक प्रयोग गर्ने तरिका सिकाउनुपर्छ ।
तसर्थ डिजिआधुनिकता पुस्तकालयका लागि सैद्धान्तिक बहस मात्र नभएर एक रणनीतिक औजार हो जसले पुस्तक राख्ने स्थानबाट सृर्जनशीलता, सहभागिता र संवादको डिजिटल थलो, ज्ञान/सूचना सङ्कलन केन्द्रबाट ज्ञान/सूचनाको सह-निर्माणकर्ताको रूपमा र नयाँ आध्यात्मिकता, नयाँ सत्य र वास्तविकताको पुनः खोजी गर्ने थलोको रूपमा रूपान्तरण गर्न मार्गनिर्देश गर्छ ।

अल्टरआधुनिकता (अल्टरमोर्डनिजम) र पुस्तकालय
फ्रान्सेली कलाका समालोचक निकोलस बोरिअडले सन् २००९ मा ब्रिटेनमा आयोजना गरेको एक कार्यक्रममा अल्टरआधुनिकता (अल्टरमोर्डनिजम) शब्द सार्वजनिक गरेका थिए । अल्टरआधुनिकता भन्नाले उत्तरआधुनिकताको विकल्पमा आएको एक नयाँ साँस्कृतिक आयाम हो ।
विश्वव्यापीकरणको युगमा आधुनिकतालाई पुनः संरचना तथा पुनः परिभाषा गर्ने प्रयास अल्टरआधुनिकता हो । यो अवधारणाको मुख्य विशेषता विविध संस्कृति, दृष्टिकोण तथा सन्दर्भहरूका बीच अनुवाद, संवाद र संयोजन कायम राख्नु हो । सर्जक, रचनाकार वा कलाकारहरू स्थिर नरही विभिन्न संस्कृतिहरूको बौद्विक भ्रमण (अध्ययन, अनुशन्धान, तथा सिर्जना) गरी अनुभवहरूको सञ्चय गर्दछन् र सूचना तथा संस्कृतिहरूलाई केवल एक केन्द्रमा मात्र सीमित नराखी एक आपसमा सम्बन्धित विभिन्न टापुहरू (आर्किपेलागो लजिक) मा स्थापित हुन्छन् ।
जस्तै विभिन्न भाषाभाषी, जातजाति र भौगोलिक विविधतामा आधारित सूचनाहरू, प्राविधिक ज्ञान आदिलाई पुस्तकालयले सूचना संरचना, डिजिटल क्षमता र पहुँचको आधार तथा भाषिक सञ्जाल आदि मार्फत् संयोजन गर्ने गर्छन् । (उदाहरणका लागि एकै साथ इन्डिजिनिअस ओरल हिस्ट्रिज, एकेडेमिक रिसर्च र डिजिटल भिडिओ अर्काइभ्ज एउटै स्थानमा उपलब्ध गराउने ।)
अल्टरआधुनिकताले मानकीकरण (स्टेन्डर्डाइजेशन) लाई अस्वीकार गर्दछ र आवाज विनीहरूका आवाजलाई समेट्नु पर्ने मान्यता राख्दछ । एकरुपताको अस्वीकार र विविधताको स्वीकार गर्दछ । यस दृष्टिकोण अनुसार पुस्तकालयले विश्व टुक्रिएको छैन भन्ने भावका साथ विविधता कायम राख्दै एकै छानामुनि सूचनाहरू सन्दर्भगत रूपमा सङ्कलन तथा सम्प्रेषण गर्ने गर्दछन् । विभिन्न भाषा, समुदाय, प्रविधि बीचमा संवाद सम्भव छ भन्ने वैकल्पिक आवाजहरूलाई केन्द्रमा राख्ने नवसंरचना निर्माण गर्दछन् ।
मेटाआधुनिकता (मेटामोर्डनिजम) र पुस्तकालय
मेटाआधुनिकता रोबिन भान डेन आक्कर र टिमोथियस वर्म्युलनले अघि सारेको साँस्कृतिक दर्शनको सिद्धान्त हो । यस दृष्टिकोणले आधुनिकता र उत्तरआधुनिकताले सिर्जना गरेका विरोधाभासलाई नयाँ सोचमा परिणत गर्दछ । मेटामोर्डानिजम न त पूर्ण आधुनिक छ न पूर्ण उत्तरआधुनिक । यो आधुनिकता र उत्तरआधुनिकताको सन्तुलन गर्ने मध्यवर्ती चेतना हो ।
मेटाआधुनिकताले यथार्थताको आलोचना गर्दै परिवर्तनको सम्भावनालाई अँगालेको हुन्छ । यसले अपूर्णतालाई सुधार्ने र स्थिरतालाई परिवर्तनशील बनाउने मान्यता राख्दछ । मानव अनुभवलाई तर्कपूर्ण पक्षका रूपमा मात्र नभइ संवेदनात्मक पक्षको रूपमा स्वीकार गर्दछ । बहुसंस्कृति, बहुभाषा, बहुधर्म, बहुधारणा, बहुदृष्टिकोण आदिलाई द्वन्द्वका रूपमा होइन सम्बन्धका रूपमा स्वीकार गर्दछ ।
ज्ञान/सूचनालाई स्थिर रूपमा नहेरी बहुदृष्टिकोणलाई समेट्ने अथवा इन्क्ल्युजिभ नलेज स्पेसका रूपमा स्थापित गर्ने प्रयास गर्दछ । यस दृष्टिकोण अनुसार पुस्तकालय सूचना भण्डारण गर्ने स्थान नभई संवाद, सृजनशीलता र विचार आदानप्रदान गर्ने स्थानका रूपमा रहन्छ । तथ्य र भावना दुवैको समायोजन हुन्छ । मेटाआधुनिकतामा पुस्तकालयमा हाइब्रिड मोडलको सेवालाई प्राथमिकता दिइन्छ जहाँ प्रविधि औजार हो भने मानवीय सम्बन्ध र उचित सूचना संप्रेषण सेवा हो ।
पुस्तकालय समुदाय केन्द्रित भई समुदायको भावना र आवश्यकतालाई सम्बोधन गर्न अग्रसर रहन्छ । सूचना प्रवाह वा संप्रेषणलाई नैतिकता र सूचनाको संवेदनशीलतासँग जोडिन्छ । पुस्तकालयले आफ्ना प्रयोगकर्तालाई फेक न्युज, सूचनाको गोपनियता आदि विषयमा सुसूचित गराउँदै सहि सूचना प्राप्त गर्न सक्ने क्षमता विकास गर्न सहयोग गर्दछ । तसर्थ मेटाआधुनिकतामा पुस्तकालयलाई प्रविधियुक्त, मानवमूल्यमा आधारित सामाजिक संवाद तथा अन्तर्क्रिया गर्ने संवेदनशील स्थानका रूपमा परिभाषित गर्न सकिन्छ ।
अन्त्यमा
आदिम युगदेखि उत्तर-उत्तरआधुनिक युगसम्म आइपुग्दा पुस्तकालयको स्वरुप, भूमिका, उद्येश्य तथा कार्यमा आमूल परिवर्तन आएको छ । डिजिआधुनिकता, अल्टरआधुनिकता तथा मेटाआधुनिकता जस्ता उत्तर-उत्तरआधुनिकताका वैचारिकधारहरूले पुस्तकालयलाई सूचना भण्डारण गर्ने स्थानको रूपमा मात्र नहेरी समावेशी, संवेदनशील, प्रयोगकर्ता केन्द्रित संवादको केन्द्रका रूपमा रूपान्तरण गर्न दिशानिर्देश गरेका छन् ।
आजको पुस्तकालय भनेको सूचना प्रवाह, सामाजिक सहभागिता, नवप्रवर्तन, डिजिटल साक्षरता आदिको संयोजन हो जसले मानव चेतना र समुदायबीचको सम्बन्धलाई गहिरो बनाउँछ । तसर्थ पुस्तकालयलाई समयानुकुल परिवर्तन गर्दै नयाँ विचारधारका आधारमा पुनःपरिभाषित गर्दै प्रविधिमैत्री, मानवीय मूल्य र मान्यताको आत्मसात गर्ने, सामाजिक संवेदनशीलतामा आधारित सूचना सञ्जालको केन्द्रका रूपमा परिमार्जन र रूपान्तरण गर्नु आजको आवश्यकता हो ।
– भट्टराई त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयकी पुस्तकालय अधिकृत हुन् ।
प्रतिक्रिया